site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रकलाले जुराएका जोडी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भनिन्छ, प्रेम र एक-अर्काको साथले जिन्दगीको हरेक गाह्रो-अप्ठ्यारो यात्रा पनि सजिलै पार गर्न सकिन्छ । हामी जीवनसाथी रोज्दा प्राय: एउटै पेसा भएको खोजी गछौं । आफ्नो पेसालाई, सजिलै बुझोस् र जीवनको यात्राका साथै पेसागत यात्रामा पनि एक-अर्कालाई सल्लाह सुझाव दिँदै ढाड्स बन्‍न सकून् भन्‍ने सोच सबैमा हुन्छ ।

यस्तै जीवन र पेसागत यात्रामा एउटै सोच, लक्ष्य र एक-अर्काको ढाडस बनेर अघि बढिरहेका छन् चित्रकलाका धेरै जोडीमध्ये यी जोडी पनि । आर्ट नै जीवन सोचेर, यसैलाई पेसा बनाएर अघि बढिरहेका छन् । यिनीहरु ती भाग्यमानी जोडीमध्ये हुन् जसले चित्रकलाको क्यानभास र जीवनको क्यानभासलाई सँगसँगै रंगाइरहेका छन् ।

सविता डंगोल र इशान परियार 
चित्रकलालाई नै मुख्य पेसा र जीवन मानेर कलाकारितामा रमाइरहेका कलाकारद्वय सविता र इशानको भेट सन् २००७ मा ललितकला क्याम्पसमा भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एउटै कक्षामा भएपछि दुई वर्षमा उनीहरूको मित्रताको डोरी कसिलो भइसकेको थियो । क्याम्पसमा हुने कार्यक्रमदेखि ल्यान्डस्केप, पोट्रेटलगायत चित्रहरू क्यानभासमा उतार्न उनीहरू कहिले वसन्तपुर त कहिले नजिकैको डाँडाकाँडा धाउने गर्थे ।

कहिले कला प्रदर्शनी त कहिले बिहान ५/६ बजे उठेर शिक्षकहरूले दिएअनुरुप दैनिक जीवन र चहलपहल क्यानभासमा उतार्न उनीहरू असन, इन्द्रचोक, वसन्तपुर गएर त्याँहाबाट बल्ल कलेजतिर जान्थे सँगै ।

Royal Enfield Island Ad

दिनहरू बित्दै गएसँगै विस्तारै उनीहरूबीच निकटता पनि बढ्दै गयो । एक-अर्काका लागि मनमा कता-कता माया भने पलाउन थालिसकेको थियो । तर त्यो मनको मायालाई उनीहरूले आपसमा पोख्‍ने आँट भने गरेनन् ।

“एउटै विषय पढिरहेका थियौं । हामी कलेजले दिएको कामहरू पनि सँगै बसेर गर्ने गर्दा मनमा कहींकतै यो मान्छे ठीक छ है भन्ने त लागिसकेको थियो तर हामी पढाइमै यति फोकस थियौं कि प्रेमसम्बन्धमा बस्ने भन्ने सोचै आउँदैनथियो,” कलाकार सविता विगतमा डुबुल्की मार्दै सुनाउँछिन् ।

जति नै मनको कुरा मनमै राख्छु अहिलेको लागि सम्बन्धलाई मित्रतामा मात्रै कायम गरिराख्छु भन्दाभन्दै पनि इशानले सविताप्रतिको आफ्नो मनको भावना प्रकट गर्ने निधो गरेरै छोडे । र उनले एकदिन आफ्नो पेसा जस्तै कलात्मक रुपमै सवितालाई प्रेमप्रस्ताव राखे ।

“मैले सानो क्यानभासमा आई लभ यू लेखेर उसलाई दिएको थिएँ र त्यो दिँदा मैले सवितालाई घरमा लगेर यसमा एक्रेलिक नभई वाटर कलर गर है भनेको थिएँ,” किनभने सादा सेतो पेपरमा मैनले लेख्दा त्यो यतिकै हेर्दा हामीले देख्दैनौं । तर त्यसमा वाटर कलरले कोरेपछि मैनले लेखेको भन्दा अरू खाली भागमा पेन्टिङ बन्छ भने त्यो मैनले लेखेको कुराको आकृति कुदिन्छ ।

एउटै सोच, एउटै उद्देश्य भएको आफ्नो साथीले प्रेमप्रस्ताव राख्दा सविताले पनि खुसी हुँदै इशानको प्रस्तावलाई स्वीकार गरिन् ।

 

 

चित्रकलाको क्यानभाससँगै प्रेमसम्बन्धको क्यानभासलाई पनि रंगाउँदै संघर्षको यात्रामा अघि बढिरहेका उनीहरूले अन्तत १० वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय लिए ।

पेसा एउटै, उद्देश्य एउटै तर फरक जात उनीहरूको प्रेमसम्बन्धमा केही बाधक बनेर खडा भए । घरमा इशानको लगनशीलता, इमानदारीबारे अवगत तर जातको कुराले समाजले केही भन्ने हो कि भन्ने डर आमाबुबालाई थियो । तर सविताले परिवारलाई मनाउन सफल भइन् र अन्तत: सन् २०१६ मा उनीहरूले अन्तरजातीय प्रेम विवाह गरे ।

सविताका अनुसार एउटै पेसाको जीवनसाथी पाउँदा जीवनको व्यक्तिगत यात्रा मात्रै नभई व्यावसायिक यात्रा पनि सहज तरिकाले अघि बढाउन सकिने रहेछ ।

“आर्ट फिल्डमा आज हामी दुवैले जुन सफलता हासिल गरेका छौं  त्यो हामी एउटै पेसाका भएर हो जस्तो मलाई लाग्छ । किनभने हामी काम गर्दा पनि एक-अर्कालाई सल्लाह सुझाव दिएर गर्छौं । यदि इशान अर्कै पेसाको भएको भए मलाई केही कुरामा कन्फ्युजन हुँदा उसलाई सोध्‍नै सकिन्‍न थियो होला,” सविता भन्छिन् ।

यसको उदाहरण उनीहरूको कामलाई लिन सकिन्छ । सविताले विवाहपश्चात् नै आफ्नो कामलाई अझै विशिष्ट रुप दिँदै नयाँ कन्सेप्ट ‘कपल सिरिज’लाई निरन्तरता दिन थालेकी छिन् भने इशानले आफ्नो हरेक पेन्टिङमा डुंगालाई समावेश गर्छन् । 
सविताले कपल सिरिजमा पनि काइँयोको बिम्ब प्रयोग गर्ने गर्छिन् । हरेक पेन्टिङमा केटा र केटीलाई काइँयोले जोडेको देख्‍न सकिन्छ ।
 
“डुंगालाई मैले बिम्बका रुपमा प्रयोग गरेको छु । पानीमा बग्ने डुंगाजस्तै हाम्रो वैवाहिक जीवनको डुंगा पनि ब्यालेन्समा लैजान सके सफलता मिल्छ भन्ने सन्देश दिन खोजेको छु,” इशानले आफ्नो कामबारे प्रस्ट पारे ।

उनीहरू आर्टमार्फत पनि आफ्नो माया दर्साउने गरिरहन्छन् । यो जोडीले गएको वर्षको माघमा आफ्नो वैवाहिक सम्बन्धको चौथो वसन्त पार गरेको खुसीमा चित्रकला प्रदर्शनी गरेका थिए ।

एरिना ताम्राकार र आशा डंगोल
एरिना र आशालाई वैवाहिक सम्बन्धमा बाँधेको श्रेय पनि ललितकला क्याम्पसलाई नै जान्छ । कलेज एउटै भए पनि एरिना, आशाभन्दा सिनियर थिइन् । कलेजमा कहिले काहीं कार्यक्रममा भेटघाट भए पनि त्यति नजिकको चिनाजानी भने थिएन । 

एउटै कक्षामा नभए पनि आशा र एरिनाको लक्ष्य भनेको कलाकार बन्नु र चाहे जे जस्तो गाह्रो-साह्रो समय आए पनि कलाकारितामै जीवन व्यतित गर्ने थियो र छ पनि ।

यी दुईको जस्तै लक्ष्य बोकेका अन्य ८ जना साथीहरू पनि थिए । सन् १९९४ मा उनीहरू मिलेर ‘काष्ठमण्डप आर्टिस्ट ग्रुप’ समूह निर्माण गरे । दिवंगत कलाकार प्रशान्त श्रेष्ठको अगुवाइमा गठन भएको त्यस समूहको सामूहिक लक्ष्य भनेको जिन्दगीभर आर्टलाई समर्थन गर्ने थियो ।

 

 

उनीहरूले कुपन्डोलमा एउटा स्टुडियो पनि खोले, बिहान उठेर बेलुकीसम्म स्टुडियोमै जाने आर्टबारे छलफल गर्ने पेन्टिङ गर्ने उनीहरूको दैनिकी बन्‍न थाले । साथसाथै उनीहरूले कला प्रदर्शनी पनि सुरु गर्न थाले ।

उनीहरू आफ्ना हरेक कुरा यो समूहमा एक-अर्काबीच सेयर गर्थे । यस्तैमा एरिनाले पनि घरमा परिवारबाट लगातार रुपमा आएको विवाहको प्रेसरबारे साथीहरूलाई कहिलेकाहीं भनिरहेकी हुन्थिन् ।

“उमेर बढ्दै गएसँगै घरमा विवाहको धेरै कुरा आउन थल्यो । तर म भने विवाह गरे आर्टिस्टसँगै गर्छु नभए जिन्दगीभरि एक्लै बस्छु भन्ने निर्णयमा थिएँ । किनभने त्यो समयमा आर्ट क्षेत्र अहिलेको जस्तो फस्टाइसकेको थिएन भने अर्को भनेको कलाकारहरू पनि थोरै नै हुन्थे । संघर्ष धेरै थियो त्यही भएर अरू क्षेत्रकाले मलाई बुझ्‍न र पछिसम्म साथ दिँदैनन् जस्तो लाग्थ्यो,” एरिना अगाडि भन्छिन्, “फेरि मैले पूरा जीवन यही पेसामा दिने निर्णय लिइसकेको थिएँ ।”

एकदिन आशाले तिमीले त्यसतै सोचेको भए ल हामी विवाह गरौं न त भन्‍ने प्रस्ताव गर्‍यो । त्यसअघि उनीहरूबीच असल र निकट साथीको मात्रै सम्बन्ध थियो । नजिकको साथी भएको हिसाबले एक-अर्काको बानी, कामप्रतिको लगाव , उद्देश्य मिलेकै कारण आशाले एरिनासँग विवाह गर्दा आफूलाई बुझ्‍नेछिन् भन्ने सोचले विवाहको प्रस्ताव राखे र एरिनाले पनि उसको प्रस्तावमा दुईपटक सोच्नुपर्ने नै थिएन सीधै हुन्छ भनिन् र दुवैले परिवारसामु कुरा पुर्‍याए ।

परिवारको स्वीकृतिमा उनीहरू सन् २००२ मा वैवाहिक सम्बन्धमा बाँधिए । खुसीको कुरा आशाले कामप्रति देखाएको लगनशीलताले विवाहको खर्च उसले आफैंले जुटाउन सफल भए । “त्यो बेलासम्म मेरो संघर्षका दिनहरू सकिएर बजारमा थोरै मात्रामा चिन्‍ने भइसकेको थिएँ । विवाहअघि दुईपटक आशाको पेन्टिङहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री भइसकेका थिए भने थुप्रै प्रदर्शनी पनि भइसकेका थिए,” एरिनाले सुनाइन् ।

यस्तै एरिनाको पनि पेन्टिङले पनि थोरै मात्रामा मार्केट पाइसकेको थियो । विवाहअघि एरिना र आशा अरू प्रेमीप्रेमीका जस्तो फिल्म हेर्न जाने, कतै पार्कमा जाने काम त भएन तर दु:खसुख पोख्‍ने अनि एक-अर्कासँग समय बिताउने ठाउँ भनेको स्टुडियो नै थियो र छ पनि ।

अहिले पनि उनीहरू चाहे शनिबार होस् वा आइतबार कुपन्डोलमा रहेको आफ्नै आर्ट स्टुटियोमा क्यानभास रंगाउँदै भेटिन्छन् । “हामी कतै जाँदैनौं बिहान खाना खाएर स्टुडियो आउँछौं अनि बेलुका फर्कन्छौं । शनिबार, आइतबार केही पनि याद हुँदैन । हामीलाई स्टुडियो आएर पेन्टिङ गर्नजस्तो आनन्द अरू केहीमा पनि लाग्दैन,” एरिना दुवैको पेन्टिङप्रतिको लगाव सुनाउँछिन् ।

यसका साथै एरिनाले स्टुडियो मा आर्टको कक्षा पनि सञ्चालन गर्छिन् । उनीहरुले अग्‍नि ग्रुपका सुजन श्रेष्ठको अगुवाइमा काष्ठमाण्डप आर्टिस्ट साथीहरूको सहकार्यमा सन् २०१० देखि ‘ई-आर्टस नेपाल’ नामक अनलाइन आर्ट ग्यालरी पनि सञ्चालन गरिरहेका छन् ।

पहिले अन्तर्राष्ट्रिय बजार र कलेक्टरको पखाईमा बस्नुपर्ने अवस्था अहिले नभएको भन्दै आशा भन्छन्, “पछिल्लो समय नेपाली कर्पोरेट हाउसबाट नेपाली आर्टमा लगानी र चासो बढ्न थालेको छ । अग्‍नि ग्रुपको हरेक सोरुममा नेपाली कलाकारहरूको कला देख्न सक्छौं । त्यस्तै ज्योति ग्रुप, दलैला बुटिक होटल, म्युजियम अफ नेपाली आर्टलगायत थुप्रैले नेपाली कलाकारलाई प्राथमिकतामा राख्‍न थालेका छन् । जुन नेपाली आर्टिस्ट र आर्टको लागि एकदमै राम्रो खबर हो ।”

एरिना रंग र ब्रसमार्फत महिलाका विषयमा विशेषगरी ‘थर्ड आई’ अर्थात् तेस्रो नेत्रमा चित्र कोर्छिन् भने आशा समसामयिक विषयले आफ्नो क्यानभास रंगाउछन् । 

सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठ 
सन् २०१३ मा वैवाहिक सम्बन्धमा बाँधिएका सौरगंगा र पृथ्वी पनि एक-अर्कालाई सल्लाह, सुभाव र साथ दिँदै जिन्दगी र क्यानभासलाई रंगिन रङले सजाइरहेका छन् । ललितकला क्याम्पसमा पढ्ने क्रममा चिनजान भएका उनीहरूलाई मित्रता कहिले प्रेमसम्बन्धमा परिणत भयो पत्तै भएन ।

यसबारे प्रस्ट्याउँदै पृथ्वी भन्छन्, “सौर र म कहिले प्रेमसम्बधमा बस्यौं यादै भएन । किनभने हामी अरूजस्तै त्यति धेरै एक्सप्रेसिभ नभएर होला । कलेजमा हुँदा कार्यक्रम, कला प्रदर्शनी यस्तै यस्तैमा सँगसँगै जाँदा हामी एक-अर्कासँग नजिकिएका हौं ।”

 

 

पृथ्वीका अनुसार उनीहरू दुवैलाई यो पेसामा संघर्ष हुन्छ र यो पेसाबाट विलासी जीवन बिताउन सक्दैनौं भन्‍ने अवगत थियो । दुवैको एउटै सोच भएकाले पनि जीवनसाथीका रुपमा एक-अर्कालाई छानेको उनले बताए ।

श्रीमान र श्रीमती एउटै पेसामा हुँदा कहिले-काहीं प्रतिस्पर्धी भावना हुँदैन भन्ने जिज्ञासामा पृथ्वी भन्छन्, “प्रतिस्पर्धाभन्दा पनि मलाई त सधैं सौर (सौरगंगा) कै राम्रो होस् जस्तो लाग्छ । दुवै एउटै क्षेत्रमा हुँदा अझै अवसरहरू धेरै लिन सकिन्छ । मलाई त झन् एक-अर्काका लागि सपोर्ट हुन्छ जस्तो महसुस छ ।”

उनीहरूको अहिले १५ महिनाकी सानी छोरी छिन् । मुख्य पेसा यसैलाई बनाएर अघि बढिरहेका यी जोडीले आफ्नी छोरी पनि आर्ट मै लागोस् भन्‍ने इच्छा राख्छन् ।

“यसमा राम्रो मार्केट छ । मात्र हामी कलाकारमा धैर्यता र कामप्रतिको लगाव र क्षमता हुनुपर्छ । हामी हाम्रो छोरीले पनि सिर्जनात्मक पेसा नै रोजोस् भन्ने चाहन्छौं । तर अन्तिम निर्णय त उसैको हुन्छ । चाहे त्यो चित्रकाला होस, म्युजिक, डान्स जे रोजेपनि रोजोस तर सिर्जनात्मक पेसा रोजोस्,” पृथ्वी भन्छन् ।

चित्रकलामा अन्य पेसाजस्तो हरेक महिनामा पारिश्रमिक नआउने भए पनि मानिसमा यसप्रतिको सम्मान भने बढ्दै गएको महसुस उसले गरेको छ । “यो पेसा रोजेर खानै नपाउनेभन्दा पनि साधारण जीवनयापन धान्‍नसक्ने पेसा हो यो । तर त्यसमा कलाकारको क्षमतामा पनि भर पर्ने हुन्छ,” उनले भने ।

पृथ्वी कन्टेम्प्रोररी आर्टिस्ट हुन् भने सौरगंगा कन्टेम्प्रोररी र प्रिन्ट मेकिङ आर्टिस्ट हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro