काठमाडौं । कुनै समय थियो, रमेश उप्रेतीलाई आफ्नो चलचित्रमा अभिनय गराउन निर्देकशकहरु तँछाडमछाड गर्थे । रमेशका हातमा थुप्रै चलचित्र क्यूमा हुन्थे । उनी थुप्रै चलचित्र गुमाउँथे ।
आफ्नो चलचित्र खेलिदिएन भनेर यादव खरेल, शिव रेग्मी जस्ता निर्देशक उनीसँग बोलेनन् । उनलाई सन्की नायक भनेर कतिपयले भन्न थाले । “हुन पनि हो, त्यो बेलाका चर्चित निर्देशकहरुले मलाई लिन खोज्दा म भ्याउँदिन थिएँ,” रमेश भन्छन्, “म घमन्डी थिएँ भन्दा पनि समयको परिबन्दमा थिएँ ।”
निर्देशकहरु नयाँ आए, नायक/नायिका नयाँ भित्रिए । तत्कालीन नायक नायिका निर्देशकका विकल्प र रोजाइ बन्दै गए । नयाँ हिरो÷हिरोइनहरुलाई डेब्यू गराउन थाले । रमेश पनि अमेरिका गए । सरोज खनाल, करिष्मा मानन्धरलगाययत नायकनायिका अमेरिकामै थिए । उनी पनि ७ वर्ष उतै बसे ।
अन्ततः उनी नेपाल फर्किए । रमेशकै शब्दमा उनले जानेको भनेकै चलचित्रमा अभिनय हो । बुझेको चलचित्र क्षेत्रमात्रै हो । उनले नेपालमा सक्रिय हुने भनेको चलचित्र उद्योगमै थियो ।
१९ वर्षको उमेरदेखि चलचित्रमा लागेका रमेशले दर्शकको माया बिर्सेका थिएनन् । त्यो माया फेरि जगाउने लोभ थियो । उनलाई चलचित्रमा फर्किनु थियो । उनले चलचित्रमा लगानी गर्ने सोच बनाए । रमेशलाई धेरथोर ज्योतिष शास्त्रमा पनि विश्वास छ ।
त्यसैले उनी ज्योतिषकोमा पुगे । ज्योतिषले भने, “समय राम्रो छैन । भाग्य अनुसार पहिला एउटा चलचित्रमा अभिनय गर्नुस् अनि मात्रै आफैं फिल्म निर्माण गर्नुस् ।” रमेशले ज्योतिषको आज्ञा शिरोपर गरे । सायद समय उनी अनुकूल नै चलिरहेको थियो । ‘ब्रास्लेट’ मा अभिनयका लागि अफर आयो । उनले पनि खेले ।
ज्योतिषका अनुसार अब रमेश आफ्नै लगानीमा चलचित्र बनाउन अनुकूल समयमा आइपुगे । चलचित्रको कथा थियो । कलाकार खोज्न थाले । नायकमा आफैं बसे । नायिकामा केकी अधिकारी र दीपिका प्रसाईंलाई लिए । पत्रकार रवि लामिछानेले प्रशान्त ताम्राकारलाई सुझाए । रमेशलाई पनि मन पर्यो । ‘ओके’ गरे । चलचित्रको नाम ‘ऐश्वर्य’ राखे र निर्माण गरे ।
“मलाई समयले जसरी लडायो, अब त्यसैगरी म उठ्नु पनि छ । हुन त उठ्न त्यति सजिलो छैन,” रमेश अगाडि थप्छन्, “तर हामीले जसरी मेहनत गरेका छौँ । यसलाई दर्शकले मन पराइदिनुहुनेछ ।”
‘एश्वर्य’ लाई चलचित्र क्षेत्रमा मेरो दोेस्रो इनिङका रुपमा कतिले व्याख्या गरिरहनु भएको छ । तर, मैले यसरी हेरेको छैन । रमेश उप्रेती हिट हुनु र नहुनुले खासै अर्थ राख्दैन,” उनी भन्छन्, “चलचित्र दर्शकले मन पराइदिनुभयो भने त्यो नै मेरो सफलता हुनेछ ।”
रमेश अमेरिका गए । नेपालमा चलचित्र निर्माणको फर्मुला फेरियो । मौलिक कथावस्तु चलचित्रले भन्न थाले । रमेश केही अघिल्लो पुस्ताका नायक हुन् । उनले नयाँ पुस्ताको शैली र कथा भन्न सक्छन् कि सक्तैनन् ? जवाफमा भन्छन्, “समय फेरियो तर कथा उही हो, एक्सन केही सफ्ट हुन थालेको छ, दर्शकको चाहनामा केही परिवर्तन आएको छ, दर्शकको रुचीलाई केन्द्रमा राखेर चलचित्र बनाएको छु ।”
रमेश अघिल्लो पुस्ताका नायक हुन् । अहिलेको पुस्ता विपिन कार्कीको पुस्ता हो । रमेशको समयमा हिरो हुन अग्लो कद, हँसिलो र चम्किलो चेहरा तथा हृष्टपुष्ट शरीर भएको लक्का जवान चाहिन्थ्यो । ताकि उसलाई हेरेर दर्शक हलसम्म पुगुन् । समयसँगै दर्शक परिवर्तन भए । हिरोले हैन चरित्रले फिल्म चल्न थाले । अहिले अब्बल अभिनय गर्न सक्ने लुरे वा भुक्क भुँडी उठेको व्यक्ति हिरो हुन थाल्यो ।
सायद यसलाई रमेशले बुझेर होला, उनी निर्माता भए । भन्छन्, “चलचित्र क्षेत्रमै रहिरहनका लागि पनि मैले लगानीमा हात हालेको हुँ ।”