अर्थ व्यवसाय
इन्डोनेसिया (जकार्ता)
भ्रमण गर्न नेपाल उपयुक्त भएको दाबी गर्दै नेपाल पर्यटन बोर्डसहित व्यवसायीले विश्वभरका पर्यटकलाई अबको गन्तव्य नेपाल बनाउन आह्वान गरेका छन् । इन्डोनेसियाको जकार्तामा सञ्चालित पाटा ट्राभल मार्ट २०१६ अन्तर्गत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’ गर्दै व्यवसायीले यस्तो आह्वान गरेका हुन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा भूकम्प गए पनि पर्यटकिय स्थलहरुमा ठूलो असर नपुगेको जानकारी गराएका थिए । “जति हल्ला भयो, त्यति क्षति भएका छैन्,” उनले भने, “ढुक्क भएर नेपाल भ्रमण गर्न आग्रह गर्छु ।” नेपाल पर्यटकको सेवाका लागि तत्पर रहेको र सन् २०१६ भित्रै भूकम्प अगाडिको समय बराबर पर्यटक आउने अपेक्षा गरिएको उनले बताए ।
भूकम्पपछि नेपाल भ्रमणसम्बन्धमा अन्तरर्राष्ट्रिय पर्यटन बजारमा रहेको अन्योल हटेको पाइएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । पाटा ट्राभल मार्टको समापनसँगै नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियाका क्रममा पाण्डेले विदेशी नागरिकमा नेपालबारे रहेको भ्रम धेरै हदसम्म हटेको पाइएको जानकारी दिए । “नेपालका बिक्रेता व्यवसायीसँग विजनेस डिल गर्ने मध्ये अधिकांश यूरोप र अमेरिकी मुलुकका क्रेता व्यवसायी सहभागी थिए,” उनले भने, “क्रेताले नेपालले अन्य गन्तब्यभन्दा भिन्न के दिन सक्छ भन्नेमा चासो राखेका छन् ।”
बोर्डले अन्तरर्राष्ट्रिय सञ्चारमाध्यम समक्ष प्रस्तुत गरेको नेपालको प्रचार सामग्री अन्य मुलुकका सामग्रीको तुलनामा गहकिलो थियो । खासगरी नेपालमा पर्यटक किन जाने ? भन्ने प्रश्नलाई बोर्डका कार्यकारी निर्देशक जोशीको तर्क र कार्यपत्रको डिजिटल प्रस्तुतीले नेपालको प्रस्तुती गुणस्तरीय देखिएको थियो ।
नेपालबारे चासो राख्ने पर्यटन व्यवसायी र अवलोकनकर्ताले नेपाल भ्रमणमा जानुअघिको हवाई मार्गबारे सोध्ने गरेका थिए । नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार सीधा उडान नहुँदा पर्यटकलाई झन्झट हुने गरेको अनुुभव क्रेता व्यवसायीको छ ।
विश्वका ६३ मुलुकका क्रेता तथा विक्रेता पर्यटन व्यवसायी सहभागी पाटा ट्राभल मार्टको ३९ औं संस्करण सम्पन्न भएको छ । इण्डोनेसियाको जकार्तामा बुधबारदेखि ३ दिनसम्म चलेको मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टरको नेतृत्वमा १० कम्पनी र संस्था सहभागी थिए ।
(संवाददाता पाटा नेपाल च्याप्टरको सौजन्यमा जकार्तामा छन् )
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३ १७:१८
प्रतिक्रिया दिनुहोस्