काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको सेमिफाइनलमा नेपालले भोली (शनिबार) आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।
एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल अन्तर्गत नेपाल र मलेसियाबिचको खेल किनरारा ओभलमा नेपाली समय अनुसार बिहान ७ स् १५ मा सुरु हुने छ ।
अघिल्ला तीन खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल शनिबार मलेसियाविरुद्ध पनि अपराजित यात्रा कायम राख्न चाहान्छ । यस्तै नेपाल फाइनलमा स्थान बनाउदै एसिया कपको लागि छनोट हुने योजनामा हुने छ । एसीसी यू(१९ एसिया कप आगामी नोभेम्बरमा हुने छ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।
इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, मलेसियाले समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेका हुन् । छनोटमा नेपाल अपराजित छ भने मलेसिया एक खेलमा पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो । एक खेलअगावै सेमिफाइनलमा पुगेको नेपालले ३ खेलमा सतप्रतिशत नतिजा ल्याएर ६ अंक जोडेको थियो । छनोटमा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रन तथा दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।
यता, बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि मलेसियाले समूह उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । यस्तै समूह बी को विजेता बनेको हङकङले फाइनल प्रवेशको लागि समूह ए को उपविजेता सिंगापुरसँग खेल्नेछ ।