ad

साहित्य र कला

दूरी

– कुमार शर्मा


रमा आज निकै उत्साहित थिई । सबेरै उठेदेखि नै जिउमा छुट्टै स्फूर्ति फैलिएको थियो । अरू बेला बिहान चाँडै उठ्यो भने लल्याकलुलुक पर्ने शरीरमा आज भने कुनै आलस्य थिएन । उठेको धेरै बेर त भएको थिएन तर उसका नजर भित्तामा झुन्डिएको घडीमा धेरै पटक ठोक्किइसकेका थिए । लाग्यो– आज समयले लुकामारी खेलिरहेको छ ऊसँग ।

कफी खाईवरी ऊ आज लगाउने पहिरन छान्न थाली । अरू बेला प्रायः ड्रेसतिर सोझिने रमाका हात आज सारीको खण्डतिर सोझिएका थिए ।

छोरा आउँदैछ विदेशबाट । त्यो पनि आठ वर्षपछि । १० बजेको आगमन समय भए पनि रमा ९ बजे नै विमानस्थल पुगी । सधैं ‘डिले’ हुने फ्लाइट आज भनेको समयभन्दा चाँडै अवतरण गर्छ कि ? समय कटाउनै पर्ने भएकोले एक कप कफी लिएर वेटिग लाउन्जबाट बाहिर देखिने आकाशतिर हेरिरही, टाढाटाढा क्षितिजसम्म । रमाको मन भने पछाडि फर्किदै थियो, विगततिर ।

० ० ०

सजिलो निर्णय थिएन त्यो । रमालाई आज पनि याद छ त्यो दिन, जब उसले घर छोडेकी थिई ।

त्यस दिन बिहान पनि ऊ सबेरै उठी, घडीमा कैयौं पटक हेरी र सारी नै लगाएर एउटा ‘गुड बाई’ नोट लेख्दै घर छाडी । १७ वर्षको वैवाहिक जीवन अनि १५ वर्षको छोरालाई छोडेर एक्लै अघि बढ्ने निर्णय थियो त्यो । छोरा घरमै भएको भए अलि गाह्रो पनि हुन्थ्यो होला, त्यो निर्णयसम्म पुग्न । तर, छोरा होस्टल बस्न थालेको नै दुई वर्ष जति भइसकेको थियो । उसलाई त्यो बेला लागेको थियो, छोरालाई होस्टलमा गएर सम्झाएँ भने त बुझिहाल्छ नि ! छोरा ठूलो पनि त भइसक्यो अब ।

लोग्ने राजीवलाई उसले भन्नुपर्ने र सम्झाउनु पर्ने खासै केही थिएन । जे–जे भन्नुपर्ने थियो, त्यो नोटमा लेखिएको थियो । हुन त नोट आफैंमा दुई लाइनभन्दा लामो थिएन । 

“म जाँदैछु । तिमीलाई थाहा छ, म किन जाँदैछु । जाँदाजाँदै एउटा अनुरोध, कृपया नाटक नगर । छोरो बुझ्ने भइसकेको छ ।”

० ० ०

उठेर भित्तामा झुन्डिएको डिस्प्लेमा हेरी । छोरो आउने फ्लाइट ल्यान्ड भइसकेको थियो । अबको करिब आधा घण्टामा त ऊ बाहिर नै आइपुग्थ्यो ।

छोरासँग नियमित इमेलमा कुराकानी त हुन्थ्यो रमाको तर औपचारिकजस्तो मात्र । प्रायः कुराहरू राहुलको पढाइलेखाइ वरिपरि नै घुम्थ्यो । यो सेमेस्टरमा कुन–कुन विषय छन्, कलेजबाट बस्ने ठाउँ कति पर छ, साथीहरू कस्ता छन्, हावापानी कस्तो छ आदि इत्यादि । फोनमा कुरा एकदम कम हुन्थ्यो । आवाजमात्र सुनेको भरमा शायद रमा पत्ता लगाउन सक्दिनथी होला राहुललाई । 

राहुल भने रमाको बारेमा कहिल्यै केही सोध्दैनथ्यो । उसको इमेलको रिप्लाई मात्र गथ्र्यो । आफैं केही सोध्दैनथ्यो । हरेकचोटि कम्प्युटरमा बस्दा रमाको पहिलो काम हुन्थ्यो इमेल चेक गर्ने । कतै छोराको इमेल पो आएको छ कि ? रमा अक्सर सोच्थी– किन छोरा मेरो बारेमा केही सोध्दैन ? उसलाई मेरो चासो छैन होला ? मसँग रिसाएको पो छ कि ?

“मम्मी हजुर कहाँ बस्नुहुन्छ ? एक्लै कि कोही साथीसँग बस्नुहुन्छ ? खुसी हुनुहुन्छ ?”

रमा सधैं चाहन्थी, छोराले यस्ता प्रश्नहरू गरोस् ऊसँग । केही उत्तर मागोस् ऊसँग । तर दुर्भाग्य ! प्रश्न गरिदिने कोही थिएन । प्रश्नै गर्ने कोही नभएका त हैनन् । समाजले, साथीभाइले, परिवारले प्रशस्तै प्रश्न गरे । उसले उत्तर पनि दिई । तर, प्रश्न गर्नुपर्ने मान्छेले प्रश्न गरेको थिएन । करिब १० वर्षअघि आफ्ना उत्तरहरू लिएर होस्टलमा छोरालाई भेट्न जाँदा उसको कुनै प्रतिक्रिया आएको थिएन । उसले चुपचाप सुनिरहेको थियो । उदासीन । मानौं, त्यो उसको सरोकारको विषय थिएन । त्यहीँ भएर पनि कतै हराएजस्तो ।

आजको दिनसम्म पनि ऊ यो विषयमा उदासीन थियो । नागरिकहरूका समस्याप्रति ‘डिस्इन्ट्रेस्टेड’ राजनीतिज्ञजस्तो । त्यही हराएको छोरालाई आज ऊ स्वागत गर्दै थिई । के यसपालि छोरा भेटिएला ?

३० मिनेट अरू बितेपछि रमाको बेचैनी थप बढ्यो । यतिका वर्षसम्म खुलेर कुरा नगरेको मान्छेसँग कसरी कुरा सुरु गर्ने ? के भन्ने ?

घर छोडेर हिँडेको दिनदेखि एक–दुई पटकबाहेक राजीवसँग रमाको भेट भएको थिएन । त्यो एक–दुई पटक पनि पारपाचुकेको सिलसिलामा भएको थियो ।

ऊ कहाँ बस्छ, के गर्छ– रमाको मतलबको विषय हुने कुरा पनि थिएन । तर, अचानक उसको दिमागमा एउटा कुरा आयो । राहुललाई रिसिभ गर्न राजीव पनि विमानस्थल आयो भने ? छोरा त उसको पनि हो । यसबारे पहिल्यै नसोचेकोमा थकथकी पनि लाग्यो । तर, अब धेरै ढिलो भइसकेको थियो ।

यात्रुहरू बाहिर आउने क्रम सुरु भएको सूचना प्रवाह भइरहेको थियो । कुरिरहेका आफन्तजनलाई हात हल्लाउँदै, परबाटै इसारा गर्दै हँसिलो मुद्रामा फ्लाइटका यात्रीहरू आउँदै थिए । पूर्वपति राजीवलाई वरपर नदेख्नाले रमाको अधीर मनलाई एक किसिमको शान्ति भने मिल्यो ।

करिब १० मिनेटपछि एउटा हातले ठूलो सुटकेस गुडाउँदै, अर्को हातले सानो झोला झुन्ड्याउदै आउँदै गरेको राहुललाई रमाले परैबाट देखी । एकछिनसम्म हेरिरही । छोरो ठूलो भएछ । हलक्क बढेको कद, छोटो कपाल, उही लामो अनुहार अनि उही चिउँडो । उसले पनि रमालाई परैबाट देख्यो, नजिक आयो ।

राहुल नजिकै आइसकेपछि रमाले दुई हात अघि बढाई । हातको झोला भुइँमा राखेर पहिले उसले रमालाई ढोग्यो ।

“आइ मिस्ड यु सो मच !” अघि बढेका हात पछाडि नहटाई रमाले भनी ।

राहुलले पहिले आमालाई हे¥यो अनि वरिपरि मान्छेलाई हे¥यो । अनि बल्ल लजाई–लजाई रमालाई अङ्कमाल गर्‍यो ।

“आइ मिस्ड यु टु !”

