विशेष
काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यक्तिगत रूपमा कर तिर्नेमा तारा म्यानेजमेन्ट ग्रुपका प्रबन्ध निर्देशक सिद्धार्थशमशेर जबरा भएका छन् ।
अघिल्लो वर्ष दोस्रा भएका राणा गत वर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा सूचीकृत भएका छन् । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सरकारले उनलाई पुरस्कृत गरेको हो । उनको समूहको सिप्रदी ट्रेडिङ प्रालि पनि बढी कर तिर्ने कम्पनीको रूपमा सरकारले पुरस्कृत गरेको छ । राणा विगत लामो समयदेखि बढी कर तिर्ने व्यक्तिको रुपमा पुरस्कृत हुँदै आएका छन् ।
यसैगरी विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई बुधबार पुरस्कृत गरेको छ । सरकारलाई सबैभन्दा बढी कर बुझाउने करदातामा चुरोट उत्पादक सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट विभिन्न औषधीजन्य वस्तु उत्पादक डाबर नेपाल प्रालि, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल लिमिटेड र पशुपन्क्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज प्रालि पुुरस्कृत भएका छन् । सुर्य नेपाल, डाबर र युनिलिभर बहुराष्ट्रिय कम्पनी हुन् ।
विभागका अनुसार बढी कर तिर्ने बैंकमा नबिल बैंक भएको छ । सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त विकास बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पाेरेसन नेपाल लिमिटेड र विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेड पुरस्कृत भएका छन् ।
पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड, साना करदाता मध्येबाट सिवेक अस्पताल प्रालि पुरस्कृत भएको छ । कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा बढी कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पनि पुरस्कृत भएको छ ।
सबैले कर तिरे देशको राजश्व बढ्छ : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले सबैले कर तिरे मात्र देशको राजश्वमा वृद्धि हुने बताएका छन् । पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री महराले सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिए । उनले सबैले कर तिरे राजस्व वृद्धि हुने र राजस्व वृद्धि भएपछि त्यसको प्रतिफल जनताले पाउने बताए ।
सो अवसरमा राजस्व सचिव राजन खनालले सरकारले जनतासँग कर लिएपछि सेवा र सुविधा दिनुपर्छ भन्दै यसबाट मुलुकको उन्नति हुने बताए । आमजनतासँग लिएको कर उनीहरुको हितमा उपयोग भए मात्र त्यसले सार्थकता पाउने खनालको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले करप्रशासन र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । विद्यमान कर प्रणालीमा धेरै झण्झटिलो भएको जिकिर गर्दे उनले करसम्बन्धी कानुन परिमार्जनमा जोड दिएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १४:०५
प्रतिक्रिया दिनुहोस्