साहित्य र कला

सुरेशका सुर/ताल

सुरेशका सुर/ताल

जति दुःख परेपनि सुनसँग नजोखिनू
जति सुख पाएपनि उम्लिएर नमातिनू...

सोमबार संगीत रोयल्टी संकलन समाजको कार्यालय पुग्दा गीतका यिनै स्थायीलाई संगीतको सुरमा ढाल्ने प्रयासमा थिए सुरेश अधिकारी । छेवैमा बसेका थिए, दृष्टिविहीन गायिकाद्वय चिरीमाया महर्जन र सिर्जना दाहाल । उनीहरुको गलाअनुकूल कुन तालमा संगीत भरे गीत र गला दुवैलाई न्याय हुन्छ भनेर उनी रेट्दै थिए हार्मोनियम, र खोज्दै थिए उपयुक्त ताल र सुर । निस्किँदै थियो सुमधुर धुन । अनि त्यही धुनमा हराइरहेका थिए चिरीमाया र सिर्जना । घरी सुरेश होर्मोनियमको धुनसँगै चिरीमाया र सिर्जनाको गला तौलिन्थे त घरी जीवन दर्शनका कुरा सुनाउँथे । 

वीरेन्द्र राई र म मरेको पल... 

सुरेश अधिकारी तिनै श्रष्टा हुन्, जसले आफ्नो जिन्दगीलाई संगीतको सुरसँगै डोर्याइरहेका छन् । संगीतको लत न उनले कहिल्यै छोड्न सके, उनका बुबाले छोडाउन नै । संगीतको संगत छाड्न नसकेका उनै सुरेश आज संगीतको शिखरमा छन् । कहिले गीत गाएर त कहिले संगीत सृजना गरेर । 

म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुखेजस्तो गर्नू...

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ ढलाइदिन सक्छौ
आश्वासनको बाचा बदल्दिन सक्थ्यौै भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ 
जीवन बदनामी पीडा कैदी छ यो मन
म मरेको पल तिमी डोली चढ्नू....

यथार्थलाई समेटी स्मृतिमा भुल्छु उदासीमा डुब्छु
रङ्गीएको सिउँदो भ्रान्ती भित्रै रुन्छु तरङ्गमा झुम्छु
सुकेको पलाँसलाई बसन्तले के भो 
यो पागल प्रेमीले नचिने भै गो
म मरेको पल तिमी डोली चढ्नू...

यो गीतसँग सुरेशको बडो गज्जबको सम्झना जोडिएको छ । सुरेश भर्खर ल क्यापस जान थालेका थिए । वीरेन्द्र राई डिप्लोमा पढ्थे । साथी सर्कलमा वीरेन्द्र निकै लोकप्रिय गायक थिए । कक्षा छोडेर क्यान्टिनमा उनको गीत सुन्ने विद्यार्थीको भीड लाग्थ्यो । 

सुरेश गीत त गाउँथे तर ल क्याम्पसमा भने गाएका थिएनन् । नयाँ वातावरण, नयाँ क्याम्पस उनले सोचेका थिए, कसैलाई थाहा थिएन । तर सँगै बस्ने साथी उद्वव विष्टले उनी गायक भएको कुरा चाल पाए । उनले गीत गाउन कर गरेपछि सुरेशले गीत नगाई सुखै पाएनन् । उनले नारायण गोपाल, किशोर कुमार, मोहम्मद रफीलगायतका गीत गाए । उनी कक्षामा हिट भए । उनको स्वर राम्रो रहेका कुरा भुसको आगो झैं कलेजमा सल्कियो । कुरा वीरेद्र राईसम्म पुग्यो । सुरेशले गीत गाउन थालेपछि वीरेन्द्रको फ्यान क्लवमा मान्छे घटे । 

क्यान्टिनमा बसेर चिया खाइरहेका वीरेन्द्रले सुरेशलाई बोलाए, “ए भाइ यता आउ त ।” 

सुरेश वीरेन्द्रको छेउमा गए । 

“एउटा गीत गाउ त,” वीरेन्द्रले भने । 

सुरेशले पनि गीत गाइदिए.... ।

“त्यहाँ मैले नारायण गोपालको 'तिमीलाई म के भनुँ...’ गीत गाइदिएँ, मैले गीत गाउँदा त्यहाँको वातावरण यस्तो भएको थियो कि मलाई लाग्छ त्यहाँ वरपरका रुदका पातसम्म हल्लिएनन् मेरो गीत सुनेर,” ०४४ सालको प्रसंग सुनाउँदै सुरेश नोस्टाल्जिक हुन्छन्, “उहाँ यति प्रभावित हुनुभयो मेरो स्वरबाट त्यसदिनदेखि उहाँले गीत गाउनै छाडदिनुभयो ।”

केही दिनपछि तिनै वीरेन्द्रले सुरेशलाई भने, “मैले एउटा गीत लेखेको छु, यसलाई तेरो स्वरमा रेकर्ड गर्ने हो ।”

गीत त सुरेशले लिए तर रेकर्ड गराएनन् । 

चार महिनापछि वीरेन्द्रसँग भेट भयो, भने, “खोइ गीत रेकर्ड गरेको ? कति पैसा चाहिन्छ लिन आउनू ।”

सुरेशले भने, कम्पोज चाहिँ गरेको छु । 

सुरेशले के कम्पोज गरेको छु भनेका थिए, वीरेन्द्र झनक्क रिसाए । 

“कम्पोज नाती काजीलाई गर्न लगा, तैले त गाउने पो हो त,” जवाफमा सुरेशले भने, “कम्पोज त मैले गरिसकेँ गाउनचाहिँ अरुलाई लगाउने हो कि ।”
“कुन तालमा कम्पोज गरेको छस् ?”

सुरेशले भने,–झपतालमा । 

“झपताल त धेरै राम्रो हो त, त्यसो भए ठिक, ल अब गाउन पनि आफै गाउनुपर्छ तैले,” वीरेन्द्रले भने ।

फेरि लामो समय भेट भएन वीरेन्द्रसँग ।

“पार्वती नामक भिडियो फिल्म रेकर्ड गरेर त्यो बेलाका संगीतकार गोवर्दन महर्जन र म घुम्दै वानेश्वर पुगेका थियौं । एउटा डिपार्टमेन्ट स्टोरमा पुग्यौं । त्यहाँ त वीरेन्द्र राई पो हुनुहन्छ,” ०४५ सालको कथा सम्झिन्छन् सुरेश, “मैले पहिलोपटक हो ट्रली गुडाएर सामान किन्ने पसल देखेको काठमाडौंमा, त्यस्तो सुविधासम्पन्न डिपार्टमेन्ट स्टोर थियो उहाँको ।”

वीरेन्द्रले त्यहीँ समाते फेरि सुरेशलाई, “अहिले पैसा लिएर जा र भोलि यो गीत जसरी पनि रेकर्ड गराउनू ।”
सुरेशले मानेनन् । 

वीरेन्द्रले गोवद्धर्नलाई भने, “यो सुरेशले मैले भनेको मान्दैन यो पैसा लिएर जाउ र यो गीत रेकर्ड गराउन लगाउ ।”

गोवद्र्धन आफैले रेडियो नेपालको स्टुडियो बुक गरे । सुरेशले गीत रेकर्ड गराउनैपर्ने भयो । 

सुरेशले सितारका पिस लेखेर लगे । 

“११ सयमा स्टुडियो बुक गरिएको थियो । एक जना बाद्यबाधक एक सय रुपैयाँमा उपलब्ध हुन्थे । ३ हजार रुपैयाँमा गीत रेकर्ड भएर पनि १ हजार रुपैयाँ धेरै भएको थियो ।” 

सुरेशले म मरेको पल तिमी डोली चढ्नू... गीत रेकर्ड गर्दाको प्रसंग सुनाए, “गीत रेकर्ड भएपछि उहाँ निकै खुसी हुनभयो । त्यो साँझ मलाई सँगै जाउँ भनेर भन्नुभयो तर म अघिल्लो दिन पनि अबेर रातीसम्म बसेकाले थोकेको थिएँ, त्यसैले गइन । वीरेन्द्र राई, दीप श्रेष्ठ र दिनेश सुब्बा आधारातसम्म बसेर सुन्नुभएछ । त्यो कुरा मैले पछि थाहा पाएँ, सायद अहिलेको जस्तो भएको भए मलाई मोबाइलमा फोन गर्नुहुन्थ्यो होला, म रातारात उहाँहरु भएठाउँ पुग्थेँ होला, त्यो निकै सुन्दर पल मैले मिस गरेँ भन्ने लाग्छ मलाई ।”

रेडियो नेपालबाट बुधबार नयाँ गीतको कार्यक्रम बज्थ्यो । गीत बज्नेबित्तिकै स्रोताका हजारौं फर्माइस आउन थाले । एक हप्तामै पुरै नेपालभर उनी फिँजिए । 

एक धर्को सिन्दुर... 
गीत गाएर बाँच्न सक्छु भन्ने उनलाई लागेकै थिएन । स्वाभिमानी स्वभावका उनी कसैसँग गीत माग्न गएनन् । त्यो समय गीतलाई व्यवसाय हैन, साधना ठानिन्थ्यो । जिजिविसा गीत गाएर धानिँदैन थियो, त्यसैले उनी स्कुलमा गीतसंगीत पढाउन थाले । 

सुरेशको गीत सुनेर ‘फिदा’ भएर सुरेशकै गाउँ काभ्रे पनौतीका भोला श्रेष्ठलाई मन परेनछ । उनी सुरेशलाई भेट्न काठमाडौं आइपुगे । “दाइ तपाईँ यति राम्रो गायक गीत नगाइ बसेर हुँदैन । मसँग केही गीत छन् । म लागे सबै खर्च बेहोर्छु, एउटा एल्बम निकालौं,” भोलाले भने । निकै लामो समय लाग्यो एल्बम तयार हुन । ‘श्रेय’ एल्बमको नाम थियो । ०५२ सालमा यो एल्बम बजारमा आयो । 

थुप्रै गीत थिए भोलासँग । ती मध्येको एउटा गीत सुरेशको मन छोयो, गीत थियो–

एक धर्को सिन्दूर त के हो र त्यो त पखालिन सक्छ
चुरापोते काँचको न हो त्यो पनि फुट्न सक्छ 
दिन्छु तिमिलाई यो चोखो माया जो संधैं संधैं बाँचिदिन्छ 
एक धर्को सिन्दूर के हो र....

जलिरहेको पवित्र अग्नि छोएर 
देवता र दुनियाँ सारा साक्षी राखेर 
खाएको कसम केही होइन 
त्यो पनि टुट्न सक्छ 
दिन्छु तिमीलाई यो चोखो माया जो सधैँ सधैँ बाँचिदिन्छ 
एक धर्को सिन्दूर के होर...

हाँसखेल यो रमझम 
मिठो मिठो यो जिन्दगी 
बैंश उज्यालो दीप बलेझैं 
छ धिपधिप 
सानो हुरीको बेगमै त्यो पनि निभ्न सक्छ 
दिन्छु तिमिलाई यो चोखो माया जो सधेँ सधैँ बाँचिदिन्छ 
एक धर्को सिन्दूर के होर त्यो त पखालिन सक्छ 
चुरा पोते काँचको न हो त्यो पनि फुट्न सक्छ 
दिन्छु तिमीलाई यो चोखो माया जो सधैँ सधैँ बाँचिदिन्छ

गीत मन पर्यो । उनले रुपक तालमा कम्पोज गरे । छाउनीको स्टुडियोमा गीत रेकर्ड गर्न गए । तुलनात्मक रुपमा अरु गीतको तुलनामा यो गीत रेकर्ड गर्न अफ्ठ्यारो थियो ।

