site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनको दिन कस्ता सवारीसाधन निर्बाध चलाउन पाइन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । निर्वाचन आयोगले शनिबार (भोलि) उपनिर्वाचन हुने जिल्लाका सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय गरेको छ । 

आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क) मा हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता र पारदर्शितामा असर नपर्ने गरी मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । 

Argakhachi Cement Island Ad

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल निर्बाध रूपमा सञ्चालन हुन पाउनेछन् । त्यस्तै, परिचयपत्र बोेकेका सञ्चारकर्मीको सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ । 

त्यसैगरी, निर्वाचन आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने, फोहोरमैला ओसारपसार गर्ने, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन चल्न पाउने छन् । कूटनीतिक नियोग, यूएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।

सुरक्षा निकायको सवारीसाधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनलाई निर्बाध रूपमा चल्न दिने आयोगले जनाएको छ । सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरि मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय आयोगको छ । 

उमेदवार वा निर्वाचन प्रतिनिधि एकजनाले मतदानको दिन चार पांग्रे, तीन पांग्रे वा दुई पांग्रेमध्ये एक वटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने निर्णय आयोगले गरेको छ । सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने आयोगका सहायक प्रवक्ता पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मतदानको दिन कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्