अमेरिका । नेपाली रुपैयाँ तिरेर अमेरिकी डलर लिँदा अहिलेसम्मकै सबैभन्दा वढी पैसा तिर्नुपर्ने भएको छ । टर्कीमा देखिएको वित्तीय संकटका कारणले विश्व मुद्रा बजारमा उथल पुथल आउँदा अमेरिकी डलर महंगो भएको हो ।
विदेशी पैसाको समर्थन मूल्य तोक्ने राष्ट्रबैंकले मंगलवारका लागि प्रति अमेरिकी डलर ११२ रुपैयाँ २० पैसा बिक्री दर तोकेको छ । यसको मतलब बाणिज्य बैंकमा डलर किन्दा एक अमेरिकी डलर बरावर ११२ रुपैयाँ २० पैसा तिर्नुपर्छ भन्ने हो ।
तर, वाणिज्य बैंकले कारोबार समयमा छिन छिनमा डलरको मूल्य परिवर्तन गरिरहेका हुन्छन् । वाणिज्य बैंकहरुले बनाएको एउटा समूहले डलरको मूल्य छिन छिनमा निर्धारण गरिरहेको हुन्छ ।
त्यही आधारमा डलर तल माथि हुने गर्छ । डलर बढ्दा विद्यार्थी वा घुम्न विदेश जानेलाई नोक्सान पर्छ । विदेशवाट किनेर ल्याउने समान, जहाज टिकट पनि महंगो पर्छ । नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा ब्याजका लागि पनि थप रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
फाइदा डलरमा आर्जन गर्नेलाई हुन्छ । जसले डलरमा आर्जन गरेर नेपाल पठाउँछन उनीहरुका परिवारका हातमा थप पैसा पर्नेछ । यो नेपालवाट बाहिर पैसा लाने समय अनुकूल होइन । पठाउने अनुकूल समय भएको अर्थविद्हरु बताउँछन् ।
डलर मूल्य बृद्धिलाई फाइदा नोक्सानको तराजुमा राख्दा नेपाललाई बेफाइदानै बढी हुन्छ । नेपालले निकासीको तुलनामा कयौं गुणा वढी विदेशी सामान किन्छ ।
टर्कीको वित्तीय संकटवाट डलर मूल्यमा उथल पुथल भएको हो । तर, टर्कीको प्रभाव सिधै नेपाल आएको भने होइन ।
भारत हुँदै नेपाल भित्रिएको हो । भारु र नेरुबीच निश्चित स्थायी विनिमय दर तोकिएकाले भारु कमजोर हुँदा नेरु पनि कमजोर भएको हो । सिधा भन्दा नेपालको मौद्रिक निकाय राष्ट्रबैंकले डलर मूल्यमा कुनै नियन्त्रण गरेको छैन । भारुमा तलमाथि हुने वित्तीकै नेरुमा असर पर्छ । यही आधारमा मौद्रिक अर्थशास्त्रीहरुले नेपालको स्वतन्त्र मौद्रिक नीति नै छैन भन्छन् ।
भारु र नेरुको १०० बरावर १६० विनिमय दरपनि अहिलेको सन्दर्भमा ठिक नभएको कुरा उठ्ने गरेको छ । तर, यो निकै संवेदनशील विषय भएकाले राष्ट्रबैंक, अर्थमन्त्रालय मौन वस्दै आएका छन् ।
टर्कीकै आर्थिक संकटका कारण सोमवार प्रति डलर भारु ६९ रुपैयाँ ९१ पैसा पुगेको थियो । भारुको यो गिरावट अहिलेसम्मकै सवैभन्दा उच्च हो । यही आधारमा नेपालमा पनि नेरु कमजोर भएको हो । टर्कीको मुद्रा लिराले केही दिन यता उच्च गिरावटको सामना गरिरहेको छ ।