site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दाइजोः सम्पत्तिको ‘बर्नभिटा’
Sarbottam CementSarbottam Cement

– रवि मिश्र


पट्याक ! पट्याक ! पट्याक !

आवाजै जोसिलो !

Prabhu Bank
Agni Group
NIC Asia

ब्रान्ड— हात्तिछाप । नम्बर— ११ । खुट्टाभन्दा अलि लामो तर खुट्टासँग लपक्कै मिलेको । जस्तो— मासुसँग जिब्रो ।

कुर्कुच्चो, बुढी औंला र औंलामुनिको उठेको भागको प्रतिस्पर्धा— चप्पल कसले बढी खियाउने ? माटो कसले बढी छुने ?

Global Ime bank

लाग्थ्यो— यो चप्पल चप्पल होइन, मात्र खुट्टाको फ्रेम हो ।

चप्पल लगाई खुट्टा टेक्दा आधाजस्तो पैतालांग जिमिनमा पर्थे । जिमिनमा खुट्टा पर्दा देशको माटो छोइन्थ्यो । काउकुती चल्थ्यो । पैतालाको काउकुती उम्लिएर तालुमा पुग्थ्यो । अनि तालुबाट पोखिएर छातितिर झथ्र्यो । मुटुले ध्याप्प टिप्थ्यो । राष्ट्रपिरिम सल्किन्थ्यो । राँकिदो राष्ट्रपिरिमको मुस्लो नसा–नसा बहन्थे । कोष–कोषमा भर्भराउँथे ! हैट् । हुटहुटीले पूरै ज्यान लंका सल्काउँदै हिँडेको हनुमानजीको पुच्छर भएको अनुभव हुन्थ्यो । लाग्थ्यो—कहाँ गएर झोसिऊँ !

अन्तिममा गएर राजनीतिमा झोसिइयो । फाटेको चप्पलबाट खुट्टाको कुर्कुच्चाले देशको माटो छोएर कसम खाइयो— परान रहुन्जेल देशका लागि लडिन्छ ।

फेरि अर्को एक पन्यु कसम थपियो— जनताको मुक्तिका लागि लडिन्छ ।

ए बाबा रे ! अझ पो अघाइँदैन हौ ! फेरि अर्को पन्यु कसम थपेर उग्राउँदै भनियो— मैजस्ता कुर्कुच्चा र पैताला फाटेका चप्पल लगाउने सर्वहारा वर्गको वर्गीय मुक्तिका लागि लडिन्छ । सास रहुन्जेल लडिन्छ !

जिन्दगीले नयाँ मोड लियो— राजनीतितर्फको । बाटो फेरियो, चप्पल फेरिएन । चप्पल पड्किने हुँदी माटो उछालेर डडाल्नुमा बुट्टा भर्थे । कहिले टाउकोसम्म पुग्थे । नचिनिने बनाउँथे । भूमिगत जीवन जो थियो । पुलिससँग लुकामारी चल्थ्यो । कहिलेकाहीँ यही चप्पलको आवाजले पुलिसको सामुन्ने पुर्‍याउँथ्यो । कहिले यसैले नचिनिने बनाएर ‘ढ्याप्पा !’ गराउँथ्यो । जेहोस्— चप्पल सहयात्री थियो, शुरुवाती राजनीतिको ।

अचम्म भो ! चप्पल पड्काएरै पिरिम पारियो । परेको पिरिमले ससुराबाको घरसम्म पुर्‍यायो— प्रेमिकाको हात माग्न । ‘तँलाई ठेट्ना’ भनेको मात्रै याद छ । बूढाले झट्टी हानेको लठ्ठी २ अंगुलले छलेको मात्रै याद छ । के भयो— सोचुन्जेल आफ्नै घरको चोटामा पुगिसकिएछ ।

राजनीतिक प्रशिक्षणमा सुनिन्थ्यो, कतै भनिन्थ्यो पनि, “अधिकार मागेर होइन, खोसेर लिनुपर्छ ।”

नदिए खोसिन्छ भन्ने नियम यता लगाइयो । मञ्च बनाइयो । भाषण चुटियो । बत्ती बालियो । ताली बजाइयो । कसम खाइयो— सँगै बाँच्ने । काल अन्सार पालैसँग मर्ने ! जनवादी बिहे खत्तम् । न बाजा, न डोली, न त दाइजोपात । खुबै क्रान्तिकारी होइयो त्यसताक । उता ससुराबालाई दुई दिन नाङ्लै हम्किन परेछ । तेस्रो दिन बौरिएछन् ।

जिन्दगी एक पांग्रे थियो— बारीको पाटामा पाइप गुडाएजस्तो । अब दुई पांग्रे भो । उनी र म एकै रथका । जिन्दगीको रथ बेतोडले कुद्न छाड्यो । जनआन्दोलन सफल भयो । पार्टीले चुनावमा उठायो ।

उल्का भो ! जितियो ! सांसद् बनियो । झन् उल्का— भोलिपल्टै ससुरा बा आफ्नो अघि खडा । ‘लौ बिताए’ भनेर लठ्ठी छल्ने जुक्ति सोच्दै थिएँ, बूढाले त गोजीबाट दुई थान आधा–आधा तोलाको सुनको असर्फी पो निकाले ।

“छोरी र ज्वाइँलाई बिहेमा लगाइदिन असर्फी बनाएर राखेको थिएँ । बूढो हात भर पाउँदैनथ्यो । हातबाट लठ्ठी फुस्क्यो भन्दैमा कुलेलम ठोक्नु पथ्र्यो ? आवेशमा आएर जनवादी बिहे गर्नु पथ्र्यो ?” भन्दै दुई थान असर्फी दाइजो दिएर गए ।

आधा तोलाको असर्फी साह्रै पातलो । मुठी बाट्दा नि रिंग कच्याककुचुक होला भन्ने डर । सिक्का फुस्केला भन्ने डर । त्यसैले अब यी असर्फीहरूलाई मोटाउनु पर्‍यो भनेर ‘बर्नभिटा’ खुवाउन थलियो । अनि त बर्नभिटाले कमाल देखाउन थालिहाल्यो । खुवाएको केही समयमै आधा तोलाको असर्फी एक तोला भयो । हामीले झन् हौसिएर बर्नभिटा खुवाउन थाल्यौं । अनि त केही महिनामै २–३ तोलाको भएर औंलामा नअटाउने भएसी फुकालेर राखियो ।

एक–डेढ वर्षपछिको कुरा हो । म स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटन गर्न गएथें । सुनौलो आवाजमा ‘आइरन चक्की’ मागिरहेको सुनें । ‘क्या हो ए !’ भनेर यसो हेर्छु त ससुराबाले दाइजो दिएका तिनै असर्फीहरू पो स्वास्थ परीक्षणका लागि आएका रहेछन् । असर्फिनी गर्भवती भइछन् ।

त्यसपछि असर्फी र असर्फिनी मिलेर घरमा गुँड लगाए । केही समयमा असर्फिनीले २७ वटा सुनको अण्डा पारिन् । केही अण्डा बेचेर घर खर्च टारियो । केही अण्डा गालेर श्रीमतीजीले गहना लगाइन् । केही अण्डा कोरल्न दिइयो । कोरलेको अण्डाबाट असर्फीका चल्ला निस्किए । असर्फी र असर्फिनी टाढा–टाढा गएर चल्लाहरूलाई चारो ल्याएर खुवाउँथे । मेरो पालो— चल्लालाई नि बर्नभिटा खुवाउन थालें । प्यालेट दाना खुवाएका कुखुराका चल्लाझैं असर्फीका चल्ला नि ह्वारह्वार्ती बढ्न थाले । अनि त असर्फी असर्फिनीलाई नि सजिलो हुन थाल्यो । फेरि असर्फिनीले अर्को लट अण्डा पारिन् । हामीले जग्गा जोड्यौं । त्यसपछि त चल्लाहरू नि ठूला भएर अण्डा पार्न थाले । अनि महल बने । गाडी किनिए । 

त्यसपछि पनि असर्फी र तिनका सरसन्तानले अण्डा पारिरहे । जिन्दगीमा ऐश्वर्य छायो । राजनीतिमा नि नयाँ–नयाँ मौका मिल्दै गयो । यसपालि मन्त्री बन्ने मौका मिल्यो । सम्पत्ति विवरण भर्नुप¥यो । लेखियो, “दाइजोमा प्राप्त सय तोला जति सुन, बंगला, गाडी, जग्गा अकडम् बकडम् ।”

मान्छे उडाउँछन्, “अस्तिसम्म सम्पत्तिको नाममा त्यही एकजोर कुर्कुच्चा प्वाल परेको चप्पल छ भन्थे । चुनाव खर्चसमेत छैन भनी हात पसारे । अहिले त्यत्रो सम्पत्ति ?”

ए बाबा ! दाइजो नै सम्पत्तिको बर्नभिटा बन्यो त मेरो के लाग्यो ? नत्र म सर्वहाराको के हुनु ? कठै ।

— मन्त्रीनाथ सर्वहारा
सिंहदरबार, काठमाडौं

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC