
नयाँ दिल्ली। भारतीय कांग्रेसका २३ वरिष्ठ नेताहरुको चिट्ठी सार्वजनिक हुँदा मच्चिएको उथलपुथल र त्यसपछि कांग्रेस कार्यसमितिको बैठकपछि अनेक प्रकारका अड्कलहरु लगाउन सुरु भएको छ ।
सबैभन्दा ठूलो प्रश्न उठेको छ- के अब पार्टीको नेतृत्व नेहरू-गान्धी परिवारबाट अन्य कसैमा जाला ?
कांग्रेसको राजनीतिलाई नजिकबाट बुझेका वरिष्ठ पत्रकार रशीद किदवईलाई सोनिया गान्धी अथवा राहुल गान्धीको नेतृत्वलाई लिएर सवाल उठिरहेको र उनीहरुबाट नेतृत्व खोस्ने कुरा भइरहेको भने लाग्दैन । उनी भन्छन्, “अधिकांश मानिसहरुलाई कांग्रेसमा सोनिया गान्धी अथवा राहुल गान्धीको नेतृत्वबाट कुनै आपत्ति छैन ।”
अर्का वरिष्ठ पत्रकार अपर्णा द्विवेदी राहुल गान्धीले कांग्रेसलाई पूर्ण रुपमा परिवर्तन गर्न स्वयम् अध्यक्ष पदबाट राजीनामा दिएको बताउँछिन् । कांग्रेसमा जति पनि उच्च पदमा रहेका पुराना नेताहरु छन् उनीहरुले पनि पदबाट राजीनामा देउन् भन्ने राहुलको भित्री आशय रहेको उनको भनाइ छ ।
उनी भन्छिन्, “राहुल गान्धीको त्यो बेलाको राजीनामाको प्रयास यही थियो । उनले आफूले राजीनामा दिँदा अरुहरुले पनि राजीनामा दिन्छन् र कांग्रेसलाई पूर्ण रुपमा परिवर्तन गर्न सकियोस् । तर, त्यो सम्भव देखिएन ।”
रशीद किदवईको पत्र लेख्ने नेताहरुलाई पार्टीभन्दा पनि आफ्नो चिन्ता रहेको दाबी गर्छन् । “नेतृत्व परिवर्तन हुँदा राजनीतिक दलमा महत्वपूर्ण पदमा रहेका व्यक्तिहरु पनि बाहिरिन्छन् । र नयाँ अनुहारहरु आउँछन् । अहिलेको द्वन्द्व पनि त्यही कारण देखिएको हो । राहुल गान्धी आफ्नो नयाँ टिम ल्याउन सक्छन् । त्यस कारण नेताहरुमा डर उत्पन्न भएको छ । उनीहरु आफ्नो भविष्यका प्रति चिन्तित छन् ।”
अन्य कसैमा जान सक्छ नेतृत्व ?
कैयौं राजनीतिक विश्लेषकहरुले कांग्रेसको अवस्था सुधार्नका लागि नेहरू-गान्धी परिवारले अब नेतृत्वको कमान कुनै अन्यलाई सुम्पिनुपर्ने बताइसकेका छन् । राहुल गान्धीले पनि अध्यक्ष पदबाट राजीनामा दिँदा पनि यो विषयले चर्चा पाएको थियो । पछि कांग्रेस महासचिव प्रियंका गान्धीले एक अन्तर्वार्तामा त्यसको समर्थन गरेकी थिइन् ।
राहुल गान्धीले २०१९ मा कांग्रेस अध्यक्षको पद छोड्दा कैयौं दिनसम्म पार्टीभित्र चर्चा पनि भएको थियो । तर, निष्कर्ष भने निस्कन सकेन । रशीद किदवई भन्छन्, “सबैले सोनिया र राहुलमध्ये कसैले नयाँ नेतृत्व मनोनित गरुन भन्ने चाहेका थिए । तर राहुलले नेताहरुलाई आप्mनो नेता आफैँ चुन्न भने । तर, नयाँ नेतृत्व चयन गर्न न त पार्टीमा इच्छाशक्ति छ उनीहरुको मन । यसैले निष्कर्ष निस्केन ।”
गान्धी नभए कसले पाउला नेतृत्व ?
गान्धी परिवारबाट अन्यलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था आए नेतृत्वमा आउने व्यक्तिलाई गान्धी परिवारको समर्थन आवश्यक पर्ने रशीद किदवई र अपर्णा द्विवेदी स्वीकार गर्छन् ।
पार्टीको नेतृत्व गान्धी परिवारबाट बाहिर जानका लागि गान्धी परिवार बिना पार्टी एक रहन सक्छ कि सक्दैन भन्ने विषय महत्वपूर्ण हुने अपर्णाको बुझाइ छ । गान्धी परिवार पार्टीलाई एक बनाइ राख्ने एक प्रकारको कोख भएको र गान्धी परिवारको विषय आउँदा ठूला नेताहरु पछि हट्ने गरेको उनको भनाइ छ ।
अपर्णा भन्छिन्– कांग्रेस पार्टीमा ठूला नामहरुको कमी छैन । तर ती नामहरुलाई पार्टीमा अन्य कति मान्छेले स्वीकार गर्छन् भन्ने कुरा मुख्य समस्या छ ।
पार्टीले पहिले जिम्मेवारी सुम्पिनका लागि पहिले ती ठूला नामहरु कुन कुन हुन भन्ने तय गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, “तर, सबैभन्दा जरूरी ती व्यक्तिलाई गन्धी परिवारको समर्थन मिल्न आवश्यक छ । यस्तो अवस्थामा गानधी परिवारप्रति वफादारहरुको नाम सबैभन्दा अगाडि आउँछ ।”
कांग्रेस अझै सम्हालिएन भने...
कांग्रेसले विपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको अपर्णा द्विवेदीको भनाइ छ । उनले कांग्रेससँग अनेक अवसर भए पनि उसले अवसरलाई सदुपयोग गर्न नसकेको बताइन् ।
अपर्णा भन्छिन्, “कांग्रेस जहाँ–जहाँ सत्तामा आयो, त्यसलाई सम्हाल्न सकिरहेको छैन । उसले जितेको बाजी पनि हार्दै गएको छ । योभन्दा नराम्रो अवस्था के हुन सक्छ । कांग्रेसमा सक्रिय नेतृत्व आउनुको मतलब चमत्कार नै हुने भने होइन । त्यो सम्भव नै छैन ।”
राजनीतिक दल नराम्रो अवस्थामा गुज्रिरहँदा अनेक प्रकारका हल्लाहरु चल्नु कुनै नौलो कुरा नभएको रशीद किदवईको भनाइ छ ।