.jpeg)
आधारात घर्किसकेको छ । म अझै च्याटमा व्यस्त छु । भोलि बिहानै ५ बजे उठेर काममा हिँड्नु छ । तर, उसका कुरा अझै सकिएका छैनन् । म आफैंलाई पनि कुरा टुंग्याउन मन छैन । तर, केही घण्टापछि तयार भएर काममा हिँड्नुपर्ने बाध्यताले घरिघरि मन छड्काइरहेको छ ।
“सुन न युबिन, म भोलि कुरा गर्छु नि है ? आज...।”
“तिमीलाई अचेल मसँग कुरै गर्न मन लाग्दैन, मलाई थाहा छ ।” मेरो कुरा पूरा नहुँदै उसले गुनासो गर्यो । मेरो मन कटियो ।
“त्यसो नभन न युबिन, मेरो भोलि चाँडैको सिफ्ट छ । २–३ घण्टापछि काममा जान उठ्नु पर्छ । एकैछिन नसुती कसरी जानू ?”
“ऊ, मैले भनिहालेँ नि, अचेल तिमीलाई मसँग कुरा गर्नभन्दा निन्द्रा प्यारो लाग्छ । जाऊ, जाऊ गएर सुत । अब म डिस्टर्ब गर्दिनँ ।”
मैले अनेक कोसिस गरेँ तर ऊ अफलाइन भइदियो ।
मोबाइलमा फोन गरेँ । त्यो पनि स्विच्ड अफ थियो । मन मारेर म ओछ्यानमा पल्टिएँ ।
१० वर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकी छु । आउँदा राम्ररी १८ वर्ष पनि पुग्न भ्याएकी थिइनँ, अहिले २८ वर्षकी परिपक्व युवती भइसकेकी थिएँ । तर, मन अझै पनि १७–१८ वर्षकै थियो मेरो । मेरो बाध्यता दिमागले बुझे पनि मनले नकारिदिएको थियो । त्यसैले त यो सपना देख्न सक्थ्यो । विश्वास गर्न सक्थ्यो । माया गर्न सक्थ्यो अझै पनि ।
१२ क्लासमा एकदमै राम्रो अंक ल्याएर उत्तीर्ण भएको बदलामा बाबाले अस्ट्रेलिया आएर नर्सिङ पढ्ने मेरो धोको पूरा गरिदिनुभएको थियो । यो उहाँको हैसियतभन्दा बाहिर थियो । म बाबाको विश्वासिली र भरपर्दी छोरी थिएँ ।
आमा कराउनु हुन्थ्यो, “छोरीको जात, धेरै टाउकोमा नटेकाउनुस् । के फाइदा यत्रो रिनधन गरेर विदेश पठाएर ? भोलि एउटाको पछि लागेर हिँडिहाल्छे क्यार ? कसले तिर्छ यसले लगाएको रिन ? छोरा भए पो !”
“यसैले तिर्छे । तँ हेरिराख्, सुख दिन्छे, पाल्छे यसले तँलाई, मलाई ।
आमाले ओठ लेप्राउनुहुन्थ्यो ।
मध्यमवर्गीय परिवारमा जन्मिएकैले बाबाको सपना पूरा हुन सकेको थिएन । त्यसैले पनि होला– उहाँले मेरो सपना पूरा गरिदिनुभयो । आफ्नो सारा जीवनभरिको कमाइले ठड्याउनुभएको घर धितो राखेर । आमाले रुवाबासी नै गर्नुभयो । बहिनीले समेत भनी, “भएजति सबै दिदीकै लागि खर्च गरेर मेरो लागि के नि ?”
बाबाले कसैको कुरा सुन्नुभएन ।
“यो अरुजस्ती छैन । यसले हाम्रो दुःख बुझेकी छ । यसलाई राम्ररी पढिहाल्न दे, यसले सबैको हेरविचार गर्छे,” उहाँ बारम्बार भन्नुहुन्थ्यो ।
आमाले करकर गर्न छोड्नुभएन ।
बाबाले हरेक कुरामा मेरो पक्ष लिन थालेपछि आमा र बहिनी झन्झन् मेरो विरुद्ध हुन थाले । उनीहरू बातबातमा मलाई ‘बाउकी साख्खै’ भन्थे ।
जे होस्, जसरी होस्, बाबाले मलाई अस्ट्रेलिया जाने सबै व्यवस्था मिलाउनुभयो । भिसा पनि लाग्यो । बाबा दंग पर्नुभयो । खासगरी बहिनीको असन्तोष र गुनासो चरम सीमामा पुग्यो ।
मेरा सामान प्याक भए । म हिँड्न ठिक्क परेँ । अघिल्लो दिन बाबाले मलाई पशुपति लिएर जानुभयो । दर्शन गरिसकेर हामी पारिपट्टिको बेन्चमा गएर बस्यौँ । निकैबेर बाबा मेरो हात थामेर त्यत्तिकै बसिरहनुभयो । मलाई थाहा थियो– उहाँ मसँग कुरा गर्न चाहनुहुन्थ्यो तर हिचकिचाइरहनु भएको थियो ।
