काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र वामपन्थी नभइ लाभपन्थी र दक्षिणपन्थी भएको आरोप लगाएका छन् । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले साना कम्युनिष्ट पार्टीमा संकिर्णता हावी भएकाले कम्युनिष्ट पार्टी एक हुन नसकेको बताए ।
“एमालेमा तीन लाख संगठित सदस्य एकै ठाउँमा बसेर काम गर्न सक्छन्, अरू साना पार्टी पनि एकै ठाउँमा बसेर काम गर्न नसकिने भन्ने होइन तर एक हुन सकिराखेका छैनन्,” उनले भने ।
उनले एमाले कम्युनिष्ट आन्दोलनको मात्रै मुल प्रवाह नभएको भन्दै देशकै राजनीतिको मुलप्रवाह भएको जिकिर गरे । “कसैकसैले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भनको सुनिन्छ । एमाले कम्युनिष्ट आन्दोलनकोमात्रै मूल प्रवाह होइन, देशकै मूल प्रवाह हो । एमालेको विचार, राजनीति, नीति, कार्यक्रम देशकै विचार, राजनीति नीति र कार्यक्रम हो,” उनले दाबी गरे ।
उनले माओवादी केन्द्र पदका लागि जस्तोसुकै दक्षिणपन्थीसँग साँठगाँठ गर्न पुगेको भन्दै ऊ वामपन्थी नभएको औँलयाए ।
एमालेले समृद्धिको उडान भरिरहेको भन्दै सानातिना संकिर्णतामा नअल्झने बताए । तात्कालिन र क्षणिक स्वार्थले अरूलाई अल्मल्याइरहेको उनको आसय थियो ।