विराटनगर । मोरङको लेटाङ नगरपालिका ‘सिल’ गरिएको छ । छिमेकी पालिकाहरूमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ ।
नगरमा ५४ जनाको द्रुत परीक्षण विधिबाट कोरोना भए–नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने, “सबै रिपोर्ट नेगेटिभ आएका छन् ।”
लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । नगर प्रमुख शंकर राईले दिएको जानकारी अनुसार लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरिएको हो । आवश्यकता मूल्यांकन गर्दै थप निर्णय गर्ने उनले बताए ।