site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘अर्बौंको सम्पत्ति तीन करोड नेपालीलाई’
Sarbottam CementSarbottam Cement

कान्तिपथको व्यस्त सडक । सवारीसाधनको मात्रै होइन, मानिसहरूको धौडधूप पनि बाक्लै छ । धन–दौलतको लोभ–लालसामा आफैँलाई बिर्सिनेहरूको मूलबाटोसँगै जोडिएको छ उनको घर– ‘श्रीकुञ्ज’ ।

तीन रोपनी तीन आना क्षेत्रफलको आलिसान घर । पुर्ख्यौली विरासतमा बाहेक बढ्दो महँगी र चुलिँदो व्ययभारबाट उम्किएर यही जुनीमा काठमाडौँको मुटुमा घर जोड्न सम्भव छैन, धनाढ्यहरूका लागिसमेत । मध्ययम वर्गीय परिवारका लागि त निकै परको कुरा हो यो । तर, श्रीजङ्ग शाह र रुद्रकुमारीले यो अर्बौं मूल्य बराबरको घरजग्गा सार्वजनिक अस्पतालका लागि अर्पण गरिदिएका छन् । शाह दम्पत्तिको चोला उठेको दिन ‘श्रीकुञ्ज’ नेपालगञ्जको फत्तेबाल आँखा अस्पतालको सम्पत्ति हुन्छ ।

रगत–पसिना गरेर जोडेको, जीवनभर भागदौड गरेर ठड्याएको घर किन आँखा अस्पताललाई दिए होलान् त दम्पत्तिले ?

Prabhu Bank
Agni Group
NIC Asia

यही प्रश्नले खुर्मुर्‍याएर हामीलाई कान्तिपथ पुर्‍यायो । ९४ वर्षीय वयोवृद्ध श्रीजङ्ग गाँस च्याप्दै थिए । आंशिक पक्षघातले कुँज्याएकी पत्नी रूद्रकुमारी पनि सकिनसकी भातका सिता गनिरहेकी थिइन् ।

दुवैको अनुहारको चाउरीपनसमेत बूढो भइसक्यो । पति कान सुन्दैनन्, पत्नीको दृष्यमा बादल लागिसक्यो । ‘अल्जाइमर’ पन्छाएर सम्झनाका पोथ्रा पल्टाउन हम्मेहम्मे हुन्छ रुद्रकुमारीलाई । एकछिनअघि के गरेँ, केहीबेरपछि पत्तो हुँदैन उनलाई ।

Global Ime bank

सम्पत्ति क्षणभङ्गुर लाग्न थालेपछि एकदिन श्रीजङ्ग हर्षित मुद्रामा प्रस्तुत भए, “श्रीकुञ्ज अस्पताललाई दान दिऊँ, के लाग्छ तिमीलाई ?”

“हजुरले भनेको सत्य कुरा कहिले नाइँ भनेकी छु र ?,” सहजै अनुमति दिइन् रुद्रकुमारीले ।

सत्य, निष्ठा, धर्म र कर्मको पथिक बनेका श्रीजङ्गकै अनुयायी थिइन् उनकी पत्नी । त्यसैले उनले नाइँनास्ती गरिनन् । बरु आँखा अस्पातलजस्तो ‘दृष्टिगृह’लाई घरजग्गा दिन पाउँदाका खुसी उनको आँखाभरि छचल्किए । बाँचुञ्जेल खुसी भोग र मरेपछिको मोक्ष प्राप्तिको दिलाषाले उनलाई आह्लादित तुल्यायो ।
“गुमनाम मर्नुभन्दा नाम राखेरै बाटो लाग्नु बेस नि !,” पुलकित भावमा प्रस्तुत हुन्छिन् उनी ।

डोटीकी रुद्रकुमारीको श्रीजङ्गसँग मागि विवाह भयो । बिहेयता उनी श्रीमानको सुख–दुःखको साक्षी होइन, सहयात्री बनेकी छन् ।

० ० ०

जाजरकोटका रैथाने शाह हुन् उनीहरू, जाजरकोटे राजखलक । तर उनीहरू बेलैमा नेपालगञ्ज झरे । “नेपालगञ्ज झरे के भन्नु नि ! खेत किनेको, माथिको आयस्ताले मात्रै नपुग्ने !,” झन्डै चार पुस्ताअघि फर्किए श्रीजङ्ग ।

खेत किनेर परिवार पोस्ने लोभमा नेपालगञ्ज झरेका बराजु अन्ततः जाजरकोटबाट विस्थापित भए । जाजरकोटमा जाय–जेथा धेरै पछिसम्म थियो । आफू नबस्ने, छोराछोरी जान नमान्ने भएपछि काका–भतिजाको अधीनमा छाडेर नेपालगञ्जबासी भएका हुन् उनीहरू ।

जाजरकोटका राज–खलक । काठमाडौँसँगको सम्बन्ध प्रगाढ हुने नै भयो । बाबु काठमाडौँ आए । र, यतै जन्मिएका हुन् श्रीजङ्ग ।

कलकत्ता युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् उनले, राजनीतिशास्त्र, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानुनसमेतमा । “घरको कान्छो छोरो यत्ति त पढ्नैपर्यो नि,” ९० को उमेरमा पनि स्फूर्त देखिन्छ अनुहार र सुनाउन थाल्छन्, “साढे दुई दशक त सरकारी सेवामा बिताए हुँला । यो जायजेथा त्यसैको उपलब्धि त हो !”

नेपाल राष्ट्र बैंकको अल्टरनेटिभ गभर्नरसमेत रहेका उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा प्रतिनिधित्वसमेत गरेका छन् । त्यसका अतिरिक्त तत्कालीन शाही नेपाल वायु सेवा निगमको निर्देशकसमेत बनेका श्रीजङ्गका लागि अमेरिका पानी पँधेरो थियो । 

“राष्ट्र बैंकमा जिम्मेवारी सम्हाल्दा धेरैपटक अमेरिका ओहोरदोहोर गरेँ,” अनुभव पोख्छन् उनी ।

० ० ०

२०३९ सालतिर हुनुपर्छ । धूमिल सम्झनामात्रै छ उनलाई । आमा बालदिव्यश्वरीको आँखामा अचानक समस्या देखा पर्यो । त्यहाँको स्थानीय ओखतीमूलो, चिकत्सकीय सेवाले मात्र आमाको समस्या दूर भएन । दृष्टि नै बाँझिएला भन्ने भय पो भयो । हतारहतार भारतको सीतापुर पुर्याएर निको पारियो ।

“अस्पताल नहुँदा त्यसबेला हामीले निकै दुःख पायौँ । दुई महिना भारत बास भयो । त्यही दुःखले पनि फत्तेजङ्ग आँखा अस्पतालको थालनी गरेका हौँ,” सुनाउँछन् उनी ।

तिनताकाको अर्को सम्झना पनि छ उनलाई । देहातीहरूले आँखाको निकै समस्या बेहोरेका थिए । सधैं एलर्जी हुने, जलविन्दु हुने, राताराता देखिने आँखा ।

अशिक्षा र गरिबीले थल्याएका देहातीहरू झारफुकको भरोसा गर्थे, अस्पताल थिएन । जडिवुटी निचोरेर आँखामा हाल्दा कतिपयको दृष्टि नै बाँझिन्थ्यो । 

“देहातीहरूको दुर्दशाले पिरोल्नु पिरोलेपछि पिताश्रीले नेपालगञ्जको घर दान दिएर आफ्नै नाममा स्थापना गर्नुभएको हो, फत्तेबाल आँखा अस्पताल,” अस्पताल स्थापना गर्नुको कारण उधिने उनले ।

विसं. २०४३ ताका स्थापना भएको हो त्यो अस्पताल ।

० ० ०

फत्तेबाल आँखा अस्पताल पश्चिमको ‘दृष्टिलय’ बनेको छ । दश शैय्याबाट सुरू भएको अस्पताल डेढ सय शैय्यामा रूपान्तरण भएको छ । नेपालकामात्रै लाभान्वित छैनन्, भारतका सीमावर्ती जिल्लाबाट वर्षेनी हजारौँको संख्यामा उपचार गराउन आउँछन् । ज्यादातर विरामी दक्षिणबाटै  आउँछन् ।

“बडा दुख्खले स्थापना गरेको हो त्यो अस्पताल । डाक्टर नर्स बस्न नमान्ने ।  नेत्रज्योति सङ्घले पनि सहयोग गर्यो । स्वीस रेडक्रसले त दश वर्षसम्म चिकित्सक–नर्स नै उपलब्ध गरायो,” उनी सम्झन्छन् ।

“अस्पताल स्तरोन्नतिका लागि भारतीय दूतावासले पाँच करोड र बाँके जिल्लाले एक करोड विनियोजन गरेको छ,” अस्पतालको प्रगतिबाट पुलकित छन् उनी ।

आफैँले जन्माएको संस्था झाँगिन र लहराउन थालेपछि घर किन दान नदिने भन्ने प्रश्न सघन बनेपछि उनले आफैँ बसेको मुकाम अर्पण गरिदिए । र, दानवीर कहलिए । 

त्यसभन्दा अघि थुप्रै सङ्घसंस्था उनको  सम्पर्कमा नपुगेका होइनन् । घरसम्पत्ति दान गर्ने थाहा पाएकाहरूले सहयोगको याचनासमेत गरे ।

तर, बाबुले स्थापना गरेको संस्थालाई हुर्काउनु पितृऋण तिर्नु हो ठानेका श्रीजङ्गले अस्पताललाई नै मरणोप्रान्त सम्पत्ति सुम्पिने निधो गरेका हुन् ।

छोरीसँगको सङ्घर्ष

ईश्वरी राणा उनकी एक्ली छोरी हुन् । बैंकर अनिल केशरी शाह उनका नातिनी ज्वाइँ पर्छन् । अस्पताललाई दान दिने विचार उत्पन्न भएपछि उनले छोरीसँग सल्लाह गरे । सहजै राजी भइन् उनी ।

तर, केही समयपछि उनले असन्तुष्टि जनाइन् ।

“नपुग्दो केही छैन । उनलाई दिनुपर्ने मैले दिएकै थिएँ । उ...अघिल्तिरको घर उनकै भोगचलनमा छ । अस्पताललाई घर दिने भनेपछि सुरूमा खुसी पनि भएकी थिई । पछि कसले के भन्यो !,” अनुहारमा खिन्नता छायो उनको ।

छोरीलाई सहमत गराउन निकै सङ्घर्ष गर्नुपर्यो । “छोरीको मेरोभन्दा बढ्ता सम्पत्ति छ । नेपाल र भारतमासमेत गरी पाँचवटा त घरमात्रै छ । सन्तानको मुख मारेर दिन पनि लागेको होइन,” प्रष्ट छन् उनी ।

“सम्पत्ति मेरै अधीनमा थियो । नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर अस्पताललाई दान गरेको हुँ,” उनी छोरीसँग दुःखमनाउ पनि गर्दैनन् ।

घरको छेउमा बुद्धको स्तुप निर्माण गरेका छन् र ध्वजासमेत फहराएका छन् । त्यसका अलावा उनी भागवत, गीता, बाइबलमा उत्तिकै आँखा पुर्‍याउँछन् । र, सबै ग्रन्थको सार मानव–हित नै पाउँछन् । त्यसैले नै घर गरेको हो उनलाई सत्मार्गमा हिँड्न । सम्पत्ति अर्पण गरेर दृष्टि बाँड्न सघाउन बुद्धादि दर्शनहरूले नै अभिप्रेरित गरेका हुन् उनलाई । लाग्छ– उनका सम्पत्तिले लाखौँलाई दृष्टिमात्रै दिँदैन, दान र सेवाको क्षेत्रमा अघि बढ्न बाटो देखाउँछ पनि ।

“जीवनको सार नै मानवसेवा रहेछ भन्ने बुझेपछि दानका लागि तत्पर भएको हुँ,”घरजग्गा दान गर्नुको तात्पर्यसमेत बताउँछन् उनी ।

९४ वर्षसम्म कसरी बाँचेँ ?

केही समयअघि उनलाई हृदयघात भयो, निको पनि भयो । त्यसबाहेक शरीरमा देखिने रोग अरू छैनन् । ९४ वर्षको उमेरमा पनि हिँड्डुल गर्न सहारा चाहिँदैन ।

९० कै उमेरकी पत्नीलाई तीन वर्षअघि प्यारालाइसिस भयो । बेलुका सारसौँदो सुतेकी उनी भोलिपल्ट हर नचल्ने भएर उठिन् ।

“९४ पुगेर ९५ वर्ष लाग्न लागेँ, यो उमेरसम्म म कसरी बाँचे हुँला । उही सत्मार्गकै फल त होला,” विधातालाई आशीर्वादसमेत दिन्छन् उनी ।

उनलाई एउटा कुराले असाध्यै पिरोलेको छ– समयसँगै मानिसमा त्यागको भावना मर्दै गयो । समाज, परिवारमात्रै होइन, देश नै दोहन गरेर भए पनि पैसा कमाउनेलाई  आफ्नो कृत्यले मार्गनिर्देश गर्ने उनको विश्वास छ ।

“अर्बौं कमाउनेहरूले कमाइको केही हिस्सा समाजलाई बाँडून् भन्ने मेरो अभिप्राय हो । मैले अस्पताललाई मात्रै होइन, ३ करोड नेपालीलाई सम्पत्ति अर्पण गरेँ,” यति भनेर कुराकानी अन्त्य गरे उनले ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC