site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इखले डोर्‍याएका भोला
Sarbottam CementSarbottam Cement

– अक्षर काका


“लाटाको छोरा भएर नाटक देखाएँ भन्दै फुर्ती लाउँछस् ? हाम्रो छोराले त नाटक खेल्या छैन, तँ लाटाको छोराले खेल्ने ?”

त्यस्तै ०५० सालको कुरा हुनुपर्छ । हेटौंडाको चौघडा स्कुलमा दशैंको छेको पारेर नाटक देखाइएको थियो । मञ्चमा बालकलाकारका रूपमा भोला सापकोटा पनि प्रस्तुत भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, आफूलाई सम्भ्रान्त ठान्ने घरको सुर जोडिएको गुरूङ थरका छिमेकीलाई रत्तिभर चित्त बुझेको रहेनछ । रक्सीको प्याला उचाल्दै विष पो बमन गरे तिनले ।

रिसले आँखा थुनियो भोलाको । बसेको ठाउँबाट रन्थनिँदै उठे । ‘लु... खा !’ भन्दै रक्सी खाँदै गरेको भाँडो उचालेर अनुहार सबै भिजाइदिए ।

Global Ime bank

नेपालीमा कहावत छ— इख नभएको छोरो र विष नभएको सर्प काम लाग्दैन ।

यस्तै इख र अमानुषिक प्रताडनाले उनलाई अब्बल नाटककारको चिनारी थपिदियो । रङ्गकर्मीको उपमा थमायो । अझ भनौं न, तिनै ‘लठेब्रो’का सन्तान भोला सापकोटाले बलिउडको हिट चलचित्र ‘बर्फी’मा अनुबन्धित हुने मौका पाए । दुब्लो र निम्छरो नेपाली रङ्गमञ्चका कलाकार बलिउडको ‘मल्टिप्लेक्स’मा ‘स्क्रिनिङ’ भए ।

० ० ०

बाबुआमा दुवै अबोला । कान्छो सन्तान भोला सापकोटा । बाल्यकालमा खासै मतलब हुने कुरा भएन । हुर्किएर ठूलो भएपछि पत्तो पाए— बाबुआमा दुवै बोल्दैनन् । आँसुको कुलेसै बग्यो उनको ।

“एक वचन छोरा भनेर बोलिदिए पनि त हुन्थ्यो !” बाल्यावस्थामा कयौंपटक भक्कानिन्थे उनी । भएजति देवीदेवता पुकार्थे, “लौ न मेरा बाआमालाई बोल्ने सक्ने बनाइदेऊ !”

बाबुआमाको समस्यासँग समायोजित हुँदै थिए । पीडाले मन ताडित हुन्थ्यो । “जन्मँदै नियतिले बोली हरण गरेपछि कसको शरण पर्नू ?” आफैं सम्हालिन्थे पनि ।

तर, स्कुल, बाटोघाटामा तुच्छ वचनको झटारो सहनुपर्‍यो, “लाटागाँडाको सन्तान ! लाटालाटीको छोरो !”

गाउँघरमा कसैले उधारो नपत्याउने । मेलापात, भारोपर्ममा अनेक दुर्वचनको सामाना गर्नुपर्ने । बाबुआमालाई बोल्न जति गाह्रो हुन्थ्यो, त्योभन्दा कयौं गुणा कठिन भयो उनीहरूलाई चुल्हो तताउन ।

सिन्धुपाल्चोक, कुबिन्डेबाट बसाइँ सरेर मकवानपुर हात्तीलेट पुगेका । हजुरबुबाका आठ दाजुभाइ । पाखापहाडको ठाउँ, दुःखै थियो । हजुरबुबा छउन्जेल चुल्हो जोड्न र एक झुम्रो लगाउन गाह्रो भएन ।

हजुरबाको चोला उठेपछि दुर्दिन शुरू भए उनीहरूका । हजुरबा अस्ताएको केही समयपछि हजुरआमा पनि महाप्रस्थान भइन् । त्यही बखत मूलघरबाट पनि छुट्टिए उनीहरू ।

जग्गाजमिन नभएको होइन । आयस्था पनि राम्रै हुन्थ्यो । नुनतेल, चिनी किन्न नगद नहुँदा घरको चर जोडिएका किराना पसलेले उधारोसमेत नपत्याउने । काँक्रो चिरा पारेझैं हुन्थ्यो मन ।

निमुखा बाबुलाई ‘ग्वाँजे’ भन्दै एक खिल्ली चुरोटको भरमा अजङ्गको भारी बोकाउने । निम्छरी आमालाई एक पोल्टो खाजामा भरदिन पर्म लगाउने । प्रकृतिले अबोला बनाइदिएको थियो, गाउँलेले अतिरिक्त सजाय दिए ।

७० वर्षको वृद्ध उमेर भइसक्यो पिताको । अद्यपर्यन्त गाउँलेको त्यस्तै दुर्व्यवहारको सामना गर्नुपर्छ ।

त्यसविरुद्ध उनले विद्रोहको चिराग सल्काए— अभिनयको माध्यमबाट ।

० ० ०

त्यस्तै कक्षा ७ मा पढ्थे उनी । वर्षाद्को समय भएकाले दुई महिनाजस्तो विद्यालय बिदा हुन्थ्यो । तिनताक नेपाल टेलिभिजनबाट ‘ट्वाक्कटुक्क’ प्रसारण हुन्थ्यो । खुब चाख मानेर हेर्थे उनी । ‘ट्वाक्कटुक्क’मा अभिनय गर्ने अभिप्सा पो जाग्यो ।

बाबुआमा दुवै बोल्दैनन् । कसलाई सोध्नू ? कोसँग सल्लाह गर्नू ? टेलिभिजनमा कार्यक्रम निर्देशकको नाम दिनेश डीसी लेखेको देखेका थिए । तिनैलाई भेट्नु पर्‍यो भनेर उनी काठमाडौं जाने तरखर थाले ।

दिनेशलाई भेट्न काठमाडौं त जाने तर आफूसँग सुको पैसा छैन । बाबु एकखिल्ली चुरोटमा भीमकाय भारि बोक्छन् । आमालाई सित्तैमा दलाउन पाए भने गाउँले पनि मख्ख पर्छन् । पैसा आउने बाटो पनि छैन । माग्दा कसैले पत्याउने हैन ।

ट्र्याक्टर चलाउने श्याम लामा दाइलाई चिनेका थिए । ती श्याम दाइ हेटौंडा बजारमा दिनभरिजसो चाइनिज ट्र्याक्टर चलाउँथे । तिनताका ट्र्याक्टरमा लोड–अनलोड गरेको ३० रुपैयाँ पाइन्थ्यो । मनमा आयो— श्याम दाइको ट्र्याक्टरमा लोड–अनलोड गर्छु र त्यही पैसाले काठमाडौं जान्छु ।

बिदाको समय दिनभरिजस्तो लगाएर ट्र्याक्टरमा लोड–अनलोड गरे र त्यही पैसा बोकेर काठमाडौं हान्निए उनी ।

काठमाडौं त आइपुगे दिनेश डीसी चिनेको छैन । कहाँ बस्छन् पनि थाहा छैन । कलंकीमा गाउँकै आफन्तको तरकारी पसल थियो । तिनैकहाँ गएर गुहार मागे, “लौन दिनेश डीसी भेटाइदिनुपर्‍यो ।”

कताकताबाट हो— दिनेश भेटाइदिए उनले ।

भेटेर कुरा सुनेपछि दिनेशले भने, “पहिले एसएसली देऊ, त्यसपछि ट्वाक्कटुक्कमा खेल्न आऊ ।”

त्यत्रो दुःख गरेर काठमाडौं आएको, व्यर्थ पो भयो । एक मिनेट पनि बस्न मन लागेन उनलाई । निराशाको बोझले थिचिँदै त्यही दिनको रात्रिबस चढेर हेटौंडा नै फर्किए उनी— गह्रौं मन लिएर ।

एसएलसी उत्तीर्ण गरेपछि दिनेशलाई भेट्ने लेठोमा लागेनन् उनी । बरु नाचघरमा नाट्य प्रशिक्षण दिन्छन् भन्ने सुनेका थिए, त्यतै पैताला सोझ्याए ।

नाचघरमा नाम निस्कनेमा विश्वस्त नै थिए उनी । बालखैमा किन नहोस्, अभिनयमा ख्याति बटुलिसकेका थिए । हेटौंडाको तरंग सांस्कृतिक प्रतिष्ठानले महिनाको १५ वटाजस्तो सडक नाटक देखाउँथ्यो । कुनैमा छुट्दैनथे उनी ।

बालख भोलालाई प्रशंसाका दुई वचन थमाउँथे, “कस्तो राम्रो नाटक देखायौ, अझ राम्रो गर्नू है !”

सडक नाटक देखाउँदै काठमाडौंदेखि जनकपुरसम्मै पुगिसकेका थिए भोला ।

एचआईभी संक्रमणविरुद्धको सचेतना नाटक ‘गुरुजी अन्तरे’ र ‘जुँगे हवल्दार’  त्यसबेला दर्शकले खुब मन पराएका नाटक थिए । तिनै नाटकले नाचघरको ढोका खोलिदिएको थियो उनको ।

नाचघरमा गुरु थिए सुनील पोखरेल । सुनीलसँग सान्निध्यता बढ्दै गएपछि उनले आरोहणका नाटकमा अभिनयकौशल देखाउने मौका पाए । र, क्रमशः रंगक्षेत्रमा भिज्दै गए ।

सुनीलसँगको सामीप्यता बढ्दै गएपछि गुरुकुलको समेत ढोका खुल्यो उनका लागि । गुरुकुलको ११ वर्ष अवधिमा २५ भन्दा बढी नाटकमा अभिनय पस्किए उनले ।

‘कुरूप हाँस’, ‘जात सोध्नू जोगीको’, ‘ताराबाजी लैलै’ लगायत थुप्रै नाटकले दर्शकको मात्र होइन, आफ्नै मन पनि आह्लादित तुल्याएको छ उनको ।

“त्यसमध्ये पनि ‘कुरूप हाँस’को अभिनय विशेष सम्झना छ, विदेशी प्रशिक्षकले सिकाउनुभएको थियो । उहाँले नेपाली नबुझ्ने, मैले अंग्रेजी नबुझ्ने । तैपनि त्यो सोलो प्रस्तुति निकै रुचाइयो । त्यही अभिनयबाट दर्शक प्रमोदित भएर होला— इमेल आईडी नै कुरूप ट्युरो राखें,” गुरुकुलको सम्झनाले उद्वेलित तुल्याइरहन्छ उनलाई ।

गुरुकुल नाट्य शिक्षणका लागि वास्तवमै पाठशाला थियो । प्रशिक्षार्थीहरूलाई आवासको समेत सुविधा थियो । अभिनय प्रशिक्षणका अतिरिक्त शौचालय सफाइ, बढारकुँडार, गुरुकुलको रंगरोगन नाट्यकर्मीको नित्यकर्म थियो । सिकाइको तौरतरिका पनि बेग्लै । तिनताकाको रमाइलो किस्सा सुनाउँछन् भोला ।

गुरु सुनील जीवनसादृश्य अभिनय गराउन माहिर । नाटकका सर्वज्ञ र मर्मज्ञ पनि । उनले आफ्ना ‘शिष्य’हरूलाई कहिले भरिया, कहिले माग्ने बनाएर सडकमा अभिनय गर्न पठाउँथे । कहिले सडक किनारमा बटुको बोकेर माग्न लगाउँथे । बटुवाले थाहा नपाउने गरी त्यस्तो कार्यशाला पूरा गर्नुपथ्र्यो ।

एकदिन भोला र कमलमणि नेपाल भरिया बनेर दरबारमार्गतिर हानिए । धुस्रेफुस्रे, ‘नाम्ले’को वेशमा । तर, मान्छेको व्यवहारै पो गर्दैनन् ! खाजा खान भनेर दरबारमार्गको बेकरी छिरेको । अचम्म ! पाले, पहरेले भित्र पस्नै दिँदैन । भन्छ, “भरिया भएर यत्रो होटलमा छिर्ने ? तिमीहरूसँग पैसा छ ?”

उनीहरूले बगलीभरिको पैसा निकालेर देखाएपछि बल्ल प्रवेश पाए । भित्र छिरेपछि पनि भरियाले कहाँ अगाडि बस्न पाउँदा रहेछन् र ! पछाडिको सिटमा बस्नुप¥यो । वेटरको व्यवहार उस्तै टिठलाग्दो । बल्लतल्ल मःमः खान पाए उनीहरूले । 

“आइसक्रिम पनि खान पाइन्छ हैन यहाँ ?” कमलमणि बेलाबखत रमाइलो गर्थे ।

“कस्तो आइसक्रिम ? तातो कि चिसो ?” वेटरले झनै गिज्याउँथे । 

“तातो आइसक्रिम पनि हुन्छ ? त्यही ल्याऊ न त !” कमलमणि उस्तै रसिक ।

होटलमा लगातार अंग्रेजी गीत बजिरहेको सुनेर कमलमणिले वेटरको दिमाग चाट्थे, “तिमर्कां नेपाली गीत बज्दैन ?”

एक घण्टा खोजेर बल्लतल्ल ‘चरी मर्‍यो सिस्सैको गोलीले’ गीत बजाए ती वेटरले ।

मःमःका डल्ला उचाल्दा पनि उनीहरू रमाइलो गर्न छाड्दैनथे । हल्ला गर्ने मनशायले होइन, नजिकको टेबलमा बसेका ग्राहकले भरियालाई कस्तो व्यवहार गर्छन् भन्ने बुझ्न ।

ती गाहकीले पनि उनीहरूलाई बडो हेयभावले हेरे । “कति ग्राहकले त यस्तो भरिया आउने ठाउँमा बेकार आइएछ, भोलिदेखि आउँदैनौं भन्दै नाक खुम्च्याएको समेत पायौं,” घटना सम्झँदा भोलाको अहिले पनि मुटु चोइटिन्छ । 

होटलबाट बिल तिरेर बाहिरिने बेलामा पनि उनीहरूले रमाइलो गरे ।

“पालेले सबैलाई सलाम ठोकेर फेरि आउनुहोस् है भन्छन्, हामीलाई त नआइदिएहुन्थ्यो भनेझैं गरी तुच्छ आँखा हुर्‍याउँछन् । पाँच रुपैयाँको नोट थमाएर सलाम हान्न लगाई निस्कियौं,” उत्फुल्ल हुँदै सुनाउँछन् भोला ।

भरिया बनेका अन्य साथीहरूको दुर्दशा बेग्लै थियो । भीमकाय भारी बोकेर पाँच तला उक्लनुपर्ने तर भारिधनीको घरमा पिसाबसमेत फेर्न नपाइने । गिटी ओछ्याएको बाटोमा पनि खाली खुट्टै हिँड्नुपर्ने । आर्थिक हिसाबले मान्छे उत्कृष्ट, भरियालाई गर्ने व्यवहारचाहिँ निकृष्ट । साथीहरूको अनुभूति भोलाको मनमा विरहको बतास चल्थ्यो ।

अतिअभिनय र प्रस्तुति बिगार्छन् कि बिगार्दैनन् भनेर अनुगमनमा सुनील आफैं र विदेशी प्रशिक्षक टिम ह्वाइट पनि गएका थिए । उनीहरूको सादृश्य अभिनय देखेर चित खाए ।

गुरुकुलको तीन वर्षे कोर्स पूरा गर्न उनी गएका थिए तर ११ वर्ष बिताए ।

धेरैलाई नाटककारका रूपमा स्थापित गराउने गुरुकुल आफैं विस्थापित भयो । त्यो क्षण उनी सम्झनसम्म चाहँदैनन् । 

कहिलेकाहीँ पुरानो बानेश्वरको बाटो हुँदै हिँड्नुपर्छ । फर्केर हेर्नसम्म मन लाग्दैन गुरुकुल रहेको डाँडो । “आँसु झर्लाजस्तो पो हुन्छ,” भावुक हुन्छन् भोला ।

शैशवास्थाबाट नाटकमा तरूण बनाउने गुरुकुलको दुःखान्तले मन पिरोल्नुसम्म पिरोल्यो ।

“खै कहाँ ठडिएला त्यस्तै त्यस्तै नाटक प्रशिक्षण, रिहर्सल र प्रदर्शन गृह !” गुरुकुलको सम्झनाले मन अझै हुँडलिरहन्छ उनको ।

० ० ०

नाटकको अभिनयले बलिउडको ढोका ढक्ढक्यायो । गुरुकुलमा नाटक हेर्न आइरहन्थे सिलगुढीका प्रशान्त रसाइली ।

गुरुकुलका नाटक हेरेर आस्वादित रसाइली लघुचलचित्र बनाउँथे । तिनै रसाइली निर्देशित ‘मर्डर इन काठमाडौंमा’ अभिनय पस्कने मौका पाएका थिए भोलाले ।

पछि प्रशान्तले निर्माण गर्न लागेको ‘क्रस रोड’मा पनि भोला, सौगात मल्ल, कमलमणि छानिएका थिए । तर, त्यो नबनेर आलोक नेम्वाङले अर्कै चलचित्र बनाए ।

हेटौंडा नै थिए । सन् २०११ तिर प्रशान्तले फोन गरे, “भोलाजी, तपाईंले हिन्दी चलचित्र खेल्नुपर्ने भा’छ है !”

गुरुकुलमै हुँदा कमलमणि, सौगात एकले अर्कालाई ‘ब्लफकल’ गर्दै रमाइलो गर्थे, “ल है तपाईं बलिउडमा अनुबन्दित हुनुभएको छ । सलमान, आमिरसँग स्क्रिनिङ हुनुपर्नेछ ।”

त्यस्तै ठानेर उनले शुरूमा त जवाफ फर्काए, “ह्या नजिस्किनू न ।”

त्यसको दुई–तीन दिनपछि काठमाडौं आएका थिए । फेरि फोन आयो, “कस्तो नपत्याएको ? म प्रशान्त क्या, सिलीगुढीबाट । नयाँ हिन्दी फिल्मका लागि नेपाली अनुहार चाहिएको छ । तपाईंले अडिसन दिनुपर्‍यो ।”

पत्याएनन् मात्रै, खुट्टा हावामा तैरन थाले ।

प्रशान्तले अडिसनका लागि उनको फोटो देखाइसकेका रहेछन् । अनुहार अनुमोदित भएपछि अडिसनका लागि उनी निम्त्याइएका रहेछन् । ऋणधन गरेर उनी अडिसनका लागि बलिउड प्रस्थान गरे ।
 
अडिसनका लागि आसामका अतिरिक्त बंगालीहरू पनि सरिक थिए । नाम निस्केलाजस्तो उनलाई लागेको थिएन । ३६ नम्बरमा उनको नाम । अडिसनमा निर्देशक अनुराग बासु आफैं थिए ।

विवाह गरेको तेस्रो दिनै अडिसन दिन जानुपरेकाले उनले बिन्ती बिसाए, “मलाई शुरूमै राखिदिनुहोस् ।”

अडिसन दिए । फर्कनै लाग्दा भनेका थिए, “भएछ भने खबर गरौंला ।”

काठमाडौं फर्किए । १० दिन, १५ दिन बिते तर खबर आएन । उनले ठाने, “गुरुकुलको सामान्य नाटककारले त्यत्रो बलिउडमा कसरी प्रवेश पाउनू ?”

त्यस्तै २० दिनका दिन फोन आयो । फेरि भन्छन्, “अडिसनका लागि मुम्बई आउनुपर्ने भयो ।”

अघिल्लोपटक नै त्यत्रो खर्च भइसकेको छ । फेरि कुन पैसाले अडिसन दिन जानू ? नजाऊँ– बलिउडको अवसर पोल्टाबाट उम्कने भय, जाऊँ– कोसँग माग्नु बाटो खर्च ? मुम्बईमा चिनेजानेका पनि थिए । तिनैकहाँ दुई–चार दिन आश्रय लिने गरी उनले मुम्बईको दोस्रो उडान भरे ।

विमानस्थलमा चलचित्र युनिटका सदस्य लिन आएका थिए । सिधै अडिसन स्थल पुर्‍याए । दुई घण्टा पर्खिएपछि पालो आयो । त्यस दिन साथीकहाँ नै बसे ।

अर्को दिन जान्छन् त फेरि भन्छन्, “पुनः अडिसन लिनुपर्छ ।”

तेस्रो पटकको अडिसनमा चाहिँ छाँटिएर चार–पाँच जनामात्रै रहेछन् । उनी छनोट भए । ढुक्क भएर भोलि नेपाल जान्छु भन्ठान्दै थिए । कपाल काट्न पो लगे ।

त्यसको भोलिपल्ट पनि उनलाई नेपाल फर्कन दिएनन् । चौथो दिनका दिन त उनी सीधै सुटिङ स्थलमा पुर्‍याइए ।

