काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’. र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने, “अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्स्सँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।”