अरु गीतमा पटक पटक टेक लिइरहेका सुरेशले रेकर्डष्टिलाई भने, “यो गीत जतिसुकै अफ्ठ्यारो होस्, नरोक्नु म एकै टेकमा गाउँछु ।” नभन्दै एकै टेकमा गीत रेकर्ड भयो । रेडियो नेपालबाट बज्न थालेपछि गीत लोकप्रिय भयो । यो गीतले उनको चर्चा थप चुलियो । थोरै तर राम्रा गीत गाउने थोरै गायकको कोटरीमा अटाए उनी । 

आस्थाको पहिचान
करिब ४० वटा गीतमा स्वर भरेका र ३ हजारभन्दा धेरै गीतमा संगीत भरेका सुरेशले थुप्रै गायक गायिकालाई संगीतका सुर र ताल बनाइदिए । लय र भाका उत्पादन गरिदिए । तीनै सुर तालको सहारामा खुट्टा टेके र हिँडे । त्यसको जस लिन उनी योग्य त छन् भलै उनी त्यो अभिमान पाल्दैनन् । र भन्दैनन्, “फलानो फलानो मेरो गीत र संगीत गाएर हिट भएका हुन् ।” सायद यसलाई उनको माहानता मान्न सकिन्छ । 

गायिका आस्था राउत अहिले जहाँ छिन्, सुरेश अधिकारीकै कारण छिन्, चाहे उनी स्वीकार गरुन् या नगरुन् ।

आस्थाका बुबा हरिबहादुर राउत लोकगायक हुन् । जो सुरेशका संघर्ष कालका साथी थिए । घरमा आउजाउ हुन्थ्यो । सानो बच्चैदेखि देखेका थिए आस्थालाई सुरेशले । उनकै शब्दमा, सुरेशले सानै केटाकेटीदेखि नै काखमा खेलाएकी बच्चा हुन् आस्था । 

आस्था रिलायन्स स्कुलमा पढ्थिन् । सुरेशले आस्थाकी आमालाई भने, “भाउजु आस्थालाई मिलन विद्या मन्दिर अनामनगरमा ल्याउनुस्, उसलाई मैले संगीत पढाउन पाउनुपर्छ ।” जहाँ सुरेश संगीत शिक्षक थिए । 

आस्थालाई सुरेशले संगीतको कखरा पढाए । आस्थाले रेडियो नेपाल, नेपाल टेलिभिजनका पदक जितिन् । जिल्ला शिक्षा कार्यालयले आयोजना गर्ने ऐश्वर्य गायन प्रतियोगिताको रनिङ शिल्ड नै जितिन् । 

“आस्थालाई एउटा एल्बम निकालिदिएर राम्रो गायिका बनाउँछु भन्ने सोचेको थिएँ, तर एसएलसी पास गरेपछि भेटघाटमा केही ग्याप भयो । पछि विदेशतिर छन् भन्ने सुनेँ,” मैले हरिजी र भाउजुलाई भने, “छोरीका लागि किन एलबम नगरिदिएको ? छोरीको यस्तो प्रतिभा मार्न लाग्नुभयो तपाईंहरुले ।”

उनीहरुले भने, अहिलेको जमाना महँगो छ, पैसा धेरै लाग्छ ।

सुरेशले भने, “तपाईंहरुको त घर छ नि काठमाडौंमा । छोरीका लागि तपाईँ घर बेच्न पनि तयार हुनुपर्छ । नभए लोन लिनुस् ।” 

सबै गायक गायिकाका लागि सुरेश यस्तो ग्यारेन्टी दिन सक्तैनन्, तर आस्थाका लागि उनले भने । 

पारिवारिक रुपमै निकट भएका सुरेशले सबैकुरा थाँती राखेर छोरीलाई गायिका बनाउन भनेपछि हरिबहादुर तयार भए । 
विदेशमा रहेकी आस्थालाई बोलाए । 

आस्था फर्किइन् । उनका लागि गीत बनाउनुपर्ने भयो । छोरीसम्बन्धी गीत गाएर स्कुलमा प्रथम हुने उनका लागि अब नेपालमा खासै चलनचल्तिमा नरहेको धारमा गीत तयार पार्नुपर्छ भन्ने सुरेशलाई लाग्यो । 

आधुनिक छोरी जो फेसनेवल छन् । पाश्चात्य जीवनशैलीबाट प्रभावित छन् । त्यस्ता नारीमा पनि राष्ट्रप्रेम हुन्छ भन्ने हुन्छ । च्यातिएको पाइन्ट र टिसर्ट लगाउँदैमा र अंग्रेजी लवजमा बोल्लैमा राष्ट्रभक्ति भावना मरेको हुँदैन भन्ने भावको गीत लेखे सुरेशले–

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा 
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा 
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ 
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ....
 

छोरा सरह छोरीलाई बाटो देखाइन्छ, आशा गरिन्छ । सपनाको बाटो खनिन्छ । अन्ततः सपनाको भारी बोकाइएकी छोरी त्यही सपना भेट्ने उमेरमा पुग्नेबेलामा पराइघरको जिम्मा लाइन्छ । 

यो परम्पराप्रति सुरेशमा असन्तुष्टि थियो । मौन बसेका उनले विम्ब र प्रतिकको प्रयोग गरे । विम्बका रुपमा ‘झुम्के बुलाकी’ राखे र गीत लेखे,–

पोहोर पनि ढाँट्यौ आमा यसपाली नि ढाँट्यौ 
खोइ त मलाई झुम्के बुलाकी 
हुँदाहुँदै यसपाली त अन्माइदिन लाग्यौ
खोइ त मलाई झुम्के बुलाकी
पहिले त्यही बुलाकीले सुहाउँछ भन्थ्यौ 
अहिले त्यही बुलाकीले तुहाँउछ भन्छौ

परम्परागत प्रबृत्ति र रुढीबादी सोचबिरुद्ध बिद्रोही चेत बोकेका यी गीत जव आस्थाले गाइन् । स्रोताले मन पराए । हरिबहादुर र उनकी श्रीमतीसँग सुरेशले राखेको ग्यारेन्टी पूरा भयो । आफ्नो सृजनाप्रतिको विश्वासमा सुरेश सफल मात्रै भएनन्, आस्थाको गलाको पनि सफल परीक्षण भयो ।  

लोक हुँदै आधुनिक गीत 
पञ्चायतकाल थियो । बुबा समाजसेवी । घरमा रेडियो थियो । त्यही रेडियो सुरेशको साथी थियो । त्यहाँ बज्ने गीत उनलाई लोभ्याउने रेडियो सामग्री थिए । कुमार बस्नेत, धर्मराज थापाका गीत उनी खुब सुन्थे । दुई पटक सुनेपछि उनलाई मेलोडीसहित कण्ठै हुन्थ्यो । उनको उमेर बढ्दै गयो । आधुनिक गीत मनपर्न थाल्यो । शब्दको अर्थ खोज्न थाले । पछि संगीतमा हराउन थाले । हिन्दी त उनी बुझ्दैन थिए तर त्यसको लय, भाका, धुन र गायकीमा उनी मोहित हुन्थे । 

उनी स्कुलमा गाउँथे । सबैले गीत गाउने विद्यार्थी भनेर माया गर्न थाले । कहिले पनि दोस्रो भएको सम्भलना छैन सुरेशलाई । गाउने सुरेशलाई बाध्यबाधनमा पनि रुची जाग्दै गयो । स्कुलमा उपलब्ध मादल, हार्मोनियम, गीतार सिके । 

बासुदेब मुनाललाई याक चुरोट !
रेडियो नेपालमा बालगीत प्रतियोगिता हुने सूचना उनले रेडियोमा सुने । प्रतियोगितामा सहभागी हुन काठमाडौं आउन बसपार्क पुगे । “त्यो बेला गाउने बच्चा भनेर मलाई बसका ड्राइभरले समेत चिन्थे । बसपार्कमा देखेर मलाई ड्राइभरहरुले कहाँ जाने भनेर सोधे, मैले रेडियो नेपाल भने मलाई मेरो गाडीमा हिँड भन्दै सिंहदरबारसम्म ल्याइदिए,” ०३९ सालतिर फर्किन्छन् सुरेश र भन्छन्, “त्यो बेला बाल कमर्यक्रम बासुदेब मुनालले चलाउनुहुन्थ्यो । मलाई आज पनि अचम्म लाग्छ त्यो दिन सम्झेर मैले उहाँ नै होला भनेर अनुमान गरेर नमस्ते गरेको, उहाँले नमस्ते भनेर स्वरसहित नमस्ते फर्काउँदा उहाँ नै हुनुहुँदोरहेछ बासुदेब मुनाल ।”
मुनालले सुरेशलाई स्टुडियो लगे । सुरेश आफैले लेखेको र त्यसमा उनका शिक्षकले मिलाईदिएको गीत थियो,–

डाँफे मुनाल साथी मेरा गीत गाइ नाचिदिने 
प्रकृति नै मायाँ मेरो सँधैभरी हाँसिदिने...

सुरेशले गीत रेकर्ड गरे । बासुदेब मुनालले भने, “भाइ यो गीत त आधुनिक रछ तर यो प्रतियोगिता त लोक गीतको हो । यो गीतले त हुँदैन ।”
भारी मन बोकेर सुरेश हिँडे । सायद मुनालले उनको अनुहारमा त्यो पीडा पढे । उनले बेलाए र भने, “यो त हुँदैन, म यसैलाई लोक लयमा कम्पोज गरिदिउँ ? गाउँछौ ?”

हुन्न भन्ने कुरै थिएन । गाए ११ वर्षे सुरेशले । 
केही दिनपछि रेडियो नेपालमै सूचना बज्यो । सुरेश प्रथम भए । 
४० रुपैयाँ प्रथम पुस्कार थियो । लिनलाई रेडियो नेपाल आए । 
बासुदेब मुनाललाई भेटे सुरेशले । बधाई भन्दै उनले भने, “के भोज खुवाउँछौ मलाई ?”
सुरेशले भने, “के खानुहुन्छ, म खुवाउँछु ।”
मुनालले भने, “याक चुरोट खान्छु ।” ४ रुपैयाँ पथ्र्यो एक बट्टा याक चुरोटलाई । 
सुरेश चुरोट किन्न क्यान्टिन गए । 
पाइएन । 
“बाहिर पाइन्छ कि भनेर पसल खोज्दै सिंहदरबारको गेटमा पुगेको थिएँ, काभ्रेको गाडी चलाइरहेका ड्राइभरले मलाई देखेछन् । ए फुच्चे कहाँ जाने घर हो, हिँड भने, म फुत्त गाडी चढेँ । घर गएँ,” सुरेश भन्छन्, “पछि मैले उहाँलाई त्यो दिनको घटना सम्झाएँ, उहाँले पनि जिस्किएर भन्नुभएको थियो, त्यसैले बिर्सिसक्नु भएको रहेछ ।”

१५ सय तलब र बुबा
१० कक्षा पढिरहेका थिए । पत्रिका ‘युनिक म्युजिकल कन्सर्न’लाई केही कलाकार पुगेको विज्ञापन आयो । ललितपुरमा आएर उनले आवेदन दिए । काभ्रेकै हिमाली कला मन्दिरमा काम गर्दा उनले बाद्यबादनका सामग्री बजाउँथे । गीत गाउँथे, त्यसैले उनलाई त्यहाँ विशेष प्राथमिकता दिइयो । 

उनलाई १५ सय रुपैयाँ तलब दिइने भयो । उनी भन्छन्, “त्यो बेला सेक्सन अफिसरको तलब ८६० रुपैयाँ थियो ।” 

