काठमाडौं । हालै सनी देओल, बबी देओल र श्रेयस लतपडेको चलचित्र ‘पोस्टर बोइज’ लञ्च भयो । यसै अवसरमा सनी र बबी देओलका पिता तथा बलिउडका लेजेन्ड्री स्टार धर्मेन्द्र पनि उपस्थित थिए । चलचित्रका प्रस्तुतकर्ता धर्मेन्द्रले लञ्चमा आफ्ना बारे बताउँदै उनले आफ्ना दुई छोरा र आफू काम पाउनका लागि छक्कापञ्जामा विश्वास नगर्ने बताए ।
उनले भने, “हामी छक्कापञ्जा बुझ्दैनौँ, हामी सिधा हिंड्छौँ र हामीलाई थाहा छैन काम कसरी लिनुपर्छ । यदि हामीले पायौँ भने गर्छौँ । कुनै कामको लोभ पनि हामीलाई छैन । न नै कुनै कुरोका लागि पछि लाग्छौँ । हामी त्यही काम गर्छौँ जुन मनपर्छ । हामीले अहिले पनि काम पाएका छौँ किन यताउता दौड्ने, आवश्यक्ता नै के छ ?”
धर्मेन्द्रले विगत सम्झँदै भने “जब म अभिनेता बनेको थिइनँ, तब सडकमा साइकल कुदाउँदै चलचित्रका पोस्टर हेर्दै हिँड्थे । रातमा हिरो बन्ने सपना देख्थेँ । बिहान उठेर ऐनामा अनुहार हेर्दै, के म दिलिप कुमार बन्न सक्छु ? भन्ने सोच्थेँ । अभिनय मेरी प्रियसी हुन् म उनलाई छाड्न सक्तिनँ ।”
चलचित्र ‘पोस्टर बोइज’ मा सनी देओल, बबी देओल र श्रेयस तलपडेको मुख्य भूमिका छ । परिवार नियोजनको मुद्दालाई उठाएर बनाइएको कमेडी चलचित्र मराठी फिल्म ‘पोस्टर बोइज’ को हिन्दी रिमेक हो । निर्देशकका रूपमा श्रेयसको यो पहिलो चलचित्र हो, जसको प्रस्तुतकर्ता धर्मेन्द्र छन् ।
धर्मेन्द्रले भनेका छन्, “म यस्ता छोरा पाएर निकै खुसी छु, दुवै जमिनमा नै जोडिएका छन्, चाहे जति उचाइ छाऊन् ।”
आफ्नो प्रोडक्सनको ‘यमला पगला दिवाना’ का बारेमा बताउँदै उनले यसको तेस्रो भाग पनि आउने आशा राखेको बताए । ‘पोस्टर बोइज’ को पनि सिक्वेल बन्ने छ । चलचित्र ८ सेप्टेम्बरमा रिलिज हुँदैछ ।