site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
राजनीतिक आवरणमा गरिने अपराधले उन्मुक्ति पाउने गरेकाले नै आततायीहरूलाई विद्यालयमा बम राखेर आतङ् मच्चाउने आँट आएको हो । विद्यालयको प्राङ्गणमा बम राखेर बालबालिकालाई क्षति पुर्‍याउन र आतङ्कित पार्न खोज्नु जघन्य अपराध हो । राजधानीका केही विद्यालयमा मंगलवार बिहान बम भेटिएपछि राज्यको सुरक्षा संयन्त्रको मात्र हैन सरकारको नियतमा पनि प्रश्न उठेको छ । विद्यालयमा बम राखेर बालबालिकालगायत सर्वसाधारणलाई आतङ्कित पार्नेहरूलाई यथाशीघ्र पक्रेर कानुनी कारबाही नगर्ने हो भने मुलुक पुनः अराजकताको भासमा पर्नेछ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेका छन् । यस्तै आतंककारी क्रियाकलाप माओवादीले पनि एक दशकसम्म गरेको थियो । बमसँगै भेटिएका पर्चामा माओवादीहरूकै जस्तो शब्द र भाषा प्रयोग भएको देखिन्छ । यसैका अाधारमा कुनै व्यक्ति वा समूहलार्इ दोष दिन भने न्यायोचित हुँदैन । यस्तो क्रियाकलाप सरकारलाई बदनाम गरेर जनताका नजरबाट गिराउन पनि प्रायोजित गरिएको हुनसक्छ । तर, राजनीतिक आवरणमा गरिने जघन्य अपराधलाई समेत बेवास्ता गर्ने वा उन्मुक्ति दिने प्रवृत्ति रहेकाले यस्ता अपराधीको हौसला बढ्छ भन्नेमा भने दुई मत हुँदैन ।
 
माओवादी सशस्त्र विद्रोह कालका घटनामा मानवताविरुद्ध जघन्य अपराध गर्नेहरूमाथि बेलैमा कानुनबमोजिम कारबाही गरिएको भए शान्ति प्रक्रिया सुरु भएपछि कसैले पनि राजनीतिका नाममा मानवता विरोधी अपराध गर्ने आँट गर्ने थिएन । संविधान सभाको दोस्रो निर्वाचनकै बेलामा राजधानीको एउटा मतदान केन्द्रमा बम विस्फोट गराइयो । एक जना निर्दोष बालक त्यसको सिकार भए । बम विस्फोटको जिम्मा पनि माओवादीकै एउटा समूहले लियो । तर, कसैमाथि कानुनी कारबाही भएन । अहिले त्यतिबेला बम विस्फोट गराउने समूहको नेतृत्वमा रहेका व्यक्ति माओवादी केन्द्रमा नेता छन् । माओवादीकै अर्को घटकले बन्दका बेला जनसाधारणलाई आतंकित बनाउन चालकसहितको ट्याक्सीमा आगो लगाउने गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिमाथि सामान्य कानुनी कारबाही गरे पनि त्यसको आह्वान गर्नेलाई उत्तरदायी बनाउने प्रयास सरकारले कहिल्यै गरेको देखिँदैन । दण्डहीनतालाई प्रश्रय दिने यस्तै प्रवृत्तिले देशमा अराजकता बढ्छ । 
 
यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले कृष्ण चरित्रको एउटा घटना स्मरण र अनुकरण गर्नु उचित हुनेछ । सत्यजितसँग बहुमूल्य मणि थियो । एक दिन उनका भाइ प्रसेनजित मणि लिएर सिकारमा गए तर फर्केर आएनन् । सत्यजितले कृष्णलाई उनको छोरा मारेर मणि लुटेको आरोप लगाए । त्यसपछि कृष्ण सत्यजितको मणि खोज्न आफैँ वनमा गए । गुफामा जाम्बवानसँग भेट र युद्ध भयो । जाम्बवानले छोरी जाम्बवती र श्यमन्तक मणि कृष्णलाई सुम्पे । प्रसेनजितलाई जाम्बवानले मारेका रहेछन् । अनि कृष्णले मणि लगेर सत्यजितलाई दिएर कलङ्कबाट मुक्त भए । प्रधानमन्त्री दाहालमाथि दण्डहीनतालाई प्रश्रय दिने गरेको आरोप लागेको छ । भारत भ्रमणका क्रममा उनले जघन्य अपराधमा संलग्न भएको अभियोग लागेको फरार अभियुक्तसँग भेट र भलाकुसारी गरेको तस्बिरसहितको समाचार सार्वजनिक भएको छ । विधिको शासन र लोकतान्त्रिक अभ्यास बलियो भएको मुलुकमा भए यस्तो बात लागिसकेपछि तत्काल राजीनामा गर्नुपर्थ्यो । नेपालमा अहिलेसम्म कसैले पनि उनको राजीनामा मागेका छैनन् । तर, दण्डहीनताविरुद्ध उनले स्पष्ट अडान राखेनन् र अपराधीलाई उन्मुक्ति दिलाउने प्रयासमा सरकार नै लाग्यो भने जनता सधैँ मूकदर्शक रहने छैनन् । यसैले तत्काल यस आतंकको निन्दा गरेर अपराधी र तिनका नेतालाई समेत मानवताविरुद्धको अपराधप्रति जिम्मेवार बनाउन प्रधानमन्त्री दाहाल स्वयंले विशेष ध्यान दिनुपर्छ ।   
  
 
     
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement