बीबीसी । सन् २००३ को अक्टोबर महिनामा पुरातत्वविद् सर्जियो गोमेज ‘पिरामिड अफ तियोथिहुआकेन’ को संरक्षणमा जुटिरहँदा भारी वर्षा भइरहेको थियो । एक राति सर्जियो गोमेज आफ्नो काममा व्यस्त थिए, त्यही समयमा वर्षातको पानी जमिन मुनी जान थाल्यो...र हेर्दा–हेर्दै एउटा खाडल पर्यो ।
भोलिपल्ट गोमेज डोरीको सहायतामा वर्षातको पानीले परेको खाल्डोभित्र पसे । झण्डै १४ मिटर तल पुग्दा उनले एक सुरुङ देखे । सर्जियो गोमेज आफ्नो उक्त खोजका बारेमा बीबीसीसँग भन्छन्, “सुरुङ देख्ने वित्तिकै मलाई यो कुनै महत्वपूर्ण वस्तु हो भन्ने लाग्यो । तर त्यस बेलासम्म मलाई यसको महत्वका बारेमा कुनै अनुमान थिएन । केही समयपछि यो सुरङ २००० वर्ष अगाडि तियोथिहुआकेन सहरले बनाएको स्मरण भयो ।’’
यद्यपि तियोथिहुआकेन सभ्यताका मानिसहरुद्वारा निर्माण गरिएको उक्त सुरुङको खोज र उद्देश्यलाई सम्झिन लामो समय लागेको छ ।
जहाँ मानिस भगवान बन्दथे
हामी ईसाको जन्मभन्दा ४५० वर्ष अगाडि रहेको सभ्यताको कुरा गरिरहेका छौं । र ईसाको जन्म भएको ५५० वर्षपछि आफ्नो चरमोत्कर्षमा थियो । उक्त ऐतिहासिक सहरमा झण्डै दुई लाख मानिसहरुको बसोबास रहेको थियो ।
तियोथिहुआकेन शब्दको अर्थ हुन्छ– “जहाँ मानिस भगवान बन्छन्’’
यसका बारेमा प्रष्ट पार्दै विशेषज्ञ भन्छन्, “क्लासिकल पीरियडका दौरान हिस्पेनिक कालभन्दा अगाडि अमेरिकी महाद्वीपमा यो सबैभन्दा बढी आवादी भएको सहर थियो ।’’
यो सहरमा अलग–अलग विचार र पृष्ठभूमी भएका मानिसहरु सहरको मोजुदा अवसरको लाभ उठाउन पुग्दथे । शुरुआतमा ति मानिसहरु खेती गर्नमा मात्रै सीमित थिए । पछि उनीहरुले आफ्नो ध्यान सामानहरुको उत्पादन र आदान–प्रदानमा लगाए । अध्ययनहरुका अनुसार मीजो अमेरिकाको समयमा उक्त सहरको सम्बन्ध झण्डैझण्डै हरेक समकालीन संस्कृतिसँग रहेको थियो ।
पृथ्वीभित्रको मार्ग
सुरुङमा गरिएको खोज अनुसन्धान सहरको इतिहास बुझ्न धेरै नै उपयोगी सावित भएको छ । सहरलाई तियोथिहुआकेनका मानिसहरुले नै तहस–नहस गरेर छोडेको अनुमान गरिन्छ । उनीहरुले छाडेको कयौं शताब्दी पछि एजटेक नागरिकहरुले यो सहरमा बसोबास गर्न शुरु गरेका थिए ।
सुरुङको खोजीका लागि चलाइएको अभियानलाई त्लालोकन भनिएको थियो । जसको अर्थ हुन्छ, पृथ्वीभित्र मार्ग छ । सर्जियो गोमेज भन्छन्, “यो सुरुङ यस कारण पनि महत्वपूर्ण छ, किनकी यसको खोज–अनुसन्धानमा प्रयोग गरिएको प्रविधि अहिलेसम्म कुनै पनि परियोजनामा प्रयोग गरिएको छैन् ।’’
यो प्रविधिमा लेजर स्क्यानर र दुई वटा रोबोट प्रयोग गरिएको थियो । मेक्सिकोले पुरातात्विक खोजमा पहिलो पटक रोबोट प्रयोग गरेको यो पहिलो घटना हो । यसभन्दा अगाडि मिस्रमा यो प्रविधिको प्रयोग गरिएको थियो ।
कस्तो छयो सुरुङ ?
झण्डै १७ सय वर्षदेखि बन्द सुरुङको सन् २००९ मा खोज–अनुसन्धान शुरू गरिएको थियो । रोबोटको सहायतामा पाइपनुमा संरचनाको दोस्रो मुहानमा एउटा खुला स्थान रहेको खुलासा भएको थियो । र तियोथिहुआकेनहरुले निर्माण गरेको यो सुरुङमा तीन वटा कोठाहरु छन् ।
सुरुङको के मुख्यद्वारदेखि अन्त्यसम्म यसको लम्बाई १०३ मिटर छ । जुन १४ मिटर गहिराईबाट शुरु भएर १८ मिटर गहिराईसम्म छ ।
विशेषज्ञहरुका अनुसार तियोथिहुआकेनमा बसोबास गर्ने मानिसहरुले सुरुङको प्रयोग गरेपनि पछि गएर यसलाई बन्द गरिदिएका थिए । यद्यपि प्रयोग पछि बन्द गरिनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् । तर उनीहरुले सुरुङमा केही पटक घुमेको र पछि यसलाई बन्द गरिदिएको विशेषज्ञहरुको भनाई छ ।
गोमेज भन्छन्, “हामीले यो सुरुङको खोजीका लागि अत्यन्तै सावधानीपूर्वक ८ वर्ष लगायौं । हजारौं टन माटो र ढुंगालाई ब्रश र सुइरोको सहायतामा हटाइएको थियो ।’’
सुरुङ के फेला पर्यो ?
सुरुङमा एक लाखभन्दा बढी सामानहरु फेला परेका छन् । गोमेज ति बस्तुहरुको महत्वका बारेमा जानकारी दिँदै भन्छन्, “कति सामानहरु फेला परे भन्ने कुरा महत्वपूर्ण होइन् । यि सामानहरुले हामीलाई यस सभ्यताका मानिसहरुले दुनियाँलाई हेर्ने नजर र प्राचीन मीजो अमेरिकी नागरिकहरुको धर्मका बारेमा जानकारी दिन्छन् ।’’
सुरुङमा फेला परेका सामानहरुका बारेमा अहिले प्रारम्भीक चरणमा जानकारी लिने काम भइरहेको र सुरुङबाट अत्यन्तै महत्वपूणृ सामानहरु फेला परेको पुरातत्वविद्हरुको भनाई छ ।
विशेषज्ञहरुका अनुसार सुरुङमा फेला परेका अधिकांश सामानहरु प्रयोग नगरिएको अवस्थामा रहेका छन् भने ति सामानहरु उपहार स्वरुप प्रदान गर्नका लागि तयार गरिएका थिए । सुरुङमा चार मुर्तीहरु पनि फेला परेका छन् । जसमा तीन महिलाका र एक पुरुषको मुर्ती छ ।
महिलाका मुर्तीहरु पुरुषको तुलनामा लम्बाईमा ठूला छन् भने कपडा लगाइएका छन् भने पुरुषको मुर्ती नग्न अवस्थामा छ । गोमेज भन्छन्, “यसले उक्त सभ्यतामा महिलाहरुले शक्ति र धार्मिक मामिलामा अहम भूमिका निर्वाह गरेको प्रमाणित गरेको छ ।’’
मीजो अमेरिकाको युगमा मानिसहरुका लागि आकास, धर्ती र पाताल गरी तीन लोक हुन्थे । पाताल एउटा कालो, चिसो र ओसिलो स्थान हुन्थ्यो । यसलाई मृत्युको स्थानका रुपमा नभएर उत्पादनको स्थानका रूपमा लिइन्थ्यो ।
पातालमा तीनै लोक सञ्चालन गर्ने देवताहरुको बास हुने गर्दथ्यो । यस प्रकारले जब कुनै राजाको मृत्यु हुँदा उसको पार्थिव शरीरलाई जमीन भित्र लगिन्थ्यो भने नयाँ राजालाई पनि शक्तिका लागि जमीन भित्र जानु पर्दथ्यो । त्यस पछि उ देउताका रुपमा बाहिर निस्कन्थ्यो । यसै कारण यो सुरुङमा आममानिसहरु जादैन थिए । सुरुङको प्रयोग धार्मिक कामका लागि मात्रै प्रयोग गरिन्थ्यो ।
सर्वसाधारणले कहिल्यै हेर्न नपाउने
सुरुङको मुहानलाई अहिले बन्द गरिएको छ । यो सुरुङमा सर्वसाधारणका लागि कहिल्यै नखोलिने बताइएको छ । गोमेज यसको कारण सम्झाउँदै भन्छन्, “यो एक खतरनाक स्थान हो । हामीले यसलाई सुरक्षित राख्नका लागि सबै आवश्यक कदम उठाउन आवश्यक छ । यो अन्त्यन्तै साघुरो भएका कारण बढी मानिसहरु भित्र पसे भत्किने सम्भावना छ ।’’