साहित्य र कला

‘अँधेरी नगरी चौपट राजा’ : हाम्रै शासन–व्यवस्थाको प्रतिछाया

‘अँधेरी नगरी चौपट राजा’ : हाम्रै शासन–व्यवस्थाको प्रतिछाया

“म त धेरैपछि नाटक हेर्न आएँ,” श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट बाटैमा भेटिए । सर्वकालीक हाँसो उनको अनुहारको विशेषता हो । फेरि थपिहाले, “राजनीतिले फुर्सदै कहाँ दिन्छ र नाटक–साटक हेर्न !”

ऊर्जामन्त्री छँदा बिजुलीको बिल समयमा भुक्तानी नगर्नेहरूको लाइन काटेर चर्चामा आएका विष्ट श्रम तथा रोजगारमा पुगेपछि अलि सेलाएका छन् । गुमनामै त नभनौँ !

तिनै गोकर्ण शनिबार थापागाउँस्थित कुञ्ज थिएटरमा पुगेका थिए– राजनीतिक विकृति विम्बित ‘अँधेरी नगरी चौपट राजा’को नाट्य–द्रष्टाका रूपमा ।

अलिक पर कमल ढकाल भेटिए । हरेक मानिसका कथालाई किताबमा बदल्न लागिपरेका ढकालले ‘घोस्ट राइटिङ’ खोलेका छन् । कुञ्ज थिएटर त्यसैको सह–उत्पादन हो ।

उनी भन्दै थिए, “नेपालका कलाकारसमेतमा नाटक हेर्ने संस्कृति रहेनछ !”

नेपाली सिने क्षेत्रका नायक आर्यन सिग्देल ११ वर्षपछि नाटक हेर्न आए केही दिनअघि । त्यसो त कुञ्जमा एमाले नेता माधवकुमार नेपाल पनि पुगेका थिए । ढकाल पुलकित हुँदै थिए । 

शनिबार सहर अलि सुनसान थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणले सडक निर्जन तुल्याइएको थियो । मानौँ, यो पनि शासक सिर्जित–आतंकको सानोतिनो नमुना नै हो । राजा–प्रधानमन्त्री आवागमनका बेलाको पट्यारलाग्दो सवारी जाम, आवतजावत रोकावट, गणतान्त्रिक शासन–व्यवस्थाका नागरिकले पनि त्यसबाट कहाँ पार पाएका छन् र ! अझ छिमेकी देशका प्रधानमन्त्रीको राजकीय भ्रमणले दुई दिन दुगुणा दुःख पाए शहरबासीले ।

कुञ्ज थिएटरमा पनि यस्तै शासक–सिर्जित आतंकको पटाक्षेप भइरहेको छ ।

खचाखच भीड । मानौँ, सहरमा रङ्ग–संस्कृतिले हाँगा हालेको छ ।  वैशाखको धूपमा त्यसैको सियाँल तापेर त्राण पाउँदैछ– नाट्य क्षेत्रले ।

लागौँ नाटककै विषयतिर ।

‘अँधेरी नगरी चौपट राजा’ १८८० मा लेखिएको हो, भारतेन्दु हरिश्चन्द्रद्वारा । ६ दृष्यमा विभक्त ‘अँधेरी नगरी चौपट राजा’ हरिश्चन्द्रको सर्वाधिक लोकप्रिय नाटक हो ।

अँधेरी नगर । लाग्छ– प्राचिन सहरको कथा हो यो । जहाँ एउटा क्रूर, लाचार, अनुत्तरदायी सरकारबाट शासित हुन अभिशप्त छन् त्यहाँका निमुखा ।

तर, होइन । यो त अहिलेकै कथा हो । विम्बमा यो शहर पनि त्यस्तै ‘अँधेरी नगर’  हो । जहाँका शासक ‘चौपट’ छन् । आफ्नै निर्णयको सिकार तिनको नियति हो ।

० ० ०

“अँधेरी नगरी चौपट राजा, एक आनामा सब्जी एक आनामा खाजा !”

पाश्र्वध्वनि आइरहन्छ । दर्शकदीर्घाबाट हाँसोको पर्रा छुटिरहन्छ ।

नाटक सुरू हुनासाथ मञ्चमा तीन सन्यासी देखा पर्छन्– महन्त, गोवद्र्धन दास, नारायण दास भजन–कीर्तन गाउँदै । काम, क्रोध, लोभ, मोह, अहंकार, पाँचै विकार त्यागेर सन्यास धारण गरेका गोवर्द्धन दास एक आनामा मिठाइ पाउने लोभमा पर्छन् र साथीबाट छुट्न्छिन् । झन्डै फाँसीको फन्दामा पर्छन् । नाटक हास्यप्रधान भएपछि कतैकतै करुण रस विरेचन नहुने होइन ।

नाटकमा कबाबवाला, घासीराम (चनावाला) चुरावालीको पनि प्रवेश हुन्छ । यी सबैले अँधेरी नगरका सीमान्तहरूको जिजीविषाका अनेक यत्न उजागर गर्छन् ।

शृंगारपटारको सामग्री बेच्ने पात्रका रूपमा उभ्याएकी तेस्रो लिङ्गी (नरंगी)ले महिला–पुरुषका वाञ्छित, अवाञ्छित सम्बन्ध प्रतीकात्मक आयाम बोकेकी छन्– रातो, निलो, हरियो, पहेँलो, गुलावी चुरामार्फत् ।

मिठाई (हलवाई) देखि माछा बेच्नेवालासम्मले दर्शकलाई एकोहोरो बाँधिराख्छन् । र, जातवाला मञ्चमा प्रवेश गरेपछि पेट मिचिमिचि हाँसिरहेका दर्शक केहीक्षण गम्भीर बन्छन् ।

समाजमा बढ्दो परधर्मको अन्धानुकरण र स्वधर्म–त्यागको लहरलाई जातवालाले ठोक्नुसम्म ठोक्छ । धर्म परिवर्तन र धर्मको अन्धानुशरणको प्रतीकात्मक दृष्यांश हो त्यो भन्दा फरक पर्दैन ।

संगीतप्रधान, गीति–सम्वाद । जुम्लाको सिँजादेखि सुदूर हिमाली क्षेत्रका चरित्रको उपस्थिति । स्वभाविक लयमा बगेका सम्वाद । जीवन– सादृष्य, यथार्थपरक प्रस्तुतिले दर्शकका आँखा अन्तिमसम्मै थाक्दैनन् । धित मरुञ्जेल हँसाउँछन् ।

नाटकका मध्य खण्डमा पुगेपछि चौपट राजाको प्रवेश हुन्छ । सोमरसमा चौबीसै घन्टा चुर्लुम्म । मानौँ न, राजा होइनन्– मदिरा–दास हुन् उनी ।

त्यतिकैमा पाठी मरेको पीडामा प्रताडित हुँदै गाउँवाला (फरियादी) न्याय माग्दै राजाको पाउ समात्न पुग्छ । कसलाई दोषी ठह¥याएर फाँसीको तख्तामा चढाउने, असमञ्जसमा पर्छन् राजा ! त्यही मृत–पाठीको वरिपरि नाटकले फेरो मारिरहन्छ ।

दोषीका रूपमा अनेक पात्र मञ्चमा खडा हुँदै जान्छन्– डोले, मिस्त्री, चुनावाल, भिश्ती, कसाही, गोठालो । तर, प्रतिवादीको वयानले कोही कसुरदार ठहरिँदैनन् र अन्तिममा कोतवालमा पुगेर कुरा अड्कन्छ । कोतवालाले मौसुफकै सवारीका कारण यो सब भएको बताएपछि, “कसलाई फाँसीमा उन्ने ?” किंकर्तव्यविमुढ हुन्छन् राजा । र, नाटकले फरक मोड लिन्छ ।

० ०  ०

‘अँधेरी नगरी चौपट राजा’ शासकको विवेकहीनताको पराकाष्ठा हो । र, यसमा हाम्रो शासन–व्यवस्थाको प्रतिछायासमेत भेटिन्छ । आफ्नै बहुलट्ठिपूर्ण निर्णयले पतन भएका दुनियाँका चक्रवर्ती राजाहरूसमेतको कथा हो यो । 

सन् १८८० को दशकको कथा भावानुवाद गरी आजको सन्दर्भमा दुरुस्तै उतार्नु कष्टसाध्य कुरा हो । ‘क्याप मोसन पिक्चर्स’ र 'कलासी प्रोडक्सन'ले यसमा जोखिम मोलेका छन् । पछिल्लो समय भावानुवाद नाटक चलेको छ । केही दिनअघि थ्री सिस्टर्सको नेपाली अनुवाद तीन बहिनी शिल्पी थिएटरमा चल्यो ।

क्लिष्ट प्रस्तुति तथा जटिल सम्वाद हाम्रो सन्दर्भमा अनुवादित नाटकका मानक बनेका छन् । तर, यसको विपर्याय बनेको छ– ‘अँधेरी नगरी चौपट राजा’ । यसर्थ अनुवादक र निर्देशकद्वय संगीत सापकोटा र आशिष घिमिरेको प्रयास प्रंशसनीय छ ।

आजभन्दा एकसय अठ्तीस वर्षअघिको कथालाई आजको सन्दर्भ सापेक्ष प्रस्तुति दिन अब्बलै बनेको छ यो नाटक ।

मञ्चमा
जीवन भट्टराई
श्रवणसिंह राना
सञ्जितप्रताप मल्ल
पिटर पिन्स
आरजेश रेग्मी
सागर दाहाल
बारात लिम्बू
दिपेन्द्र शाही
पुस्कर कार्की
प्रकाश पाण्डे 

तपाईंको मत