काठमाडौं । मलेसियामा बन्धक बनाएर रकम असुल गरेको आारोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ साबिक सुन्दरपुर स्थायी बसोबास भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्दै आएका डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठ छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको कान्ति बाल अस्पताल क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठसहितको टोलीले मलेसियामै काम गर्ने दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई उनकी पत्नीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी धम्की दिने गरेको थियो ।
डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको बैंक खातामा मलेसियन ६० हजार रिङगेट हाले मात्रै पतिको ज्यान बच्ने भन्दै धम्की दिएको पाइएको सीआईबीका प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए । थापाका अनुसार पीडितकी पत्नीले फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ श्रेष्ठको खातामा पटक-पटक जम्मा गरेपछि मात्र अपहरित व्यक्ति अपहरण मुक्त भएका थिए ।
उनीहरुले मध्म रैदासको राहदानी आफ्नो कब्जामा लिई नेपाल आउन दिएका थिएनन् । डेभिड भनिने दुर्गाबहादुर अहिले नेपाल आएको भन्ने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो ।