Skip Advt.

साहित्य र कला

बायोपिकको बोझ

बायोपिकको बोझ

— दृश्य


‘सन्जु’ फिल्म प्रदर्शनमा आएदेखि धेरै नै हल्लाखल्ला भइरहेको छ । यो लेख पनि त्यही हल्लाखल्लाको निरन्तरता हो ।

कसैले भन्दैछन्— हिरानीको सबैभन्दा कमजोर फिल्म यही हो ।

कोही भन्दैछन्— यो वर्षकै उत्कृष्ट फिल्म हो ।

सामाजिक सञ्जालमा ‘रेटिङ’ दिने कुरादेखि एक–आपसमा बाझाबाझ गर्नसम्म मान्छेले भ्याइसके । गुटबन्दी शुरु भइसकेको छ । ‘सन्जु’ मन पराउने एकातिर, मन नपराउने अर्कातिर । म सम्झन्छु— राजकुमार हिरानीकै ‘पिके’ प्रदर्शन हुँदा पनि यस्तै हल्लाखल्ला भएको थियो । हिरानीले सञ्जय दत्तको चरित्र सफा गर्न ‘सन्जु’ बनाए भन्नेदेखि लिएर एउटा मित्रले अर्को मित्रलाई दिएको महँगो ‘गिफ्ट’ भन्नसम्म मानिसले भ्याइसके । यो लेख ‘सन्जु’को समीक्षा होइन । न त सञ्जय दत्तको जीवनमाथिको चिरफार नै । यो सब चर्काचर्कीबीच मेरा मनमा उत्पन्न भएका केही कुराहरू हुन् ।

संसारभर ‘बायोपिक’ फिल्महरू बन्छन्, किताबहरू लेखिन्छन् । अहिलेसम्म हजारौं बायोपिक बनिसके होलान् । बायोपिकको परिभाषा साधारण छ— कोही वास्तविक चरित्रमाथि बनाइएको फिल्म । प्रायः बायोपिकहरूले कुनै व्यक्तिको शुरुवातदेखि अन्त्यसम्मको कथा भन्छन् । केही वर्षअघि प्रदर्शनमा आएको ‘एमएस धोनी— दि अन्टोल्ड स्टोरी’ देखि राकेश ओमप्रकाश मेहेराको ‘भाग मिल्खा भाग’, प्रियंका चोपराअभिनीत ‘मेरि कोम’, मोहम्मद अजरूद्दिनको जीवनमा आधारित ‘अजहर’, दशरथ मान्झीको ‘मान्झी— दि माउन्टेन म्यान’, ‘पानसिंह तोमार’, ‘दि लेजेन्ड अफ भगत सिंह’, ‘दंगल’ सबै फिल्ममा एउटा समानता भेटिन्छ । कथा पात्रको जन्मदेखि शुरु हुँदै उनीहरूले यौवनकालमा गर्नु परेका संघर्ष, दुःख, उकाली–ओराली, प्रेम सम्बन्ध हुँदै उनीहरूले चुमेका सफलतामा गएर बिसर्जन हुन्छ । कुनै पहिलेदेखि नै प्रसिद्ध पात्रहरू हुन्छन्, कुनै नचिनिएका र चर्चामा नआएका (मान्झीजस्ता) हुन्छन् । कोही जीवित हुन्छन्, कोही मरिसकेका । कोही फिल्म बनाउँदा संलग्न हुन्छन्, कोही हुँदैनन् । कसैको बायोपिक वास्तविक कथासँग हुबहु मेल खाने हुन्छ भने केही फरक । यी सबै फिल्ममेकरको स्वतन्त्रताका कुरा हुन् । तर, स्वतन्त्रताको दुरुपयोगले नमीठै उदाहरणहरू पनि पेश गरेका छन् । वास्तविक पात्रले फिल्ममाथि मुद्दासम्म हालेका उदाहरण छन् । कतै पात्रले फिल्मको खुलेरै प्रशंसा गरेका उदाहरण पनि छन् । जे भए पनि बलिउडले बायोपिकमा अपनाएको सूत्र प्रस्ट छ ।

बलिउडमात्र नभई नेपालमा पनि केही बायोपिकहरू बनिसकेका छन् । ‘आचार्य’, ‘ब्लाइन्ड रक्स’, ‘आदिकवि भानुभक्त’ आदि । यहाँ पनि बायोपिकको सूत्र उही नै छ । बाल्यकालदेखि बुढेसकालसम्मको इतिवृतान्त । आम मानिसले थाहा नपाएका, गुगलमा नभेटिने तथ्यहरू दर्शकले बायोपिकमा खोज्छन् भन्ने मानसिकता छ, जुन केही हदसम्म ठीक पनि होला । तर, यो शैली संसारका सबै फिल्ममेकरले भने अपनाएका छैनन् ।

एउटा राम्रो बायोपिक बन्नुमा के कुरा महत्वपूर्ण हुन्छ भन्ने प्रश्न खोतलिनु पर्छ । देखाउन खोजिएको पात्रको जीवनसँग हुबहु मेल खानु बायोपिकको सफलता हो या केही तथ्यहरू बटारेर नाटकीय रूपमा प्रस्तुत गर्नु ? बाल्यकालदेखि बुढेसकालसम्मको लेखाजोखा नै बायोपिक हो कि जीवनको केही हिस्सा मात्र पनि ? यी यस्ता प्रश्न हुन्, जसको स्पष्ट उत्तर छैन । त्यसैले विभिन्न प्रयोगहरू भइरहेका छन् । उदाहरणका लागि स्टिभन स्पिलबर्गको ‘लिंकन’लाई हेर्न सकिन्छ । न त यो फिल्ममा अब्राहम लिंकनको जन्मको बारेमा केही बताइएको छ, न त यौवनकालका बारेमा । स्पिलबर्गले एउटा कोण समातेर लिंकनका अन्तिम चार महिनाका कथा भनेका छन् । लिंकनले दास प्रथा हटाउन गरको कसरत र संघर्षबाहेक उनीबारे यो फिल्ममा अरु केही छैन । तर, फिल्मले वाहवाही लुट्यो । समालोचकहरूले ताली पिटे । दर्शकले प्रशंसा गरे । ओस्कारमा मनोनीत भयो ।

त्यस्तै, विन्सटन चर्चिलको जीवनमा आधारित ‘डार्केस्ट आवर’ले चर्चिलको उदय र डनकर्क उद्धारको कथामात्र भन्छ । दुबै बायोपिक सफल भए । यस्ता उदाहरण धेरै छन् । बेलायती राजा जर्ज छैटौंको जीवनमा आधारित ‘किंग्स स्पिच’, एफबीआईका संस्थापकबारे बनेको ‘जे एड्गर’, ड्यानी बोयल निर्देशित ‘स्टिभ जब्स’, ब्रुस लीको जीवनमा आधारित ‘बर्थ अफ अ ड्रागन’ आदि । यी सबै फिल्ममा समानता के छ भने फिल्ममेकरले पात्रको जीवनको एउटा हिस्सा अथवा एउटा काललाई समेटेका छन् । फरक धार, फरक कोणबाट जीवन नियाल्ने प्रयास गरेका छन्, जुन बायोपिक विधामा एउटा प्रयोग भन्न सकिन्छ । र, यस्ता प्रयोगहरू भइरहनु पर्छ ।

सन् १९८२ मा महात्मा गान्धीमाथि एउटा फिल्म बनेको थियो ‘गान्धी’, जुन अत्यधिक सफल भएको थियो । यो फिल्मलाई अहिले पनि गान्धीको जीवनको एउटा दस्तावेज मानिन्छ । तर, गान्धीलाई फरक धार र दृष्टिकोणबाट नियाल्ने प्रयास अरु पनि भएका छन् । जस्तै ‘गान्धी माई फादर’, ‘लगे रहो मुन्नाभाइ’, दक्षिण अफ्रिकामा गान्धीले बिताएका समयबारे वर्णित ‘द मेकिङ अफ महात्मा’ आदि । ‘गान्धी माई फादर’मा गान्धी र उनका जेठा छोरा हरिलाल गान्धीबीचको असमानता, टकराव देखाइएको छ, जुन एउटा राम्रो प्रयास थियो बायोपिक विधामा ।

यति धेरै उदाहरण दिनुको उद्देश्य स्पष्ट छ— ‘सन्जु’ पनि एउटा बायोपिक हो । र, ‘सन्जु’ बलिउडले अपनाउने पुरानो ढर्राको फिल्म होइन । प्रायःले बुझ्न नसकेको या नजरअन्दाज गरेको कुरा पनि त्यही हो । अरु विवाद र आलोचनाबीच मुख्य कुरा कसैले टिप्न सकेनन् जस्तो लाग्छ ।

‘सन्जु’ अति नै राम्रो फिल्म होइन । झुर फिल्म पनि होइन । अधुरो फिल्मचाहिँ हो । प्रायःलाई ‘सन्जु’ यस्तो अधुरो र अपूरो लाग्नु स्वाभाविक हो । सञ्जय दत्तको जन्म, बाल्यकाल, यौवनकाल, उनका प्रेम सम्बन्ध, पत्नीहरू ऋचा शर्मा र रेहा पिल्लाईबारेका तथ्य, फिल्म खेल्दाका संघर्ष, माधुरी दीक्षितसँगको सम्बन्ध, कुमार गौरवसँगको मित्रता, ‘अन्डरवल्र्ड’सँगको सामीप्यता— फिल्म यी कुराबारे मौन बसेको छ । यो निर्देशक र लेखकको गल्ती होइन, उनीहरूको स्वतन्त्रता हो । अभिजात जोशी र राजकुमार हिरानी दुबैले यो फिल्म लेख्दा यी सबै कुरा नसोचेका होलान् भन्न मिल्दैन । बरु सञ्जय दत्तको जीवनमाथि एउटा ‘एंगल’ दिन खोजेको चाहिँ बुझ्न सकिन्छ । अलि गहिरिएर हेर्ने हो भने सुनील दत्त र सञ्जय दत्तको सम्बन्धवरपर नै सारा फिल्म घुमेको छ । बाउ–छोराको सम्बन्ध नै ‘सन्जु’को ’थिम’ हो । या भनौं— ‘सन्जु’ हो । परेश घिलानी (कमलेश) र लागूपदार्थ सेवनका कथा त फगत बाउ—छोरा वरपर घुमेका मात्र हुन् । दुर्भाग्यवश ! चर्को आलोचना र सत्य–तथ्यको चिरफारमा यो कुरा छायामा प¥यो । ‘एमएस धोनी— दि अनटोल्ड स्टोरी’मा जस्तो कथा खोज्नेहरूका लागि यो फिल्म होइन । सञ्जय दत्तका बारेमा थाहा नभएका कुराहरू खोज्ने फिल्म पनि होइन यो । न त उनको चरित्र सफा गराउने ‘डिटर्जेन्ट’ हो । यो त एउटा छोराले आफ्नो पितालाई दिएको श्रद्धाञ्जली हो ।

हाम्रो समाजमा आरोपित हुनु भनेको दोषी हुनु हो । नेपाल या भारत जहाँ होस्— यो मानसिकताले हामी संक्रमित भइसकेका छौं । सञ्जय दत्त वास्तविकतामा दोषी हुन् या होइनन्, त्यो उनै जानून् तर हाम्रो मानसिकतामा चाहिँ उनी दोषी नै हुन् । अदालतले जे फैसला सुनाए पनि आरोपितले कहिल्यै आरोपबाट मुक्ति पाउँदैन । मुक्त होस् या जेल परोस्— उसको जीवन एक किसिमले समाप्त नै हुन्छ । शायद यो फिल्म त्यही मानसिकता राखेर हिँड्नेहरूका लागि जवाफ हो ।

सबैका आ–आफ्ना ‘भर्सन’ हुन्छन् सत्यका । कतिपय अवस्थामा त्यो सत्य अरुका लागि असत्य भइदिन्छ । र, त्यही असत्यलाई सत्य मानेर हिँड्नु पर्ने बाध्यता हुन्छ । शायद सञ्जय दत्तलाई त्यो स्वीकार्य थिएन । र, आफ्नो कथा भन्न उनले यो फिल्मको सहारा लिए । भारतीय मिडियामा एउटा कुरा छ्यालब्याल छ— आफ्नो चरित्र सफा गर्न सञ्जयले हिरानीलाई प्रयोग गरे । एक ठाउँमा ‘म अरु हुँ तर आतंकवादी होइन’ भन्नेबाहेक आफ्नो बचाउ सञ्जयले कतै गरेका छैनन् । वास्तवमा फिल्मभरि आफूले आफूलाई गरेको गालीमात्र भेटिन्छ । अरु त अरु, पितालाई ‘मजस्तो छोरा नभइदिएको भए हुन्थ्यो’ सम्म भनेका छन् । यो कसरी आफ्नो चरित्र सफा गर्ने प्रयत्न भयो ? म बुझ्दिनँ ।

‘सन्जु’लाई प्रोपोगान्डा भनेर आरोप लगाइएको छ । प्रोपोगान्डा त गलत तथ्य प्रचारप्रसार गर्नु हो । बरु धेरै कुरामा फिल्म शान्त छ तर गलत कुरा कतै प्रस्तुत गरेको छैन । आफूले आफूलाई तुच्छ भन्नु कसरी आत्मप्रशंसा भयो, अचम्म लाग्छ । एउटा संवेदनशील मुद्दामा वर्षौंदेखि फसेको मानिसले आफ्नो कथा भन्न गरेको प्रयत्न हो ‘सन्जु’ । सञ्जयले आफूलाई कुनै साधु–सन्त भनेर प्रमाणित पनि गर्न खोजेका छैनन् । न त उनले फिल्मको माध्यमबाट फाइदा लिन सक्ने केही आधार छन् । अदालतले उनलाई आतंकवादीको आरोपबाट सफाइ दिइसक्यो । फिल्म उनले जति पनि पाइरहेका छन् । दर्शकमाझ ‘मुन्नाभाइ’को क्रेज र स्नेह कम भएको छैन । उनी प्रिय पात्र नै छन् । भारतीय मिडिया र फिल्म मन नपराउनेहरूले भनेजस्तो यो फिल्म देवत्वकरणको उदाहरण होइन ।

अघि उल्लेख गरेझैं यो फिल्म उत्कृष्ट भने होइन । हिरानीले आफ्ना फिल्मका कथा भन्न प्रयोग गर्ने ‘आउडसाइडर’ (‘मुन्नाभाइ एमबीबीएस’मा मुन्ना, ‘लगे रहो मुन्नाभाइ’मा गान्धी, ‘थ्री इडियट्स’मा रान्चो, ‘पिके’मा एलियन) यसमा छैनन् । यसमा हिरानी नयाँ बाटोमा हिँडेका छन् । त्यसैले ‘सन्जु’मा उनको कथावाचन अलि फरक र कमजोर आभास हुन्छ । तर, यसमा हिरानी स्वयं दोषी छन् । उनी आफ्नै प्रतिष्ठामुनि च्यापिएका छन् । सन्देशमूलक हाँस्यरसबाट जीवनीमा हामफाल्दा उनी हल्का लडेकै हुन् । तर, उनको छलाङ सफल छ ।

प्रायः जीवनीहरूको ‘टोन’ गम्भीर र ‘डार्क’ हुन्छ । यो कुरामा ‘सन्जु’ एउटा नयाँ प्रयोग हो । सञ्जय दत्तको जस्तो विवादपूर्ण र संघर्षको जीवन उनले हास्यरस शैलीमा देखाएका छन् । तर, फिल्म एकदमै मन पराउनेहरू पनि पूर्ण रूपमा सन्तुष्ट भने हुन सक्दैनन् । हिरानीले प्रयोग गर्ने कमेडी र इमोसनको मिश्रण पट्यारलाग्दो भइसक्यो । कति संवादहरू बोझिल लाग्छन् । अस्पतालमा शव नचिन्दा हुने अन्योल एकदम ‘चिप’ कमेडी लाग्छ । त्यो कपोकल्पित, नाटकीय र मृत्युमाथिको मजाक लाग्छ । हिरानी कति कुरामा संवेदनशील देखिँदैनन् । ‘थ्री इडियट्स’को ‘चमत्कार बलात्कार’ ठूलै हिट भए पनि असहज थियो । त्यस्तै ‘सन्जु’मा ३०८ स्त्रीसँग सुतेको कुरालाई पनि ठूलै आडम्बरको रूपमा देखाइएको छ । आफ्नै साथीकी प्रेमिकासँग रात बिताएको किस्सा, ‘घपाघप’ जस्ता शब्द हाँस्यास्पद भए पनि असहज लाग्छन् । आफ्ना फिल्मबाट नैतिक शिक्षा बाँड्ने हिरानी यस्ता कुरामा संवेदनशील देखिँदैनन् । तर, सारा कमजोरीमाझ पनि यो फिल्मको मुटु ठीक ठाउँमा छ । त्यसैले सन्तुलित छ । फिल्मले न त सञ्जय दत्तलाई आरोपबाट रिहा गरेको छ, न त बचाउ नै । पूर्वाग्रही नजरबाट नहेर्ने हो भने यो फगत बाउ–छोराको प्रेमको कथा हो । एउटा मानिसको पश्चातापको कथा हो ।
 

तपाईंको मत