काठमाडौं । नेपाली स्टार खेलाडी सावित्रा भण्डारी यतिबेला चर्चामा छिन् । एकै खेलमा ४ ह्याट्रिक र एउटै प्रतियोगितामा ८ ह्याट्रिक गर्ने नेपालको पहिलो खेलाडी बनेकी सावित्रा एकाएक हिरो बनिन् । आखिर कसरी ?
नेपाली महिला फुटबलमा छिटफुट प्रतियोगिता हुने गर्छ । प्रतियोगिता थोरै हुँदा महिला खेलाडी निकै सकसमा पर्ने गरेका छन् । त्यसैलाई चिर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा यस्तो रेकर्ड बन्यो, जुन अब तोड्न निकै गाह्रो छ ।
सावित्राको उत्कृष्ट प्रदर्शनसँगै बिहीबार सम्पन्न राष्ट्रिय महिला लिगको उपाधि एपीएफ क्लबले कब्जा गर्यो । सावित्राले उत्कृष्ट प्रदर्शन मात्रै गरिनन्, आफ्नो नाममा सर्वाधिक गोलको रेकर्ड पनि राख्न सफल भइन् ।
कसरी सम्भव भयो ह्याट्रिकको वर्षा ?
विभागीय टिम एपीएफ क्लबले समूह चरणको आफ्नो पहिलो खेलमा मध्यपश्चिमाञ्चलाई २६–० गोलले पराजित गर्दा सावित्रा एक्लैले १२ गोल ठोकिन् । उनले पहिलो खेलमा नै ४ ह्याट्रिक गर्दै एकै खेलमा सर्वाधिक गोल गर्ने राष्ट्रिय कीर्तिमान पनि आफ्नो नाममा लेखाइन् ।
एपीएफको सानदार जितमा सावित्राले खेलको तेस्रो, १५ र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । त्यस्तै, उनले २४, ३४ र ४० औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । एकपछि अर्को ह्याट्रिक पूरा गर्ने क्रममा उनले खेलको ४७, ५२ र ५९ औं मिनेटमा गोल गर्दै तेहोरो ह्याट्रिक पूरा गरिन् । सर्वाधिक गोलको रेकर्ड राख्ने क्रममा उनले ६०, ७७ र थप गरिएको अतिरिक्त समयमा गोल गर्दै एकै खेलमा चार ह्याट्रिक पूरा गर्दै चर्चामा आएकी हुन् ।
पहिलो खेलमा १२ गोल गर्दै रेकर्ड राखेकी सावित्राले दोस्रो खेलमा थप ८ गोल गर्दै थप चर्चा बटुलिन् । दोस्रो खेलमा एपीएफको भेट पश्चिमाञ्चलसँग भएको थियो । पुस १९ गते बुधबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई १४–० गोलअन्तरले पराजित सावित्राको ८ गोल थियो ।
डबल ह्याट्रिकसहित आठ गोल गरेकी सावित्राले यसअघिको र यो गरी २ खेलबाट ६ ह्याट्रिक पूरा गरिन् । खेलको छैटौं मिनेटमा नै गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले २७ र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । दोहोरो ह्याट्रिक पूरा गर्ने क्रममा उनले पहिलो हाफको अतिरिक्त समय तथा ५० र ५४ औं मिनेटमा गोल गरिन् । उनले ८ गोल गर्ने क्रममा ६६ र ८९ औं मिनेटमा थप २ गोल गरेकी थिइन् ।
समूह चरणको अन्तिम खेलमा एपीएफको प्रतिद्वन्द्वी थियो, विभागीय टिम नेपाल आर्मी । आर्मी फुटबलमा त्यसै बलियो टिम हो । यसअघिको प्रतियोगिता जित्दै आएको आर्मीसँग लड्नु एपीएफको लागि ठूलै संघर्ष थियो । तर अन्ततः एपीएफले आर्मीलाई १–० गोलले स्तब्ध पारेरै छोड्यो । यो खेलमा पनि नायक बनेकी थिइन् सावित्रा ।
सावित्राकै गोलका कारण एपीएफ क्लब समूह बी को विजेता बन्दै सुपर लिग चरणमा प्रवेश गरेको थियो भने आर्मी उपविजेता बनेको थियो । सावित्राले खेलको ५० औं मिनेटमा गरेको एक गोल नै एपीएफको जितको आधार बनेको थियो । सावित्राले यो गोलसँगै ३ खेलमा २१ गोल पुर्याइन् ।
१६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत सुपर लिगमा एपीफको पहिलो भेट सुदूरपश्चिमाञ्चल विकास क्षेत्रसँग भयो । जुन खेलमा फेरि सावित्रा भण्डारी चम्किइन् ।
पुष २३ गते आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सुदूरपश्चिमाञ्चललाई ९–० गोलअन्तरले पराजित गर्दा सावित्राले डबल ह्याट्रिक गरिन् ।
खेलको १८औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी सावित्राले ४९औं र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । ७६औं, ८४ औं र ९० औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पूरा गरेकी सावित्राको प्रदर्शन देखेर सबै अचम्मित बनेका थिए ।
उनले आफ्नो ४ खेलबाट नै ८ ह्याट्रिक गर्दै एकै प्रतियोगिताबाट सर्वाधिक ह्याट्रिक गर्ने राष्ट्रिय कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भइन् । उनले ४ खेलबाट २७ गोल गरिन् । जुन गोल नेपाली फुटबलमा अहिलेसम्म कुनै खेलाडीले बनाएका छैनन् ।
सुपर लिगको दोस्रो खेलमा फेरी भेट भयो आर्मीसँग तर यो पटक भने सावित्राले गोल गरिनन् । तर उनले राम्रो प्रदर्शन गरेकी थिइन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा एपीएफ क्लबले आर्मीलाई सुपर लिगमा पनि २–१ गोलले पराजित गर्न सफल भयो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुष २७ गते बिहीबार प्रतियोगिताको अन्तिम दिन अर्थात् अन्तिम खेलमा एपीएफ क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दै थियो । जुन खेलमा फेरि सावित्रा नायक बनिन् । उनकै २ गोलको मद्दतमा एपीएफले पुलिसलाई ३–१ गोलअन्तरले पराजित गर्न सफल भयो ।
अपराजित यात्रालाई निरन्तरता दिँदै प्रतियोगिताको उपाधि जितेको एपीएफका लागि खेलको १७ र ७५ औं मिनेटमा सावित्राले गोल गरेकी थिइन् । सावित्राले यो प्रतियोगितामा २९ गोल गरेकी छिन् ।
प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर घोषित भएकी सावित्राले २५ हजार नगद प्राप्त गरिन् ।
गोलको वर्षा गर्दै उपाधि चुमेकी सावित्रा त्यति सन्तुष्ट भने छैनन् । उनी भन्छिन्, “मध्य पश्चिमाञ्चलविरुद्ध १२ गोल गर्दा म खुशी छैन । गोल त हाने तर म सन्तुष्ट छैन । किनभने प्रतिद्वन्द्वी भनेको ५०–५० होस् अनि बल्ल मजा हुन्छ । जिल्लाको टिम एपीएफ भन्नेबित्तिकै हार्छौं भन्ने मानसिकता हुन्छ । सरदर १२–१३ गोल हुन्छ कि भन्ने सोचेको थिएँ । एक्लैले १२ गोल हानेँ तैपनि म खुशी छैन ।”
उनी थप्छिन्, “प्रतियोगिता सम्बन्धी जिल्लाको टिमलाई सूचना पनि ढिलो भयो । तयारी पनि राम्रोसँग हुँदैन । केही दिनको तयारीले केही हुँदैन । कमजोर टिमसँग धेरै गोल हान्दै रेकर्ड त राखैं तर म कसरी सन्तुष्ट हुने ?”
पक्कै पनि जिल्लाको टिम निकै कमजोर हुने गरेको छ । फुटबलको सर्वोच्न निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), राखेप र जिल्ला फुटबल संघको कमजोरीका कारण क्षेत्रीय क्लबको प्रदर्शन फितलो हुनु स्वाभाविक नै हो
‘मोजाको बल बनाएर खेल्थेँ’
चर्चाको शिखर टेकेकी सावित्रालाई कहिल्यै लागेको थिएन यो ठाउँमा पुग्ने । सुरुवाती दिन तथा बाल्यकालमा उनी मोजाको बल बनाएर खेल्ने गर्थिन् । मनाङमा जन्मिएकी सावित्रा ७ वर्षपछि लमजुङ परिवारसँगै झरेकी थिइन् । बाल्यकाल मनाङ र लमजुङमा विताएकी सावित्राले अनगिन्ती कठोर परिस्थितिको सामना गर्नुपरेको थियो ।
उनी सुनाउँछिन्, “म सानोमा मोजाको बल बनाएर फुटबल खेल्थेँ । पारिवारिक अवस्था पनि निकै कमजोर थियो । चार जना दिदीबहिनी र २ भाइ । परिवार पनि ठूलो भएकोले निकै गाह्रो थियो । दिदीको बिहेपछि घरेको सबै काम मैले नै गर्थें । हलो जोत्थें । उमेरले सानो भएपनि ठूलो काम गर्ने मेरो दैनिकी थियो ।” पारिवारिक काम, पढाइ र खेल सँगसँगै अघि बढाएकी सावित्राले कहिल्यै हार मानिनन् । त्यसकै नतिजा पनि हो यो ।
बहुप्रतिभाकी धनी
सावित्रा भण्डारी फुटबलसँग मात्रै जोडिन्नन् । बरु फुटबलमा भन्दा पनि पहिले नै उनी अरु खेलमा नै राम्रो प्रदर्शन गर्थिन् । स्कुलस्तरमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै पदक जित्ने गर्थिन् । उनी भन्छिन्, “स्कुल लेभलमा म भलिबल खेल्थें, एथ्लेटिक्स खेल्थें । स्कुल स्तरमा मैले थुप्रै मेडलहरू जितेकी छु ।”
सावित्राले २०७० सालमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको १०० मिटरमा गोल्ड मेडल नै जितिन् । शारीरिक रुपमा पनि निकै फुर्तिली सावित्रासँग अन्य खेलाडी सधै निरिह नै हुन्थे ।
३ महिनाको अभ्यासले राष्ट्रिय टिममा
लमजुङका पाखापखेरा चालेकी सावित्रा काठमाडौं छिर्छु भन्ने सोचमा थिइनन् । उनमा प्रतिभा थियो, जोस थियो तर अवसरको पर्खाइमा थिइन् । गाउँमै भएको स्थानीय फुटबल खेलमा राम्रो प्रदर्शन गरेको देखेपछि रेफ्री शुक्र लामाले काठमाडौं लाने प्रस्ताव सावित्रालाई राखेका थिए ।
सन् २०१४ मा काठमाडौं प्रवेश गरेकी सावित्रा फुटबलकै लागि आएकी थिइन् । उनलाई काठमाडौं ल्याउन रेफ्री शुक्र लामाले ठूलो भूमिका खेले । उनको प्रदर्शन हेरेपछि उनलाई काठमाडौं ल्याइएको थियो । एपीएफ क्लबमा सिधै आबद्ध भएपछि उनले नियमित रुपमा फुटबल अभ्यास गर्न थालिन् । गाउँमा मोजाको बल खेल्ने सावित्रा काठमाडौंमा आएर साँच्चिकै फुटबल खेल्न थालिन् ।
“यो स्थानमा ल्याउन शुक्र लामाको ठूलो हात छ । उनकै कारण म यहाँ छु,” सावित्रा भन्छिन् । उनीसँग एउटा नरमाइलो पल छ, जुन पटक पटक सम्झिरहन्छिन् । उनले त्यही नरमाइलो क्षणलाई शक्तिमा बदलेर फुटबललाई निरन्तरता दिइन् ।
उनी सम्झिन्छन्, “गाउँबाट फुटबलको लागि काठमाडौं झरें । गाउँका ठूलाबडा भनाउँदाले बाबाआमालाई भड्काउने काम गरेका रहेछन् । तेरो छोरी काठमाडौं गई, छोरी बिक्दिन अब, तेरो छोरीलाई कसले बिहे गर्छ भन्दा रहेछन् । तिमीहरूको त इज्जत छैन, हाम्रो पनि इज्जत जाने भो भनेर बाबाआमालाई तनाव दिने काम गरेछन् । यो सुन्दा मलाई सारै नराम्रो लागेको थियो ।”
काठमाडौं छिरेपछि उनी एपीएफ क्लबमा आबद्ध हुँदै अभ्यास गर्न थालिन् । २०१४ को साफ च्याम्पियनसिप पनि नजिकिँदै थियो । उनी तीन महिनाको अभ्यासले राष्ट्रिय टिममा पर्दै पाकिस्तान प्रवेश गरिन् । सावित्राले २०१४ मा पाकिस्तानमा सम्पन्न साफ च्याम्पियनसिपको डेब्यु खेलको ८८ औं मिनेटमा मैदानमा छिरेर गोल गर्न सफल भएकी थिइन् । त्यहीदेखि उनले राष्ट्रिय टिममा निरन्तर आफ्नो स्थान बनाउँदै आएकी छिन् ।
“२०१४ बाट मैले नियमित अभ्यास गरेकी हुँ । करिब ३ महिनाको ट्रेनिङले गर्दा नै म राष्ट्रिय टिममा परेकी थिएँ । मेरो कडा परिश्रमले गर्दा नै म यो स्थानमा पुगेको छु । तर पनि प्रतियोगिताहरू नहुँदा नरमाइलो लाग्छ । त्यसले गर्दा पनि फुटबलमा लागेर सन्तुष्ट पाइन्न कि जस्तो लाग्छ । पुरस्कार राशि पनि केटाहरूको एक करोड छ, महिलाको २ लाख । त्यसमा पनि वर्षमा एक पटक हुन्छ,” खिन्नताका साथ सावित्रा भन्छिन् ।
अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल पनि सावित्राकै नाममा
आफ्नो डेब्यु खेलदेखि नै चर्चामा आएकी खेलाडी हुन् सावित्रा । उनी राष्ट्रिय प्रतियोगितामा मात्रै चम्किने खेलाडी होइनन् । उनले गत वर्ष भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिप फुटबलमा पनि रेकर्ड राखेकी छिन् ।
उनले एक प्रतियोगितामा नेपालको तर्फबाट १२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राखेकी थिइन् । उनले भुटानविरुद्ध डबल ह्याट्रिक गरिन् । मल्दिभ्स विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी सावित्राले भारत विरुद्ध पनि एक गोल गर्न सफल भएकी थिइन् ।
उनले प्रतियोगितामा १२ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । यसअघि नेपाली खेलाडीले एउटै प्रतियोगितामा ११ गोल गरेको रेकर्ड थियो ।
एपीएफ क्लबमा स्थायी जागिरे सावित्रासँग नेपाललाई गोल्ड मेडल दिलाउने सपना छ । उनी भन्छिन् “भारतसँग जहिले पराजित हुँदै फर्किंदा अमिलो छाप छ । नेपाललाई गोल्ड मेडल दिलाउने मेरो सपना छ । हेरौं पूरा हुन्छ हुँदैन । मेरो तर्फबाट कडा परिश्रम गर्दै गोल्ड मेडलले नेपाली समर्थकलाई खुशी दिलाउने मेरो चाहना हो ।”