मैले उहाँको सजिलोका लागि बिस्तारै भनें, “बाबा मैले सबै बुझेकी छु । म घरको ऋण नतिरेसम्म, बहिनीको पढाइ नसकिएसम्म आफ्नो लागि गाँस र बासभन्दा अरु केही सोच्ने छैन । कसम बाबा– तपाईंले ममाथि गरेको विश्वासलाई म टुट्ट दिनेछैन । म तपाईंको बोलीको मानका लागि आफूलाई, आफ्नो मनलाई बिर्सिएर आमा र बहिनीका सबै आवश्यकता पूरा गर्नेछु ।”
बाबाले निकैबेर टाउको उठाउनुभएन । मेरो हात दह्रोसँग थामेर उहाँ त्यसरी नै बसिरहनुभयो ।
“मलाई तँमाथि भरोसा छ नानु,” उठेर हिड्नुभन्दा पहिले बिस्तारै भन्नुभयो, “छोराछोरीलाई केही दिएको बदलामा केही माग्नु उचित होइन । म माग्दा पनि माग्दिनँ जिउँदो रहुन्जेल । तर, यदि मलाई केही भइहालेछ भने आफ्नो कसम नबिर्सनू । आमा र बहिनीको ख्याल राख्नू । उनीहरूको आशंकालाई सत्य बन्न नदिनू । उनीहरूले भनेझैँ मेरी छोरी भएर देखाउनू ।”
भोलिपल्ट म गह्रुंगो मन लिएर अस्ट्रेलिया हिँडें । मलाई छोड्न एयरपोर्ट आउनुभएका बाबाले मेरो हात समातेर कामेको स्वरमा भन्नुभयो, “कुसुम ! मैले कुनै करकाप र दबाबमा केही गरेको होइन । तँ मेरी लायक छोरी होस् । तैले कहिल्यै कुनै कुराको जिद्दी गरिनस् । सधैँ हामीले भनेको सुनिस्, मानिस् । तेरो यो एउटा इच्छा मैले स्वेच्छाले पूरा गर्ने कोसिस गरेको मात्र हुँ । तँ मनमा कुनै बोझ नराख् । आमा र बहिनीको कुराले चित्त नदुखा । जसले जे भने पनि तँलाई बाहिर पढ्न पठाउने इच्छा मेरो पनि हो, त्यसैले मन लगाएर पढ् । म सधैं तेरो साथमा छु ।”
म भक्कानिएर उहाँको छातीमा टासिएँ । त्यो दिन एउटा गह्रुंगो जिम्मेवारीको बोझ अनुभव गर्दै म बाबासँग अलग भएँ । बाबाको भरोसा र विश्वासको उठाउनै नसक्ने बोझ !
० ० ०
कलेजमा राम्ररी व्यवस्थित हुन पनि भ्याइसकेकी थिइनँ । अस्ट्रेलिया आइपुगेको पाँचौं दिन नेपालबाट बाबाको मृत्युको वीभत्स खबर आयो ।
“तेरो कारणले,” आमाले आलापविलाप गर्दै फोनमा भन्नुभयो, “तैले गरेर नै उहाँको मृत्यु भयो । तैले अस्ट्रेलिया जाने जिद्दी नगरेको भए यो सब हुन्थेन । ऋणको बोझ, तेरो फिस तिर्ने चिन्ताले नै उहाँलाई हृदयघात भयो । तैले गरेर ।”
यो नाजायज आरोप थियो । मैले आजसम्म कुनै कुराको जिद्दी गरेकी थिइनँ उहाँहरूसँग । बाहिर पढ्न जान चाहेको कुरामात्र त गरेकी थिएँ । जिद्दी त परै जाओस्, इच्छा व्यक्त गर्न पनि डराउँथेँ म । तर, मैले त्यसबेला केही भन्न सकिनँ । चुपचाप बहिनी र आमाका हरेक आरोप सुनिरहेँ ।
त्यसपछिका कैयौँ दिन म आफूले गर्दै नगरेको अपराधबोधमा आफैँलाई सराप्दै रोएँ ।
“अब कसले फिस भर्छ र पढछेस् ? खुरुक्क घर आइज । यहीँ कुनै काम खोज् । घर निखन्न प¥यो, बहिनी पढाउन प¥यो । तँ घरकी जेठीबाठी छोरी, खुरुक्क घर आइज,” केही समयपछि आमाले हुकुम जारी गर्नुभयो ।
आमाले फोन राखेको घण्टौंसम्म म बिलौना गरी रोएँ । रुँदैरुँदै सबै सामान समेटेँ । टिकट बुक गर्न फोन गर्दा मनले भन्यो, “६ महिनाको फिस तिरिसकेको छ । यो टिकटको पैसामा अलिकति पैसा थपे अर्को सेमेस्टरको पैसा तिर्न पुग्छ । घर फर्केर पनि के गर्छु म ? १२ क्लास पास गरेकी मैले कहाँ खोज्छु घर निखन्न पुग्ने पैसा कमाउने जागिर ?”
मैले नेपाल नफर्कने निधो गरेँ । आमा फोनमा तथानाम आरोप लगाउँदै मलाई गाली गरिरहनुभयो, घर फर्कन दबाब दिइरहनुभयो ।
तर, म फर्किइनँ ।
सातै दिन केबल पानीले पाउरोटी निलेर म १८–२० घण्टा, भेटेजति काममा खटिन थालेँ । सबैभन्दा सस्तो बस्ने ठाउँ र सबैभन्दा सस्तो खानामा बाहेक म आफ्नो लागि एक सेन्ट खर्च गर्थिनँ ।
फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किनें र आँसुसँगै पिएँ ।
घरमा पैसा पठाएको दिन मैले यहाँ आएदेखि पहिलोपटक राम्ररी खाना खाएँ । नशा लागेझैँ लाग्यो त्यो खाना मलाई ।
घर पैसा पठाउन सुरु गरेपछि आमाको आरोप र गाली त कम भयो तर माग दिनप्रतिदिन बढ्न थाल्यो । साथमा बहिनीको पनि । उनीहरूलाई कुनै परवाह थिएन कि म उनीहरूको माग कसरी पूरा गर्थें । बस माग पूरा होस्– यत्ति चाहे उनीहरू ।
दिन बित्दै गए । म उस्तै रूपमा काममा जोतिइरहें । फिस र आफ्नो एकदमै सीमित व्यक्तिगत खर्चबाहेक अरू सारा पैसा म घर पठाउँथें । बदलामा आमाको दुई वचन मीठो सुन्न पाउँथिनँ ।
म यहाँ आएको तेस्रो वर्षको अन्त्यतिर आमाले आज्ञा दिनुभयो, “बहिनीले मेडिकलको पढाइ सुरु गरी, अझै बढी पैसा पठा ।”
“तर आमा डक्टरी पढ्न कम पैसाले त पुग्दैन, म कसरी...”
“तलाई त्यहाँ जान पनि त कम पैसा लागेको थिएन नि ? त्यही पैसाको पीरले तेरो बाबा बित्नुभयो । उहाँको ज्यानभन्दा पनि महँगो छ र डाक्टरी पढ्ने फिस ? तेरो खर्च पुर्याउन घर बन्धक नराखेको भए म त्यही बेचेर भए पनि पढाउँथे उसलाई...”
मैले चुपचाप फोन राखिदिएँ । मेरो विरोधको कुनै अर्थ थिएन ।
दिन, महिना, वर्ष बिते । र, पनि मेरो दिनचर्यामा कुनै नयाँपन आएन । मरुन्जेल काम गर्नु, आमा र बहिनीका जायज–नाजायज माग पूरा गर्नु, पैसा कमाएर पनि हरेक कुराका लागि कल्पिँदै बाँच्नु । यही थियो मेरो दिनचर्या ।
पढाइ सकियो । रेसिडेन्ट भएँ म । यो खुसीको खबर आमालाई सुनाएर पुलकित हुँदै भनें, “आमा ! अब घर आउँछु म ।”
“त्यत्रो पैसा खर्च गरेर किन आउनुप¥यो ? बरु टिकटमा खर्च गर्ने पैसा यहाँ पठाइदे, बहिनीलाई एजुकेसनल टुरमा जान पुग्छ,” आमाको जवाफ थियो ।
मैले उहाँको त्यो जवाफ पनि पचाएँ । म घर गइनँ ।
मेरो पोस्ट ग्य्राजुएसन सकियो । नेपाल छाडेको ७ वर्ष बितिसकेको थियो । राम्रै पैसा कमाउँथे म त्यति बेलासम्म । नर्सिङ गर्नेलाई कामको कमी थिएन यहाँ । म एउटा असल नर्स थिएँ । मेरो कामसँग सबै खुसी हुन्थे । पेसेन्टहरूको फेभरेट नर्स थिएँ म । मेरो कामको बोझ कम भएको थिएन । न कमाएको लगभग सारा पैसा घर पठाउने क्रम रोकिएको थियो ।
आमाले घर निखन्नुमात्र भएको थिएन, तला थपेर भुइँतले घरलाई साढे तीन तले बनाउनुभएको थियो । सबैभन्दा माथिल्लो तलामा आफूहरू बस्नुहुन्थ्यो, बाँकी दुई तला भाडामा लागेका थिए । यो वर्ष त बहिनीको पढाइ पनि सकिँदै थियो । तर, मेरो आमाको माग आज पनि उस्तै थियो ।
एउटा मै थिएँ, जसमा कुनै परिवर्तन आएको थिएन । म कामले खिइएर झनै सानी, मरन्च्याँसे हुँदै गएकी थिएँ । मसँग आज पनि नेपालबाट आउँदाको त्यही एउटा सुटकेस थियो । तिनै खुइलिएका, धस्सिएका, उध्रिएर सिलाइएका पुराना लुगा थिए ।
आउनेबित्तिकै काम खोज्ने क्रममा एकजना नेपालीसँगै किनेको सेकेन्ड ह्यान्ड मोबाइल थियो । आज पनि म कैयौँ जनासँग अपार्टमेन्ट सेयर गरेर बस्थेँ । आज पनि मेरा कोही साथी थिएनन् । आज पनि म एउटा बर्गर किनेर खानुभन्दा पहिले पाँचपटक सोच्थें । पछुतो लाग्थ्यो– आफूमाथि खर्च गरेको प्रत्येक सेन्टको लागि ।
बहिनीले इन्टर्न सुरु गरेपछि मैले एउटा ल्यापटप किनेँ । यहाँ आएदेखि यो नै सबैभन्दा ठूलो रकम थियो मैले आफ्ना लागि खर्च गरेको । त्यति पैसा खर्च गरेकोमा म कति दिन अपराधबोधले ग्रस्त भइरहें ।
यही त्यो समय थियो, जब मैले युबिनलाई भेटेथेँ फेसबुकमा । मजस्तो आफैँमा सीमित, व्यस्त मान्छे कसरी कसैसँग नजिकिन सक्थ्यो ? त्यो त युबिन नै थियो, जसले मलाई वशमा पारेको थियो ।
सामान्य चिनजानमा मैले आफ्नो सही नाम भन्न सकिनँ उसलाई । पछि मलाई आफ्नो फेसबुके नाम ‘कुशा’कै बानी पर्दै गयो । ऊसँग झुट बोल्ने, उसलाई ढाँट्ने मेरो कुनै उद्देश्य थिएन ।
फेसबुकमा फेक आईडी बनाउनुमा अरुका जे–जस्ता बहाना वा उद्देश्य भए पनि मेरो उद्देश्य एउटै थियो– आमा र बहिनीको आँखामा नपर्नु । आमा र बहिनीको डरकै कारण मैले आफ्नो सही नामसम्म राख्न सकेकी थिइनँ । मलाई डर थियो– मेरो फेसबुक अकाउन्ट देखेर उनीहरू यो नसोचून् कि म उनीहरूलाई पन्छाउँदै फेसबुकमा रमाइरहेकी छु ।
यही कारण थियो– मैले कहिल्यै आफ्नो नाम र फोटो राखिनँ प्रोफाइलमा ।
लगभग दुई वर्ष युबिनसँग गफ गर्दै बित्यो । गफ त उही गथ्र्यो, म त बस् सुन्थेँ । सुनेर मोहित हुन्थेँ । एकदमै कम बोल्ने मलाई उसका कुराले एउटा छुट्टै संसारको सपना देखाउँथ्यो, जहाँ कुनै जिम्मेवारी हुन्थेन । अभाव हुन्थेन । आरोप र अपराधबोध हुन्थेन ।
ऊ मलाई ‘नेपाल आऊ, अनि बिहे गरेर सेटल होऊँ’ समेत भन्न भ्याउँथ्यो । अनि म कल्पनामै ऊसँग बिहेवारी गरेर छुट्टै घरसंसारमा रमाउँथें, उसका छोराछोरीकी आमा हुन्थें । मेरो निश्छल मन, कुमारी भावना र शरीर हरेक रात उसका कल्पना र सपनासँग बिटुलिन्थे । म मनले आफूलाई उसकी भइसकेकी मान्थें ।
यो मूर्खता थियो । तर, मजस्तो जीवन बिताइरहेको व्यक्तिका लागि यो मूर्खता बाँच्ने उद्देश्य बनिदिएको थियो ।
जहाँ आमा र बहिनीका लागि म आवश्यकता पूरा गर्ने एउटा साधन मात्र थिएँ, त्यहीँ युबिनका लागि हाडछालामा बेरिएको एउटा सुन्दर आत्मा ।
ऊ मेरो खोजखबर राख्थ्यो । खाए÷नखाएको सोध्थ्यो । थाकेको÷नथाकेको चिन्ता गथ्र्यो । निन्द्रा नपरे लोरीसमेत गाउँथ्यो । यी सब मेरी आमाले मेरो लागि गरेको मलाई कहिल्यै याद भएन । उसको मीठो, मनमोहक बोलीले बाबाको झल्को दिन्थ्यो ।
म उसलाई पनि पैसा पठाउँथें, जसका लागि अझै धेरै काम गर्नु पथ्र्यो मैले । हुन त ऊ मसँग पैसा माग्थेन तर जब ऊ उसका रहर र आवश्यकताहरू सुनाउँथ्यो, म पैसा पठाइदिहाल्थें । त्यसका लागि एक्स्ट्रा सिफ्ट काम गर्थें । ४–५ लाख पर्ने बाइक, महँगो मोबाइल र ल्यापटप, महँगा रेस्टुराँ र लुगाका सबै रहर पूरा गरिदिन्थेँ म, उसलाई आफ्नै मानेर ।
० ० ०
त्यो दिन मैले आमालाई फोन गरेँ । म उहाँसँग युबिनको बारेमा कुरा गर्न चाहन्थेँ तर मैले ‘हलो’ पनि राम्ररी भन्न न भ्याउँदै उहाँले भन्नुभयो, “म फोन गर्नै लागेकी थिएँ तँलाई । राम्रै भयो तैले गरिस् ।”
उहाँले मेरो हालखबर सोध्ने औपचारिकतासम्म पूरा नगरी एकनाससँग भन्नुभयो, “मैले कविताको बिहे छिनिदिएँ । अब बिहेको तयारी गर्न पर्यो ।
अरु त को छ र, तँ र मै त हौं ? अर्को महिनाको अन्तिममा कविताको अमेरिकाको फ्लाइट छ । त्योभन्दा पहिले केटाहरू बिहे सकाउन चाहन्छन् । तँ पैसा पठा, म यहाँ तयारी सुरु गर्छु, बरु अलि चाँडै गर् है !”
म केही बोल्न सकिनँ । कविता एमडी गर्न अमेरिका जाँदै थिई, त्यो मलाई यसकारण थाहा थियो कि त्यसको तयारीका लागि मैले पैसा पठाएकी थिएँ ।
तर बिहे ? यसरी ? अचानक ? मेरोभन्दा पहिले ? मलाई भाउन्न छुट्यो । उनीहरूको आँखामा म केही थिइनँ । के म पैसा छाप्ने मेसिनभन्दा बढी अरू केही मान्यता राख्थिनँ त्यो परिवारमा ? सधैँ पैसा चाहिँदा आमा मलाई ‘तँ परिवारकी जेठीबाठी छोरी, तैले नगरे कसले गर्छ ?’ भन्ने गर्नुहुन्छ ।
तर, यति महत्वपूर्ण निर्णय गर्दा म परिवारकी जेठीबाठी छोरीलाई सम्मिलित गराउन जरूरी थिएन ?
अचानक मलाई बाबासँग रिस उठ्यो । मैले काठमाडौं छोडेको दिनदेखि उहाँ हरेक रात मेरो सपनामा आउनुहुन्छ । दह्रोसँग मेरो हात थामेर यसरी मसँग बस्नुहुन्छ कि मानौँ म जिउँदो हुँदासम्म छोड्नु हुनेछैन उहाँले मेरो हात ।
किन ? ताकि म उहाँको ऋण तिर्नबाट नपन्छिऊँ ! उहाँले छोडेको परिवारको जिम्मेवारी उठाऊँ, नछोडौँ ! नत्र किन छोड्नुहुन्न मेरो हात ? किन मुक्त गर्नुहुन्न मलाई यो बोझबाट ? बोझै त थियो यो, जसलाई म सकीनसकी १० वर्षदेखि आफूमाथि लादिरहेकी छु । यो बोझ नभएको भए शायद मेरो परिवारको महत्वपूर्ण निर्णयमा म पनि सम्मिलित गराइन्थेँ हुँला । मलाई अनायास रुन मन लागेर आयो ।
म निकै बेर नबोलेपछि आमाले भन्नुभयो, “सोच्न त मैले तेरो बिहेको सोचेथेँ तर कविता र युवराज डेढ वर्षदेखि एक अर्कालाई चिन्छन्, एक अर्काको नजिक छन् । केटो राम्रो घर परिवारको र भलाद्मी छ । अहिले बिहे नगरे भोलि के होलाहोला, तेरो बिहे त गर्दै गरौँला नि । केटा पनि त खोज्नै छ ।”
२९ वर्षकी भइसकेँ म । उहाँलाई अझै कुनै हतार छैन मेरो बिहेको । तर, मभन्दा अढाई वर्ष सानी बहिनीको बिहेको हतार छ उहाँलाई । के म साँच्चै नै कुनै महत्व राख्दिनँ उहाँको आँखामा ? यदि यस्तो हो भने मलाई के जरुरी छ उहाँको लागि यसरी खटिइरहन ?
“घर आउँदैछु म अर्को हप्ता,” मैले दृढ स्वरमा भनें ।
“किन आउनु पर्यो अहिले ? टिकटमा किन त्यत्रो पैसा खर्च गर्नु पर्यो ? म बिहेको डीभीडी पठाइदिउँला । तँ काम छोडेर नआइज । कवितालाई अमेरिकामा सेटल हुन दिहाल्, यता म केटा हेर्दै गर्छु तेरो लागि । अर्को वर्षतिर हेरौँला ।” आमाले सधैंझैं हुकुम दिनुभयो ।
मलाई भएभरको शक्ति बटुलेर चिच्याउन मन लाग्यो, “भो, नखोज्नुस् मेरो लागि केटा । त्यो एक चिज पनि किन गर्नुहुन्छ मेरो लागि ?”
तर मैले केही भन्नुभन्दा पहिल्यै उहाँले ‘छिट्टो पैसा पठाइहाल् नत्र ढिला हुन्छ’ भन्दै फोन राखिदिनुभयो ।
त्यो दिन म बाबा मरेको बेलाभन्दा धेरै रोएँ । बाबा बित्दा शायद मलाई यो ढाडस थियो कि मेरी आमा र बहिनी अझै मेरो साथमा थिए । तर, आज मलाई आफू सम्पूर्ण अनाथ भएझैं लाग्यो ।
हिजोसम्म गरेका ती अनगिन्ती संघर्षले आज थकाएझैँ लाग्यो । ती भोको पेट, असुरक्षित महसुस गर्दै अनगिन्ती मानिससँग सेयर गरेको कोठामा बिताएका आधा अधुरा रातले आज तर्साए मलाई । आफ्ना लागि मारेर राखेको मन र रहरहरूले गिज्याए । मैले नेपाल जाने निधो गरेँ ।
त्यो रात आफ्नो निर्णय युबिनलाई सुनाउनुभन्दा पहिल्यै उसले दुःखद खबर सुनायो– गाउँमा उसकी हजुरआमा बितेको खबर । मैले केही भन्नै सकिनँ ।
“कुशा !” उसले गम्भीर स्वरमा भन्यो, “मलाई थाहा छैन त्यहाँ कति समय लाग्छ ! मेरो ड्याडी एक्लो छोरो हो उहाँको, त्यसैले अर्को विकल्प छैन ।
गाउँमा इलेक्ट्रिसिटी पनि छैन त्यसैले म त्यहाँ बस्दासम्म तिमीसँग सम्पर्क गर्न सक्दिनँ तर म गाउँबाट निस्केर तिमीलाई कन्ट्याक्ट गर्ने कोसिस गर्नेछु । फोन गर्न कोसिस गर्नेछु । हुन त साह्रै महँगो होला त्यसरी फोन गर्न तर...”
“तिमी चिन्ता नगर युबिन, म पैसा पठाइदिन्छु भोलि बिहानै,” मैले भनें ।
“तिमीलाई अफ्ठ्यारो त हुन्न कुशा ? मन त लाग्दैन तिमीसँग यसरी पैसा लिन तर...”
“मलाई केही अफ्ठ्यारो हुन्न युबिन, तिमी राम्ररी गएर आऊ, त्यसपछि कुरा गरौँला । मलाई तिमीसँग केही भन्नु पनि थियो, तिमी फर्केर आऊ अनि भन्छु । फोन गर्न नमिले केही छैन, तिमी आफ्नो ख्याल राख ।” मैले भनेँ ।
निकै बेर मेरो चिन्ता गरेर अलग भयो ऊ ।
भोलिपल्ट मैले उसलाई पैसा पठाइदिएँ । गाउँ हिँड्नुअघि उसले फोन गरेर पैसा पाएको कन्फर्म गर्यो । साथमा मलाई आफ्नो ख्याल राख्न आग्रह गर्दै ऊ बिदा भयो । मैले कविताको बिहेभन्दा २ दिनअघिको काठमान्डौं टिकट बुक गरेँ । अनि पाए जतिको, भ्याएजतिको काम गर्न लागिपरेँ । यतिबेला त म युबिनसँग कुरा गर्ने समय पनि काममै लगाउन सक्थेँ ।
० ० ०
१० वर्षभन्दा पनि लामो समयपछि काठमाडौं एयरपोर्टमा ओर्लिंदा एकछिन त जिल्लिएँ म । मैले आफू आउने कुरा गरेकी थिइनँ घरमा । बिनासूचना आएकीले आफ्नै घर खोज्न हम्मेहम्मे भयो । वस्ती बाक्लिएर गजमज्ज सहरमै परिणत भएको थियो । त्यसमाथि मेरो घर पुरानो घर कहाँ थियो र अब ! त्यो शानदार घरको त मैले कल्पनासम्म गरेकी थिइनँ । सोध्दै, खोज्दै गएर मैले घरको घण्टी बजाएँ । एउटी अधवैंशे महिलाले ढोका खोलिन् । पछि थाहा पाएँ– उनी घरको कामधन्दा सघाउन राखिएकी रहिछन्, वर्षौंदेखि ।
घरमा बिहेको चहलपहल धूमधामका साथ सुरु भइसकेको थियो । त्यो घरको चमकदमक, त्यहाँका मान्छेको रहनसहन– पत्याउनै गाह्रो थियो कि त्यो एउटा मध्यमवर्गीय परिवार थियो ।
आमा र कविता दुबै खासै खुसी भएनन् मलाई देखेर । बाँकी अरू कसैले त मलाई चिन्दा पनि चिनेनन् । कामको बोझले थिचिएर म उमेरसँगै ठूली हुनुभन्दा झनै सानी भएथेँ । मेरो तुलनामा कविता अग्ली, परिपक्व र सुन्दर देखिन्थी । हाड र छालामात्रकी म त त्यो भीडमा देखिँदा पनि देखिन्नथेँ र शायद आमा र कविता पनि म नदेखिएकै रुचाउँथे ।
आएको केही घण्टा बित्दा नबित्दै मलाई पछुतो लाग्न थालिसकेको थियो यहाँ आएकोमा ।
साँझमा निम्तो लिएर जाने बेलामा म पनि जान तम्सिएँ ।
“तँ किन जानुपर्यो ?” आमाले अप्रिय भावले भन्नुभयो ।
“म पनि त हेरौँ मेरो हुनेवाला ज्वाइँ ।” मैले तटस्थ स्वरमा भनेँ ।
कविता र आमाले आँखैआँखामा मन्त्रणा गरे । आमाले भन्नुभयो, “भोलि देखिहाल्छेस् नि । तँ दिदीसासू जान हुन्न निम्तो लिएर ।”
“कसले मान्छ आजकल यस्तो कुरा ?” मैले आफ्नो जिद्दी छोडिनँ, “म नभनौँला नि कविताकी दिदी हुँ भनेर ।”
कविताको अनुहारको रंग फेरियो । मैले जिद्दी नछोडेपछि आमाले मलाई तानेर अर्को कोठामा लग्नुभयो अनि कविताको एउटा झिलिमिली साडी लगाउन दिनुभयो । तर, मैले त्यो लगाउन मानिनँ । अरुबेला भए मलाई कुनै आपत्ति हुन्थेन तर यतिबेला म उनीहरूको व्यवहारले म दुखेकी थिएँ ।
त्यही प्रतिशोधका लागि पनि म उनीहरूविरुद्ध हुन खोजिरहेकी थिएँ । यसले सन्तोष दिन्थ्यो मलाई ।
म आफ्नो त्यही पुरानो लुगामै जान तयार भएँ ।
बेहुलाको घर देखेर झन् तीनछक परेँ । साइडमा दुइटा महँगा गाडी पार्क गरिएका थिए । एकपटक त गर्व पनि लाग्यो कि मेरी बहिनी यति राम्रो घरमा बुहारी बनेर भित्रिदैछे । केटाका बाबु आमाले हाम्रो भव्य स्वागत गरे । कति राम्रो घर । कति सुन्दर परिवार ! कति भाग्यमानी मेरी कविता !
मेरो मनबाट मानौँ सारा व्यथा र गुनासा पुछिए । केटाकी आमाले छोरालाई लिएर आइन् । म हेरेको हेर्यै भएँ । कति सुन्दर र सभ्य देखिन्थ्यो ऊ ।
कति राम्रो व्यक्तित्व । विगत दुई वर्षदेखि मैले मेरो कम्प्युटरको स्क्रिनमा, फेसबुकमा देखिरहेको भन्दा सर्वथा भिन्न देखिन्थ्यो ऊ ।
“हजुरआमा मरेको दुई महिना पनि नपुग्दै बिहे गर्न मिल्छ तिम्रो कास्टमा, युबिन ?” मैले टीका थाप्न ठिक्क उसको सामु गएर बिस्तारै भनें । उसको अनुहार विवर्ण भयो । उसले आतंकित भावले मतर्फ हे¥यो । म व्यंग्यपूर्वक मुस्कुराएँ ।
“को युबिन ?” छेउमा बसेकी उसकी आमाले भनिन्, “तिमी को हौ ?”
“छोरालाई सोध्नुस्, उसले के भनेर चिनाउँछ तर यदि मलाई सोध्नुहुन्छ भने म तपाईंकी फेसबुके बुहारी, जोसँग तपाईंको छोरो विगत दुई वर्षदेखि बाँधिएको छ ।”
म फरक्क फर्किएँ र बाहिर निस्किएँ ।
“यो बिहे हुँदैन,” घरमा पस्नेबित्तिकै मैले घोषणा गरेँ ।
“होइन के भन्छे यो ?” आमाले मलाई तानेर अलि छुट्टै कुनातिर लग्दै भन्नुभयो, “बहुलाउन त बहुलाइनस् ?”
“मलाई अरु केही थाहा छैन, तर त्यो केटासँग कविताको बिहे हुन्न ।”
“तैले भनेर ?” पछिपछि आएकी कविताले च्याँठ्ठिदै भनी, “एक डेढ वर्षदेखि हामी एक–अर्कालाई चिन्छौँ, मन पराउँछौं, यो कुरो आमालाई पनि थाहा छ । अब अहिले आएर तैँले भन्दैमा किन हुन्न मेरो बिहे ?”
“किनकि दुई वर्षदेखि ऊ मसँग फ्लर्ट गरिरहेको छ फेसबुकमा । तँलाई चिन्नुभन्दा पनि पहिलेदेखि मसँग बिहे गरेर सेटल हुने सपना देखाइरहेछ ऊ मलाई ।”
मैले नचाहँदा नचाहँदै मेरो स्वरमा तिक्तता मिसियो, “मेरो एक्लोपन र भावनासँग खेलाँची गरिरहेछ ऊ । मेरो रगत पसिनाले भिजेको कमाइमा मोज गरिरहेछ ऊ । सबैभन्दा असह्य– मेरो पवित्र मनसँग बलात्कार गरिरहेछ ऊ लगातार ।”
“झुट !” ऊ कराई, “युवराज बस्नेतजस्तो धनी मान्छेलाई पैसाको के खाँचो ? अनि मजस्तो गर्लफ्रेन्ड हुँदाहुँदै गर्छ होला नि खुब तँसँग त्यस्तो कुरा ?”
“किन ? तँसँग गर्ने कुरा मसँग किन गर्न सक्दैन उसले ?” मेरो स्वर चिसो भयो ।
“ऐनामा अनुहार हेरेकी छस् आफ्नो ? कहीँ नपाएर तँसँग बिहे गर्छु भन्छ होला नि उसले ? मेरो राम्रो घरमा, राम्रो केटासँग बिहे हुन लागेको देख्न नसकेर भनेकी होस् तैँले, मलाई थाहा छ मेरो रिस...।”
उसले खरर भनिरहँदा मैले कसेर एक झापड लगाएँ उसको गालामा ।
“तेरो रिस ? कुन कुरामा बेटर छेस् तँ मभन्दा ? के छ तँमा रिस गर्न लायक ? यो चमकदमक ? त्यो मेरो बुताको हो । तेरो डाक्टरको डिग्री ? मेरो पसिना होइन, रगत बेचेर कमाएको पैसाले आर्जेको । यदि यो सब नहुँदो हो त फर्केर हेर्ने थिएन उसले तेरो अनुहार ।”
“चुप लाग् !” आमाले भन्नुभयो, “यही गर्न आएकी तँ यहाँ ? बिहे गरेर जान लागेकी बहिनीको मन दुखाएर ?”
