विराटनगर । विराटनगरको कोसी अस्पतालमो ६ बेडको आइसोलेसन वार्ड तयार भएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकित बिरामीलाई यो बार्डामा राख्ने अस्पतालको तयारी छ । अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो ।
अस्पतालकी मेसु डा. संगीता मिश्रले फिभर क्लिनिकको रूपमा वार्ड सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गरेको छ । यसमा तीनवटा कोठामा दुई दुई बेड छन् । त्यसमा १२ जनासम्म बिरामी राखेर उपचार गर्न मिल्छ । मेसु मिश्रले भनिन्, ‘‘छुटै १० जनाको चिकित्सको टिम यो बार्डमा उपचारमा खटिनेछन् ।’’ मिश्रले बिरामीको उपचारमा कमजोरी नगरिने दाबी गरिन् ।
अस्पतालका चिकित्सक डेनप्रसाद आर्चायले, ‘‘यो वार्ड कोरोना संक्रमितलाई उपचार गर्न मिल्ने गरी बनाइएको छ ।’’ उनले अस्पतालले ज्वरो आएका बिरामीलाई विशेष ध्यान दिने गरेको बताए ।
प्रदेश सरकारले नोवेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत गरी २८ शय्याको आइसोलेसन वार्ड तयार गर्ने घोषणा गरेको थियो । चिकित्सकहरूले उपचारमा खटिदा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) पर्याप्त उपलब्ध हुनुपर्ने बताएका छन् । उपचारमा खटिने चिकित्सककोलागि हेल्मेट, चस्मा, मास्क, इमर्जेन्सी आइवास, पञ्जा, बुटलगायत सामग्री अति आवश्यक हुने मेसु मिश्रले बताइन् । यस्ता सामग्री एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने चिकित्सकले बताएका छन् ।