लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफलाई ६१ रनको लक्ष्य दिएको छ ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । त्यस्तै रेवती धामीले १२ रन बनाउँदा सम्झना खड्काले ३ रनको योगदान गरिन् ।
बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कप्तान सीता राना मगरले एक विकेट लिन सफल भइन् ।
खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको खेलमा दुबै टोली दबाबमा रहेका छन् । मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको थियो ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । साविकको विजेता भएका हिसावले एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइलनमा आफूलाई स्थान बनाउने योजनामा हुनेछ ।
यता सुदूरपश्चिम प्रदेश पनि आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । दुबै टोली प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका छन् ।