सुरेशले बुवालाई आफू १५ सय मासिक तलबमा आफू काम गर्न थालेको बताए । 

“तिमीहरु जस्तो गीत गाउने हावाहरुलाई कसैले १५ सय रुपैयाँ दिन्छ भनेर म पत्याउँछु ?, यस्तो कुरा अरुलाई गएर सुनाउनु म विश्वास गर्दिन,” सुरेशलाई बुवाले भने । एक महिना बित्यो, सुरेशले १५ सय रुपैयाँ तलब लगेर दिए । 

“जब मैले बुवालाई १५ सय रुपैयाँ दिएँ, उहाँ छक्क पर्नुभयो । उहाँले भन्नुभयो, ए बाबु तिमीहरुलाई विदेशतिर पनि लैजान्छन् ? मैले भने– लैजान्छन् । तिमीहरु जस्तो कलाकारलाई यत्रो पैसा दिएर कसैले पनि राख्दैन । नेपालमा गीत गाएर पैसा कमाइँदै कमाइँदैन । तिमीहरुले बजाउने तबला र गीतारमा चरेश र कोकिन हालेर पठाइन्छ । फर्केर आउँदा पनि नराम्रा कुरा बोकाउँछन् । मेरो भएको इज्जत पनि जान्छ, तेरो लाइफ पनि बर्बाद हुन्छ, यस्तो काम नगर छोड्दे ।”

भर्खर काम गर्न थालेको एकदुई दिन लाज गालले पनि आए । तर घरमा भने उनले काम छाडेको बताए । तर काठमाडौं आइरहँदा बुवाले शंका गरेपछि उनले बाध्य भएर काम छोडे । “पछि ल कलेजमा पढ्न थालेपछि पनि त्यहाँबाट चिठ्ठी आइरहन्थ्यो । ल कलेजमा त्यहीँबाट आएको चिठ्ठी भटेर मेरो बेञ्चर्सले म गाउँछु भनेर थाहा पाएर मलाई गाउन लगाएको थियो र वीरेन्द्र राईसँग भेट भएको थियो ।”   

गोपाल योञ्जनको सुझाव
स्कुलमा पढाउँदा उनी आफ्ना विद्यार्थीलाई विभिन्न प्रतियोगितामा लैजान्थे । ती प्रतियोगितामा उनका विद्यार्थी विरलैमात्र दोस्रो हुन्थे । सुरेशका विद्यार्थी सहभागी प्रतियोगिताको निर्णयका लागि गोपाल योञ्जन धेरै ठाउँमा बसेका हुन्थे ।  

गोपाल योञ्जनको नोटिसमा परेका थिए सुरेश । “बाबु तपाईं गीत चाहिँ बनाउनु हुन्छ, मलाई भित्रैदेखि घत पर्छ,” भन्थे । तर, गफिने मौका मिलेको थिएन । 
बसुन्धरामा गोपाल योञ्जनको स्टुडियो थियो गोपालय । ०५१ सालमा साथीले कम्पोज गरिदिन आग्रह गरेपछि उनी साथीको फेर समातेर गोपालय पुगे । 
“करिब तीन दिन गएँ म उहाँको स्टुडियो, म जानेबित्तिकै उहाँ स्टुडियो रहेकोभन्दा तल्लो फ्लाटमा बस्नुहुन्थ्यो, त्यहीँ बोलाइहाल्नुहुन्थ्यो मलाई,” सुरेश गोपाल योञ्जनसँगको सामिप्यताको प्रसंगमा प्रवेश गर्छन्, “गीतसंगीतलाई उहाँ ब्यबसाय हैन तपस्याका रुपमा लिनुपर्छ भन्नुहुन्थ्यो ।” 

एक दिन कुरैकुरामा सुरेश गोपाल योञ्जनसँग साटिन्छन्, “मलाई त शुरु शुरुमा तपाइँको संगीत पनि केही हैन मेरो संगीतका अगाडि र नारायण गोपालको स्वर पनि केही होइन, मेरो स्वरको तुलनामा पनि भन्ने लाग्थ्यो तर जति जति संगीत बुझ्दै म त केही होइन रहेछु भन्ने ज्ञान हुँदैछ । मैले उहाँलाई भनेँ, तपाईंको गीत जीवन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर... यो गीतको अर्थ म आज बुझ्दै छु । 

गोपाल योञ्जनले सोधे, के हो यो गीतमा के छ त ? भन त ।

अरुले हेर्दा यो गीतमा अरुले मरेर ढलिरहेको पुरुषका अगाडि किंकर्तव्यविमूढ महिला हातमा फूल लिएर बसिरहेको देखिन्छ । तर मैले यो गीतमा देख्ने बिम्ब फरक छ ? 

के देख्नुहुन्छ ?

मैले यसमा मुर्दा भएर लडिरहेको मान्छेले आफ्नो नजिक रहेकी महिलाप्रति जिउँदो हुँदा पोख्न नसकेको मायाको कुण्ठा पोखिरहेको पाउँछु, जीवन छउञ्जेल कुनै नैतिक बन्धनका कारण पोख्न नसकेको यौन बासना पोख्नका लागि ऊ मुर्दा भएको छ । ऊ ती महिलाप्रति कामबासनाको आशक्तिले नांगिन चाहेको कुरा यो गीतले भन्न खोजेको मुख्य कथा हो । 

“मैले जब यसो भने दाइले आँ मुख बाएर भन्नुभयो भाइ तपाईं डेफ्थमा पुगेर रचना गर्नुहुँदोरहेछ र सुन्नुहुँदो रहेछ, यो गीतको व्याख्या आजसम्म यसरी कसैले पनि गरेको थिएन र मैले कसैलाई भनेको पनि थिइन । कसरी थाहा पाउनु भयो । तपाईंमा गीत बुझ्ने क्षमता छ । अरु दिन सम्भब नभए पनि शुक्रबार शुक्रबार चाहिँ भेटौं है ?,” उनी गोपाल योञ्जनलाई सम्झन्छन्, “तर उहाँसँग मेरो धेरै भेट भने हुन पाएन । उहाँ बसुन्धरा बस्नुहुथ्यो, म तीनकुने बस्थें । दूरीका हिसाबले पनि टाढा थियो । उहाँ नेपाली संगीतकै मूर्धन्य मान्छे उहाँसँग बसेर चियर्स गर्ने मेरो हैसियत पनि थएन । म त्यति सम्पन्न पनि थिइन उहाँलाई कोसेली लिएर भेट्न जान । उहाँसँग त्यसरी बस्न मलाई अड पनि लाग्थ्यो ।”

सुरेशलाई गोपाल योञ्जनले सोधे, “भाइ एल्बम बनाउनु भयो ? 

छैन । 

एल्बम बनाउन हतार नगर्नू है, रेडियो नेपालमा गीत रेकर्ड गर्न पाइन्छ । रत्न रेकर्डिङबाट धेरैले गीत रेकर्ड गरे । कोलकता पुगेर आँखै अगाडि एल्बम बनाएर आए । तर मैले आजसम्म आँट गरेको छैन । किनभने मेरो त्यो एल्बममा मेरा कलिला गीत सुनेर स्रोताले गोपाल योञ्जन भनेको यही हो भनेर भने भने मलाई दुःख लाग्छ । अब एक वर्षपछि मेरो एल्बम निस्किँदैछ । म त्यसलाई ‘निसानी ५२’ नाम दिँदैछु । म ५२ वर्ष हुँदैछु र मेरो पहिलो एल्बम निस्किँदैछ । 

गोपाल योञ्जनको युग अहिले रहेन । प्रतिस्पर्धाको युग सुरु भयो । सुरेशले गीतसंगीतलाई नै पेशा बनाउनु पर्ने भयो । तर पनि गोपाल योञ्जनका ती अनुभव सुरेशको मनबाट अझै उखेलिएका छैनन् । र, उनी चाहँदैनन् पनि । 

त्यसैले सुरेश ५२ वर्षको उमेरमा गोपाल योञ्जनको सुझाव शिरोपर गर्दै गोपाल योञ्जनको जस्तै ओजनदार गीति संग्रह दिने तयारी सुनाउँछन् । 


 

तपाईंको मत