साहित्य र कला

नाफाको जिन्दगी

लक्ष्मीप्रसाद खतिवडा



कर्ली कपाल, चकलेटी अनुहार अनि लोभलाग्दो हाइट । निश्चल ढकाल (२१) झट्ट हेर्दा मोडलजस्ता देखिन्छन् । तर, उनी अक्सर रातोपुलस्थित आफ्नो रेस्टुरेन्टमा भेटिन्छन्– घरी क्यास काउन्टरमा त घरी ग्राहकको टेबुलमा खानेकुरा सर्भ गर्दै । होटल म्यानेजमेन्टका यी विद्यार्थीलाई ‘झोल मःम’ को ब्रान्डिङ गर्नु छ । 

“पाइन त झोल मःम जहाँ पनि पाइन्छ तर म आफ्नै ब्रान्ड बनाउन चाहन्छु,” आत्मविश्वासका साथ निश्चल भन्छन्, “यसका लागि स–सानो कुरामा पनि ध्यान दिनुपर्छ । मार्केटिङको नयाँ आइडिया सोच्दैछु । ग्राहकलाई कसरी सन्तुष्ट बनाउने भन्ने नै मेरो ध्येय हो । हाइजिन र स्वादमा ध्यान दिन्छौं हामी अनि मूल्य रिजनेबल ।”

सरङ (छुर्पी सुकाउने धुवाँरहित भट्टी) मा तयार गरेको सेकुवा, झोल मःम, पोलेको मःम, टर्की, अस्ट्रिच आदि निश्चलको रेस्टुरेन्टका विशेषता हुन् । “हामी आफू हाइजेनिक खान्छौं र ग्राहकलाई सर्भ गर्ने कुरामा पनि कुनै कम्प्रोमाइज गर्दैनौं,” निश्चलको दाबी छ । ग्राहकले खानेकुरा बनाएको देख्न सकुन् भनेर उनले ओपन किचेन बनाएका छन् । 

यहाँ स्टोरी लेख्न लागिएको भने निश्चलको होइन, नवराज ढकाल (४२) को हो– जो एसएलसी पास गरेपछि पढ्न छाडेर अल्लारे उमेरमा माओवादी जनयुद्धमा लागे, जनयुद्धबाट बिरक्तिएर अरब भासिए अनि अहिले स्वदेश फर्केर व्यवसायमा आफ्नो भाग्य अजमाउँदैछन् । 

०००

२०५२ सालमा माओवादी जनयुद्धको झिल्को सुरु हुँदा नवराज भर्खर २१ वर्षमा लाग्दै थिए । काँठ क्षेत्र भनेर चिनिने मूलपानीमा पनि माओवादीको चर्चा परिचर्चा हुन थालेको थियो । गाउँका शिक्षित र बुद्धिजीवी भनेर चिनिनेहरु नै स्थानीयस्तरमा संगठन बनाउने प्रयास गरिरहेका थिए । उनीहरुको नजर नवराजमा पनि पर्यो, जो पढ्न छाडेर यसै बसिरहेका थिए र उनीहरुका कुरामा चाख लिइरहेका थिए । काठमाडौंमा ८ जना सदस्य राखेर सानो कमिटी बनाइएको थियो । सुरुवाती चरणमै नवराज पनि माओवादी आन्दोलनमा हेलिए । बुबा पनि माओवादीप्रति सकारात्मक नै थिए, त्यसकारण परिवारबाट पनि रुकावट आएन । बरु उनले श्रीमतीलाई पनि पार्टीमै समाहित गराए । 

केही वर्ष प्रशासनसँग छलिँदै पार्टीका गतिविधि र संगठन निर्माणमा सक्रिय भए । २०५६ पछि भने बढी नै निगरानी हुन थालेपछि भूमिगत भए । 

माओवादी जनयुद्धले बृहत् रुप लिइसकेको थियो । युद्धको उन्माद थियो सबैमा । पैसाको खोलो बग्न थालेको थियो । उनीहरु बोराका बोरा पैसा उठाउँथे । “इमान्दार कार्यकर्ताहरु पार्टीका लागि दिनरात खट्थे । मैलेमात्र १५–२० करोड चन्दा उठाएँ होला । मजस्ता हजारौं खटिन्थे चन्दा उठाउन । चन्दा उठाएर हामी बोराका बोरा आधार इलाकातिर पठाउँथ्यौं । एक बोरा पैसाबाट ५० रुपैयाँ निकालेर ब्रस र मञ्जन किन्थ्यौं । कहाँ गयो होला त्यत्रो पैसा ?” उनी अहिले सम्झिन्छन् । 

पार्टीले उनको नाम कमरेड मदन राखिदिएको थियो । उनका लागि पार्टी र देश सर्वोपरी थियो । न आफ्नो मतलब थियो न परिवारको । “सपनाका लागि मान्छेले जे पनि त्याग गर्न सक्छ । हामी एउटा सपनाका लागि लडेका थियौं, वर्गविहीन साम्यवादी व्यवस्थाका लागि लडेका थियौं । सपनाले मोटिभेट गरेको थियो हामीलाई । पैसाको त मतलब नै लाग्दैनथ्यो,” उनी ती दिन सम्झिन्छन् । उनले आफ्नो घर तथा जग्गा पनि पार्टीकरण गरौं भनेका थिए । 

०००

२०६० सालसम्म आइपुग्दा माओवादी धेरै विकसित भइसकेको थियो । चलायमान भइसकेको थियो । ग्रामीण तथा अर्धसहरी इलाकामा फौजी आक्रमण र सहरमा प्रचारात्मक अभियान तीव्र भइरहेको थियो । देश छिट्टै पार्टीले कब्जा गर्दैछ भन्ने लाग्थ्यो नवराज र उनीजस्ता योद्धाहरुलाई । काठमाडौंको डीसीएम (डिस्ट्रिक्ट कमिटी मेम्बर) भइसकेका थिए उनी । 

राज्यको दमन पनि बढ्दै थियो । समात्ने, यातना दिने, छाड्ने क्रम चलिरहन्थ्यो । नवराज पनि धेरैपल्ट जेल परे । प्रहरी हिरासतमा यातना खेपे । 

प्रहरी हिरासतमा पाएको यातनाले अहिले पनि उनलाई दुःख दिन्छ । “यातनाले शारीरिक र मानसिक दुवै रुपमा कमजोर भइँदो रहेछ । हातखुट्टा झमझमाउने, जिउ भित्रदेखि नै दुख्ने भइरहन्छ । योगा गर्न थालेपछि अलि राहत महसुस भएको छ,” कठोर यातनाका क्षण सम्झिँदा नवराज अहिले पनि झस्किन्छन् । 

०००

युद्धका क्रममा उनले थुप्रै विभत्स दृष्यहरु देखे र भोगे । उनको टिमका १६ जनामध्ये अधिकांश मारिए । उनी आफू पनि धेरैपटक मृत्युको मुखमा पुगेर फर्किए । “हिरासतमा हुँदा यातनाका कारण अधिकांश समय बेहोस नै हुन्थेँ । पैंताला पिप भरिएर बाक्लो भएको हुन्थ्यो । कहाँ राखिएको छ भन्ने पनि थाहा नहुने । ६ महिनाजति त बेपत्ता नै बनाइयो । बाँच्ने कुनै आश थिएन,” उनले यातनाका दिन सम्झिए, “महेन्द्र पुलिस क्लबमा पत्रकार कृष्ण सेन इच्छुकलाई चरम यातना दिएको आफैंले देखेँ । त्यसको दुई दिनपछि उनको मृत्युको खबर आयो ।” कृष्ण सेनलाई यातना दिएर मार्ने प्रहरी अधिकृत भर्खरै एसएसपीबाट रिटायर्ड भएको सुनेका छन् उनले । 

२०५९ सालमा हतियारसहित समातिएर डेढ वर्ष जेल बसेपछि भने उनको जीवनमा टर्निङ प्वाइन्ट आयो । पार्टी र देशप्रतिको ‘जुनुन’ दिमागबाट निस्किसकेको थियो । पार्टीप्रति मोहभंग भइसकेको थियो । चर्चित चुनवाङ बैठकपछि पार्टीभित्रको विवाद र अवसरवाद छताछुल्ल भइसकेको थियो । देश कब्जा गरेपनि नेतृत्वको नियत खराब भएपछि केही हुँदैन भनेर उनले ठहर गरे र पार्टीमा आफ्नो भविष्य देखेनन् । 

२०६१ मा जेलबाट निस्किएपछि उनले पार्टी छाड्ने निर्णय गरे । उनीसँग दुईटा विकल्प थिए, श्रम शिविरमा बस्ने वा विदेश जाने । पार्टीले विदेश जान सल्लाह दियो । अनि पत्नीलाई लिई उनी कमजोर शरीरले बिदेसिए । सपना, संघर्ष, यातना र जेलको छिँडीसहितको ८ वर्ष लामो राजनीतिक जीवन यसरी पटाक्षेप भयो अनि बाँकी रह्यो केवल फ्रस्टेसन ।

०००

पार्टीकै सल्लाहमा बिदेसिएका नवराजले यूएई, मलेसिया, सिंगापुर, कतार, बहराइन र ओमानमा गरी ११ वर्ष बिताए । सेल्सम्यानको काम गरे, दुबईमा एक अरबी तथा दुई नेपालीसँगको पार्टनरसिपमा कम्पनी खोले । तर, अरबको आर्थिक संकटबाट उनीहरुको कम्पनी पनि अछुतो रहेन । “विदेशमा कमाएको सबै पैसा कम्पनीमा लगानी गरेको थिएँ । तर, विभिन्न कारणले कम्पनी माथि उठ्न सकेन । नेपाली पार्टर बढी मनि माइन्डेड भए । उनले चिटिङ गर्न थाले । त्यसमाथि अरबको आर्थिक संकट,” कम्पनी डुब्नुको कारण खुलाए उनले । कम्पनी पार्टनरहरुलाई जिम्मा लगाएर स्वदेश फर्किए । 

आफैंले कम्पनी चलाएकाले बिजनेसको आइडिया सिके नवराजले विदेशमा । त्यो आइडिया अब यहाँ लगाउन खोज्दैछन् । “विदेशमा मार्केटिङको आइडिया सिकें । मोडर्न बिजनेसको कन्सेप्ट सिकें,” उनले सुनाए । बिजनेसमा उनले सिकेको मूल मन्त्र हो– मोर सेल, लेस मार्जिन । 

०००

अब उनको दिमागमा राजनीतिको ‘र’ पनि छैन । माओवादी जनयुद्धबाट धेरै कुरा सिकेका छन् उनले । “जीवनको सबैभन्दा ऊर्जावान समय माओवादी राजनीतिमा खर्च गरें, तर पनि पछुतो छैन । समय खेर गयो भन्ने लाग्दैन । जनयुद्ध असफल नै भएको पनि होइन । तर, अब राजनीतिमा रुची छैन । मेरोजस्तो एटिट्युडले राजनीतिमा टिक्न नसकिँदो रहेछ,” उनको निष्कर्ष छ । 

अब जिन्दगीलार्ई सरल रेखामा हिँडाउन चाहन्छन् नवराज । आफूभन्दा आधा उमेरका छोराहरु निश्चल र विशालका लागि व्यवसाय सुरु गरिदिएका छन् । उनीहरुसँगै काम गर्छन् दैनन्दिन । “एउटा खुट्टा भएको वस्तुलाई उभिन गाह्रो हुन्छ, चारवटा खुट्टा भएको वस्तु पनि सजिलै ढल्छ । तर तीनवटा खुट्टा भएको चिज हत्तपत्त ढल्दैन । हामी बाबु–छोराको पनि तीन जनाको टिम छ, त्यसैले हामी मजबुत छौं,” उनी आत्मविश्वासका साथ भन्छन्, “नाफाको जिन्दगी हो, के छ र !’
 

 

तपाईंको मत