काठमाडौं । सोमबार बिहान काठमाडौंबाट फोहोर बोकेर नुवाकोटस्थित सिसडोल जाँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट मृत्यु हुने पदमबहादुर बलामीका परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । सोमबार बिहान ककनी गाउँपालिका वडा नं. १ स्थित महालक्ष्मीस्थानमा भएको उक्त दुर्घटनामा बलामीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
काठमाडौं महानगरपालिका, पीडित पक्ष, सवारी धनी, ककनी गाउँपालिका वडा १ का वडाध्यक्ष, बूढानिलकण्ठ र तारकेश्वर नगरपालिकाका वडाध्यक्षहरुबीच भएको छलफलबाट पीडितलाई दुर्घटना गराउने सवारीधनीले १५ लाख र काठमाडौं महानगरले ५ लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप रकम उपलब्ध गराउने सहमति भएको हो ।
उक्त छलफलमा मृतकका छोरा राजु बलामीलाई योग्यताबमोजिम महानगरमा दरबन्दी रिक्त भएका बेला प्राथमिकताका साथ रोजगारी दिने र टिपर चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई पहल गरिने तथा स्थानीयले फोहोर ढुवानीमा कुनै रोकावट नगर्ने सहमति जुटेको छ ।
पीडितलाई उपलब्ध गराउने रकममध्ये गाडी धनीले किरिया खर्चबापत ५० हजार रुपैयाँ तत्काल, १ लाख रुपैयाँ भदौ १२ गतेभित्र र बाँकी रकम ३५ दिनभित्र वैंक खातामा उपलब्ध गराउने सहमति भएको काठमाडौं महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनालले बताए ।