साहित्य र कला

व्यवसायिक गाईजात्रा त नेताले गर्न थाले ...

राजाराम पौडेल नेपाली हास्यव्यङग्य क्षेत्रको अग्रणी नाम हो । २०३८ साल देखि हास्यव्यङग्यमा सक्रिय उनी अहिले पनि त्यती नै तन्नेरी लाग्छन् जति ०३८ सालमा उनमा कलाकारिताप्रति जोश थियो । उनी हरेक वर्ष आयोजना हुनेगाईजात्रा प्रहशनमा सहभागी हुँदै आएका छन् । अझै पनि उमेर र शरीरले साथ दिएसम्म कलाकारितामै सक्रिय हुने उनी बताउँछन् । उनै पौडेलसँग गाइजात्राका विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको  कुराकानीः 

गाईजात्रामा कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु भन्नुपर्छ । आजबाट सुरु भयो । भदौको ३ गतेसम्म यो कार्यक्रम छ । सार्वजनिक विदा नभएको दिन साढे ५ बजेको शो र सार्वजनिक बिदा भएको दिन निदको दुई शो हुँदैछ । 

सानो बेलामा पहिलोपटक गाईजात्रा हेरेको याद छ ?
गाईजात्रा हेर्दा सानो होइन म ठूलो नै भइसकेको थिएँ ।  विसं २०३७ सालमा प्रज्ञा भवनमा पहिलोपटक गाईजात्रा हेरेको हो । 

पहिलो पटक आफैंले गाईजात्रा गरेको ?
०३७ सालमा गाईजात्रा हेरें । ०३८ सालबाट त म आफैंले गाईजात्रा देखाउन थालें । अहिलेसम्म पनि यो क्रम टुटेको छैन नेपालमा रहेका बेला छुटेको छैन । 

अहिले भइरहेका गाईजात्राका कार्यक्रममा आफैंले चाहेको र सोचेको जति हास्यव्यङ्य प्रदर्शन, प्रहसन गर्न सकिन्छ कि सकिँदैन ?
सकिन्छ र दिइरहेका छौं जस्तो पनि लाग्छ । पहिलो शोमा चाहीँ हामी कलाकार पनि अनभिज्ञ जस्तै हुन्छौँ । पहिलो शो सकिएपछि दर्शकले त्यसलाई कसरी लिनुहुन्छ । कहाँ के मन पराउनु भयो र के मन पराउनु भएन त्यो विचार गरेर त्यसपछिका प्रहशनमा सुधार गर्ने गर्छौं । 

प्रहशनको पनि कथा हुन्छ हैन र ? काट्दा र थप्दा कथालाई न्याय हुन्छ ?
कथाको भाव नमर्ने गरी त्यसलाई सुधार गर्दै लैजान सकिन्छ । त्यसलाई अझै परिस्कृत गर्दै लैजाँदा फरक पर्दैन । गलत सन्देश जाने गरी कथालाई तोडमोड भने गरिँदैन ।

तपाइँहरुले गर्ने प्रशहनलाई गाईजात्रा भन्ने कि गाईजात्राका दिन निकालिने गाईजात्रालाई गाईजात्रा भन्ने हो ?
संस्कार, संस्कृतिका हिसावले निकालिने गाईजात्रालाई नै गाईजात्रा भन्ने हो । प्रताप मल्लले जुन उद्देश्यले सुरू गुर्न भएको थियो गाईजात्राको मर्मलाई हामीले सम्मान गर्नुपर्छ र गरेका छौं पनि । त्यही संस्कृतिलाई नै सत्यमोहन जोशीप्रज्ञा प्रतिष्ठानको सदस्यसचिव हुँदा पहल गर्नुभयो र हाम्रो संस्कृतिलाई किन नमनाउने भन्ने हिसावले उहाँले गाईजात्रालाई मञ्चमा ल्याउनु भएको हो । त्यही समयबाट सुरु भएको हो गाईजात्रे हास्यव्यंग्य । मुख्य संस्कृतिअन्तर्गत रहेर नै कलाकारहरुले गर्ने गाईजात्रा हो यो । 

यो संस्कृतिलाई व्यवसायिक बनाउन हुन्थ्यो कि हुँदैनथ्यो ?
व्यवसायिक गाईजात्रा त हाम्रो राजनीतिज्ञहरूले १२ महिना नै गरिरहनु भएको छ । हामीले त गाईजात्रामा मात्रै हँसाइरहेका छौं । 

उसो भए, राजनीतिज्ञहरूले १२ महिना तपाइँहरूले चाहीँ १५ दिन गाईजात्रा मनाउनुहुन्छ हैन ?
हामी सिजनमा मात्रै गर्दै आएका छौं । एकदिन मात्रै गर्दा पनि हुन्छ नहुने हैन । तर जनताका पीरमर्कासँग जोडिएको हुँदा सकेसम्म धेरैले हेर्न सक्ने अवस्था बनोस् भनेर केही दिन लम्व्याइएको हो ।

तपाईंहरूले नकारात्मक पक्ष उठाउनु भयो, सकारात्मक पक्ष नजरअन्दाज गर्नुभयो भन्छन् नि !
सकारात्मक पक्ष पनि हुन्छन् व्यक्तिका । र तिनलाई उठाउन पनि सकिन्छ । तर सकारात्मक पक्षलाई मात्रै हामीले उठायौं भने त्यो भजन हुन्छ । त्यो भजन रेडियो नेपालमा गएर गाए हुन्छ । यहाँ जनताले दुःख पाएको कुरा हामी गर्छौं । नेताहरूले आफ्नो पार्टी, मान्छे मात्रै हेरे र ठूलो समुदायलाई दुःख दिइरहेका छन् त्यसलाई नै हामीले चित्रण गरेका हौं । 

नकारात्मक पक्षलाई मात्रै देखाउँदा व्यक्ति झनै हतोत्साही हुँदैन ?
सकारात्मक पक्ष मात्रै देखायो भने त्यो सप्ताह हुन्छ । हामी सप्ताह लागाउँदैनौं । व्यङ्य गर्ने नकारात्मक पक्षकै हो । खबरदारी गर्ने पनि खराब काम गर्नेहरूकै हो । 

राजनीतिक व्यङ्ग्य मात्रै भयो भनेर टिप्पणी गर्नेहरू पनि छन् नि ! 
धेरैजसो नराम्रो काम गर्नेहरू राजनीतिज्ञ भएर हो । उहाँहरु गर्न हुने नहुने सबै गर्नुहुन्छ । त्यही भएर उहाँहरूको चित्रण गर्नुपरेको हो । जुन कुरा मान्छेले बोल्न सकेको छैन त्यसलाई हामीले भन्दा उहाँहरूको आत्माले भने जस्तो लाग्छ । दर्शक खुसी हुनुहुन्छ । 

गाईजात्रा कार्यक्रम हेर्र्ने दर्शक कुन वर्ग, समुदायका धेरै छन् ?
सबै नै हाम्रो लक्षित समूह हो । सकेसम्म र मिलेसम्म सबै आउनु हुन्छ । कति त यस्तो दर्शक पनि हुनुहुन्छ  जो ०३८ साल देखि नछुटाई निरन्तर हाम्रो गाईजाात्र हेर्न पनि आइरहनु भएको छ । कति चाहीँ टेलिभिजनमा कार्यक्रम आइहाल्छ त्यहीँ हेर्ने भनेर पनि बस्नुहुन्छ । तर यस्ता कार्यक्रम सेन्सरले धेरै काट्छ त्यसैले सकेसम्म प्रत्यक्ष कार्यक्रम नै हेर्न पनि म आग्रह गर्छु । दर्शकले साथ दिनुभयो भने यो कार्यक्रमले निरन्तरता पाउँछ । 

लामो समय भइसक्यो प्रहसन सुरु गर्नुभएको पनि कहिलेसम्म दर्शमले तपाईंलाई देख्न पाउनेछन् ?
शरीरले साथ दिएसम्म र देशमा भएसम्म दर्शकलाई हँसाउन सकेसम्म त सक्रिय हुन्छु । सँगै आयोजकले आयोजना र प्रायोजकले पनि प्रयोजन गर्नुपर्यो । नयाँ कलाकारहरू पनि आइरहनु भएको छ । हामी बिस्तारै विस्थापित पनि हुँदै जानुपर्छ ।

तपाईंहरू काठमाडौं केन्द्रित हुनुभए जस्तो लाग्छ किन ?
सत्य हो । हास्यव्यङ्ग्यबाट पनि सूचना र सन्देश प्रवाह गर्न सकिन्छ । त्यसैले यस्ता कार्यक्रम काठमाडौंमा मात्रै होइन काडमाडौं उपत्यका बाहिर पनि गर्न सकियो भने राम्रो हुने थियो । यसका लागि आयोजक र प्रायोजक चाहिन्छ । यदी यस्तो भएको खण्डमा हामी गाउँगाउँसम्म पनि पुग्न तयार छौं । 

तपाईंका मन पर्ने हास्य कलाकार ?
धेरै हुनुहुन्छ । सबैराम्रो हुनुहुन्छ । कसको नाम लिनु र खै  ?(लामो हाँसो)

आजसम्म आफैँले बोलेको मन छुने डाइलग हुन हो ?
धेरै छन् । कुन चाहीँ होला त । बुढो भएँछु कि के हो । हार्डड्रिङ्क्स नै फुल भएछ । यादै पो भएन..... । 

तस्बिरः ग्ल्यामर नेपाल डटकम

तपाईंको मत