काठमाडौं । मलेसियाको प्रहरीले क्वालालुम्पुरस्थित उत्तर कोरियाको राजदूतावासका एक वरिष्ठ अधिकारीलाई किम जोङ नामको हत्या प्रकरणमा खोजिरहेको बताएको छ ।
उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको गत हप्ता क्वालालम्पुर एयरपोर्टमा मकाउको उडान कुरिरहेका बेला घातक रसायन प्रयोग गरेर हत्या गरिएको थियो ।
मलेसियाको प्रहरीले दुई महिलाले एयरपोर्टमा किम जोङ नामको अनुाहरमा घातक रसायन दलेर हत्या गरेको पुष्टि गरेको छ । यस हत्यामा उत्तर कोरियाको सरकारलाई आरोप लगाइएकोमा उक्त आरोपलाई उत्तर कोरियाले अस्वीकार गरेको छ ।
बुधबार क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा त्यहाँका प्रहरी प्रमुख खालिद अबु बकारले प्रहरीले यसअघि खोजिएको भन्दा थप ३ उत्तर कोरियालीको खोजीमा रहेको बताएका छन् । साथै उनीहरु मलेसियाभित्रै रहेको विश्वास उनले गरेका छन् ।
खोजीमा रहेका मध्ये एक दूतावासका द्वितीय सेक्रेटरी ह्योन क्वाङ सोङ भएको बताइएको छ । अन्य दुईजनामा किम उक इल नामका उत्तर कोरियाली एयरलाइन कोर्याेका कर्मचारी र अर्का रि जी यु नामका व्यक्ति भएको बताइएको छ ।