काठमाडौं । मुलुकभरका किसान अहिले धान रोप्न व्यस्त छन् । असार लागेसँगै सुरु भएको रोपाइँ अहिलेसम्म करिब ९ प्रतिशत सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले मंगलबारसम्ममा मुलुकभर ८.९९ प्रतिशत धान किसानहरुले रोपिसकेको बताए ।
धानको वर्तमान अवस्था र आगामी रणनीतिसम्बन्धी बुधबार नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले आयोजना गरेको कार्यक्रममा सापकोटाले तराई क्षेत्रमा ५ प्रतिशत, मध्य पहाडमा १९ प्रतिशत र उच्च पहाडी क्षेत्रमा २१ प्रतिशत धान रोपाइँ सकेको जानकारी दिए ।
मन्त्रालयका अनुसार १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमध्ये मुलुकभर १ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गएको वर्ष भने यसै अवधिमा साढे १८ प्रतिशत धान किसानहरुले रोपिसकेका थिए ।