मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको कडा लकडाउन दुई हप्ताका लागि थप गरिएको छ ।
कोभिड-१९ को नयाँ केसहरु पर्याप्त मात्रामा कम नभएकाले लकडाउन दुई हप्ता थप गरिएको मेलबर्नका अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्नमा लकडाउन लागु हुने बताएका छन् । उनले अक्टोबरदेखि क्रमबद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने बताएका छन् ।
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । अस्ट्रेलियाका कोभिड–१९ बाट मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
मेलबर्नमा ९ जुलाईमा दोस्रो चरणको लकडाउन जारी गरिउको थियो । मेलबर्नमा ५ किलोमिटरभन्दा बढी यात्रा गर्न नपाइने र रातिको समयमा कर्फ्यु जारी गरिएको छ । त्यसैगरी व्यापार व्यवसायसमेत ठप्प छन् ।
यो चौथो चरणको लकडाउन १३ सेप्टेम्बरमा सकिँदै छ । - बीबीसी