साहित्य
यौवनको भोक मेट्न गरिएको प्रेम–नाटकले निम्त्याएको आत्महत्या र हत्यासँगै चोखो प्रेमको दुःखद् अन्त्य नै चलचित्र ‘झुम्की’को मुख्य कथानक हो ।
चलचित्रकी मुख्य पात्र देवकी (रिस्मा गुरुङ), असई गोकुल (मनोज आरसी), झुम्की (मलिना जोशी), इन्सपेक्टर (दयाहाङ राई), फागुराम (प्रमोद अग्रहरी), एसपी कविन्द्र (रविन्द्रसिंह बानियाँ) वरपर चलचित्र घुमेको छ ।
चलचित्रको केन्द्रीय कथा ‘झुम्की’को भए पनि त्यसलाई देखाउन देवकीलाई उभ्याइएको छ । मुख्य कथा भन्न अर्को व्यक्तिलाई केन्द्रीय पात्रका रूपमा उतारिनु यो चलचित्रको फरक विशेषता हो । रामबाबु गुरुङले विरलै चलचित्रमा गरिने यो प्रयोग कथेर विषय एउटै भए पनि कथा फरक–फरक तरिकाले भन्न सकिने देखाएका छन् । त्यसमा निर्देशक अपिल विष्टले न्याय गरेका छन् ।
चलचित्रमा कलाकारहरूले आफूलाई दिइएको भूमिकामा न्याय गरेका छन् ।
चलचित्रको छायांकन सुन्दर छ । राप्ती नदीमा खिचिएका ल्यान्डस्केप दृश्यले दर्शकको ध्यान तान्छन् ।
विद्रोह कालको ‘अफबिट’ प्रेमकथालाई दर्शकको संवेगमा अनुवाद गर्दा चलचित्र राम्रो बनेको त छ नै, सँगसँगै कमजोरीहरू पनि उत्तिकै छन् ।
मध्यान्तरअघि तालको पानीझैं जमेको छ, कथा अघि बढ्नै सक्दैन । फ्ल्यासब्याकका रूपमा देखाइने दृश्य हेर्दा दर्शक बेलाबेला झुक्किन्छन् । दर्शकलाई स्पष्ट पार्न खोज्दा कथा झनै गाँठो परेको भान हुन्छ । मध्यभागमा पुग्दासमेत दर्शकले कथाले कुन मोड लिने हो भन्ने अनुमान लगाउन सक्दैनन् ।
काठमाडौंबाट दाङ फर्किंदा नारायणगढबाट देवकी र गोकुल संयोगले एउटै बसमा पर्छन् । देवकीले चाल पाउँछे र भाग्छे । गोकुलले देवकीलाई देखेकै हुँदैन र पनि ऊ पछिपछि दौडिन्छ । कसरी ? देवकीको दृष्टिकोणबाट देखिनुपर्ने एउटा फ्ल्यासब्याक सिन असई गोकुलको कोणबाट देखाइँदा खल्लो लाग्छ ।
चलचित्रको ‘पेस’ सुस्त छ । ट्रेलर हेर्दा ‘झुम्की’को विधा सस्पेन्स थ्रिलर होझैं लाग्छ । तर, चलचित्र त्यस्तो छैन । यो दुई असफल प्रेमको कथा हो । गोकुलले देवकीलाई पछ्याउने सिन धेरै हुँदा दिक्क लाग्छ । त्यसको ठाउँमा प्रहरी अनुसन्धानलाई अझै जोड दिएको भए यसले अन्तिमसम्मै दर्शकमा हुटहुटी पैदा गर्न सक्थ्यो ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको कथा भनेर प्रचार गरिए पनि त्यसको छनक खासै देखिँदैन । ठाउँ–ठाउँमा देखिने सेनाको जाँचले मात्रै सशस्त्र द्वन्द्वको अवस्था अनुमान गर्न सकिन्छ ।
‘कबड्डी’जस्तो चलचित्र बनाएका रामबाबुले ‘झुम्की’को संवादमा मेहनत गरेका छैनन् । बेलाबेला दर्शकलाई हँसाउन ‘डबल मिनिङ’ जोक घुसाइदिएका छन् । संवादको शब्द चयनमा पनि ध्यान दिइएको छैन । थारु समुदायको ‘टोन’ बेला–बेलामा चिप्लिएको छ ।
निर्देशकीय हिसाबमा अपिल विष्टको मेहनत प्रशस्त देखिन्छ ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३ ०९:४५
प्रतिक्रिया दिनुहोस्