“अनि मेरो मन नि आमा ? यो त दुखेको मात्र होइन, दुख्दादुख्दा कुहिसकेको छ बाबा बितेदेखि,” मैले काँतर स्वरमा भनें, “कुनै दिन एकै पलको लागि मेरो मनको बारेमा पनि सोचेर हेर्नुभयो तपाईंले ? हेर्नुस् मलाई, यो मेरो जिउमा भएको लुगा त्यही हो, जुन यहाँबाट जानुअघि बाबाले किनिदिनुभएको थियो । आज १० वर्षपछि पनि त्यही लगाउँदैछु म । तपाईंहरूको यत्रो शानशौकतको खर्च भर्न सक्ने मैले यदि चाहेको भए के गर्न सक्थिनँ आफ्नो लागि ? तर, मैले आजसम्म आफूलाई मन लागेको खानेकुरा समेत खान सकिनँ । आमा ! तपाईंहरूको ऋण तिर्ने कोसिसमा मैले त बाँच्नै बिर्सिदिएँ तर मैले तपाईंहरूबाट एक शब्द सहानुभूति सुनिनँ ।”
म कवितातिर फर्किएँ, “केही छैनस् तँ मेरो तुलनामा किनकि तँ अर्को सात जन्म कोसिस गरेर पनि म बन्न सक्दिनस् । मसँग जे छ, त्यो तँसग कहिल्यै हुनेछैन । त्यसैले मलाई तँसँग रिस गर्नुपर्ने कुनै कारण छैन । तँ यदि त्यो केटासँग बिहे गर्छेस् भने खुसीखुसी गर् । तर, त्योभन्दा पहिले यो सत्य सुनिराख् कि युवराज बस्नेत चाहे जतिसुकै धनाढ्य होस्, जतिसुकै रूपवान होस्, उसको र एउटी वेश्याको औकातमा केही अन्तर छैन आज मेरो नजरमा । फरक यति हो कि बेश्या शरीर बेच्छे, ऊ शब्द र भावना बेच्छ । तर शायद वेश्याहरू ऊभन्दा इमान्दार हुन्छन्, कमसेकम उनीहरू जोसँग पैसा लिन्छन्, उसलाई इमान्दारीपूर्वक शरीर सुम्पन्छन् तर युवराज बस्नेतमा त त्यो इमान्दारी पनि रहेनछ । त्यसैले त ऊ पैसा लिएर पनि मप्रति इमान्दार हुन सकेन । भावना मसँग बाँडिरह्यो शरीर तँसँग ....”
“कुसुम !” आमा कराउनुभयो । म रोकिइनँ । कवितासँग भनिरहेँ, “त्यो मान्छेले तँलाई चढाएको बाइक मेरो पैसाले किनेको हो, त्यसमा हालेको पेट्रोल मेरो पैसाको हो । तँलाई खाना ख्वाएको बिल तिरेको मेरो पैसाले हो । तँलाई फूल, गिफ्ट किनेर दिएको मेरो पैसाले हो । शायद तँलाई दिने औँठीसमेत मेरो पैसाले किन्यो होला । केही हप्ताअघिमात्र ३ लाख पठाएथेँ उसलाई ।”
आमा र कविता मूर्तिझैं ठिंग उभिएका थिए । उनीहरूको अनुहारमा विश्मयका लामा–लामा घेरा कोरिएका थिए ।
मैले भनिरहें, “मलाई थाहा छ– तिमीहरू पत्याउँदैनौ यो कुरा । त्यसैले म अस्ट्रेलिया पुगेर सारा रसिदहरू पठाइदिन्छु । अब पनि तँ आफूलाई सर्वश्रेष्ठ र उसलाई सर्वश्रेष्ठको लायक सोच्छेस् भने मेरो भन्नु केही छैन ।”
मैले आफ्नो ब्याग झिकेर ल्याएँ । आमा र कविता अझै मूर्तिवत् त्यहीँ उभिएका थिए । मैले आमालाई भनें, “म घर आएकोमा तपाईंहरूलाई जति अफशोच छ, त्योभन्दा कैयौं गुणा ग्लानी छ मलाई । त्यहाँ हुँदा जेजस्तो भए पनि सोच्नकै लागि सही– मेरो घर थियो, परिवार थियो । तर, घर आएर म सर्वथा अनाथ र बेघर भएर फर्किंदैछु ।”
मेरो स्वर धस्सियो । मनको ज्वारभाटा रोकिएन, “तर, मलाई एउटा कुराको सन्तोष छ कि मैले बाबाको ऋणमात्र होइन, तपाईंको दूधको भारा पनि चुकाइसकेकी रहेछु आमा । अब स्वतन्त्र छु म । ऋणमुक्त !”
म बाहिर निस्किएँ । कोही मेरो पछाडि आउने कोसिस गरेन ।