ad

साहित्य र कला

पागल घडी

– प्रमोद प्याकुरेल


यो भित्ते घडी मेरी स्वास्नीले बिहेमा दाइजो पाएकी हो । पञ्चरात फर्काएर आउँदा ल्याएर मैले जतनसाथ यसलाई भित्तामा झुन्ड्याएको थिएँ । प्रत्येक घण्टा–घण्टामा ट्याङ–ट्याङ गरेर जनाउ घण्टी बजाउँथ्यो । सुरु–सुरुमा यसको समय अत्यन्तै राम्रो थियो । यसले झुन्डिएको हप्ता–दश दिनमै सु–समय लिएर आयो । त्यस दिन बिहान करिब पौने ८ बजेतिर मेरा मामा घरमा आए ।

“अब बिहे गरेपछि पनि यसरी सधैं डुकु भएर जीवन चल्दैन भाञ्जा, मैले एक ठाउँमा कुरा गरिदिएको छु । आजैबाट हिँड जागिर खान ।”

मेरा आमा भने पनि मामा भने पनि यिनै थिए । म सानै छँदा मतवाली बाबु मरे । दुई–चार महिनापछि नै आमा पोइल हिँडिन् । बूढी भएकी बज्यैको काखमा हुर्किएको मेरो जीवनमा यस किसिमका राम्रा समय कहिल्यै आएका थिएनन् । मामाको प्रस्तावलाई घडीले ८ बजेको जनाउसँगै उमङ्गका साथ स्वागत गर्‍यो ।

आगामी दिनमा यो घडीले मलाई झन्–झन् स्वर्णीम समय दिन थाल्यो । जागिरमा हेपाहा प्रवृत्ति कसैको पनि थिएन । मेरा स–साना अवश्यकताहरूलाई सजिलै थेग्थ्यो मेरो आयस्थाले । अलि अलि गर्दै प्रत्येक महिना मेरा घरमा धेरै आवश्यकताका र अलि कम विलासिताका सामग्रीहरू भित्रिँदै गए । थोत्रै भए पनि दुईपांग्रेमा हुइँकिने दिन आए मेरा पनि । मानिसले सबैभन्दा हर्षको अनुभूति सन्तान सुःखमा गर्दो रहेछ । त्यो समय मेरो जीवनमा पनि आयो । समयले एक स्वप्न परी मेरो झोलीमा हालिदियो ।

मेरी परी साँच्चैकी परी थिई । उसका प्रत्येक क्रियाकलापहरू अति मनमोहक हुन्थे । उसले गर्ने बिगोहरू पनि अति अनुपम हुन्थ्ये । जब–जब बालसुलभताका त्यस्ता अनुपम दृश्यहरू देखिन्थे, तब–तब यो घडीका तीनै वटा काँटा भाँचिदिन मन लाग्थ्यो । ताकि समय स्थिर होस् र मेरी परीको बालपन समयको काँटामा ठोक्किँदा–ठोक्किँदै फक्रिएर जवान हुन नपाओस् । उसको बालसुलभताले मलाई नौनीझैं पगालिरह्यो ।

मेरी स्वास्नी भने कहीँ नभएकी घोप्टे थिई । बेला–बेलामा मेरी परीलाई झाम्टा बजाउँथी तर तत्कालै गएर म त्यसैलाई बजाइदिन्थेँ । अन्य कुरामा हामी जोई–पोइबीच कुनै मनमुटाव थिएन । मेरी परीकै विषयमा मैले बज्यैलाई पनि पटक–पटक भकुरेको छु ।

एकदिन बिहान उठ्दा घडी बन्द भएको रहेछ । दम दिएँ । एकै क्षण चल्यो र फेरि बन्द भयो । त्यतिखेर मेरी परी स्कुल जाने भइसकेकी थिई । जागिरमा जाँदा बाटो पारेर घडी मर्मतका लागि छोडिदिएँ । फर्किंदा लिन पसेँ । कालिगडले हाँडीले पिँध जस्तो कालो अनुहारमा गाडिएका सेता बल्ड्यांग्रे आँखा पल्टाएर घडी फिर्ता गर्‍यो । करिब ५ सय खर्च अनुमान गरेको थिएँ, तर त्यसले पचास रुपैयाँ मात्र माग्यो । बिहानै त्यसको थुतुनो याद गर्ने फुर्सद ममा भएको भए त्यहाँ मैले घडी छोड्ने नै थिइनँ । हेर्दै कालाविद्या जानेको मसान खेलाउने जस्तो देखिन्थो ।

मेरो शंका सही रहेछ । त्यसले मेरो घडीको समयमा बिगार पारिदिएछ । घडी मर्मत गरेको ६ महिना पनि भएको थिएन, राति सद्घे सुतेकी बज्यै बिहान उठिनन् । आजभन्दा भोलि, भोलिभन्दा पर्सी यसले झन्–झन् खराब समय देखाउन थाल्यो । मेरी परीलाई पनि के–के नचाहिँदा शब्द र क्रियाकलाप सिकाउन थाल्यो ।

एउटा मनले खाएको जान्ने थियो । त्यसकहाँबाट अक्षेता फुकेर ल्याउँथे र सानो कागजमा पोको पारेर घडीमाथि राख्ने गर्थें । अक्षताले काम गर्दासम्म घडीले अलि राम्रो समय दिन्थ्यो केही दिनपछि फेरि उस्तै । कहिले आफैं अक्षताको म्याद सकिन्थ्यो त कहिले स्वास्नीले भेटाएर मिल्काइदिन्थी । जेनतेन टालटुल गर्दै थिएँ म ।

टालटुलले मात्रै जीवन नचल्ने रहेछ । स्थायी समाधानका लागि लाख प्रयत्न गरेँ तर भनेजस्तो जान्ने कतै फेला पार्न सकिनँ । यस्ता काला मन्त्रका प्रभाव समयमै छुटाउन नसक्नुको परिणाम पागलपन मात्र हो भन्ने थाहा हुँदाहुँदै पनि मैले आफ्नो घडीलाई बहुलाउनबाट रोक्न सकिनँ । आखिर मेरो घडी बहुलाई छाड्यो । त्यति सुन्दर समय दिने घडी आज मेरो समयमा ताण्डव नृत्य गर्दैछ ।

हिजो कामबाट फर्किंदा मेरी परी र स्वास्नी दुवै घरमा थिएनन् । घरभित्र छिर्न नपाई पागल घडीले मलाई आँखा झिम्क्यायो र अट्टहासपूर्ण हाँसो हाँस्यो । मैले ममतापूर्वक त्यसलाई पुछपाछ पारेर सफा गरिदिएँ, रोगी आत्मामाथि सेखी गरिनँ । एकछिनपछि स्वास्नी एक्लै घरभित्र पसी । 

“परी खै ?” मैले सोधेँ ।

“तिम्री परी पर सरी,” त्यसले मेरो छातीमा भाला रोपी ।

एघारै वर्षमा कसरी पर सर्न सक्थी मेरी परी ? यो सबै पागल घडीको कारण भएको थियो ।

“अनि कताँ छे त परी ?” मैले सम्हाल्लिँदै सोधेँ ।

“जहाँ भए पनि छ । .... तिमीले छुन त के मुख पनि हेर्न हुन्न,” पापिनीले मेरो मुटु नै लुछी ।

म थचक्क सोफामा थचारिएँ । यो पागल घडीले मलाई मेरी परीबाट टाढा बनाउँदै थियो । शायद अब परी पनि परी रहन्ने, अप्सरा बन्छे । यौवनका चिन्ह पनि विकास हुनेछन् । मैले परीलाई गालामा चुम्बन गर्ने अधिकार पनि बिस्तारै गुमाउँदै जानेछु । मैले आफ्नै रगतलाई सुम्सुम्याउँदा र मुसार्दा पनि धेरै विचार पुर्‍याउनु पर्नेछ । यी सम्पूर्ण अधिकार हस्तानान्तरण गर्न मैले एक उपयुक्त उत्तराधिकारीको खोजी सुरु गर्नुपर्नेछ । सनातनदेखि चलिआएको पितृ धर्म निभाउन सम्हालिनेछु म । त्यति धैर्य छ ममा ।

तर, आज समय बदलिइसकेको छ, पागल घडीको समय पनि पागल नै छ । मैले स्थगित गरेका बाबुको अधिकारमा केही अधिकार थपेर मेरी परी सकुशल उसको पतिलाई हस्तान्तरण गर्न सक्नेमा शंका छ मलाई । गल्लीका भुस्याहाहरूदेखि जोगाउनै नसकिने समय पस्किएको छ यो पागल घडीले मलाई । यो घडीले मेरी परीलाई पनि बिगारिसकेको छ । मैले विद्या आर्जन गर्न पठाउने स्कुल, कलेजबाट मेरी परीले के आर्जन गरेर फकिर्ने हो, चिन्ता छ ।

० ० ०

“कुकुर बहुलाएपछि त्यसलाई मार्नैपर्छ र गहिरो खाल्डो खनेर पुर्नुपर्छ । नत्र रोगका जीवाणु अरुलाई पनि सर्छ । नानीजस्ता पढे लेखेका नर्सलाई त झन् यस्तो कुरा थाहा नहुने कुरै भएन । त्यही भएर हो– नानी मैले यो पागल घडीको छातीमा पाँच किलाको घन बजारेको । तर, दुष्ट मेरा छिमेकीहरूले मलाई नै पागल भनेर पाता कसेर लडाए । अझै त्यो घडीलाई खाल्डो खनेर पुर्नै बाँकी छ नानी । खोई मेरा हातका डोरी खेलिदिनुस् त नानी, म त्यति काम सक्काएर आउँछु ।”

“हुन्छ दाइ ! अहिले यो एउटा सुइँ लाऊँ । अनि खोलिदिन्छु है !” नर्सले मीठो व्यावसायिक मुस्कानका साथ सुइँ लगाइन् । 

“साँच्ची नानीको हातको घडी पनि संक्रमित भइसकेको हुन सक्छ । त्यसलाई पनि रेबिजको सुइँ लगाउनू है नानी,” आफ्नो लर्बराएको स्वरमा बाक्य पूरा गरिनसक्दै म घुर्न थालिसकेको थिएँ ।

तपाईंको मत