साहित्य र कला

रातभर

रातभर

– कामतानाथ


“अँ भन न त  ।”

“के भनौं ?” 

“कहिल्यै कसैसँग तिम्रो सम्बन्ध थियो ?”

“अहँ ।”

“साँच्चै, अलिकति पनि ?”

“अहँ ।”

“यो त म विश्वासै गर्दिनँ ।”

“तपाईंको कसम ।”

“किन झुटो कसम खान्छ्यौ ?”

“तपाईंले मेरो विश्वास गर्नुहुन्न ?”

“कसरी विश्वास गर्नू ? म साँचो, झुटो सबै कुरामा विश्वास गरूँ त ?”

केहीबेर मौन रहेपछि ऊ बोली, “विवाह हुनुभन्दा पहिले कसै न कसैसँग केटीहरूको सम्बन्ध हुनैपर्छ भन्ने जरुरी छ र ?”

“आजकलको जमानामा नहुने भन्ने कुरा हुन्छ र ?”

“अनि केटाहरूको नि ?”

“केटाहरूको नि हुन्छ ।”

“त्यसो भए तपाईंको पनि त थियो होला नि ?”

“हो, थियो ।”

“कति जनासँग थियो ?”

उसले सोच्न लाग्यो, “एक...दुई...तीन ।” औंला भाँच्दै उसले भन्यो, “अँ तीन जनासँग मात्रै हो ।”

“कस्तो सम्बन्ध ? बताउनू न ।”

“किन भन्नु हो ?”

“नाइँ भन्नु न के,” ऊ चुप लागी ।

उनीहरूको भर्खरै–भर्खरै विवाह भएको थियो । हिजो राति उनीहरू दुवैले एक मिनेट पनि आँखा झिमिक्क गरेनन् । आज पनि यतिबेला २ बजिसकेको छ । कोठमा जिरो पावरको बल्बबाट नीलो मधुर प्रकाश छाइरहेको छ । रेशमी सिरक ओढेर दुवै एक–अर्कासँग टाँसिएर सुतेका बेला खै कसरी यस्तो कुरा निस्कियो !

केहीबेर शान्त बसेकी युवतीले आफ्ना कोमल औंलाहरूले उसलाई स्पर्श गरी । 

“भन्नू न के,” उसले फेरि भनी ।

“ठीक छ भन्छु,” माया गर्दै उसले भन्यो ।

“उता जानुस्, धेरै ऊ हुनुहुन्छ तपाईं,” उसलाई हटाउँदै युवतीले भनी ।

“के ऊ छु र म ?”

“मलाई थाहा छैन ।”

“थाहा नभए किन भनेकी त ?”

“मेरो मनले भनेको ।”

“मनमा जे आयो, तिमी त्यही भन्छ्यौ ?”

“भन्छु त ।”

“ठीकै छ मलाई पनि जे मन लाग्छ, त्यही गर्छु,” उसलाई आफूतिर तान्दै उसले भन्यो । 

“छाड्नुस् मलाई, उता जानुस् ।”

“कता जाऊँ ?”

“जानू न त्यतै, छन् त तपाईंका तीन–तीन्टी ।”

“ए ।” उसले बलपूर्वक उसलाई आफूतिर तान्दै फेरि माया गर्न थाल्यो ।

केहीबेर यही नै चलिरह्यो । फेरि युवतीले कुरो कोट्याई, “भन्नुस् न के ।”

“के भनौं ?”

“ती केटीहरूको बारेमा बताउनुस् न ।”

“ठीक छ भन्छु तर एउटा शर्तमा मात्रै ।”

“कस्तो शर्त ?”

“तिम्ले नि भन्नुपर्छ ।”

“ठीक छ ।”

“के ठीक छ ?”

“म पनि भनूँला ।”

“यसको मतलब तिम्रो पनि केही त पक्कै रहेछ ।”

“धत् ।”

“केको धत् नि ? म कुकुर बिरालो हो र ?”

“यत्तिकै निस्किहाल्यो मुखबाट ।”

“ठीक छ तिम्ले नि भन्नुपर्छ है त ।”

“म के भनौं, मेरो केही त थिएन ।”

“त्यसो भए तिम्ले किन भन्छु भनेको त ?”

“ल त नि भन्छु । पहिला तपाईंले भन्नू न ।”

“साँचो–साँचो भनूँ ?”

“के झुट–झुट बताउनुहुन्छ त ?”

उसले उसलाई आफूतिर तान्यो । युवती कोल्टे फेर्दै आफ्नो हात उसको छातीमा राख्छे । 

“पहिलो केटी त यही अगाडिको घरमा बस्थी,” उसले भन्यो ।

“नाम के थियो ?”

“बिट्टी ।”

“बिट्टी ? साँच्चैको नाम के थियो ?”

“मैले राखेको हो र बिट्टी ?”

“बिट्टी त घरमा बोलाउने नाम होला । साँच्चैको नाम त अरु नै केही थियो होला ।”

“हो, साँच्चैको नाम त अर्कै थियो ।”

“के थियो ?”

“लक्ष्मी ।”

“अनि ?”

“अनि के ?”

“सबै कुरा भन्नू न ।”

“सबै भन्नु ? ठीक छ । हाम्रो घरका सबै बाहिर गएका थिए कसैको विवाहमा । मेरो परीक्षा चलिरहेको थियो । त्यसैले म घरमा एक्लै थिएँ । त्यतिबेला लक्ष्मीले मलाई धेरै गुन लगाई । बिहानै चिया र ब्रेड लिएर आउँथी । फेरि खाजा पनि । रातिको खाना पनि उसले नै । मेरो लुगा पनि धोइदिन्थी । मेरो कोठाको सरसफाइ पनि त उसले नै गरिदिन्थी । सोच न, सबै काम गर्थी उसले । अब तिमी नै भन न, कसैले तिम्रा लागि यत्रो गर्छ भने ऊप्रति तिम्रो मनमा माया हुँदैन ?”

“आफ्नो स्वार्थका लागि पनि त गर्छन् नि ।”

“यसमा स्वार्थको कुरै के छ र ?”

“उसको घरका मान्छेले रोक्थेनन् ?”

“उसको घर यहाँ भए पो रोक्नू त ! भनें नि, ऊ आफन्तकोमा आएकी थिई ।”

“आफन्त भए पनि उनीहरूले रोक्नुपथ्र्यो ।”

“किन रोक्थे र ? ऊ मसँगै पढ्थी पनि । पढाइमा एकदम ट्यालेन्ट थिई ऊ ।”

“राति पनि तपाईंको कोठमै बस्थी ऊ ?”

“अँ, त्यस्तै ११–१२ बजेसम्म ।”

“त्यसो भए त सबै गर्नुभयो होला तपाईंले ?”

“अँ, त्यस्तै बुझ न, लगभग सबै ।”

“कति दिन बसी ऊ यहाँ ?”

“त्यस्तै दुई महिना जति बसी होली हो ।”

“आजभोलि कहाँ छे त ऊ ?”

“आफ्नै घरमा ।”

“कहाँ ?”

“बदायूँ ।”

“बिहे भयो उसको ?”

“केही दिनअघिसम्म त भाको थिएन, अहिले भयो कि थाहा छैन ।”

“चिठी पठाउँछे होला नि त तपाईंलाई ?”

“अहिले त पठाउँदिन, पहिले पठाउँथी ।”

“आफूले पठाको होला नि ?”

“लेखें, मैले पनि दुई–चारवटा जति त ।”

ऊ मौन भई । निकैबेर मौन भई ।

“किन, के भयो ? किन नबोलेकी ?”

“त्यसै ।”

“अरु दुई जना केटीका बारेमा सुन्दिनौ ?”

“सुनाउनुस् ।”

“भयो, छोड्देऊ अहिले ।”

“नाइँ, नाइँ भन्नू न ।”

“ल ल भन्छु, अर्की थिई शिखा ।”

“कहाँकी थिई ?”

“विश्वविद्यालयमा पढ्थी मसँगै । निकै सुन्दर थिई । विश्वविद्यालयका सबै केटाहरू त मर्थे–मर्थे, प्रोफेसरसम्मले पनि लाइन हान्थे उसलाई ।”

“तपाईं पनि मर्नुहुन्थ्यो होला है ?”

“अँ, त्यस्तै बुझ न ।”

“यो मरिन्छ चाहिँ कसरी ?”

“तिम्लाई थाहा छैन ?” उसले फेरि माया गर्न थाल्यो । 

“के यही मर्ने भन्ने कुरा ?”

“हो यही हो,” उसले युवतीको टाउकोमा बिस्तारै हान्दै भन्यो ।

“भयो भयो, थाहा भयो, अब नपिट्नुस् ।”

केहीबेर फेरि कोठामा मौनता छायो । एकछिनपछि उसले भनी, “अरु भन्नुस् न ।”

“के भनौं ? क्लासमा मेरै छेउमा बस्थी ऊ । त्यसैले बिस्तारै–बिस्तारै म उसको मायामा परें । होस्टेलमा बस्थी । उसको ड्याडीको कता बाहिरतिर पोस्टिङ थियो । शुरु–शुरुमा त हामी क्लासमा मात्रै भेट्थ्यौं । पछि बाहिर पनि भेट्न थाल्यौं । कति पटक त सिनेमा पनि गइयो सँगै ।”

“सिनेमा पनि ? त्यसो भए त सबै गर्नुभयो होला है तपाईंले ?”

“किन ? तिम्लाई कसैले गरेको थियो र ?”

“धत्...।”

“अब धत् भन्यौ भने झापड लगाउँछु नि ।”

“हुन्छ अब भन्दिनँ । अगाडि भन्नू न ।”

“अगाडि के ?” केहीबेर चुप लागेर उसले भन्यो, “त्यो केटीलाई मैले वास्तवमै धेरै चाहन्थें । निकै सुन्दर चिठी लेख्थी उसले ।”

“तपाईंसँग छन् उसका चिठी ?”

“छन्, हेछ्र्यौ ?”

“अँ, हेर्छु ।”

“भो, देखाउन्नँ ।”

“नदेखाउनुस्, कसम ख्वाकी होली नि त उसले ।”

“सबै तौरतरिका थाहा छ नि तिम्लाई !”

“ध...सरी ।”

उसले सरी भन्नुभन्दा पहिले उसले उसको गालामा हानिसकेको थियो ।

“लाग्न त लागेन ?” युवतीको टाउको सुम्सुम्याउँदै उसले सोध्यो ।

“अहँ... बिहे किन गर्नुभएन तपाईंले ?”

“कोसँग ?”

“उसैसँग ।”

“बिहे हुन सक्थेन । त्यसो त मैले बल गरेको भए ऊ मान्थी होली ।”

“तपाईंले किन बल गर्नुभएन त नि ?”

“ऊसँग बल गरेको भए तिमीसँग हुन्थ्यो त ?”

“म नभएर के हुन्थ्यो त ? ऊ हुन्थी नि त । तपाईंलाई त ठीकै हुन्थ्यो ।”

“किन ?”

“तपाईं उसलाई माया गर्नुहुन्थ्यो नि त ।”

“तिम्लाई पनि गर्दैछु नि,” उसले फेरि सुम्सुम्याउन थाल्यो । 

“उसले पठाएका चिठी देखाउँछु कुनै दिन,” उसले भन्यो, “निकै सोझी केटी थिई ।”

“किन ?”

“किन हुनू ? एमएमा फस्र्ट डिभिजन आएको थियो उसको ।”

“फस्र्ट डिभिजन आएकैले ऊ सोझी भई ?”

“के बदमास भई त ?”

“आजभोलि कहाँ छे त ?”

“बिहे भयो ।”

“कहाँ ?”

“दिल्लीमा । लेफ्टिनेन्ट छ उसको लोग्ने, आर्मीमा ।”

“अचेल चिठी आउँदैन ?”

“अहँ ।”

“सबै गर्नुभयो होला है तपाईंले ?”

एकछिन चुप लागेर उसले भन्यो, “अहँ ।”

“मन खुशी हुञ्जेल गर्नुभएन हो ?”

उसको प्रश्नले ऊ केहीबेर मौन बस्यो । केही क्षणको मौनता तोड्दै उसले भन्यो, “यदि अहिले पनि उसले मानी भनी त ऊसँग विवाह गर्थें ।”

“अनि म ?”

“तिमी पनि । मान्छेका दुइटी श्रीमती हुँदैनन् र ?”

“दुइटीभन्दा नि धेरै हुन्छन् ।”

ऊ केही बोलेन ।

“अनि तेस्रीचाहिँ को थिई ?”

“एउटी थिई सीतापुरमा । त्यहाँ मैले केही दिन कलेजमा काम गरेको थिएँ ।”

“को थिई ऊ ?”

“म जुन घरमा बस्थें, त्यही घरबेटीकी छोरी थिई ।”

“के नाम थियो ?”

“नाम बताउनै जरुरी छ र ?”

“नभन्नुस् न त ।”

“शकुन थियो उसको नाम ।”

“उसँग के गर्नुभयो तपाईंले ?”

“के गर्नू ? उसैकोमा बस्थें । उसैकोमा खान्थें । एक किसिमले पेइङ गेस्ट थिएँ । ऊसँग कुराकानी हुन्थ्यो । कुनै रोकटोक थिएन । बिस्तारै सम्बन्ध बन्दै गयो । कुनै केटाकेटी केही दिन एक–अर्कासँग भेटिरहे भने आफसे आफ सम्बन्ध जोडिन्छ ।”

“ऊसँग त पक्कै तपाईंले सबै गर्नुभयो होला है ? ऊ त तपाईंसँगै हुन्थी ।”

“एउटा कुरा भनूँ ? ऊ विवाहित थिई ।”

“श्रीमान् कहाँ थियो र उसको ? सँगै थिएन र ?”

“घरमा झगडा भएकाले ऊ माइतीमै बस्थी । म छँदा नै एकपटक श्रीमान् आएको थियो उसलाई लैजान तर ऊ गइन ।”

“तपाईंले रोक्नुभयो होला नि !”

“मैले किन रोक्नू ?”

“किन गइन त नि त्यसो भए ?”

“मलाई के थाहा त ? श्रीमान्सँग सन्तुष्ट थिइन होली ।”

“छोराछारी थिएनन् ?”

“अहँ ।”

“घरमा अरु को–को थिए ?”

“बुवा–आमा र सानी बहिनी थिए ।”

“त्यसो भए बहिनीसँग पनि तपाईंको केही थियो ।”

“बहिनी सानै थिई ७–८ वर्षकी ।”

“त्यसो भए त तपाईंलाई छुटैछुट थियो होला । उसको उमेर कति थियो ?”

“मभन्दा जेठी थिई । २६–२७ की थिई होली ।”

“त्यसो भए त निकै ठूली थिई होला है ?”

“२६–२७ मै भयंकर ठूलो भइन्छ र ?”

“अनि के त ?”

“तिम्रो उमेर कति भयोे ?”

“२०–२१ होला ।”

“त्यसो भए त तिमी अहिले बच्चै छ्यौ ।”

“ध... ठीक छ अब भन्दिनँ म ।”

उसको हात बीचैमा रोक्कियो । ऊ फेरि लुटपुटिन थाल्यो ।

“ल अब तिमी भन,” केही बेरपछि उसले भन्यो । 

“मैले के भनम् ? मेरो कहिल्यै कसैसँग केही भएको भए पो भन्नू ।”

“हेर, झुट नबोल ।”

“म कसम खान्छु ।”

“मैले पहिले नि भनिसकें त, मलाई यो कसमवसममा विश्वास छैन ।”

“कसरी विश्वास दिलाऊँ त मैले तपाईंलाई ?”

“म विश्वास नै गर्दिनँ ।”

“मान्नुस् न तपाईं ।”

“यसमा मान्ने कुरा के छ र ? मैले तिम्लाई दोषीको रूपमा हेरेको पनि त छैन । मैले त तिम्लाई सबै भनें त । मैले भनें त यसमा कसैको दोष नै हुँदैन भनेर । यो त केवल सम्पर्कको कुरा न हो ।”

“मैले कहिले भनें र सम्पर्कको कुरा हुँदैन ? तर, मेरो कहिल्यै कसैसँग सम्पर्क नै भएन त अनि ।”

“तिम्रो छरछिमेकमा कुनै केटा थिएनन् ?”

“थुप्रै थिए तर हाम्रोमा कोही आउँदैनथे । यो मामिलामा मेरो बुवा निकै कडा हुनुहुन्थ्यो ।”

“ठीकै छ । तिमीले कहाँ पढेको ?”

“दयानन्द एङ्लो गल्र्स कलेजमा ।”

“को–एजुकेसन थिएन त्यहाँ ?”

“अहँ ।”

“पढाउन घरमा कोही आउँदैनथ्यो ?”

“हाईस्कुल पढ्दै गर्दा एकजना मास्टर आउँथे ।”

“के उमेर थियो उनको ?”

“थिए होलान् ६०–६५ का ।”

“नातेदारमा पनि कहिल्यै कुनै केटाहरूसँग भेट भएन ?”

“अहँ ।”

“साथीहरू त आउँथे होलान् नि ?”

“आउँथे नि, किन नआउनू ?”

“उनीहरूका दाइभाइ थिएनन् ?”

“थिए, किन नहुनू ?”

“तिमीसँग कुरा हुन्थेन ?”

“मसँग किन हुन्छ र ?”

“किन भन्ने प्रश्नै हुन्न नि । आजभोलि त सबै चल्छ । आजभोलि त केटीहरू आफ्नै दाजुभाइका लागि प्रेमिका खोजिदिन्छन् ताकि आफूलाई छुट मिलोस् ।”

“मेरा साथीहरू यस्ता छैनन् ।”
“त्यसो भए तिम्रो कसैसँग सम्बन्ध थिएन ?”

“अहँ ।”

“निकै अभागी रहिछौ तिमी ।”

“किन ?”

“प्रेममा कति आनन्द हुन्छ, त्यो त प्रेममा पर्नेहरूले मात्र थाहा पाउँछन्,” केहीबेर चुप लागेर उसले भन्यो, “यस्तो थियो कि तिमी कसैलाई चाहन्थ्यौ तर तिम्ले भन्ने अवसर पो पाइनौ कि ?”

“अहँ, त्यस्तो पनि थिएन ।”

“कसैले पो तिम्लाई चाहन्थ्यो कि, उसले पो भन्ने अवसर पाएन कि ?”

“त्यो त मलाई कसरी थाहा हुन्छ र ?”

“सबै थाहा हुन्छ ।”

ऊ केही बोलिन ।

“भन न । मैले भनिनँ र सबै ? फेरि तिम्लाई कसले तलाक दिँदै छ र ? अनि तिम्लाई कसैले चाहेको कुरामा तिम्रो के कसूर ?”

ऊ केही बोलिन ।

“भन्न मन छैन भने ठीकै छ नभन ।”

“त्यसोत मलाई थाहा छैन,” केहीबेरपछि उसले भनी, “कलेज जाने बेलामा प्रायः एउटा केटालाई देख्ने गर्थें । तीन–चार पटक त मलाई पछ्याउँदै कलेजसम्मै आएको थियो । फर्किने बेलामा पनि एक–दुई पटक ।”

“कुरा गरेन उसले कहिल्यै तिमीसँग ?”

“अहँ ।”

“छेउबाटै निस्केर हिँड्दा कहिलेकाहीँ केही डायलग त मा¥यो होला ?”

“अहँ । मात्रै हेरिरहन्थ्यो । कहिलेकाहीँ पछिपछि आउँथ्यो, कहिले सडकको पारिपट्टिबाट हिँड्थ्यो । निकै सोझो थियो ।”

“यसको मतलब तिम्रो मनमा बसेको थियो ऊ ?”

“मेरो मनमा किन बस्थ्यो र ऊ ?”

“निकै सोझो थियो भन्यौ, त्यही भएर ।”

“के बदमास भनम् त ? कहिल्यै उसले त्यस्तो हर्कत पनि त देखाएन ।”

“केटीहरू पछ्याउनु सोझै मान्छेको त काम हो नि !”

“त्यसो भए बदमास नै भन्नुस् न त ।”

एकैछिन चुप लाग्यो ऊ । त्यसपछि सोध्यो, “कहिल्यै कुनै चिठी दियो उसले तिमीलाई ?”

“अहँ ।”

“कसम खाएर भनेकी छ्यौ ?”

“हो ।”

“मेरो टाउकोमा हात राखेर कसम खाऊ त ।”

“तपाईं त भन्दै हुनुहुन्थ्यो— कसमवसममा विश्वास छैन ।”

“तिमी त विश्वास गछ्र्यौ नि !”

“म पनि गर्दिनँ ।”

“अनि अघि किन कसम खाइरहेको त ?”

“त्यो त बोलीचालीमै मान्छेको मुखबाट निस्किहाल्छ ।”

“जे भए पनि, तिमीले मेरो टाउकोमा हात राखेर भन कि त्यो केटासँग तिमीले कहिल्यै कुराकानी गरिनौ । चिठीपत्र पठाइनौ ।”

“कुन केटासँग ?” उसले आफ्नो हात उसको टाउकोमा राख्दै भनी ।

“त्यही केटासँग, जसको बारेमा तिमी अहिले कुरा गरिरहेकी छ्यौ ।”

“तपाईंको कसम, केही भएन ।”

“सबै भन ।”

“तपाईंको कसम त्यो केटासँग कहिल्यै कुराकानी भएन, चिठीपत्र पनि भएन,” उसले भनी ।

युवक केही बोलेन । उसलाई अझै विश्वास लागिरहेको थिएन ।

केहीबेरको मौनतापछि युवतीले भनी, “रिसाउनुभयो कि क्या हो ?”

“अहँ, छैन ।”

“त्यसो भए किन चुप लाग्नुभएको त ?”

“के रातभर बकबक गरूँ त ?”

युवकको आवाज निकै परिवर्तन भइसकेको थियो । युवती अचानक भयभित देखिई । उसलाई के भनौं कसो गरूँ भयो ।


अनुवाद ः उपेन्द्रराज पाण्डेय

(यो कथा कामतानाथको संकलित कथासंग्रहबाट लिइएको हो । कामतानाथ हिन्दी साहित्यका चर्चित लेखक थिए । उनको जन्म सन् १९३५ मा लखनउमा भएको थियो । नाटक, कथा, उपन्यास र अनुवादमा समेत अब्बल कामतानाथको निधन सन् २०१५ मा भएको थियो । उनले आफ्ना कथामा स्वतन्त्र्योत्तर भारतको आमनागरिक जीवनलाई उतारेका छन् । सामाजिक सरोकारका विषयलाई मौलिक पहिचानका साथ प्रस्तुत गर्ने कामतानाथले प्रेमचन्दको परम्परा र शैलीलाई आफ्नै ढंगले अघि बढाएको तथा त्यसको नवोन्मेष गरेको श्रेय जान्छ । उनका चर्चित कृतिहरूमा ‘समुद्र तट पर खुलने वाली खिड्की’, ‘तुम्हारे नाम’, ‘एक और हिन्दुस्तान’, ‘पिघलेगी बर्फ’, ‘सब ठीक हो जायगा’, ‘सोभियत संघका पतन क्यों हुवा’ लगायत छन् ।)
 

तपाईंको मत