site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तन्नेरी कविका तरूण कविता
Sarbottam CementSarbottam Cement

अक्षर काका


के छुट्यो तिम्रो मुहारबाट ?
आधा फक्रेको गुलाबी ओठबाट
आगो छ भरभराइरहेको
झीलजस्ता आँखामा छ सपना झरेको पैह्रो
सधैँ हिमालजस्तो नाकमाथि छ अस्ताएको घाम
(ओ नायक–शीर्ष कविता)

यिनै हरफहरूले हो, सुनीता खनाललाई कविका रूपमा मञ्चमा उभ्याएको । प्रस्तुत काव्यांश ओ नायक शीर्षकमा समेटिएर कान्तिपुर दैनिकमा प्रकाशित भएपछि सुनीताको स्तरोन्नति भयो, कविका रूपमा ।

Prabhu Bank
Agni Group
NIC Asia

‘ओ नायक’ कविता एउटी अकिञ्चन युवतीको प्रेमालाप, एकालाप हो । उनी भन्छिन्, “‘ओ नायक’ काव्यिक अभिघात हो, जसले मलाई पुस्तक संग्रह लेख्न हुटुहटी जगायो ।”

“कान्तिपुर दैनिकमा ‘ओ नायक’ पढेपछि धेरैले कविता सरस, सलिल भएको प्रतिक्रिया दिए । नचिताएको वाहवाही पाएपछि कविता लेखनमा ज्यादा लहसिएकी हुँ,” फिस्स हाँसिन् उनी ।

Global Ime bank

‘ओ नायक’ पढ्दा नै प्रष्ट हुन सकिन्छ– उनका कविता सपाट छैनन् । अभिव्यक्तिहरू  दर्शनतिर अनुरक्त छन् । जीवन र जगतको स्थूल वर्णन गरिएको छ । 

त्यसो त उनको कवितामा लौकिक विम्बहरू मात्रै होइन, शाब्दिक चातूर्यता र सुडोल संरचना भेटिन्छन् । सहज–सम्प्रेष्य, चित्ताकर्षक, वान्किपूर्ण अभिव्यक्ति र उन्नत वर्गीय चेत उनका कविताका विशेषता बनेका छन् भन्दा हुन्छ ।

काव्यिक कौमार्यता
साविक नलाङ–३, धादिङमा जन्मिएकी हुन् सुनीता । त्यसो त बाल्यकालमा उनको जम्काभेट घाँसदाउरा र मेलापातसँग भयो । पाँच दिदीबहिनी दुई दाजुभाइ । तथापि परिवारमा साहित्य–सिर्जनामा रमाउने कोही थिएनन् । कविताको सुधा–पान गर्न मन त लाग्थ्यो तर वातावरण अनुकूल थिएन भनौँ ।

गाउँकै सिद्धेश्वर माध्यमिक नलाङले हो उनको साहित्यिक चेत उजिल्लाएको । “विद्यालय शिक्षाको मात्रै होइन, साहित्यको समेत आँगन बन्यो । प्राथमिक र निम्नमाध्यमिक तहमा पढ्दा विभिन्न प्रतियोगितामा भाग लिन्थेँ र प्रायशः प्रथम हुन्थेँ,” साहित्य–सिर्जनाको पूर्वार्धतिर फर्किइन् उनी र बाललय उधिन्न थालिन् ।

उनको साहित्यिक ताते निबन्धबाट सुरू भएको हो । तिनताका जिल्लाव्यापी विद्यालयस्तरीय विभिन्न प्रतियोगिता हुन्थे । विद्यालयमा सूचना टाँस गरिएको हुन्थ्यो । 

“जिल्लाव्यापी निबन्ध प्रतियोगिता हुँदैछ, तिमी भाग लिन्छ्यौ ?” एकदिन कक्षा शिक्षकले सुनाए । उनका खुट्टा हावामा कावा खान थाले । विद्यालयबाट अरूले सहभागी हुने इच्छा देखाएनन् । उनी नै तत्पर भइन् ।

“हरियो वन नेपालको धन शीर्षकमा निवन्ध प्रतियोगिता गराइएको थियो । पोजिसनको खासै अपेक्षा गरेको थिइनँ तर द्वितीय पो भएँछु । वास्तवमा साहित्य–यात्राको सूत्रपात त्यहीँबाट भएको हो मेरो,” अनुहारको खुसीको छटा कुँदियो उनको ।

विक्रम् सम्वत् २०६० तिरको कुरा हो यो ।

तिनताका उनले कविता पनि कोर्थिन् तर झ्याउरे लयमा । मुना मदनबाट काव्यिक फाँट विचरण गर्न थालेकी हुन् उनले । कविता लेखनमा पनि त्यसैको प्रभाव पर्‍यो ।

कविता जस्तोसुकै भए पनि वाचन कला कर्णप्रिय थियो, त्यसैले स्कुलमा कसैले उछिन्न सकेनन् उनलाई र क्रमशः काव्यिक भाव खाँदिदै, तिखारिँदै, पुष्पित र प्रगुम्फित हुँदै गयो ।

नेपाली विषयका शिक्षक इन्द्रप्रसाद अर्याल हुन् उनको प्रेरणाको पर्याय । “नानी ! तिम्रो वाचन कला उत्कृष्ट छ । कविता लेख्न, वाचन गर्न नछाड है,” उनले अभिप्रेरित मात्रै गर्दैनथे । विभिन्न प्रतियोगिताहरू प्रतियोगी विद्यार्थी बनाएर पठाउँथे पनि ।

०  ० ०

प्रवेशिका उत्तीर्ण गरेपछि उनी विक्रम् सम्वत ०६३ सालमा काठमाडौँ आइन् र पद्मकन्या क्याम्पसमा मानविकीतर्फ प्रवीणता प्रमाणपत्र तहमा भर्ना भइन् । स्नातकचाहिँ उनले महेन्द्ररत्न ताहाचलबाट शिक्षा शास्त्रतर्फबाट उत्तीर्ण गरेकी हुन् । ती पाँच वर्ष साहित्य यात्रातर्फ खासै मुखर हुन पाएनन्, उनका ।

स्नातकोत्तर अध्ययनका लागि त्रिचन्द्र भर्ना भएपछि उनी झाँगिन थालेकी हुन् ।

“मैले थुप्रै कविता लेखिसकेकी थिएँ तर पाण्डुलिपी हरायो । कविता हराएपछि ठूलो सम्पत्ति गुमेझैँ भयो र चार वर्ष कविता लेख्दै लेखिनँ,” अनुहारमा विष्मयभाव छायो र खुइया काढिन् उनले ।

तिनताक उनले गजल र मुक्तकमा पनि हात बसाल्न थालेकी थिइन् । कविता गुमेपछि गजल र मुक्तक पनि सिकुवातिर पन्छाइए ।

मास्टर्स पढ्न थालेपछि घन्टाघर साहित्य समाजले पुनः कविता लेखनमा अघि बढ्न हौस्यायो उनलाई । त्यही अवधिमा कवि विप्लव ढकालले पनि उनलाई घच्घच्याए । २० वटा नयाँ पुराना कविता बटुलेर उनले सिर्जना–पत्र तयार पारिन् र स्नातकोत्तर पार गरिन् ।
० ०  ०
आमा भन्थिन्–
“पैसा फल्ने रूखमुनि बरालिइरहेको त्यो छाया तिम्रै बाको हो ।”
त्यसदिनदेखि
त्यो रूखको फेदमा अर्को छाया पनि थपियो ।
० ० ०
बाबाका हात चट्टानजस्तै बलिया छन्
हर्कुलीयन पाखुरा
पहराजस्तै छाती
खेतको आलीजस्तै काँध
अर्जुनको तीरजस्तै आँखा
आँखाभरी सिमलको भुवाजस्तै उडिरहने सपना
सपनामा बगिरहने दुःखको नदी
र त्यही नदीमा विम्बित मेरो अनुहार !
(पैसा फल्ने रूख)

ग्राम्य–विम्बका अतिरिक्त उनको कविता पिता–प्रेमबाट पनि ओतप्रोत छन् । 

सिर्जना–यात्राको आदि–कालमा बाबुबाटै खासै सद्भाव पाइनन् । बरु साँध–सीमा खडा भए । स्कुल जाने आउनेबाहेक बाहिर निस्कने अतिरिक्त समय पाइनन् उनले । स्कुलस्तरीय प्रतियोगिता होस् या रेडक्रसका अनुशिक्षणमा, बलेनीसरह आँसुका धारा नखसाई उनी घर–द्वार नाघ्न पाइनन् ।

“छोरीलाई जहाँ पायो त्यहीँ पठाउने हैन है,” कतिपटक त सिर्जना–यात्राको तगारो नै बने बाबु । आमाले लुकिछिपी पठाइन् । बाबुको गाली पनि तिनै आमाले सहिन्, धेरैपटक ।

“सुरूआती चरणमा त घरपरिवारबाट विद्रोह गरेर नै अगाडि बढेकी हुँ । पारिवारिक साँधसीमा नमिचेको र वाधाव्यवधान नछिचोलेको भए, सायदै कविता लेख्न सक्ने हुन्थेँ,” सम्झिन्छिन् उनी ।

जीवनको उत्तरार्द्धतिर भने बुबा ‘कन्भिन्स’ थिए । विडम्बना ! धेरै बाँचेनन् । तीन महिना अस्पतालको शैय्या कुरेर स्याहारसुसार गरिन् तथापि स्वास्थ्यमा सुधार भएन । क्यान्सरसँग हार खाएर बाबुको चोला उठ्यो ।

“बा’को सम्झनाले हरबखत पिरोल्न थाल्यो । बिर्सन खोज्दा पनि बा’सँगको सम्झना ओझेल पर्ने चाहेनन्  । उहाँकै सम्झनामा ‘ओ नायक’भित्र तीन वटा कविता संग्रहित गरेकी छु,” पितृऋणी देखिइनन् उनी ।

० ० ०

सबैसबै छन् अखबारमा !
कपालमा बाँधिएका विधवा शब्द
त्रिशूल गाडिएकी देवी र भिजेका आँखा
सिमानामा बध गरिएको सपनाको शीरफूल
एअरपोर्टमा चुँडिएको चप्पलको नागरिकता
नाइटबसको झ्यालमा बसेर
राजधानी छिरिरहेका सुनौला सर्प
सबैसबै छन्, अखबारमा ! 
(ऐनाको देश)

उनका कवितामा भरपूर करूण रस सेचन गरिएको छ । दुःख र पीडाको बहुआयामिक चित्रण छ । अभावले निचोरिएका आँखाबाट तप्पतप्प चुहिएका आँसुले बुट्टा कुँदेझैँ लाग्छन् । 
कुनै समय थियो– कविता समाज परिवर्तनको सम्वाहक बन्नुपर्छ । समाज परिवर्तनको भावना मुखर हुनुपर्छ । तर पछिल्लो समय त्यो चेतले पाइला मोडेझैँ प्रतीत हुन्छ । सुनीताका कवितामा पनि नारा भेटिँदैनन् ।

“रचनाले समाजलाई देन दिन सकोस्, समाज परिवर्तको सकारात्मक विम्ब बन्न सकोस् । दियालो बनेर समाजलाई आलोकित तुल्याउन सकोस्,” यसो भन्छिन् उनी ।

त्यस्तै उनका कविताका नारी–चित्का र रोदन भेटिन्छ  । पितृसत्ताको सेपमा परेर फस्टाउन नपाएका कारूणिक अभिव्यक्ति उनका कवितामा पाइन्छन् । दीर्घजीवी बनेको पितृसत्ताको भुङ्ग्रोमा पिल्चिएका स्त्री चित्कार यसरी पोखिन्छन् उनका कवितामा–

सुन ए सरकार !
हेर ए मलामी !
सोकेसमा पुतलीझैँ नाचिरहेकी छु म
मेरो छातीका नीला डामहरूको 
मौन चित्कार सुनेका छौँ तिमीले ?
नङ्ग्राका डोबहरूको निःशब्द लय
र दाँतहरूको मृत सङ्गीत
सुनेका छौ तिमीले ?
रगत र वीर्यले भिजेको रात फेर्न
ढोकामा चुपचाप उभिइरहेकी
एक्ली गणिकाजस्ती समयलाई
देखेका छौ तिमीले ?
(चित्कार)

तर ती नारीवादका रूपमा छैनन् । ती सामाजिकवादकै हिस्सा बनेका छन्  ।

“कविले कुनै वाद, विचारको ओत लाग्नु आवश्यक छैन र कुनै सिद्धान्तको पगरी गुथेर सिर्जना गर्नुपर्छ भन्ने छैन । साहित्य आफैँमा वाद हो र अभिव्यक्तिको माध्यम हो,” उनको ठम्याइ छ ।

रातदिन संविधानको पुराण सुनिने
सडक छेऊका चिया पसलहरूमा
रातदिन राजनीतिको भजन गाइने
पार्टी अफिसहरूमा
रातदिन पुरुषैपुरुषका जिद्दि खेलहरूमा
कुनै दुङ्गामा, भाषणमा, किताबमा
कहिल्यै नभेटिएको नाम !
(गर्भिणी थियो मेरो नाम)

३५ वटा कविता संग्रहित र चार खण्डमा विभक्त ‘ओ नायक’ का प्रशस्त प्रेमाभिव्यक्तिहरू भेटिन्छन् । प्रेमको विराटतालाई र व्यापकतालाई नजरअन्दाज गरेकी छैनन् उनले । तथापि उनको प्रेमाभाव उत्ताउलो छैन । जीवनकै आभामा सजाएकी छन् उनले र कुँदेकी छन् ।

एउटा पात सलल
गीत बगिरहेको छ नदीमा
त्यही पातमा छ आँसुजस्तो चमक
जो आँसु नै हो
भर्खरै खसेको गुलाफको फूलबाट !
(पातमा प्रेम)

विम्बमा ‘पातमा प्रेम’ वियोगान्त प्रित हो । प्रेमिका छाडेर यायावरीका लागि मरूस्थल भासिन पुगेका आम नवयौवनाहरूको करुण प्रेम कहानी हो । तिनका अकिञ्चन आँसुहरूलाई टपक्क टिपेर कविताकार दिएकी छिन् उनले, कुचीकार क्यानभासमा उतारेको सुन्दरचित्रझैँ ।

(कवि सुनीता खनालकृत कविता सङ्ग्रह ‘ओ नायक’ माघ ६ गते काठमाडौंमा विमोचन हुँदैछ । कृतिलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC