site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्रिदिम, लाङटाङ क्षेत्रको यात्रा
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
प्रकृतिले मन खोलेर दिएकी छन् रसुवा जिल्लालाई । संस्कृति, वनस्पति, भूगोल, पानी, खानी र वन्यजन्तु के छैन रसुवामा ? काठमाडौंको नजिक भईकन पनि भौतिक रूपमा पछि पर्ने दुर्भाग्यबाहेक अरु केही कुराको कमी छैन यहाँ । चीनसँगको सबैभन्दा नजिकको सुगम नाका यहीँ छ । मेहनती र मिलनसार मान्छेहरू र प्रकृतिको बीचमा तादम्य छ यहाँ ।
यसपटक रसुवाको ब्रिदिम गाउँ विकास समिति घुम्ने मौका पाइयो । स्याफ्रुबेसीसँग उत्तर–पूर्वतर्फ जोडिएको यो सुन्दर गाउँमा १९३ घरधुरी छन् । तिब्बती संस्कृति मान्ने र तिब्बती भाषा नै बोल्ने मान्छेहरू बस्छन् यहाँ । लिङलिङ, ब्रिदिम र खाम्जिङ गरी ३ वटा मुख्य बस्ती छन् । गत वर्षको भुइँचालोको कहर ठूलै रूपमा यहाँ पर्यो, जसले धनको मात्रै हैन, जनको पनि ठूलै क्षति गरेको छ ।
ब्रिदिम नामको कथा पनि निकै लामो छ । तिब्बतमा जतिबेला पशुपन्छी पनि मान्छेको भाषा बोल्थे, त्यतिबेलाको कुरा हो । दुईजना सिद्ध लामाहरूले धेरै याक र गोरुहरुलाई  स्वतन्त्र छोडेका थिए । तिनीहरु निस्फिक्रीसँग विचरण गर्थे र  खर्कखर्क चर्दै हिड्थे । यसरी घुम्ने क्रममा तिनलाई मान्छेले देखे । त्यस ठाउँमा यौटा सम्पन्न परिवारको बिहेको कुरा चल्दै थियो । बलिया र पोटिला ती याक र गोरुलाई देखेपछि मान्छेहरु औधी खुसी हुँदै बिहे भोजमा तिनलाई काटेर खाने सल्लाह गर्न थाले । यौटा ब्री (तिब्बती भाषामा माउ याक) र गोरु त्यस्ता कुरा सुनेर त्यहाँबाट भाग्दै नेपालतर्फ आए । तिनीहरु नेपालको सीमाभित्र आएपछि से थाङ (एकछिन आराम गरौं) भनेर बसे । सो ठाउँ अहिले टिमुरे गाविसको नामले चिनिन्छ । प्रख्यात रसुवागढी यही गाविसमा पर्छ ।
त्यसपछि तिनीहरू अझ अगाडि बढे । यता ती जनावर छोड्ने सिद्ध लामाहरुले ती दुई याक र गोरु भागेको थाहा पाई खोज्दै आउँदा हाल ब्रिदिम भनिने गाउँको छेउमा फेला पारे । तर, तत्कालै माउ याक लामाहरु देख्नासाथ जमिनमुनि अलप भइन् । याकको माउ (ब्रि) र जमिनमुनि हराउनु (थिम), ब्रिथिम पछि नेपाली भाषामा उच्चारण हुँदा ब्रिदिम हुन गयो । माउ याक जमिनमुनि गएको भनिएको ठाउँमा यौटा ढुंगामा स्पष्टसँग याक वा चौपायाको चारवटा खुरको डोब प्रष्टै देख्न सकिन्छ, जसलाई हाल संरक्षण गरेर राख्ने काम भइरहेको छ । 
  
यसै ठाउँमा ती दुई सिद्ध लामामध्ये एकको भनिने पाइला पनि सँगै रहेको ढुंगामा देखिन्छ । 
  
कथा यतिमै सकिँदैन । ब्रिदिम वडा नम्बर ४ का अगुवा र जानकार ङवाङ तामाङ  अगाडि भन्छन् ‘याक जमिनमुनि अलप भएपछि गोरु त्यहाँबाट भाग्यो । लामाहरु पनि पछिपछि आए र खाम्जिङ गाउँमा भेट्टाए र त्यस गोरुलाई बाँधे । तर गोरुले नफर्किने अडान लिँदै अगाडि बढ्न चाह्यो । गोरुसँगै उनीहरु अगाडि बढे । एक ठाउँमा पुगेपछि आराम गर्न बस्न लाग्दा गोरु भाग्ला भन्ने डर भई यौटा ढुंगामा प्वाल पारी गोरु बाँधे, जुन ठाउँ हाल लाङनासा गाउँले चिनिन्छ । तिब्बती भाषामा लाङ भन्नाले गोरु र नासा भन्नाले बाँध्ने ठाउँ हुन्छ, भन्छन् उनै  ङवाङ तामाङ । अहिले पनि लाङनासा गाउँमा गोरु बाँध्ने प्वाल भएको ढुंगा रहेको जानकारी तिनै तामाङ दाइबाट पाइयो ।  उनीहरु अगाडि बढ्दै रहे र स्यार्पागाउँ पुगे । त्यहाँ एकजना मान्छे मरेको देखी लामाहरु फोवा ग्यासे (मरेपछि गरिने एक कर्म) गर्न लाग्दा गोरुले कुलेलम ठोक्यो र ऊ अझ माथि पुगेछ । लामाहरु त्यहाँ पुग्दा त गोरु मज्जाले चरेर पेट फुलाएर बसेको रहेछ । लाङ गोरु टाङ फुलाएर बसेको हुनाले पछि यो ठाउँ लाङटाङ नामले प्रसिद्ध छ । नेपालको पदयात्रा मार्गमध्ये चल्तीको हिसाबले तीन नम्बरमा पर्ने यो ठाउँ यौटा सानो भूस्वर्ग हो ।  लामा त्यहाँ पनि आएपछि गोरु थप अगाडि बढी हाल केन्जिन नामले चिनिने यौटा रमणीय स्थलमा पुगी हातखुट्टा तन्काएर सुतेको रहेछ । तिब्बती भाषामा लाक्पा क्याङ भन्नाले हात तन्काएको र काङवा क्याङ भन्नाले खुट्टा तन्काएको भन्ने बुझिन्छ । गोरुले हातखुट्टा तन्काएर सुतेको हुनाले यस ठाउँको नाम क्याङजेन रहन गयो, जसलाई हामी केन्जिन वा क्यानजिन गुम्बाको नामले चिन्छौं । 
लामाहरुले नछोडेपछि गोरु फेरि बाटो लाग्यो । हाल क्यानजिन गुम्बा भनिने ठाउँबाट एक दिनको बाटोमा पुगेपछि गोरुको मृत्यु भयो । लाङ गोरु र सिसा मरेको हुनाले यस ठाउँलाई लाङसिसा भनिन्छ । त्यहाँ अहिले पनि त्यही गोरुको भनिने छाला, मुटु र फोक्सोको आकृति यौटा ठूलो ढुंगामा रहेको छ । यसैगरी त्यहाँ नजिकै अर्को एक ठूलो ढुंगामा पानीको दुईवटा पोखरी (दह)समेत छन् । यस ठाउँमा बर्सेनि ठूलो मेला लाग्ने गरेको कुरा पनि ङवाङ दाइबाटै थाहा पाइयो । 
यसैगरी सोही ठाउँबाट पर ढुंगामा ती दुई लामा उर्केन कु र थुवे कुको आकृति देखिने विश्वास गरिन्छ र हेर्दा नजिकै देखिने तर जति नजिक गयो उति पर पुग्ने र कहिल्यै नभेटिने/नपुगिने बताँउछन् ङवाङ तामाङ र अन्य स्थानीय ।
स्याफ्रुबेंसीबाट रसुवागढीतर्फ ५ किलोमिटर जति अगाडि गएपछि आउँछ ब्रिदिम जाने बाटो । कच्ची सडक बनिसकेको छ । तर, हाल बिग्रिएको छ ठाउँठाउँमा पहिरो गएर । त्यसैले  त्यहाँबाट विस्तारै उकालो लाग्दा पहिले पुगिन्छ  लिङलिङ गाउँ । त्यहाँबाट तल सुसाउँदै बग्ने भोटेकोसी, पारिपट्टि मिलेर बसेको थुमन गाउँ, पश्चिम दक्षिणमा रहेको गोल्जुङ, गत्लाङ र चिलिमे गाउँहरुको दृश्यले मजैले ध्यान तान्छ सबैको । खाजा खान र बस्नका लागि केही होमस्टेको व्यवस्था छ त्यहाँ । बिस्तारै करिमकरिम उकालो लागेर करिब डेढ घन्टाजति हिँडेपछि पुगिन्छ ब्रिदिम गाउँ, जहाँका सबै घरहरु अतिथिलाई स्वागत गर्न  हँसिलो र सफा भएर बसेका छन् । एक रातमा ५० भन्दा बढी पाहुनालाई स्वागत गर्न तयार छ यो गाउँ होमस्टेमार्फत् । प्रकृतिको नीरवता, छङछङ गर्दै बग्ने खोलाखोल्सा र कुलाहरु अनि पानीको जोडले ओम मानी पेमे हुम लेखिएका माने निरन्तर घुमिरहेका छन् बुद्ध मन्त्रका साथ । 
यहाँबाट डेढ घन्टाजति दक्षिण करिमकरिम हिँडेपछि पुगिन्छ खाम्जिङ गाउँ । यो पनि उत्तिकै मनोहर छ । यहाँबाट दक्षिणतर्फ अगाडि जाँदा पुगिन्छ ठूलो स्याफ्रु, त्यसपछि धुन्चे । तल झरे स्याफ्रुबेंसी अनि माथि लागे स्यार्पागाउँ, घोडा तबेला अनि लाङटाङ । 
यात्रा अवधिभरको बाटोको कुरा गर्दा राम्रो गोरेटो बाटो छ, प्राकृतिक छटाहरु छन् र भेटिन्छन् विभिन्न जनावर र पन्छीहरु । यो क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । रातो पाण्डाका लागि पनि यो क्षेत्र प्रख्यात छ । मिलाएर एक साताको भ्रमणमा निस्कने हो भने मनमात्रै हैन शरीर पनि शुद्ध हुन्छ अपूर्व आनन्दका साथ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC