ad

साहित्य र कला

जमेको गोसाँईकुण्ड (फोटो नि-यात्रा)

उमेश पाठक

खासमा म पहिलोपल्ट रसुवा छिरेको २०११ को जनवरीतिर हो । नुवाकोट जिल्लाको स्थाई बासिन्दा भए पनि रोजगारीको सिलसिलामा रसुवा छिर्नु अघि म ढुङ्गे काटेर माथितिर लागेको थिइन, जबकी मेरै गाउँका साथीभाईहरु वेत्रावतीसम्म जात्रा हेर्न वर्षेनी पुग्ने गर्थे । रसुवा पुगेपछि रसुवाको धेरै ठाउँ घुमियो, तेताङ्चेत गाउँको टुप्पो लुम्री खर्क नि पुगियो, तिब्बतको स्वशासित क्षेत्र केरुङ पनि गइयो । रसुवा धादिङको सिमाना सोमदाङ नि पुगियो, अनि प्रकृतिको सुन्दर वरदान क्यान्जिङ भ्याली नि पुगियो ।

लुम्री डाँडाको भ्रमण गर्दा बीच बाटोमा पर्ने च्यदेन खर्क



सफा केरुङ (चीनको स्वशासित क्षेत्र तिब्बत)



रसुवा र धादिङको सिमाना सोमदाङ घुम्दा देखिएको पुरानो काठे विश्रामस्थल


यी स्थानहरुमध्ये सबैभन्दा मनमोहक लागेको भने नागथली भ्यू पोइन्ट र क्यान्जिनको भ्रमण नै थियो । आकास खुलेको दिन नागथलीबाट देखिने नेपाल र तिब्बतका हिमशृङ्खलाहरुको सुन्दर दृष्य हेर्दा जीवनका सारा पिडा भुलिने रहेछ एकछिन ।

नागथलीबाट देखिएको मनमोहक दृष्य



मनै लोभ्याउने क्यान्जिन भ्याली


यी सबै ठाउँहरु घुमिसक्दा पनि हिन्दुहरुको प्रसिद्ध तिर्थस्थल गोसाईंकुण्ड जाने मेसो भने कसै गरे पनि मिलिरहेको थिएन । कतै सुनेको थिएँ, भगवानको मन्दिर जान्छु भनेर मात्र हुँदैन, जुर्नु पर्छ । सायद ६ वर्ष रसुवा बसिसक्दा पनि मलाई गोसाईंकुण्ड जान जुरेको थिएन सायद ।

म हरेक वर्ष गोसाईंकुण्ड जाने योजना बनाउँथें तर अन्तिम समयतिर आएर एउटा न एउटा विघ्न पर्थ्यो र मेरो योजना विफल हुन्थ्यो । यसरी हर कोशिषका वावजुद पनि गोसाँईकुण्ड जाननपाउँदा म भने उकुसमुकुस भईसकेको थिएँ । यस्तैमा एक दिन युनिभर्सिटीमा हामीभन्दा सिनियर दाजु रञ्जित पाण्डेलेट्विटरमा टेक्स्ट गर्नु भयो । कुरा एउटा रिसर्चको रहेछ, करिव ३००० मि. भन्दा माथि पाइने पुतलीको विभिन्न प्रजातिको अध्ययन गर्ने, तेसको लागि साइट चैं गोसाईंकुण्ड एरिया । मलाई ढुङ्गो खोज्दा देउता मिले जस्तै भई हाल्यो, एक त अनुषन्धान कार्यले थप अध्ययन अघि बढाउने योजनामा सहयोग पुग्ने, अर्को गोसाईंकुण्ड पनि घुम्न पाइने ।

अब पुतलीको प्रजाती चिन्ने व्यक्तिको खोजी कता गर्ने भनेर रन्जित दाई र मेरो छलफल भयो । छलफलमा ट्विटरबाट चिनेको भाई अनुज घिमिरेलाई सो कामको लागि जिम्मेवारी दिने भन्ने कुरा भयो । एक त अनुज जुलोजी (प्राणीशास्त्र)को विद्यार्थी, दोस्रो उ पटक पटक गोसाँईकुण्ड गईसकेकोले सेलेक्टेड फिल्डको राम्रो ज्ञान भएको ।

रन्जित दाईले अनुजलाई अप्रोच गर्नु भयो, उसले नकार्ने कुरै थिएन । यसरी सफल भयो मेरो गोसाईंकुण्ड जाने सपना ।

जान त जाने तर माघको अन्तिम सातातिर कसरी जाने, समस्या थियो । स्थानियहरु अत्याईदिन्थे उ त्यो पारी देखिने हिमाल क्रस गरेर जानु पर्छ सर, बस्ने ठाउँ पनि पाईंदैन, यस्तो बेला न कूबेला कसरी जानुहुन्छ गोसाईंकुण्ड ? मलाई अलिअलि डर लागेकै थियो, अनुजले किन जान नसकिने दाजु भनेर हौस्यायो; अनि हिंडियो दुई दाजु भाई एउटा  झोला र जिपिएस बोकेर धुन्चेबाट दिनको करिव २ बजेतिर । देउराली पुग्ने हाम्रो लक्ष थियो तर गोसाँईकुण्ड जाने एक्साइटमेन्टमा अलि छिटो हिंडिएछ क्या रे, रात पर्दा दिम्सा पुगियो । तेहाँबाट चन्दनबारी पुग्ने आँट भने गरिएन । त्यो दिन फोटो पनि खासै खिचिएन ।

भोलीपल्ट बिहानै उठियो, हल्का ब्रेकफोष्ट गरियो अनि लागियो उकालो चढ्न ।

चन्दनबारी नजिकैबाट बिहानीको सूर्योदय लाङटाङ हिमालमा पर्दा देखिएको दृष्य


हामी करिव ३००० मिटरको उचाईमा पुगिसकेका थियौं । तेसपछि जिपिएस हेर्दै दुई सय मिटर उचाई चढ्ने बित्तिकै साइट फिक्स गरेर उक्त क्षेत्रमा भेटिएका पुतलीहरुको पहिचान र फोटो खिच्दै अघि बढ्यौ ।

बाटोबाट देखिएको लाङटाङ हिमालको दृष्य



लौरीबिनाको उकालो चढिसकेपछि भेटिएको सानो हिउँको ढिस्को



लौरीबिनाको उकालोमा बाटोभरि जमेको हिउँ


लौरीबिनाको उकालो सुरु हुने ठाउँतिर म (फोटो – अनुज घिमिरे )


यसरी अघि बढ्दै जाँदा करिव दिनको १२:३० तिर हामी गोसाईंकुण्ड पुग्यौ । चारैतिर हिउँले ढाकेको पहाडहरु, बीचमा पुरै हिउँ जमेको ठूलो ताल । हेर्दा लाग्थ्यो, स्वर्गको एक टुक्रा कसैले थपक्क टिपेर राखिदिएको हो । हामीले अलिकति जोखिम मोलेर हिउँले ढाकेको तालको बीचतिर जाने आँट पनि गर्यौ ।


ठोस ताल (पुरै जमेको हिउँले ढाकेको गोसाँईकुण्ड)



जमेको तालमा फोटो-पोज दिंदै म (फोटो – अनुज घिमिरे )



गोसाँईकुण्डको छेउमा रहेको होटलको छतमा जमेको हिउँ


दुखको कुरा गोसाईंकुण्ड पुगेर पनि नुहाउन पाईएन, अझै भनौं मुख धुन पनि पाइएन किनकि तेहाँ पानी नै थिएन । थियो त केवल हिउँ । तेसपछि करिव १ बजेतिर हामी तेहाँबाट फर्कियौं । खुब हिंडियो ओरालो । चन्दनबारीमा जम्मा एउटा होटल खुल्ला रहेछ, तेहाँ बन लसुन हालेको नुडल्सको सुप पिएपछि जिउले अलिक स्फूर्ति महशुष गर्यो  ।

चन्दनबारीको चीज फ्याक्ट्रीमा चौंरीको चिज किनेर चपाउँदै हामी पुनः ओरालो झर्यौ । दिम्सामा बस्ने प्लान क्यान्सिल गरेर फेरि झरियो भार्खुतिर । भार्खु पुग्दा साँझको ८ बज्न लागिसकेको थियो, म घुँडा दुखेर हिंड्न नसक्ने भएको थिएँ । भार्खु पुग्दा चिलिमे जलविद्युत प्लान्टका मनिष विष्ट सरले पठाइदिनु भएको गाडी हामीलाई कुरेर बसिरहेको थियो ।

रातको ८:३० तिर हामी चिलिमे क्याम्पमा थियौं । यसरी एउटा मेरो अविस्मरणीय यात्रा समाप्त भएको थियो ।हामीले गरेको रिसर्च चैं यता स्प्रिन्जर मा प्रकाशित भएको छ, इच्छा हुनेले हेर्न सक्नु हुनेछ ।

(लेखक वातावरणविज्ञको रुपमा रसुवाको एक जलविद्युत आयोजनामा कार्यरत छन् ।)

तपाईंको मत