काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उमेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टिकरण माग गरेको छ ।
मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र आफ्नो पार्टीको निर्वाचन चिन्ह राखी प्रचार प्रसार गरेको सूचना आयोगमा प्राप्त हुन आएको र उक्त कार्य निर्वाचन आचार संहिता विपरित देखिएका कारण महामन्त्री प्रधानसँग त्यस विषयमा २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगले महामन्त्री प्रधानलाई सोधेको स्पष्टीकरणमा भनिएको छ– यहालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु ।”