site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सगरमाथाका ‘भरिया’ भन्छन्– शेर्पाबिना हिमाल आरोहण असम्भव
Sarbottam CementSarbottam Cement

अक्षर काका


“सगरमाथाको टुप्पोबाट अमेरिका देखिन्छ ?”
“सगरमाथा चढ्दा कस्तो खुसी मिल्छ ?”
“शेर्पाबाहेकका समुदाय सगरमाथामा दिग्विजय प्राप्त गर्न सक्छन् ?”

तन्नेरी सगरमाथा आरोही पेम्वाछिरिङ शेर्पाले सगरमाथा चढेर फर्किएपिच्छे सामना गर्ने प्रश्न हो यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमालको नाम सुन्नेबित्तिकै लोभिने र आरोहणको ‘लालचा’ पाल्नेहरूको कौतूकले दिक्किँदैनन् उनी । बरु प्रष्ट्याउँछन्, “सगरमाथा चढ्नु कुनै साहसिलो कार्य होइन । सजिलै चढ्न सकिन्छ । तर, त्यो भन्दा पहिले आत्मविश्वासलाई जित्न जरुरी छ । र, जित्न जरुरी छ आफूभित्रको लघुताभास ।”

२२–२४ को उमेर । तर तीनफेर सगरमाथामा शिखरित भइसके । यसो भनौँ न, उनका लागि हिमाल नै धन हो र हिमाल नै जीवन ।

Global Ime bank

यसवर्षको दुई महिना लामो वसन्तकालीन आरोहण भर्खरै मैझारो भयो । चार सय बढीले सगरमाथा आरोहण गरे । त्यसैमध्येका हुन् उनी । तर, आरोहीका रूपमा होइन, ‘भरिया’का रूपमा । उनकै पथ–प्रदर्शनमा आठ चिनियाँ आरोहीले चोमोलोङ्मा (सगरमाथा)को शिर चुमे ।

हिमालबारे हाम्रो आदिम सौन्दर्य–चेत छ– यो सुन्दरताको लौकिक उपमा हो । ‘सगरमाथा चुम्नु’, ‘दिग्विजय हासिल गर्नु’– सफलताको पुरातन बिम्ब पनि ।

सन् २०१६, ०१७ र ०१८ को तीनै सिजन सगरमाथाको चुचुरोमा पैताला पुर्‍याएका पेम्वाको शब्दमा चोमोलोङ्माको माथ कुल्चनु फगत आरोहणमा सफल हुनु हो, जिन्दगीमा होइन । जीवन आफैँमा सगरमाथाभन्दा ज्यादै अग्लो चट्टाने पहाड हो । त्यसमा सफल हुनु पो जीवनको श्रेष्ठता हो त ।

रगतमै आरोहण
यो सिजनमा केही विदेशी आरोहीसँग पेम्वाको जम्काभेट भयो । केहीबेर भलाकुसारी पनि । हिमाल आरोहणका किस्सा साटफेर पनि भयो ।

कुराकानीकै क्रममा एक विदेशी आगन्तुकले उनलाई सुनाए– “शेर्पाको त रगतमै आरोहण छ । हिमाल चढ्न गर्भमै सिकेर आउँछन् उनीहरू । जस्तै ‘हाइअल्टिच्युड’ ग्रहण गर्न सक्ने ‘यन्त्रमानव’ हुन् उनीहरू !” 

अर्का विदेशी आरोहीले सही थपे, “नो शेर्पा, नो आरोहण !”

शेर्पा समुदायको खानपान, हिउसँगको उठबस आदिबाट आह्लादित हुन्छन् विदेशी । कतिपयको मस्तिष्कमा हुन्छ– शेर्पाहरू त ‘स्नोम्यान’ (हिममानव) हुन् ।

यसमा सहमत छन् उनी ।

सगरमाथा सन्निकट, फोर्चे हिम–उपक्षेत्रमा जन्मिएका हुन् उनी । ५० को दशकमा ।

५ हजार ३८० मिटर, सगरमाथा आधार शिविरको उचाइकै आसपासको उच्च क्षेत्रमा थियो उनको खर्क, गोठ । त्यहीँ खाइखेली हुर्किए पेम्वा । 

घरबाट चोयु, ल्होत्से, पासाङल्याह्मु पिक, आमादब्लाङलगायत दर्जनौँ हिमाल देखिन्थ्यो । हिउँमै जन्मिए पनि हिमालबारे अनौठो मिथ सुनेका थिए उनले– यो त भगवानको स्थूल रूप हो ।

हजुरआमा, आमा बिहान उठ्नेबित्तिकै सगरमाथाको शिरपट्टि टाउको पुर्‍याएर ढोग्थे । सानै गाह्रो–साह्रो, अप्ठ्यारो आइलागे पनि ‘चोमोलोङ्मा’ पुकार्थे ।

तर, १२ वर्ष भएपछि भत्कियो त्यो बिम्ब ।

सन् २००८ ताका हुनुपर्छ, बाबुले पनि सगरमाथा आरोहण शुरू गरे, ‘भरिया’कै रूपमा ।

‘भगवान’ कहाँ बस्दा होलान् भनेर खोजीको विषय थियो । तर, हिमाल त रोजीरोटीको माध्यम रहेछ ! नेत्र खुल्यो उनीहरूको ।

कहिल्यै हिउँ नछोएकालाई पो हिमाल रहर । पर्वतकै पुछारमा बसेकालाई त हिमाल घर ! 

परिवारले यही सोच्यो, अध्ययनका लागि काठमाडौँ ल्याइएका थिए उनी । बाबुको मनले मान्दै मानेन ।

‘शेर्पा कला, संस्कृति र जीवनशैलीप्रति उहाँको तीक्ष्ण लगाव छ । गाउँमा भए त आरोहीहरूको झोला बोकेरै पेट पाल्छ नि, काठमाडौँमा कसरी हातमुख जोर्नु !,’ बाबुको अभ्यन्तरमा यस्तै केही पैदा भयो । गाउँमै फर्काइए । र, त्यहीँको खुम्बु हाइस्कुलमा भर्ना गरिए ।

त्यहाँ पनि पाठ्यपुस्तकमा कम हिमाल ज्यादा पढे उनले ।

१२ वर्षमै आरोहण शिक्षण
गाउँमै खुम्बु क्लाइम्बिङ सेन्टर छ, अमेरिकी आरोहीले स्थापना गरेको । १२ वर्ष पनि पूरा नभएको, केटौले उमेर । किशोर वयभन्दा पहिल्यै हिमालमा पैताला राख्ने अभ्यासमा दत्तचित्त भए ।

शुरूआतमा हिमाल आरोहणसम्बन्धी प्राविधिक ज्ञानसीप लिएका पेम्वाले पूरा अभ्यासचाहिँ सन् २०१४ देखि सन् २०१६ सम्म गरे ।

“नागरिकता नलिई त्यहाँ प्रशिक्षण लिन पाइँदैनथ्यो । त्यसैले पनि झन्डै चार वर्ष कुर्नुपर्‍यो,” सम्झन्छन् उनी ।

हिमालबारे जिज्ञासुहरूको मनमा एउटा खुल्दुली छ– शेर्पाहरू ‘हाइ अल्टिच्युट’मा सजिलै कसरी बस्न सक्छन् ? हिउँले किन खाँदैन ?

यही जिज्ञासा निरूपणका लागि केही संघसंस्थाले शेर्पा समुदायको रगत परीक्षणका लागि भन्दै विदेशका ल्यावमा पुर्‍याएको समाचार केही दिनअघिमात्रै सार्वजनिक भएको थियो । त्यसबाहेक शेर्पा समुदायको विशेष जिन त हुँदैन भनेरसमेत खोजी नभएको होइन ।

“शेर्पाहरू हिउँमै जन्मन्छन्, हिउँमै हुर्कन्छन् । हाइअल्टिच्युटमा जन्मिएकाले शेर्पाहरूमा अल्टिच्युट सिकनेस देखिँदैन,” पेम्पाको उत्तरचाहिँ यस्तो छ ।

हिमालले धान्दैछ सबैलाई
कुनै समय खुम्बु क्षेत्रमा एउटै शेर्पाको पचासौँ चौँरी गोठ थिए । मौसमानुकूल सारिरहन्थे गोठ । पेम्वाहरूको पनि ४० वटा जति चौँरी थिए । तिनै चौँरीको दूध, दूधजन्य पदार्थ अर्थआर्जनको माध्यम थियो । चौँरीको मल पाखाबारीमा प्रयोग गर्ने र त्यहीँको आयस्ताले वर्षदिन गुजार्ने । अहिले त एकादेशको कहावत् भइसक्यो त्यो ।

“अहिले त हिमाल र त्यहाँको सौन्दर्यले नै धानेको छ । पथप्रर्दशन, ट्रेकिङ गाइड नभएका घरै भेटिँदैनन्,” पुलकित देखिन्छन् पेम्वा ।

हुर्किएका तन्नेरी कि पर्यटनमा छन्, कि ट्रेकिङ लाइनमा । घरमा त वयोवृद्ध, महिला र केटाकेटीमात्रै हुन्छन्,” गोठ रित्तनु र खर्कमा चौँरी चर्न छाड्नुको कथा सुनाउँछन् उनी ।

शिक्षासँगै चेतनामा आएको समयानुकूल परिवर्तनले हिमाली सौन्दर्यमा खासै कमी ल्याएको छैन । बरु त्यसको आलोकमा हिउँ फुल्ने पाखापखेरा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन थालेको भन्छन् उनी ।

नत्र दुःखैदुःखको पुस्तैनी संग्रहालयजस्तो हिमाली क्षेत्रमा शिक्षा र चेतनाको आयतन बढ्दैनथ्यो भने पर्यटन व्यवसायको फैलावट कसरी बढ्थ्यो र ! उनको तर्कमा सहमत हुन सकिन्छ । 

हिमालका दुःख
तीन पटक सगरमाथाको चुचरामा पाइला राखेका आरोही पेम्वाछिरिङले पाँच पटक ‘भरिया’ बनेर सगरमाथाको शरीर कुल्चिएका छन् ।

सन् २०१० देखि नै सगरमाथाको आधारशिविर आउजाउ गरेका पेम्वाछिरिङ ‘भरिया’ बनेरचाहिँ सन् २०१२ को वसन्तमा पुगे । त्यसपटक उनी पाँच हजार ३८० मिटरको आधारशिविरबाट क्याम्प वानको बाटो सोझिए ।

बीच बाटोमा पर्ने खुम्बु आइसफल देखेर उनको मन कहालियो । हिमपहिरो हिमदरारहरू देखेपछि मुटुभित्र खाडल बनेझैँ भयो, “अहो ! यो त दुःखको काम पो रहेछ !”

हिउँ पग्लिएर पानी नै बगेको । हिउँ अलग्गिएर बनेका ठूल्ठूला भीर, गहिरो खाल्डाखुल्डी । निकै डरलाग्दो थियो त्यहाँको दृष्य । अलग्गै संसारमा पदार्पण भएझैँ प्रतीत भयो । 
६ हजार २०० उचाइभन्दा तलको क्षेत्रलाई खुम्बु आइसफल भनेर नामाकरण गरिएको छ । आरोहणमार्गको निकै जोखिमयुक्त ठाउँ हो त्यो ।

“आधारशिविर आउनजान त सामान्य भयो, यहाँबाट सगरमाथा पुग्नचाहिँ दोस्रो जन्म लिनुपर्छ होला,” ठ्याक्कै यही सोचे उनले ।

तिनताकाको एउटा त्राशदीपूर्ण घटनाले अझै रिँगाइरहन्छ उनलाई । भर्‍याङको सहायताले खुम्बु आइसफल छिचोल्दै थिए । कोही शेर्पाले सुनाइदियो, “यो त ‘डेथजोन’ (मृत्युकुञ्ज) हो है, सावधानी अपनाइएन भने जे पनि हुनसक्छ ।”

“मान्छे मर्ने ठाउँ....!,” अताल्लिए उनी । भनन्न रिँगटा चलेजस्तो भएको थियो । तल खसिहालेछन् ।

धन्न खाडल गहिरो रहेनछ । 

“सगरमाथाको दुःख भोग्न सकिएको रहेनछ !,” त्यसयता सगरमाथा आउँदा–जाँदा खुम्बु आइसफल क्षेत्रमा असाध्यै सावधानी अपनाउँछन् उनी ।

आधारशिविरदेखि क्याम्प वानसम्म जाँदा आउने खुम्बु आरोहणको मुख्य चुनौती हो । त्यो पार गरेपछि भने तुलनात्मक सजिलो बाटो आउँछ । केही उकालो, हिमखाल्डो र ओह्रालो बाटो छिचोलेपछि क्याम्प वान पुगिन्छ । 

आधारशिविरदेखि क्याम्प वनसम्म पुग्न त्यस्तै ६ घन्टा लाग्छ ।

तलपट्टी लोला हिमाल, छेउमा नुप्चे, बीचमा हिउँ सम्याएर तयार पारिन्छ क्याम्प वन ।  सगरमाथा चढ्न अभ्यास गरिरहेका आरोहीहरूले त्यहाँ रात बिताउँछन् । र, आफूलाई आरोहणनुकूल तुल्याउँछन् ।

क्याम्प वनदेखि टुसम्म १.६ किलोमिटरको बाटो छ । निकै चट्टाने बाटो । त्यही हिउँले भरिएको चट्टान काटेर खडा गरिएको छ क्याम्प टु । सगरमाथाकै काखमा क्याम्प टु भएकाले मौसम खुलेको बेलामा सगरमाथाको चुचुरो अड्कल्न सकिन्छ ।

क्याम्प थ्री जाँदा भने बीचमा पर्ने सानो हिमालको थाप्लो कुल्चिएर बाटो तय गर्नुपर्छ । ४५—६० डिग्रीको ठाडो उकालो, त्यस्तै दुई किलोमिटर दूरी पार गर्नुपर्छ । क्याम्प थ्रीबाट भने हावा नछिर्ने बाक्लो ज्याकेट र क्र्याम्पोन लगाउनुपर्छ । निकै भिरालो चट्टाने पहाड काटेर क्याम्प थ्री तयार पारिएकाले नट र डोरी छुटाउनै मिल्दैन ।

क्याम्प थ्रीमा शेर्पाले भोग्ने अर्को कठिनाइ भनेको त्रिपाल टाँग्ने ठाउँ रहेछ । आरोहणताका चल्ने तीव्र बतासले पाल उडाउने भय हुन्छ भने हिमपहिरोको जोखिम उस्तै । हिम पहिरो र चट्टाने पहाडका कारण फलामका डन्डी गाड्न सकिँदैन ।

क्याम्प थ्रीबाट क्याम्प फोरमा जाँदाको दुःख उस्तै छ । क्याम्प थ्री कट्नेबित्तिकै आउने यलोबेन, ठूलो चट्टानले क्र्याम्पोन सार्नै सकिँदैन । नलगाई हिँड्नै भएन । हिउँमा लगाउन बनाइएको जुत्ताले चट्टान कसरी छिचोल्नु, त्यो पनि भारी बोकेर ! आरोहीहरूको तुलनामा २० किलोसम्म भारी बोकेका शेर्पाहरूले निकै सास्ती बेहोर्छन् ।

सगरमाथा क्षेत्रको अर्को मृत्युक्षेत्र हो—साउथ कोल । सगरमाथा आरोहण गर्नेहरू त्यहाँ बास बस्दैनन् । त्यस्तै तीनचार घन्टा आराम गर्छन् । र, समिटको तयारी गर्छन् ।

अधिकांश आरोहीहरू बेलुका ८—९ बजे राति समिटका लागि आरोहणयात्रा तय गर्छन् र भोलिपल्ट बिहान ८—९ बजे चुचुरोमा पुग्छन् । राति ९ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्मको समय समिटका लागि उपयुक्त मानिन्छ । त्यसपछिको समय बतासकै लागि छुट्याइएको हो भन्दा हुन्छ । हिमआँधीको एकछत्र राज चल्छ त्यहाँ ।

आरोहणको मौसम सुरू भएपछि आरोहण गराउने अनुमति पाएका ट्रेकिङ एजेन्सी र त्यहाँ आवद्ध शेर्पाहरूले झन्डै डेढ महिना लगाएर बाटो बनाउँछन् । स्थानीय भाषामा त्यसलाई स्वाकाको खाङ्ग्री भनिन्छ । बाटो बनाउँदै सगरमाथाको चुचुरासम्मै पुग्छन् शेर्पाहरू । पेम्वा सुनाउँछन्, “अघिल्लो वर्ष राखेका नट, फलामका डन्डीको नामोनिशान भेटिँदैन ।

कतिपय ठाउँमा हिमपहिरो थुप्रिएर क्याम्प खडा गर्न सकिँदैन । हिउँ र चट्टान पन्छाउन निकै पापड बेल्नुपर्छ ।”

केही वर्षअघिसम्म सगरमाथाको चुचुरासम्मै डोरी टाँग्ने, भर्‍याङ राख्ने, आरोहण गराउने अनुमति पाएका कम्पनी आफूआफैँ मिलेर गर्थे । खुम्बु आइसफलमा भर्‍याङ राख्ने, क्याम्प वन, क्याम्प टु, क्याम्प थ्री खडा गर्ने बेग्लाबेग्लै कम्पनीले गर्न थालेका छन् । यसो गर्दा आरोहीहरूले झेल्नुपर्ने पट्यारलाग्दो पर्खाइ कम हुँदै गएको छ ।

यसपटकको आरोहणको मौसममा झन्डै चार सय शेर्पा आधारशिविरमा पुगेका थिए । त्यसमध्ये अढाई सय शेर्पाले चुचुरो टेके । 

एउटा आरोहीलाई यति नै सहयोगी भन्ने छैन । आवश्यकता र परिस्थितिले निर्धारण गर्ने कुरा हो त्यो । “विदेशी आरोहीहरूको संख्या हेरेर कम्पनीले सहयोगी निर्धारण गर्ने गर्छ,” अनुभव साट्छन् पेम्बा ।

खोलै बग्छ खुम्बु आइसफलमा
वातावरणमा आएको विश्वव्यापी तापमान वृद्धिको निरपेक्ष असर सगरमाथा क्षेत्रमा पनि परेको छ । अप्रिलको शुरूआतसम्म त ठीकै हो । जुनको अन्तिमतिर आरोहण सकेर फर्कंदा खुम्बु आइसफलमा खोलै बगेको हुन्छ । हिम पहिरोको जोखिम उत्तिकै बढेको छ ।

पेम्वालाई अग्रज शेर्पाहरू सुनाउँथे, साउथ समिटको माथिपट्टी हिलारी स्टेप थियो । त्यहाँको ठूलो ढुंगा चढेर चुचुरोमा पुगिन्थ्यो । ०७२ सालमा आएको भूकम्पपछि हिलारी स्टेपमाथिको ढुंगा देखिन छाड्यो ।

“हिउँले पुरिएको हो कि, टुक्रिएर झरेको हो, हामीले केही पत्ता पाएनौँ,” अनुहारमा आश्चर्यभाव पैदा हुन्छ उनको । हिलारी स्टेप सरेपछि अहिले वरैबाट समिटको रुट तय गरिएको पेम्वा बताउँछन् ।

के शेर्पाबिना सगरमाथा चढ्न सम्भव छ ?

कुनै समय थियो– हिमाल कि विदेशीले चढ्थे, कि त शेर्पाहरूले । गैरशेर्पाहरू सगरमाथा चढ्न थालेपछि त्यो धारणामा व्यापक फेरबदल आयो ।

तर, शेर्पाबिना सगरमाथा चढ्न असम्भवप्रायः हुने पेम्वाको ठहर छ । हिमाल र शेर्पा पर्यावाची शब्द नै हो भन्दा फरक फर्दैन ।

पाकिस्तान, चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि हिमाल नभएका होइनन् । तर, विदेशीहरू नेपालकै हिमाल चढ्दा कम जोखिम महसुस गर्छन् । यसकारण कि त्यहाँ शेर्पाहरू सहयोगी हुन्छन् ।

पाकिस्तान, तिब्बतका हिमाल आरोहणका लागि पनि खुम्बु क्षेत्रमा शेर्पाहरू नै सहयोगीको रूपमा लैजान थालिएको पेम्वा बताउँछन् । भन्छन्, “हिउँकै मानो खाएका र हिउँकै छानोमुनि सुतेका शेर्पालाई हिउँमा हिँड्न र हिउँ सहन के अप्ठ्यारो भयो र ! त्यसैले त जस्तै साहसिक आरोही पनि शेर्पालाई साथ नलिई पाइलै सार्दैनन् ।”

सगरमाथा आरोहणका लागि खुम्बु क्षेत्र पुगेका विदेशी आगन्तुक प्रायः भन्छन्— ‘नो शेर्पा; नो समिट ।’

जीवनलाई हत्केलामा राखेर सगरमाथा आरोहीको भरिया बन्ने शेर्पाले वर्षेनी कति कमाउँछन् होला ?

प्रश्न सुन्नेबित्तिकै हाँस्न थाले पेम्वा । 

कमाइको कुनै ठेगान छैन । सन् २०१६ मा पेम्वाले त्यस्तै पाँच लाख हात पारे । सन् ०१८ मा मनकारी विदेशी आरोही थिए । सकुशल चुचुरोमा पु¥याएपछि आह्लादित हुँदै मनग्य टिप्स थिए । कमाइ त्यस्तै आठ लाख पुग्यो ।

यो सिजनमा आठ चाइनिज र दुई नेपाली महिलालाई चुचुरोमा पुर्‍याउन भूमिका खेले ।

“यो वर्षको कमाइचाहिँ हिसाब गर्न पाएको छैन,” ओठमा जुनको आभा फिँजिन्छ । मुसुक्क हाँस्छन् पेम्वा ।

सोलुखुम्बुमा त्यस्तो पनि समय थियो— हिमवृष्टि हुँदा रुवाबासी हुन्थ्यो । बाँच्न त्राहीत्राही हुन्थ्यो ।

अहिले समयमा हिमपात भएन भने शेर्पाहरू अताल्लिन्छन् ।

“हिमालमा हिउँ रित्तियो भने हिमाली सौन्दर्य गुमनाम हुन्छ । काला पहाड चढ्न को आउँछ र ? हिउँ त प्रकृतिको सुन्दरतम सृष्टि हो,” हाँस्दै उठे पेम्वा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC