site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाँच सय यात्रुले भरिएको रेलमा चरमपन्थी आक्रमण, अवस्था अज्ञात

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा पाँच सयहाराहारी यात्रुले भरिएको रेलमा सशस्त्र चरमपन्थीद्वारा आक्रमण गरी रोकिएको छ । पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ। यो हमला क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको हो ।

बीएलएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सिब्बी जिल्लामा रेलमा हमला गर्नुअघि रेलवे ट्र्याकलाई विस्फोट गराएका थियौँ । रेल अहिले हाम्रो कब्जामा छ।’ पाकिस्तानी प्रहरीले दिएको जानकारी अनुसार आक्रमणमा रेल चालकसहित तीनजना घाइते भएका छन् । 

सरकारी प्रवक्ता साहिद रिन्दले घटनास्थलमा सुरक्षाकर्मीहरू पठाइएको बताए । बलुचिस्तान सरकारका प्रवक्ताले बताएअनुसार रेलमा भारी गोलीबारीको रिपोर्ट आएको छ। बलुच लिबरेसन आर्मीले ट्रेनमा सवार धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो कब्जामा रहेको र यदि उनीहरूविरुद्ध कुनै कारबाही गरियो भने गम्भीर परिणाम भोग्नुपर्ने दाबी गरेको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्वेटाका एक वरिष्ठ रेलवे अधिकारी मुहम्मद कासिफले रेलमा चार सयदेखि पाँच सय यात्रु रहेको बताए । रेलवे सुरक्षा अधिकारी जिया कक्कडले उक्त क्षेत्रमा नेटवर्क समस्या भएकाले रेल चालक दलका सदस्यसँग सम्पर्क गर्न नसकेको बताए ।

सञ्चारमाध्यममा जारी विज्ञप्तिमा सरकारी प्रवक्ताले सिब्बी अस्पतालमा आपतकालीन घोषणा गरिएको र घटनास्थलमा एम्बुलेन्स पठाइएको जानकारी दिएका छन् ।

सरकारी प्रवक्ताका अनुसार रेलवे विभागले घटनास्थलमा राहत ट्रेन पठाएको छ। पहाडी र दुर्गम क्षेत्र भएकाले घटनास्थल पुग्न कठिनाइ भइरहेको छ ।

क्वेटा जिल्ला अस्पतालका प्रवक्ता डाक्टर वसिम बेग्लेले बीबीसीलाई दिएको जानकारी अनुसार सिब्बी र क्वेटाका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था लागु गरिएको छ। घाइतेको उपचारका लागि विशेष वार्ड निर्माण गर्न र अस्पतालका कर्मचारीलाई तयारी गर्न निर्देशन दिइएको छ ।

उनले सिब्बी अस्पतालमा १०० जना बिरामीको उपचार गर्ने सुविधा रहेको तर गम्भीर घाइतेलाई क्वेटा पठाइने बताए ।

जाफर एक्सप्रेसमा सवार यात्रुका परिवारले क्वेटा रेलवे स्टेसनको काउन्टरबाट जानकारी लिन खोजिरहेका छन्। आज बिहान क्वेटाबाट लाहोरका लागि प्रस्थान गरेका यात्रुसँग दिउँसो २ बजेदेखि सम्पर्क हुन नसकेको उनीहरूका परिवारजनले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्