काठमाडौं । नेपाल भर्खरै बहुदलीय व्यवस्थामा प्रवेश गरेको थियो । निजी क्षेत्र भर्खरै वामे सर्दै थियो ।
गोकर्णमा सानो आकारको गल्फ कोर्स थियो । न त त्यो व्यवस्थित थियो, न त सुविधासहितको । कोर्सभित्र कतै पिकनिक हुन्थ्यो, त कतै बीच बीचबाट यात्रु ओहोरदोहोर गर्थे ।
त्यसबेला राजपरिवारको नाममा रहेको यस कोर्सलाई प्रतिष्पर्धामा लगेर १८ होलको सुविधा सम्पन्न कोर्स र होटल पनि बनाउने गरी दरबारले प्रतिष्पर्धा आह्वान गर्यो ।
विश्वमै परिचित ओवरायसमूहदेखि विभिन्न कम्पनीले चासो देखाए । तर, प्रतिष्पर्धा जित्न सफल भए, भारतीय मूलका एकजना विश्वस्तरका व्यवसायी ।
जसको परिवारले भारत, अमेरिका, जापान, बैंकक, सिंगापुर, हङकङलगायतका देशमा व्यापार फैलाएको थियो । अर्थात्, ती व्यापार व्यवसायको नेतृत्व गर्ने व्यवसायी थिए, प्रेमसरूप सचदेव ।
प्रतिष्पर्धामा छानिएपछि उनले गोकर्णमा कोर्स बनाउन थाले । तर, ठाउँ यस्तो पर्यो कि जुनसुकै समथर भूभागमा कोर्स बनाउन थालेको भए नौ महिनामै सकिन्थ्यो । तर, यहाँको भौगोलिक परिस्थितिले साढे तीन वर्ष कोर्स बनाउनै लाग्यो ।
विश्वमै चर्तित डिजाइनरलाई नेपाल झिकाए, अनि गोकर्णमा धमाधम कोर्स बनाउन लागे ।
उनले त्यसबेला भारतमा रहेको आफ्नो निजी गल्फ कोर्स भर्खरै बिक्री गरेका थिए ।
भारतको गुडगावँमा रहेको कोर्स बिक्री गरेको अर्ब बढी रकम त्यसबेला नै उनले लिजमा लिएको गोकर्णमा खर्चिए ।
जानकारहरू भन्छन्– उनले त्यसबेला यहाँको सरकारी सम्पत्तिमा गरेको लगानीले अर्को यति नै क्षेत्रफलमा कोर्स बनाउन सकिन्थ्यो ।
तर, विश्व बुझेका सचदेवले त्यतातर्फ ध्यान दिएनन् । किनकि उनलाई गोकर्णको हावापानी र भूबनोट राम्रोसँग थाहा थियो ।
यहाँ कोर्स बनाउन सके विश्वभरबाट पर्यटक ल्याउन सक्छु भन्ने उनमा लागेको थियो । “त्यसबेला उहाँले यहाँको जंगल र वातावरण हेरेर नै लगानी गर्नुभएको थियो । उहाँले तत्काल भन्दा पनि दीर्घकालका लागि सोच्नुभएको हामीले पायौँ,” गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्य भन्छन्, “विश्वलाई चिनाउन र विश्वका पर्यटक ल्याउन योभन्दा अर्को उपयुक्त स्थान नहुने उहाँको निष्कर्ष थियो ।”
त्यसबेला पनि सचदेवको एउटै भनाइ हुन्थ्यो– विश्वभरबाट पर्यटक नेपाल ल्याउनुपर्छ, यहाँ बन्दै गरेको होटलमा राख्नुपर्छ । यहीँको गल्फ खेलाउनु नै सबैभन्दा उपयुक्त हुन्छ ।
सन् १९९५ बाट निर्माण सुरु भएको गोकर्ण गल्फ कोर्स साढे तीन वर्षमा करिब तयार भएको थियो ।
भारत, सिंगापुर, जापान, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट पर्यटक ल्याएर गल्फ खेलाउने उनको इच्छा थियो ।
इच्छाअनुसार कोर्सको निर्माण सम्पन्न भएलगत्तै अमेरिका, अस्ट्रलियालगायतका देशबाट जहाज चार्टर्ड गरेर पर्यटक नेपाल नआएका होइनन् । आए पनि । तर, नेपालमा भइरहेको द्वन्द्वको असर नराम्रोसँगै पर्यो ।
“अमेरिका र अस्ट्रेलियाबाट चार्टर्ड जहाज लिएर नेपालमा अर्बपतिहरू खेल्न आए । सम्भवतः नेपालको इतिहासमै यो यो दुर्लभ क्षण होला,” आचार्य भन्छन्, “१९९९ मा अमेरिकाबाट निजी जहाज लिएर दुईवटा समूह आएका थिए । नेपालमा भएको द्वन्द्वको असर यहाँ पनि नपर्ने कुरै भएन । त्यसपछि नेपालमा त्यसरी पर्यटक आउन डराए ।”
नेपालमा अन्तर्राष्ट्रियस्तरको कोर्स तयार पारेर विश्वभर चिनाउन सफल सचदेव यहाँको अवस्था देखेर पलायन हुने सोचमा पुगे ।
नेपालमा केही संख्यामा भएको गल्फरहरूको संख्या त्यसपछि ह्वात्तै बढ्यो । सचदेवको स्पष्ट निर्देशन थियो– कसैसँग पैसा छैन र गल्फ खेल्ने चाहना छ भने दिनू ।
त्यसरी पनि कैयौँ नेपाली गल्फर बन्न सफल भए । नेपालको अवस्थाले सचदेवलाई विस्तारै देश छाड्नुपर्छ भन्ने लाग्यो ।
अनि सन् २०१० मा उनले आफूले सम्हालिरहेको व्यवसाय अर्का व्यवसायी आङ छिरिङ शेर्पालाई बिक्री गरे ।
त्यसबेला नेपाल सरकारको स्वामित्वमा आइसकेको उक्त सम्पत्ति त्यसबेलाको नियमअनुसार नै सचदेवले बिक्री गरे र नेपालबाट बाहिरिए ।
नेपालमा सीमित वर्गले सानो समूहमा खेल्ने गल्फलाई सचदेवले अन्तर्राष्ट्रियस्तरको बनाइदिए, गोकर्ण गल्फ कोर्स बनेपछि नेपाल एकैपल्ट अन्तर्राष्ट्रिय स्तरमा परिचित भयो ।
निर्माण सम्पन्न हुनासाथ अमेरिका, अस्ट्रेलियाबाट जहाज चार्टर्ड गरेर अर्बपतिहरू खेल्न आउन थालेका थिए, तर नेपालको अवस्थाका कारण रोकिए ।
नेपालको त्यो परिचय स्थापित गर्ने व्यक्तित्वलाई बाह्रखरी मिडिया र नेपाल गल्फ एसोसियसनले अन्तर्राष्ट्रिय गल्फ दिवसको अवसर पारेर सम्मान गरेको छ ।