“अनि यात्रा कस्तो भयो ?” ट्याक्सीमा चढिसकेपछि रमाले सोधी ।

“ठीकै, खास अप्ठ्यारो भएन ।”

“कहाँ जाने हजुर ?” ट्याक्सी स्टार्ट गरेर ड्राइभरले सोध्यो । 

एकछिनको असजिलो मौनता चिर्दै रमा बोली, “सामाखुसी हिँड्नुस् ।”

राहुलले केही अप्ठ्यारो मानेजस्तो गर्‍यो तर केही बोलेन । सिसाबाहिर हेरिरह्यो ।

“हजुर सामाखुसी बस्नुहुन्छ ?”

“हो नि !”

“एक्लै ?”

“अँ । आजकल एक्लै ठीक लाग्छ ।”

लैनचौरतिर आएपछि राहुलले बाहिरतिर हेर्दै भन्यो, “बाटो त निकै चौडा भएछ, है ?”

“हो सर, आजकल सबैतिर यस्तै छ । तर, समस्यामा खास सुधार भने आएको छैन,” यसपालि ड्राइभर बोल्यो । उसलाई शायद लाग्यो, त्यो प्रश्न उसका लागि थियो ।

“त्यो किन ?”

“बाटो चौडा भएर के गर्ने सर, गाडी यति धेरै छन् ! फेरि हामी चालकहरूको त्यस्तो अनुशासन कहाँ छ र ?”

राहुलले मुन्टो हल्लायो, बुझेजस्तो गरी ।

“होटल बुक गरेको छ र ?” रमाले सोधी । छोराको अप्ठ्यारोपन ऊ बुझ्न सक्थी ।

“अँ, गर्न त गरेको थिएँ...” राहुलले अलि अन्कनाई–अन्कनाई भन्यो ।

“ठीकै छ, आज होटेल नै जाऊ, पछि भेटौंला नि ।”

“यु स्योर ?”

रमाले मुन्टो हल्लाई– माथि–तल, माथि–तल ।

रमा चाहन्थी छोरो उसैसँग बसोस् । आफूले पकाएको खाओस् । छोरासित राम्रोसँग समय नबिताएको वर्षौं भैसकेको थियो । आठ वर्षपछि घर आएको छोराको आठै दिनमात्र भए पनि सेवा गर्न चाहन्थी ऊ । तर छोराको पनि आफ्नै चाहना होला, रमा बुझ्थी । र, पनि आमाको मन न हो, किन मान्थ्यो र !

“कुन होटेल ?”

“ठमेलको हो ।”

“त्यहीँ हिँड्नुस् गुरुजी ।”

० ० ०

छोरा होटेलभित्र छिरिसकेपछि रमा घर फर्की । ठमेलदेखि सामाखुसी हिँडेरै आई । उसलाई हिँड्न मन पथ्र्यो । तीन कोठाको फ्ल्याट थियो रमाको । एउटा उसको बेडरुम, अर्को लाउन्ज रुम (भान्साकोठासहित) र अर्को पाहुना कोठा । पाहुना कोठा निकै सजिसजाउ गरेर राखेकी थिई, छोरा आउँछ भनेर । फ्ल्याटमा छिर्नेबित्तिकै हातमुख पनि नधोईकन रमा सोफामा डङ्रङ्ग ढली । 

मोबाइलमा म्यासेजको आवाजले ब्युँझिँदा दिउँसोको ३ बजिसकेको थियो । बिहानको त्यो स्फूर्ति रमाको शरीरबाट हराइसकेको थियो, सूर्यको किरणसँगै शीतका थोपा हराएजस्तै । तीन घण्टा सुते पनि एक किसिमको आलस्यले अझै छोडेको थिएन ।

उसका साथीहरूले साँझ कफीका लागि भेट्ने भनेर म्यासेज पठाएका रहेछन् । टाउको दुखेको छ भनेर रमाले बहाना बनाई । फ्रिजबाट वाइनको बोतल निकाली अनि ग्लासमा खन्याई, भरी ।

बाहिर बाल्कोनीमा गएर कुर्सीमा बसी । ग्लास आधा जति सकिँदा झट्ट केही सम्झेजस्तो गरी । मोबाइल उठाई । युट्युब खोली अनि टाइप गर्न थाली– ‘तुझसे नाराज नहीँ जिन्दगी, हैरान हुँ मै... ।’

० ० ०

बिहान ९ः३० बजेतिर रमा काममा जानका लागि तयार हुँदै गर्दा उसको फोन बज्यो । दुई घण्टीपछि फोन उठाई ।

“हेलो !”

“हेलो, मम्मी ।”

एकछिनको मौनतापछि रमा बोली, “अँ, भन ।”

“हिजोका लागि आई एम सरी ।”

“होइन, ठीकै छ ।”

“हजुरको आज साँझ फुर्सद छ ?”

“फुर्सद नै छ । किन र ?”

“हामी सँगै डिनर गर्ने कि भनेर !”

“अँ... हुन्छ ।”

“बाहिर कतै गरौँ न, हुन्छ ?”

“हुन्छ ।”

राहुल ठीक ६ बजे रमालाई लिन उसकै घर आइपुग्यो ट्याक्सीमा । त्यही ट्याक्सीमा चढेर उनीहरू गन्तव्यतिर लागे । गन्तव्य थियो ठमेलको कुनै एउटा रेस्टुरेन्ट । 

खाना अर्डर गरिसकेपछि राहुलले सोध्यो, “हजुर के पिउने ?”

रमाले खासै पिउन मन नलागेको कुरा गरी । राहुलले वेटरलाई बोलायो अनि अर्डर गर्‍यो, “एउटा टुबोर्ग बियर अनि एक ग्लास रेड वाइन, प्लिज ।”

केही बेरमै वेटरले उनीहरूको ड्रिंक्स ल्यायो, साथमा खाना पनि आइपुग्यो । 

“हिजो बुवा मलाई भेट्न होटेल आउनुभएको थियो साँझ ।”

रमाले कुनै प्रतिक्रिया जनाइन । 

फेरि छाएको मौनता चिर्दै रमा बोली, “ऊसँग तिम्रो कुरा हुन्छ ?”

“इमेलमा हुन्छ, कहिलेकाहीँ ।”

“विमानस्थलमै लिन आउँछु भन्नुभएको थियो, पछि के काम परेछ । त्यही भएर साँझ होटेलमा आउनुभएको ।”

“उसको सधैंको त्यही त हो, कहिले फुर्सद नहुने ।”

“एउटा कुरा सोधौं ?”

रमाले सहमति जनाउँदै मुन्टो हल्लाई । रमा चाहन्थी, ऊ केही प्रश्न गरोस्, केही जिज्ञासा राखोस्, केही उत्तर खोजोस् । वर्षौंदेखि मनभित्र कैद भारी बिसाउन चाहन्थी ऊ ।

“के हजुर खुसी हुनुहुन्छ अहिले ?”

लामो सास तानेपछि रमा बोली, “हो, खुसी छु । आफूले भनेजस्तो जिन्दगी बिताइरहेकी छु । न कुनै बाधा, न कुनै अड्चन । आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुमा एउटा छुट्टै मजा हुँदो रहेछ । शायद तिमी पनि बुझ्न सक्छौ होला अब त ।”

राहुलले मुन्टो हल्लायो ।

“त्यसको मतलब पहिले खुसी हुनुहुन्थेन ?”

“आक्कल झुक्कल रूपमा एकाध खुसीका पल हुन्थे, तर समग्रमा म खुसी थिइनँ ।”

“राजीव एकदम कन्ट्रोलिङ थियो र म आत्मनिर्भर भएको कहिले हेर्न सक्दैनथ्यो, जुन मलाई स्वीकार्य थिएन । चित्त नदुखाउनू, म तिम्रो बुवालाई उसको नामले बोलाउँदैछु ।”

“मलाई थाहा भएसम्म त तपार्इं बुवालाई सधैं नामले नै बोलाउनुहुन्छ ।”

रमा खिस्स हाँसी ।

“एक किसिमको घुटन हुन्थ्यो मलाई त्यो घरमा । तिमी होस्टल गएपछि त झनै गाह्रो भएको थियो,” रमाले थपी, “गाह्रो पनि भयो तर एक हिसाबले त्यही कुराले सजिलो पनि भयो मलाई आफ्नो निर्णय लिन ।”

“कसरी ?”

“तिमी लगभग बुझ्ने भइसकेका थियौ । होस्टलमा सुरक्षित थियौ । त्यसैले पनि सजिलो भयो,” रमाले भन्दै गई, “सुरुवाती पलहरू छोडेर एउटा कालो बादलसरह नै थिए राजीवसँग बिताएका ती वर्षहरू । तर त्यो कालो बादलमा एउटा सिल्भर लाइनिङ पनि थियो । त्यो के हो, जान्न चाहन्छौ ?”

“हजुर, म सुन्दै छु ।”

“तिमी ।”

राहुल मुस्कुरायो । केही लजाएजस्तो पनि गर्‍यो ।

डिनर सकिसक्दा दुबैले केही हल्काजस्तो महसुस गरे । वर्षौंदेखिको बोझ कतै बिसाएजस्तो । वजन केही कम भएजस्तो । रमालाई ट्याक्सीमा उसको घर पुर्‍याएर राहुल होटेलमै फर्कियो । न रमाले रात यतै घरमै बस भनी, न राहुलले त्यसो गर्ने इच्छा नै व्यक्त गर्‍यो । यस्तो लाग्थ्यो, उनीहरूबीच यसबारेमा मौन सहमति थियो ।

० ० ०

डिनरपछि केही दिनसम्म उनीहरूको भेट भएन । रमा आफ्नो काममा सदाझैं व्यस्त थिई भने उता राहुल वर्षौंपछि भेटेका साथीहरूसँग भेटघाटमा मस्त भयो । बीचमा एक दुईचोटि फोनमा कुराकानी भने भयो ।

राहुल नेपाल आएको एक हप्ता भइसकेको थियो । दुई दिनपछि उसको फिर्ती फ्लाइट थियो, शुक्रबारको दिन । बुधबार रमाले कामबाट राहुललाई फोन गर्ने प्रयास गरी तर दुई–तीनचोटि कोसिस गर्दा पनि फोन उठेन ।

साथीभाइहरूसँग व्यस्त होला भन्ने सोचेर रमाले अरू प्रयास गरिन । बाँकी दिन त्यसै बिते ।

बिहीबार बिहानै रमाको मोबाइलमा फोनको घण्टी बज्यो । को होला यति बिहानै भनेर झर्को मान्दै फोन उठाई ।

“हेलो, मम्मी !”

“तिमीलाई कतिचोटि फोन गर्न खोजें हिजो, उठेन ।”

“सरी, म एक–दुईवटा काममा अल्झेको थिएँ ।”

“साँच्चै, तिम्रो रिटर्न फ्लाइट भोलि होइन ?”

उताबाट केही आवाज आएन । एकछिनपछि राहुल बोल्यो, “एउटा अनुरोध छ मेरो तपाईंसँग ।”

“के हो त्यस्तो, भन न ।”

“पूरा गर्नुहुन्छ ?”

“पहिले मागेर त हेर ।”

“एक हप्ताका लागि छुट्टी लिन सक्नुहुन्छ ?”

“केका लागि ?”

“पहिले भन्नुस् न, सक्नुहुन्छ ?”

“सक्छु । मैले वर्षौं भयो छुट्टी नलिएको । त्यो सबै हिसाब गर्‍यो भने त दुई महिनै पो मिल्छ होला छुट्टी त ।”

“अहिलेलाई एक हप्ता भए पुग्छ । हामी सौराहा जाऊँ न भ्याकेसन, एक हप्ताका लागि ।”

“सौराहा ? भ्याकेसन ?”

“अनि भोलिको फ्लाइट ?” रमाले आश्चर्यमिश्रित स्वरमा सोधी । 

“मैले एयरलाइन्ससँग कुरा गरेर फ्लाइट डेट पोस्टपोन गरिसकें । त्यसैमा व्यस्त थिएँ म हिजो ।”

रमालाई एकछिन पत्याउनै गाह्रो भयो । छोराको यस्तो प्रस्ताव आउला भनेर उसले सोचेकी पनि थिइन । 

“त्यसो भए कहिले जाने त सौराहा ?”

“भोलि बिहानै । म हजुरलाई लिन ७ बजे घरै आउँछु ।”

“घरभित्रै आउँछौ कि अस्तिजस्तै बाहिरै उभिने हो ?” रमाले हाँस्दै सोधी । 

“भित्रै आउँछु । अनि अर्को कुरा...”

“लौ, अरू पनि बाँकी छ ?”

“होइन, थ्यांक यु !”

यो पटक रमा अलि जोडसँग हाँसी । आमा त्यसरी दिल खोलेर हाँसेको राहुल फोनको अर्को कुनाबाट पनि सुन्न सक्थ्यो ।

“यु आर वेलकम ।” यति भन्दै रमाले फोन राखी अनि लामो सास तानी । रमाको ओंठमा मुस्कान थियो, आँखा भने केही भिजेका थिए । 

खुसीका आँसु थिए ती शायद ।

० ० ०

योजनाअनुरूप राहुल अर्को बिहान ७ नबज्दै रमाको घर पुग्यो । यो पालि घरभित्रै गयो । रमा झोलामा आफ्ना सामान हाल्दै थिई ।

“चिया खाने ?” रमाले सोधी ।

“होइन मम्मी, उतै कलंकीतिरै खाम्ला । बरु चाँडै गरौं ।” राहुल अलि हतारमा जस्तो देखिन्थ्यो, सक्दो समय ऊ यात्रामै बिताउन चाहन्थ्यो आफ्नी आमासँग । यतिका वर्षपछि मिलेको अवसर । चिया भनेको त सधैं खाइरहेको कुरो ।

दुइटा स–साना सुटकेस बोकेर उनीहरू ट्याक्सी भएतिर सोझिए । कलंकी पुग्न धेरै समय लागेन । झर्नेबित्तिकै एउटा खलासी भाइ आएर उनीहरूलाई कहाँ जाने भनेर सोध्यो । सौराहा भन्न नपाउँदै उसले उनीहरूका सुटकेस उठायो अनि इसारा गर्‍यो अलि पर रोकिराखेको माइक्रोतिर । 

“अरे ! पहिले भाडाको कुरो मिलाउनु पर्‍यो नि,” खलासीको ताल देखेर रमा अचम्म मान्दै थिई । राहुल भने कुनै मोलमोलाइ गर्ने मुडमा थिएन । रमालाई चुप लाग्न इसारा ग¥यो । विदेशबाट आएको छोरो, लौ त ठीकै छ– रमाले सोची ।

रमा भित्र गएर झ्यालतिरको सिटमा बसी । एकैछिनमा आउने भन्दै राहुल बाहिर निस्कियो । खलासी भाइ ‘ल–ल सौराहा–सौराहा’ भन्दै कराउँदै थियो । लगभग १० मिनेटपछि राहुल आयो । माइक्रो हिँड्नै लागेको थियो ।

“कहाँ हराएको तिमी ? झन्डै गाडी छुटेको !”

राहुलको हातमा दुई कप चिया देखेपछि भने रमा हाँसी । राहुल सिटमा बस्न नपाउँदै माइक्रो अघि बढ्यो ।

२ बजेतिर उनीहरू सौराहा पुगे । राहुलले हिजो काठमाडौँबाटै होटेल बुक गरिसकेको रहेछ, त्यतैतिर लागे । छोराको सबै तयारी देखेर रमा दंग पर्दै थिई । 
होटेलमा पुगेर सामान राखीवरी फ्रेस भइसक्दा साँझ परिसकेको थियो ।

दिनभरिको यात्रा अनि थकानले गर्दा होला दुबैलाई भोक पनि निकै लागेको थियो । नजिकैको रेस्टुरेन्टमा गएर डिनर गर्ने प्रस्तावलाई रमाले सहर्ष स्वीकार गरी । रेस्टुरेन्टभित्र छिर्नेबित्तिकै वेटरले राहुललाई सोध्यो, “कति जनाका लागि हो सर टेबुल ?”

“तीन जनाका लागि ।”

राहुलको जवाफ सुनेर रमा आश्चर्यचकित भई । मान्छे त दुई जनामात्रै थिए ।

“गर्लफ्रेन्डलाई इन्ट्रोडिउस गराउने विचार हो क्या ?” रमाले जिस्किँदै सोधी । 

राहुल मुसुमुसु हाँसिरह्यो मात्र । रमाले मनमनै सोची, छोरा आफूसित खुल्दै छ ।

भित्र गएर कुर्सीमा बसिसकेपछि राहुलले खाना अर्डर गर्‍यो, दुबैका लागि ।

“पाहुनाका लागि चाहिँ कहिले अर्डर गर्ने ?”

“आएपछि गरम्ला नि,” राहुल फेरि मुसुक्क हाँस्यो ।

खासमा राहुलले रमा र राजीवको भेट गराउन चाहन्थ्यो । दुबैलाई भेटिसकेपछि उसलाई लागेको थियो– आमा–बुवा एक्लै खुसी छैनन् । दुबैजनाले एक्लै खुसी रहेको कुरा गरे पनि राहुल स्वयं भने यो कुरा मान्न तयार थिएन । दुबैका कुराप्रति ऊ आश्वस्त हुन सकेको थिएन । उसलाई लाग्थ्यो– यदि केही गरी दुबैलाई आमनेसामने ल्याएर कुरा गराइयो भने असमझदारी हट्छ । आखिर बुवाआमा सँगै भएको हेर्न कुनचाहिँ सन्तानलाई इच्छा नहोला र !

त्यत्तिकैमा राहुलको फोनमा म्यासेज आयो, “के छ स्थिति ? म आऊँ अब ?” राजीवको म्यासेज थियो त्यो ।

“एकछिनमा म हजुरलाई खबर गर्छु ।”

“गर्लफ्रेन्ड आउन ढिला हुने भयो ?” रमाले जिस्किँदै प्रश्न गरी । 

“एकछिन ढिला हुन्छ रे !”

राजीव आउनुभन्दा अगाडि नै राहुल रमालाई त्यसबारेमा बताउन चाहन्थ्यो । कसरी कुरा सुरु गर्ने होला सोच्दै गर्दा रमाको फोन बज्यो । पूरा घण्टी बज्यो, तर, उसले उठाइन । केही बेरमा फेरि फोन आयो । यसपटक भने उसले उठाई, तर अलि पर उभिएर कुरा गर्न थाली । राहुल खासखुस गरेको मात्र सुन्न सक्थ्यो । रमा एकदमै सानो आवाजमा कुरा गर्दै थिई ।

“साथीको फोन ? किन त्यति बिस्तारै कुरा गर्नुभएको ?” रमा आएर बसिसकेपछि राहुलले सोध्यो ।

“हो, साथीको फोन । केटा साथी ।”

“यु मिन ब्वायफ्रेन्ड ?” राहुल अचम्मित हुँदै सोध्यो ।

“हो, म तिमीलाई भन्ने नै वाला थिएँ । तिमीले सोधिहाल्यौ ।”

त्यत्तिकैमा राहुलको फोनमा फेरि म्यासेजको टोन आयो, “अब आउँदा हुँदैन ? कति बेर लागेको भन्या !” उता राजीवको अधीरता बढ्दै थियो ।

एकछिन सोचेर राहुलले म्यासेज टाइप गर्‍यो, “आज हजुर नआउनुस् । म हजुरलाई भेटेर भन्छु ।”

“के भो ? तिम्रो गर्लफ्रेन्डलाई लाज लाग्यो क्या हो मलाई भेट्न ?” रमाले ठट्यौलो पारामा सोधी ।

“होइन, उसको काम पर्‍यो रे आज !”

“ठीकै छ, अरू कुनै दिन भेटाऊ न ।”

राहुलले सहमति जनाउँदै मुन्टो हल्लाउँदा सौराहामा रात पर्नै आँटेको थियो ।

तपाईंको मत