चलचित्रको नाम त्यहीँ पुगेपछि थाहा पाए उनले— ‘बर्फी’ ।

उनले नेपाली चलचित्र ‘सानो संसार’मा पनि अभिनय गरिसकेका थिए ।  बलिउडको यात्रापछि अनुभूत भयो— काममा हामी त्यत्तिको इमान्दार, लगनशील बन्न अझै सकेका रहेनछौं ।

खासमा हाम्रा चलचित्रले व्यावसायिक यात्राको थालनी गरेकै रहेनछन् भनेर गहिरै गरी अनुभूत भयो उनलाई ।

चलचित्र सुटिङ अवधिभर रणवीरसँग राम्रै संवाद भयो । प्रियंका चोपडासँग भने रोचक अनुभव छ ।

शुरूमा उनले प्रियंकालाई नै चिनेनन् । सुटिङ सकिइसकेपछि प्रियंकाजस्तो अनुहारसँग आँखा ठोक्कियो । उनले सोधे, “चलचित्रमा प्रियंका पनि छिन् ?”

“ल ! अघिकी प्रियंका त हो नि, कस्तो नचिनेको ?”

रणवीरका तीन साथी इलियाना, प्रियंकामध्ये तेस्रो साथीको भूमिका छन् भोला ‘बर्फी’मा ।

ततपश्चात् भने उनले बलिउडमा दोहोर्‍याएर चलचित्रमा काम गर्न पाएका छैनन् । अडिसन नदिएका पनि होइनन् । “दुई–चारवटा चलचित्रमा फोटो पठाएर अडिसनसमेत दिएको छु । खै के मिल्दैन !” अनभिज्ञता प्रकट गर्छन् उनी ।

० ० ०

पछिल्लो समय उनी स्वदेशी चलचित्रमा व्यस्त छन् । ‘बर्फी’पश्चात् ‘झुम्की’मा प्रहरीको भूमिकामा देखिएका उनी पछिल्लो समय पाँचवटा चलचित्रमा व्यस्त रहे । ‘कुम्भ करन’, ‘मिस्टर भर्जिन’, ‘कागजपत्र’, ‘चक्कर’लगायत चलचित्रमा विभिन्न भूमिकामा छन् उनी ।

तर, नाटककै लती हुन् । त्यसमै बसेको रस ।

केही समयदेखि अनुदित नाटकको भेलबाढी नै आएको छ । विदेशी नाटक अनुवाद गरेर मञ्चमा पस्कने क्रमले तीव्रता नै पाएको छ भन्दा हुन्छ ।

४० को दशकदेखि रंगक्षेत्रमा सक्रिय भोला भन्छन्, “नेपालमा नाटक नै लेखिन छाडे ।”

कलाकार सर्वकालीक प्रतिपक्षी हुन् । सत्ताले गलत निर्णय गर्‍यो भने पहिलो विमती राख्ने कलाकार नै हुन्— प्रहसन, व्यंग्य र अभिनयका माध्यमबाट ।

निर्दिष्ट उद्देश्यप्रति निर्भीक भोलाले नाटकमा धेरै घामपानी सहेका छन् । रंगक्षेत्रमा लामो दौडका धावक हुन् । र, आफ्नै रफ्तारमा छन् उनी ।

केही समययता नाटक मञ्चन गर्ने क्रम बढेपछि नाटकले दर्शक बटुल्न नसकेको तथ्यलाई बलियैसँग आत्मानुभूति गर्छन् उनी ।

किन त ?

“नाटक लहडमा देखाउने क्रम बढेको छ,” आफ्नै तर्कमा उभिन्छन् उनी ।

दुई–चार महिना नाटक प्रशिक्षण लियो । निर्देशक बन्न हतार गरिहाल्ने परिपाटीले नाट्य क्षेत्रको पानी धमिल्लिने हो कि भन्ने चिन्ताले गाँजेको रहेछ उनलाई ।

काठमाडौंका नाटकघरमा अुनवादित नाटक चलिरहेका छन् । अनुवादित नाटकका ब्यानरले नै उनको मोह भंग गरिदिन्छ ।

“विदेशीका नाटक मञ्चमा पस्किएका छौं तर लेख्छौं— परिकल्पनाकार फलानो । नाटकको परिकल्पना सम्बन्धित सर्जककै होला नि, त्यति पनि नबुझ्ने हामी नाटकप्रति इमान्दार बन्न सक्छौं होला ?” खुइयऽऽ गर्दै उठे उनी ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC