अघिल्लो वर्ष उत्कृष्ट खलपात्रबाट अधिकांश अवार्ड हात परेका अभिनेता विपिन कार्कीले यो पटक उत्कृष्ट नायकबाट चलचित्रसम्बन्धी अधिकांश अवार्ड जिते । गत वर्ष चलचित्र ‘पशुपतिप्रसाद’ बाट अवार्ड पाएका उनलाई यो वर्ष ‘जात्रा’ले अवार्ड जुराइदिएको हो । प्रत्येक चलचित्रमा आफूलाई फरक र अब्बल सावित गर्दै आएका विपिन चरित्रलाई न्याय गर्न नसक्ने भए उक्त चलचित्र नै नगर्ने बताउँछन् । कलाकार सधैं ‘भर्सटाइल’ हुनुपर्ने बताउने उनी चरित्र अनुसार मेहनत गर्दा सफल भएकाले आफूलाई दर्शकले रुचाएको उनको बुझाइ छ । नेपाली चलचित्रको कथा र निर्माणबाट आफू सन्तुष्ट हुन नसकेको बताउने उनी नेपाली चलचित्र उद्योगमा गर्न धेरै बाँकी रहेको सुनाउँछन् । मेहनत गरे त्यसको फल पाइने बताउने विपिनसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
अवार्ड पाउन कसरी काम गर्नुपर्ने रहेछ ?
वास्तवमा अवार्ड भनेको काम गर्नलाई प्रोत्साहन रहेछ । मैले जति पनि अवार्ड पाएँ, त्यसलेमलाई राम्रो काम गर्ने थप प्रोत्साहन मिलेको छ । मेरो कामलाई हेरेर मलाई धेरैले अवार्ड दिइरहनु भएको छ । राम्रो काम गरे पुग्ने रहेछ । कसैलाई भन्नु पनि नपर्ने रहेछ । मात्रै राम्रो काम गरे पुग्दोरहेछ ।
अघिल्लो वर्ष खलपात्रबाट र यो वर्ष नायकबाट अधिकांश अवार्ड जित्नुभयो । काम गर्ने कुनै खास तौरतरिका छ ?
छैन । खासै त्यस्तो केही छैन । कथा बुझेर चरित्रभित्र छिर्नेे हो । त्यति गर्यो भने दर्शक समीक्षकहरुले मन पराइदिनु हुन्छ । अहिलेसम्म पनि मैले गरेको यत्ति नै हो ।
चरित्रमा डुबेर काम गर्न कत्तिको गाह्रो हुन्छ, कुनै चरित्र गर्दाको सम्झना छ ?
मैले ‘कालो पोथी’ मा दलित भएर अभिनय गर्दा सुटिङ गरिएको गाउँमा दुई महिना दलित भएरै बसेको छु । त्यहाँ मलाई चिया खान पसलमा जाँदा माथिबाट गिलासमा चिया हालिदिन्थे । बेन्चमा बस्न दिँदैन थिए ।
‘जात्रा’ मा अभिनय सकेर ‘लुट–२’ मा पित्तले डनको चरित्रमा अभिनय गर्नु पर्नेथियो । ‘जात्रा’मा फणिन्द्रको क्यारेक्टरबाट म उत्रिएकै रहेनछु । निर्देशक निश्चल बस्नेतले थाहा पाएर ‘तपाईंलाई केही दिन लाग्छ ‘जात्रा’ को क्यारेक्टरबाट उत्रिन’ भनेर मालाई केही दिन ग्यापका लागि समय दिनुभएको थियो ।
चलचित्र सफल भयो भने अवार्ड पाइने हो कि, व्यावसायिकताले फरक पार्दैन ?
व्यावसायिकता पनि एउटा कारण त हो । तर, व्यावसायिक रुपमा हिट भएका सबै चलचित्र राम्रा हुन्छन् भन्ने छैन । नाम लिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । व्यावसायिक रुपमा सफल भएका चलचित्रलाई समीक्षकले राम्रो भनेर लेखेका छैनन् ।
अवार्ड पाउनकै लागि चलचित्र खेलिँदैन । काम राम्रो कसरीगर्न सकिन्छ भन्ने हुन्छ सुटिङको सेटमा । सेटमा अभिनय गर्दा अवार्डका बारेमा सोचिँदैन ।
तपाईंले ‘जात्रा’ र ‘पशुपतिप्रसाद’ काम गर्दा अहिले जसरी अवार्ड पाइरहनु भएको छ, त्यो बेला सोच्नु भएको थियो पाउँछु भनेर ?
दर्शकले जब चलचित्र मन पराइदिनु भयो, समीक्षकहरुले चलचित्र राम्रो भनेर समीक्षा गर्नुभयो । त्यसछि आशा थियो । तर पाउनैपर्छ भन्ने चाहिँ छैन । दर्शकले मन पराइदिनुभयो भने त्यो नै सबैभन्दा ठूलो कुरा हो ।
प्रत्येक चलचित्रमा फरक फरक चरित्रमा देखिँदै आउनु भएको छ, यो कसरी सम्भव भयो ?
म सुरुमा कथा हेर्छु । राम्रो लाग्यो भनेमात्रै साइन गर्छु । चरित्र खोज्न थाल्छु । के गर्यो भने राम्रो हुन्छ । दर्शकले मन पराउनुहुन्छ त्यो सोच्छु । मलाई विश्वास गर्ने दर्शकलाई, म भनेर हलसम्म पुग्ने जति दर्शक हुनुहुन्छ उहाँहरुलाई निराश पार्नु हुँदैन भन्ने सोचेर काम गर्छु । हरेक कलाकार भर्सटाइल हुनुपर्छ । हैन भने केही समयमै क्यारेक्टर दोहोरिन्छ ।
तपाईंले अहिलेसम्म गरेका ‘क्यारेक्टर’ निर्देशकले दिएका हुन् कि आफ्नै क्रिएशन हो ?
प्रायः सबै मैले आफैंले गरेको हुँ । कथा हातमा परेपछि म यसलाई कसरी राम्रो बनाउने भनेर सोच्छु । मसँग अझै नेपाली दर्शकले मन पराउने करिब एक दर्जन क्यारेक्टरहरु दिमागमा छन् । मैले सोचे अनुसारको कथा आएपछि त्यसलाई प्रयोग गर्दै जान्छु ।
तपाईं महँगो पारिश्रमिक ‘डिमान्ड’ गर्न थाल्नु भयो भन्ने खबरहरु सार्वजनिक भैरहेका छन् नि !
तपाईंले सुनेको सत्य होला । निश्चल बस्नेतले निर्देशन गर्न लागेको चलचित्र ‘फनफनी’ मा १७ लाख रुपैयाँ लिएको हुँ । म वर्षमा दुइटाभन्दा धेरै चलचित्र गर्दिन । दर्शकलाई मन पर्ने काम गर्छु तर थोरै गर्छु भनेर थोरै चलचित्रमा काम गर्दै आएको हुँ । ५ लाख लिएर महिनामा एउटा चलचित्र खेलेर दर्शकलाई निराश पार्नुभन्दा १५ लाख लिएर दुईटा चलचित्र गरेर ६–७ महिना एउटा चलचित्र लिएर काम गर्दा राम्रो भन्ने लाग्छ ।
पाँच वर्ष अगाडि ‘छड्के’ मा अभिनय गर्दा ५ वर्ष पछाडि १७ लाख डिमान्ड गर्ने अभिनेता बन्छु भन्ने कल्पना गर्नुभएको थियो ?
‘छड्के’ मा म जति देखिन्छु, सुरुमा मेरो रोल त्यति थिएन । मेरो अभिनय देखेपछि बढाउँदै लगिएको हो । जब मैले त्यो चलचित्र गरेपछि मलाई प्रतिक्रिया आयो, त्यसपछि भने मैले थाहा पाएँ म एक दिन राम्रो कलाकार हुन्छु । त्यसभन्दा पहिला थिएटरमा नाटक गर्दा पनि मलाई अरुले गरेको तारिफबाट ‘पोजेटिभ भाइभ्स’ भने आइसकेको थियो ।
अभिनेताले १५–२० लाख रुपैयाँ लिँदा नायिकाहरुको पारिश्रमिक त निकै कम छ, अन्याय हो कि स्वाभाविक ?
पुरुषप्रधान समाज भएकाले पनि यस्तो भएको हो । जवसम्म समातामूलक समाज निर्माण हुँदैन, त्यो समयसम्म योअवस्था रहिरहन्छ जस्तो लाग्छ । अर्को कारण काम अनुसार, चरित्र र उसले गरेको मेहनत पनि होला । राम्रो काम गर्नेले राम्रै पारिश्रमिक लिइरहेका छन् । बलिउडकै कुरा गर्ने हो भने पनि त्यहाँ नायिकाहरुले नायक सरह पनि पारिश्रमिक लिएका खबरहरु आइरहेका छन् ।
कत्तिको आउँछन् अफर ?
निकै धेरै आउँछन् । अहिले ७ वटा स्क्रिप्ट पढ्दैछु । धेरै त वन लाइन स्टोरी पढेर नै मन पर्दैन । ‘छड्के’ बाट नै अफर निकै धेरै आउन थालेको हो । नखेलेको मात्रै हो ।
तपाईंले अभिनय गरेको ‘लालपुर्जा’ चाहिँ चलेन । यसलेकत्तिको असर पर्ला अगाडि बढ्दै गरेको करियरमा ?
चलचित्र टिमवर्क हो । एक्लैले गरेर चलचित्र राम्रो हुँदैन । यो चलचित्रमा सुरुदेखि नै समस्या थियो । मैले त चलचित्र गर्दिन पनि भनें तर साइन गरिसकेकाले खेल्न बाध्य भएँ । तर पनि मेरो क्यारेक्टरमा मैले न्याय गरेको सबैले बताउनु भएको छ । यसको अर्थ मलाई मन पराउनुपर्ने दर्शकलाई मैले यो चलचित्रमा पनि न्याय गरेको छु ।
नेपाली चलचित्रको विषयवस्तु, प्रस्तुति र बजारका हिसाबले तपाईं सन्तुष्ट हुनुहुन्छ ?
छैन । नेपाली चलचित्र उद्योगमा गर्नुपर्ने धेरै छ । विषयका हिसाबले हामीले आफ्नै मौलिक विषय उठाउनु धेरैछ । हामीले आफ्नै खालको चलचित्र बनाउनुपर्छ । विदेशमा चिनजान र सम्बन्धका आधारमा शो किनेर चलाउनुलाई ओभरसिज मार्केट भन्न मिल्दैन । अमेरिकामा चलाउनलाई अमेरिकाको जस्तो चलचित्र बनाएर हुँदैन । हाम्रो आफ्नै हुनुपर्छ । ‘कालोपोथी’ र ‘सेतो सूर्य’ जस्तो मौलिक चलचित्र भयो भने चल्छ भन्ने प्रमाणित भैसकेको छ । सेटमै गएर कथा परिवर्तन हुन्छ । यसरी बनाएका चलचित्रबाट धेरै अपेक्षा गर्न सकिँदैन ।
तपाईं आफैंलाई चाहिँ के गर्न सकिन जस्तो लाग्छ ?
म मेरो कामप्रति नै सन्तुष्ट छैन । हरेक चलचित्र हेर्दा गल्ती मात्रै देख्छु । पढेर मात्रै नहुने रहेछ । काम गर्दै सिक्दै जाने रहेछ ।
‘जात्रा’ मा तपाईंले आफैंले देख्नु भएको आफ्नो कमजोरी ?
‘जात्रा’ मा म आत्तिएको देखिन्छु । दर्शकले थाहा पाउनु हुन्न होला तर म त्यहाँ निकै हतारमा छु । कतिबेला डाइलग सकेर निस्कनु भन्ने हतारोमा देखिन्छु । एक सिनमा १० मिनेट क्यामेरा फेस गर्न पनि म मानसिक रुपमा तयार हुनुपथ्र्यो तर त्यो देखिँदैन ।
तपाईंले चलचित्र कहिले निर्देशन गर्ने ?
मलाई चलचित्र चित्त बुझेको छैन भन्नुको अर्थ म चलचित्र निर्देशन गर्दैछु भन्ने होइन । एउटै विषयवस्तुप्रति सबैको फरक फरक एंगल हुनसक्छ । तर म निर्देशनप्रति चासो चाहिँ राख्छु । कुन क्यामेराले चलचित्र खिचिरहेको छ, कस्तो एंगल छ भनेर सोधिरहेको छु । भोलि निर्देशन नै नगरिएला भन्ने त छैन तर अहिले नै भने सोचेको छैन ।
तपाईंले निर्देशन गरेको चलचित्र कस्तो हुन्छ होला ?
मलाई मन पर्नेचाहिँ पक्कै हुन्छ । धेरै ठाउँ जाँदा चलचित्र हेर्ने दर्शकको आकांक्षा बुझिरहेको हुन्छु । कस्तो चलचित्र मन पराउनुहुन्छ भनेर अध्ययन गरिरहेको हुन्छ, त्यसैले दर्शकले मन पराउने चाहिँ पक्कै हुन्छ ।
तपाईं आफैंले पनि चलचित्र निर्माण गर्ने गाईंगुईं छ, हो ?
हो । चलचित्र निर्माण गर्दैछु । तर, चलचित्रको नाम भने तय भैसकेको छैन । चलचित्रको स्क्रिप्ट तयार भैरहेको छ । ०७६ सालको सुरुतिर चलचित्र प्रदर्शन हुन्छ ।