साहित्य र कला

दृश्यान्तर

– महेश पौड्याल


उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरैपल्ट देखिसकेको थिएँ । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर, अरनिको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र गल्लीहरू प्रशस्तै छन् । कहिलेकाहीँ त पुरानै मान्छे पनि अलमलिने सम्भावना हुन्छ ।

तरकारी बजारका वरिपरि, बसपार्कमा, मितेरी अस्पतालको प्राङ्गणमा, मन्दिरका छेउछाउ– हो जताततै देखिन्थिन् उनी । कहिले पर्खालका आडमा लुकेर रुँदै गरेकी, कहिले बसपार्कमा आँसु पुछेर लोकका अगाडि मुस्कुराउने प्रयास गरिरहेकी । उनका ओठ कलेँटी परेका थिए, कुर्कुच्चा चर्चरी चिरिएका, जवानीमै गाला चाउरी परेका । ती चाउरीहरूका बीच सुकेको अश्रुधाराका थेग्रा स्पष्टै देख्न सकिन्थ्यो । ठाउँ–ठाउँमा च्यातिएर धुजाबाती भएका लुगा, छाला घोटिएर कालै भएका कुहिनाहरू, फुटेका ओठका धाँजाहरूमा दुःखका असङ्ख्य कारुणिक विम्बहरू छरिएका स्पष्टै देखिन्थे ।

आज लक्ष्मीपूजाको रात । सहर मैन र रङ्गीचङ्गी बिजुलीबत्तीले प्रदीप्त । पूर्वतिर त लक्ष्मीपूजा नगरी भैली खेल्नु हुँदैन भन्थे । हामीहरू भैली खेल्न जाँदा सँघारबाटै लक्ष्मी पुजेको–नपुजेको सोधेर मात्रै प्रवेश गथ्र्यौं । यहाँ काठमाडौँमा त दिउँसैदेखि सुरु हुँदो रहेछ देउसे–भैलेको ताँती छुट्ने क्रम । 

एक हुल भैले आएर आँगनमा बसे । दिउँसोको ४ बजेको हुँदो हो । बाहिर उज्यालै थियो । आकाशमा एक जुवाजति घाम अझ बाँकी नै थिए । भैलेले मौखिक एक–दुईवटा गीत गाएपछि क्यासेट प्लेयरको तार जोडें र मस्तसँग पपगीतमा नाच भर्न थालें ।

दुई–चारवटा पप गीत बजे । हामीले चाहेर पनि ध्यान दिन सकेनौँ । घरबेटीले भैलीमा ध्यान नदिनु उनीहरूबाट त्यति प्रभावित नहुनु हो, र भैलेबाट घरबेटी प्रभावित नहुनु भनेको भैलेका लागि निकै ठूलो चोट हो । शायद उनीहरूमध्ये कसैलाई यो कुराको भान परेको हुन सक्छ– ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ भन्ने गीत बजाइयो । स्वाभाविक रूपले त्यहाँको माहोलमा केही परिवर्तन आयो । हामीले पनि आनन्दको अनुभूति गर्‍यौँ ।

गेटमा बसेर भैलो नियालिरहेकी उनी सुस्त–सुस्त भित्रतिर घुस्रिइन् । आज उनको ललाटमा एउटा दुर्लभ प्रकृतिको खुसी टल्किइरहेको थियो । निधारमा घामजस्तै गोलाकारको ठूलो रातो टीको, सिउँदोभरि लालीगुँरासले पाखा ढकमक्क ढाकेजस्तै सिन्दूर, गलाभरि साउनमा लहराउँदै गरेका धानका गाभाजस्तो लहलह पोते, आङ्मा चौबन्दी र फरिया । हिजो–अस्ति देखिएकी उनी र आजकी उनीमा आकाश–जमिनको फरक थियो ।

उनी डराउँदै भित्र पसिन् र आँगनको एक  कुनामा उभिइन्, भर्खरै चिर्पट खाएको कुकुरजस्तै भयभीत । उनलाई शायद थाहा थियो, गाउँका सभा–समारोहमा र सुखद मुहूर्तहरूमा उनको उपस्थितिलाई स्वागत गरिँदैन ।

गीत गुञ्जिँदै गयो । नाच्नेहरू नाच्दै गए । मैले नाचभन्दा बढी चासो उनको प्रतिक्रियामा दिएँ । बिनाअवरोध भित्र प्रवेश पाएकोमा उनी दङ्ग थिइन् र अचम्भित पनि । उनका आँखाबाट हर्ष प्रज्वलित भैरहेको देखिन्थ्यो । उनले ओठभरि लाली पनि लगाएकी रहिछन् । उनका आँखा र अनुहारहरूको बाटो बिर्सिएको खुसी आज फर्किएर आएको उनको अनुहारमा बस्दा उनको सम्पूर्ण जीवन नै साँच्चै सुन्दर देखियो ।

मैले उनलाई अझ ध्यानपूर्वक नियालेँ । गीतको बोलसँगै उनका ओठ फर्फराइरहेका थिए । ती ओठको फर्फराहट र गीतको बोलमा अचम्मको तादात्म्य थियो । वास्तवमा उनलाई त्यो गीत कण्ठै थियो । सँगसँगै उनको जिउ गीतको तालसँगै झुम्दै गरेको आभास पनि सबैले पाए ।

गीत सकियो, र फेरि भैलेहरू पपमा फर्किए । उनको अनुहारमा पुनः सधैँको जस्तै विषाद दृष्टि फर्कियो । वसन्तपछि तुरुन्त शिशिर... माझमा लामो शून्यता, कति नसुहाउँदो ! मैले भैलेलाई आग्रह गरेँ, “फेरि एकपल्ट मोहनी लाग्ला है नै बजाउनुस् न । उहाँ दिदीको नाच हेरौँ ।”

मेरो आग्रहलाई भैलेले काटेनन् । बज्यो गीत । उनी उठिन् र नाच्न थालिन् । 

कस्तो सजीव नृत्य ! जीवन्त नाच । शिवको ताण्डवमा पनि थिएन होला यो सजीवता । मैले धेरै नाचहरू हेरेको छु जीवनमा । विश्वप्रख्यात मणिपुरी, कथक्कली, कुचिपुडीदेखि लिएर हाम्रै मारुनी, च्याब्रुङ, सोरठी, कौडा, धाननाच, बालनलगायत थुप्रै नाच । तर, कुनै पनि वर्गमा नपरेको त्यो नाचलाई मैले ‘जीवननाच’ भन्दा पृथक अन्य कुनै नाम जुराउन सकिनँ । ती ओठहरूमा लयबद्ध फर्फराहट, ललाटमा आनन्दको अभाष्य आभा, मन्द मुस्कानमा लोहित गाला, हातगोडामा सृष्टिको आदिम उत्तेजना । हेर्नेहरू हेरेको हेर्‍यै भए ।

गीत सकिन लागेको थियो । उनी एक्कासि रोक्किइन् र स्याँ–स्याँ भएको स्वरमा मलिन रूपले भनिन्, “गीत बन्द नगर ल । म आज धेरै नाच्छु ।”

गीत सकियो । फेरि देहोर्‍याइयो । फेरि सकियो । फेरि देहोर्‍याइयो । नाच जारी रह्यो । समय र अन्तरिक्षको व्यापकतालाई निरीह तुल्याउने त्यो असीमित ऊर्जामा ब्रह्माण्डको गति नै स्तब्ध होला कि जस्तो प्रतीत हुन्थ्यो । त्यो नाचमा कुनै नटराजको केही जोर नचल्ने प्रष्ट थियो । अन्य नाचहरूमा कला होला, यो नाचमा जीवनको गतिलाई उसको स्वाभाविक धावनमार्गबाट अन्यत्र मोड्न सक्ने दृढ इच्छाशक्ति र दम थियो ।

भैलेहरू शायद केही भन्न चाहन्थे तर घरबेटीलाई नृत्यमा ध्यानमग्न देखेर केही बोल्न सकेनन् । निकैबेरसम्म निर्वाद नाचेपछि टक्क रोक्किइन् उनी र हृदयको गतिलाई थाम्न नसकी भुइँमा लडिन् । केहीले उठाए र बसाए । उनी घोप्टो परिन् र केहीबेर उँधोमुण्टो लगाएर बसिरहिन् । हामी र भैलेहरू स्तब्ध भयौँ र भयभीत पनि । केहीबेरपछि उनले टाउको उठाइन् र भनिन्, “भोलि त तिहार सिद्धिन्छ हो ?”

“अँ !” सामूहिक जवाफ ।

अनि एक्कासि उनले डाँको छोडिन् । केही भैलेहरू छेउमा गएर सम्झाउन थाले । म पनि छेउतिरै तान्निएँ ।

“अनि त यसरी नाच्न पाइँदैन ।”

हामीले मुखामुख गर्‍यौँ । सबैका अनुहारमा विषाद दृष्टि । सबैभित्र एउटा अनौठो प्रकृतिको सहानुभूति ।

“किन र ? नाच्नलाई तिहारै चाहिन्छ र ?” कसैले सोध्यो । 

“अरुबेला नाच्दा मलाई सबैले कुट्छन् ।”

आसुँ बगी नै रहे । उनले आफ्नो गुन्यू माथि तानेर असङ्ख्य सुम्ला र डामले भरिएका तिघ्रा देखाइन् । चोलोका बाउला पनि तानिन् । त्यहाँ पनि निकै देखिए क्रूर डामहरू ।

कसैका मुख खुलेनन् । सबैको वाक्य रोकियो । केवल ती आँसुहरूको निर्वाद बहावमा तरङ्गित अव्यक्त कथामा अर्थ खोजिरहे उनीहरूले । निरन्तर निरन्तर नाचिरहन चाहन्थिन् तर शरीरको ऊर्जा सकिएपछि र मुटुले आदेश दिएपछि यथार्थका निष्प्राण पाउमा बज्रिन बाध्य भइन् अनि फेरि उही ‘बहुलाई’को बर्को ओढेर त्यहाँबाट हिँड्न बाध्य भइन् ।

भोलिपल्ट मैले फेरि देखेँ उनलाई, मितेरी अस्तपालको पर्खालछेउ बसेर आकाशतिर हेरिरहेकी । उही वीभत्स शरीर, उही थकित् अनुहार र उही विषाद दृष्टि । वरिपरि धेरै ‘मानिस’हरू थिए, म पनि थिएँ । कसैले चुरोट खाएर ठुटो उनीतिरै फालेछ । हत्तपत्त त्यो ठुटो फालेर उनी पुनः केन्द्रित भइन्, आकाशमा उड्दै गरेका बादलतिरै ।

तपाईंको मत