जनकपुरधाम । प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ ।
बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरे ।
जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन संचालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु भएको कम्पनीले जनाएको छ ।
यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मत लगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ ।
तालिम केन्द्रको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले एमएडब्लुको कदमको प्रशंसा गरे ।
उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताए ।