site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पीआरमा पार्टीभित्रै दबाब
Sarbottam CementSarbottam Cement

– लालबाबु पण्डित


डीभी–पीआरको विषयलाई अगाडि नबढाउन दबाब दिनेहरू पार्टीभित्र र बाहिरका थिए । कतिपयले मसँग ‘यसलाई अगाडि नबढाउनुस्, राम्रो हुँदैन’ भनेर चेतावनीको शैलीमा पनि कुरा गरे ।

राति ९ बजेर २० मिनेट गएको थियो । म खाना खाएर समाचार हेर्दै थिएँ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको फोन आयो । 

Prabhu Bank
Agni Group
NIC Asia

“के गर्न लागेको हो ? यसले त धेरै अप्ठ्यारो पार्छ कि क्या हो ?” उहाँले भन्नुभयो ।

उहाँसँग डीभी–पीआरकै विषयमा आधा घण्टाभन्दा बढी कुरा भयो । मैले उहाँलाई कन्भिन्स गरेँ ।

Global Ime bank

एमालेकै भ्रातृ सङ्गठन युवा सङ्घका महासचिव राजु पहारी नेतृत्वको युवा एउटा टोलीले भेटेकाले गौतमले फोन गर्नुभएको रहेछ । पहारीको टोलीले गौतमसँग मेरो राजीनामा गराउन माग गरेको रहेछ । पहारीका भिनाजु डा. खेम भट्टराईको पीआर थियो । पछि भट्टराईले जागिरै छाडे ।

भेट्न खोज्ने मानिसलाई म प्रायः बिहान ७ बजेपछि बोलाउँथेँ । केही मानिस भने बिहान ५ बजे नै गेटमा आएर फोन गर्थे । भित्र बोलाउन बाध्य हुन्थेँ । एकदिन पार्टी पोलिटब्युरो सदस्य वृन्दा पाण्डे मेरो क्वार्टरमा आउनुभयो ।

चिया खाँदै कुराकानी गर्न थाल्यौं । डीभी–पीआरको प्रसङ्ग उप्काउँदै उहाँले भन्नुभयो, “यो विषयले पार्टीको बदनाम हुने भयो । पार्टीको हितका लागि तपाईंले राजीनामा दिए राम्रो हुन्छ ।”

“पार्टीको हितमा छैन भने बर्खास्त गरोस् । मन्त्री पनि पार्टीले बनाएको हो । पार्टीको सदस्य नरहेपछि मन्त्री रहने कुरा भएन । यो कुरा केन्द्रीय कमिटीको छलफलपछि गरौं न त,” मैले भनेँ । 

त्यसपछि यो विषयमा उहाँले केही भन्नुभएन । 

एमालेका दोस्रो तहका कतिपय नेता यो पार नलाग्ने विषय भन्दै पनि हिँड्थे । सामुन्ने भने कुरा गर्दैनथे । 

“कसैलाई यो विषयमा छलफल गर्नु छ भने आउनुस्, म तयार छु,” मैले सार्वजनिक रूपमै चुनौती पनि दिएँ ।

नातेदार, चिनेजानेको मान्छे, विश्वास पात्रले गल्ती नै गरेको भए पनि आफ्नो मानिस नपरे हुन्थ्यो भन्ने सबैमा हुँदो रहेछ । तर, यस्ता विषयमा ध्यान दिइनँ । सुनेको नसुनेझैं गरेँ । कसैलाई लाग्यो होला– मेरो कुरा टेरेन, व्यक्तिगत रूपमा अगाडि बढ्यो । तर, मैले राष्ट्रको हित सोचेको थिएँ ।

मेरो कामले सबैभन्दा बढी असर त खराब खालका निजामती कर्मचारीलाई पुगेको थियो । त्यसैले उनीहरू मविरुद्ध लाग्नु स्वाभाविक थियो । गलत पात्रहरूले मलाई सरकारबाट फिर्ता बोलाउन सकिन्छ कि भनेर प्रयास गरेका थिए । यसो गर्नेहरू मन्त्रीदेखि लिएर सरकारी सेवाको उच्च तहमा बस्ने कर्मचारीहरू थिए । मलाई हटाउन सके सबै अवरोध पन्छिने उनीहरूले ठानेका थिए ।

डीभी–पीआर प्रसङ्ग उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री सुशील कोइरालाले पनि मलाई फिर्ता बोलाउन एमालेका नेताहरूसँग प्रस्ताव गर्नुभएछ । सरकारमा एमालेका तर्फबाट नेतृत्व गर्नुभएका गौतम तथा वरिष्ठ नेता झलनाथ खनाल, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतसँग उहाँले ‘लालबाबुलाई मन्त्रीबाट फिर्ता बोलाउनुप¥यो, काम गर्न समस्या आयो, धेरै मानिस कुरा लिएर आए’ भन्नुभएछ ।

“राम्रो काम गर्नुभएको छ । राम्रो काम गर्नेलाई किन निकाल्ने ? ल अप्ठ्यारो परेको हो भने मन्त्रालय फेरिदिऊँ न त,” अध्यक्ष ओलीले प्रधानमन्त्री कोइरालासँग भन्नुभएछ, “सामान्य प्रशासनमन्त्रीलाई अर्थ मन्त्रालयमा सारौं । अर्थमन्त्रीलाई सामान्य प्रशासनको जिम्मा दिऊँ ।”

प्रक्रिया अगाडि बढेपछि हुलका हुल मानिस कसलाई भेट्दा प्रभावित गर्न सकिन्छ भनेर लागिरहेका थिए । त्यसमा एमालेका मानिससमेत रहेकाले ममाथि प्रहार गर्न विपक्षीलाई झन् सजिलो भएको थियो ।

पार्टीभित्र म सबैका लागि प्रिय थिइनँ । मेरो कामले चर्चा कमाएपछि मलाई मन नपराउने साथीहरू पार्टीभित्रै निस्किए । मैले परवाह गरिनँ ।

डीभी–पीआरको काम मैले पार्टीको योजनामा गरेको होइन । यो कामलाई बढाउँदै जाने सन्दर्भमा पार्टीका नेताहरूलाई कन्भिन्स गर्दै गएँ । हाम्रो तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने कुनै पनि मन्त्रीको विरोध भएन । मनमा शङ्का–उपशङ्का रहनु फरक कुरा हो । पार्टीभित्रको एउटा पङ्क्तिले पार लाग्ने विषय होइन भनेर आशङ्का व्यक्त गरेको थियो । तर, त्यस्तो आशङ्का किनारा लाग्दै गयो ।

मैले सुरु गरेको काममा पार्टीको नेतृत्व पङ्क्तिबाट भने हस्तक्षेप र असहयोग भएन । त्यसले मलाई उत्साह र हौसला दियो ।

डीभी–पीआरको विषय अगाडि बढाउने क्रममा स्थायी समिति सदस्यहरूलाई मैले भनेँ, “डीभी–पीआरबाट देशले ठूलो घाटा बेहोर्दै छ । कर्मचारीहरूको कामप्रति आत्मगौरव पनि छैन । काममा विश्वास पनि भएन । कर्मचारीहरूमा इमानदारी पनि देखिएन । समय दुरुपयोग भयो । राज्यले नोक्सानी बेहोर्नुप¥यो ।”

“तपाईंले थाल्नुभएको काम ठीक छ । विचार पु¥याएर गर्नुस्,” उहाँहरूले भन्नुभयो ।

डीभी–पीआरको विषय केन्द्रीय कमिटीमा एजेन्डाका रूपमा कहिल्यै उठेन । नेताहरूलाई भने पटक–पटक प्रस्ट्याउनुप¥यो । 

सर्वसाधारणदेखि सञ्चारमाध्यममा समेत यसको पक्ष र विपक्षमा बहस भयो । मन्त्रीले के गर्न लागेको हो ? सफल हुन्छ कि हुँदैन ? जस्ता प्रश्न पनि थिए ।

एकदिन रेडियो कान्तिपुरमा डीभी–पीआरकै विषयलाई लिएर अन्तर्वार्ता थियो । त्यो अन्तर्वार्ता पार्टीका वरिष्ठ नेता खनालले पूरै सुन्नुभएछ । अन्तर्वार्ता सकिएको तीन मिनेटमै उहाँले फोन गर्नुभयो । 

“मैले तपाईंलाई अघि सार्दा नयाँ मान्छेलाई मन्त्री बनाए, के कसो होला भनेर प्रश्न उठेको थियो । तर, तपाईंलाई मन्त्री बनाएकोमा आज छाती गदगद भएको छ । म स्यालुट गर्छु,” उहाँले भन्नुभयो ।

“म शपथ खाई विश्वास दिलाएर आएको छु । राष्ट्रिय हितका सवालमा एमालेको शिर निहुरिन दिन्नँ । तपाईं नेताहरूको प्रतिष्ठामा आँच आउन नदिई काम गर्छु,” मैले भनँे ।

उहाँको त्यो कुराले म पनि खुसी भएँ । राम्रो गर्न खोजिरहेको छु जस्तो लाग्यो । आत्मविश्वास बढ्यो । मानिसको स्वभाव हो, कहिलेकाहीँ आफूभन्दा ठूला नेताले गरेको प्रशंसाले पनि काममा उत्साह जगाउँछ ।

पार्टीका केही नेता राम्रो काम भएको भनेर भित्र–भित्र कुरा गर्थे तर बाहिर खुलेर बोल्दैनथे । आफ्नो पालामा भइदिएको भए हुन्थ्यो भन्ने गर्थे । कतिपय विरोधी पार्टी र पूर्वसचिवहरूलाई पनि आफ्नो पालामा गर्दा नाम कमाइने लोभ थियो ।

मैले त गोरेटो बनाउने काम सुरु गरेको हुँ । यसलाई सदृढ र समृद्ध बनाउने सन्दर्भमा ऐन–नियम संशोधन गरेर अगाडि बढ्ने प्रक्रिया थालनी भएको हो । परिमार्जन गर्दै अघि बढ्न जो पनि सक्छ ।

(पूर्व सामान्य प्रशासनमन्त्री पण्डितको छिटै सार्वजनिक हुने ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामक आत्मकथाबाट लिइएको अंश । यो पुस्तक ‘नेपालय’ले प्रकाशन गरेको हो ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC