डा. गोविन्द केसीको सुरुदेखिकै अनशनका बारेमा म जानकार छु । उहाँसँग चिनाजान नहुँदाको अवस्थामा पनि उहाँको अनशनमा ऐक्यवद्धताको लागि गएर रजिष्टरमा हस्ताक्षर गरेको थिएँ । उहाँको पहिलो अनशनमै पुगेर हस्ताक्षर गरेको छु ।
पछि हामी जोडिनै पर्ने अवस्था लोकमान सिंह कार्कीको नियुक्ति सम्बन्धमा रह्यो । मैले लोकमान सिंह कार्कीको नियुक्तिलाई चुनौती दिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थिएँ । त्यो मुद्दा चलिरहेको थियो । कानुनी संघर्ष जारी थियो । मेडिकल शिक्षाको विकृतिका लागि कार्की जिम्मेवार भन्ने निष्कर्षमा पुगेपछि डा. गोविन्द केसी पनि उनको महाभियोगको माग राखेर अनशनमा बस्नुभयो । मैले पनि लोकमानको नियुक्ति बदरको माग गर्दै मुद्दा दायर गरेको हुँदा हामीबीच यस विषयमा छलफल पनि भए ।
उहाँले लोकमानको नियुक्तिपछि गरेका कामको आधारमा उनी दण्डित हुनुपर्छ भनेर अनशन सुरु गरेको हुनाले हामी एकै ठाउँमा उभियौँ ।
त्यहाँ रहनुभएका साथीमध्ये नै डा. अभिषेषकराज सिंहले मलाई डा. केसीसँग व्यक्तिगत रुपमा नै चिनाजान गराउनुभएको हो जस्तो लाग्छ । त्यसभन्दा अगाडिका अनशनमा गयो, उहाँलाई भेट्यो नमस्कार गरेर फर्कियो गर्थेँ ।
त्यस खालको सम्बन्धमात्रै थियो । लोकमानको विषयमा उहाँले कानुनी पाटोका बारेमा पनि मसँग धेरै कुरा सोध्नुभयो । महाभियोग अहिले सम्भव हुन्छ कि हुँदैन भन्ने खालका कुरा पनि हुन्थ्यो । कानुनी परामर्श उहाँले मसँग लिन थाल्नुभयो । बिस्तारै कार्की अलोकप्रिय हुँदैगएका थिए । जनमत पनि त्यस्तै थियो । त्यसमा डा. केसीको भूमिका प्रमुख थियो । उहाँ र मेरो विश्वासको सम्बन्ध हो । मुद्दा मामिला पनि उहाँलाई पर्यो । उहाँ जे निर्णय लिँदा पनि शतप्रतिशत आत्मविश्वासका साथ लिनुहुन्थ्यो । म पनि डर र प्रलोभनमा लाग्नुहुँदैन भनेरै यो अभियानमा लागेको हुँ ।
गोपाल पराजुलीको प्रवेश
पछि गोपाल पराजुलीको विषय आयो । चिकित्सा शिक्षा अध्यादेशको विषय आउँदा पनि हामी लामो छलफल गर्थ्यौँ ।
मलाई यो बीचमा विवेकशील साझाको भनेर पनि भनियो । पार्टी घुसाइयो भनेर पनि भनियो तर मेरो पहिलो प्राथमिकतामा केसी र तेस्रो प्राथमिकतामा पार्टी थियो । यो विषयमा म पार्टीभन्दा निकै माथि थिएँ ।
दोस्रोमा मेरो पेसा व्यवसाय हो ।
पछि गोपाल पराजुलीको कुरा आयो । त्यो कसैलाई सह्य नै थिएन । चिकित्सा शिक्षामा भएको विकृति विसंगतिको कारक पराजुली नै रहेछन् भन्ने डा. केसीले बुझ्नुभयो । यो विषयमा हामीले केही समय सम्झाएका पनि हौँ । ‘‘डाक्टर साब, अहिले सिधै भ्रष्ट भनिनहालौं’’ भनेर पनि सम्झायौँ तर उहाँको भित्रैबाट आयो यो मान्छे भ्रष्ट नै हो भन्ने । त्यसपछि उहाँले रोक्न सक्नुभएन ।
उहाँले मलाई हतकडी लागे पनि यस्ता भ्रष्टलाई अदालतमा बस्न दिनुहुँदैन भनेर लाग्नुभयो । उहाँले गर्नुपनि भयो, हतकडी पनि लगाइयो । डा. केसीलाई रातिमा पक्राउ गरेको देखेपछि गोपाल पराजुलीलाई पाठ सिकाउनुपर्छ भनेर हामी यो अभियानमा लाग्यौँ ।
अनशनमा भएको मान्छेलाई पक्राउ गरेर कस्टडीमा राखियो । सत्याग्रहीमाथिको आक्रमण देखेपछि धेरैको मनमा अब पराजुली पदमा रहँदैनन् भन्ने भयो । मलाई पनि असुविधा थियो । उनकै बेन्चमा गएर बहस गर्नुपर्ने अवस्था थियो । तपाईँ बहसमा नआइदिनुस् भनेर कतिपय वकिल साथीहरुले पनि भन्नुभयो । अत्याचार गर्नेका विरुद्ध लाग्नैपर्छ भनेर लागेका थियौँ । त्यसैले हामी कहिले पनि हच्किएनौ ।
विभिन्न ठाउँमा पुगेर उनको सर्टीफिकेट पनि माग्यौँ । त्यसपछि उनी घेराबन्दीमा परे । त्यसपछि न्यायपरिषद्को सचिवले म्याद सकिएको रहेछ भनेर पत्र थमाइदिनुभयो ।
डा. केसीको १५ औं अनशन
डा. केसीले १५ औं अनशनका बारेमा पनि कुराकानी गर्नुभएको थियो । उहाँले नेपालका विभिन्न ठाउँ खोज्नुभएको थियो । उहाँलाई नेपालको कुना कुनाका बारेमा जानकारी छ ।
जुम्लाको बारेमा मलाई थाहा छ । हामीले जीवन जोखिममा राखेर नजानुस् भनेर पनि आग्रह गरेका थियौँ । तर, उहाँले म जोखिममा पर्दिन । कर्णालीका जनतालाई न्याय दिएरै छाड्छु भनेर भन्नुभयो । उहाँ कर्णाली र गाउँका कुनामा रहेकाले पनि उपचार पाउनुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो ।
उहाँ अनशनमा बस्नुभयो तर सरकारले वार्ता गर्ने कुरै गरेन । सरकारले त्यसबेला के चाहेको थियो भने सुरुमा डा. केसीको सत्याग्रहको वैधताले गर्दा सरकारलाई अप्ठेरो परेको थियो । सरकार यो सबै समाप्त पार्न चाहन्थ्यो । यसमा प्रष्ट छ । सरकारले मण्डलालगायत देशका विभिन्न स्थानमा जारी गरेको निषेधाज्ञा पनि त्यही हो । डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको जागिरबाट निकाल्ने तयारी नै गरेको थियो सरकारले । त्यहाँबाट निकालेपछि कहाँ गएर अनशनमा बस्दा रहेछन् भनेर पनि सरकारले तयारी गरेको हो । सरकारले सकेसम्म माग पूरा हुन नदिएरै केसीको अभियानलाई सिध्याउन चाहन्थ्यो ।
त्यो सबै भ्रम डा. केसीले तोडिदिनुभयो । डा. केसीले पछि पनि दुःख दिन सक्छन् अहिले नै यिनको वैधता समाप्त गर्नुपर्छ भन्ने थियो । त्यसमा सरकार सफल हुन सकेन । भन्दाभन्दै तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याइयो । यसमा शिक्षामन्त्रीले नकारात्मक भूमिका निर्वाह गर्नुभयो । उहाँले जानाजान यस्ता काम गर्नुभएको थियो ।
प्रतिस्थापन विधेयकको वैधता सकियो त्यसपछि नयाँ विधेयक लैजानुभयो । उहाँले डाक्टर अनशन बस्दै गर्छन् तर यता ऐन बनिसक्छ भन्ने तरिकाले काम गर्नुभएको थियो । डा. केसी तलमाथि भए यिनकै नजिकका मान्छेले मारेका हुन् भनेर प्रोपोगन्डा गर्ने तयारी पनि सरकारको थियो । त्यो सरकारको डिजाइन थियो, शक्ति सबै यसैमा लगाइएको थियो ।
हामीले मानवीय हिसावले उद्धार गर्यौँ भन्ने देखाउने तर माग पूरा गर्नै हुँदैन भन्ने व्यवहार सरकारले देखाएको थियो । प्राण कि सत्य भन्दा डा. केसी सत्य भन्नुहुन्थ्यो । तर, सरकार तलमाथि भए उनका सहयोगीले गर्दा भएको हो भन्ने निहुँ सरकारले खोजिरहेको थियो ।
वार्ताको वातावरण
सत्याग्रहका अगाडि कुनै पनि बहानाले काम गर्दोरहेनछ भन्ने निष्कर्षमा सरकार पुग्यो । लोकमान सिंह कार्कीले ‘‘पागल हो, डा. केसीको उपचार गराऊ’’ भने । गोपाल पराजुलीले उनलाई लगेर थुने । अपराधीसँग जस्तो व्यवहार गरे । तर, उनीहरु आफैँ सकिए । यता पनि सरकारले त्यस्तै व्यवहार गर्ने संकेत देखाएको थियो । बिस्तारै जीवन रक्षा गर्नुपर्ने अवस्थामा आयो । त्यसपछि मागहरु पुरै अवैध छन् भन्ने अवस्थामा सरकार पुग्यो । उहाँको पक्षमा उभार आएपछि सरकार डरायो । सरकार डराएरै यो अवस्थामा आइपुगेको हो ।
जनताको जागरण आयो, सरकार अप्ठेरोमा पर्ने अवस्थामा आयो । त्यस्तो अवस्थामा सरकारलाई वैधताको संकटका संकेत देखिएपछि उनीहरु डराएका हुन् ।
सरकार के निष्कर्षमा पुग्यो भने केसीका माग पूरा नहुने हो भने कम्युनिस्टको सरकार त रहन्छ तर ओलीवाद ढल्छ । ओलीवाद ढल्ने संकेत देखिएपछि सहमति भएको हो । सरकारसँग बहुमत त थियो तर वैधतामा प्रश्न उठ्थ्यो । कानुनमन्त्री कसरी गए ? सरकार त्यसैगरी जान्थ्यो । तर पनि कम्युनिस्टकै सरकार बन्थ्यो ।
उनको विपक्षमा जनमत बनेपछि कानुनमन्त्रीले राजीनामा दिनुपरेको हो । उनी रहँदा सरकारकै वैधतामा प्रश्न आउने भयो । ओलीले पनि माफियाको पक्षमा रहँदा, अरुलाई खिसिट्युरी गर्दा उनको विरुद्धमा पनि त्यसैगरी जनमत बन्थ्यो । त्यस्तो अवस्थामा सिंगो कम्युनिस्ट पार्टीको बेइज्जत हुन्थ्यो । त्यसपछि त्यहाँ पनि ध्रुवीकरण सुरु हुन्थ्यो । त्यसपछि पार्टीभित्रको ध्रुवीकरणमा उनी तल पर्नसक्ने सम्भावना अधिक थियो ।
केपी ओली गलत आसपासेबाट घेरिएको हामीले थाहा पायौँ । माथेमा सर (केदारभक्त माथेमा) को प्रवेश भएपछि बिस्तारै प्रधानमन्त्रीलाई पनि त्यो भ्रम हट्यो । पहिले देउवालाई पनि गलत मान्छेले प्रभाव पार्थे । पछि उनलाई अनुभूति भएपछि केसी सही रहेछन् भन्ने लाग्यो ।
माथेमा प्रतिवेदन लेख्ने केही मान्छे पनि सत्ताको भक्त रहेछन् । अहिले नाम नलिऊँ । सत्तामा जो छ उसैको भक्ति गाउने प्रचलन रहेछ । माथेमा समितिमा एक मत छैन भन्ने फाटो ल्याउने प्रयास पनि भयो । सत्य कुरा उद्घाटन भएपछि भ्रम स्वतः विघटन हुँदै जाँदोरहेछ ।
शंकाको घेरा
दुईतिहाइ बहुमतको सरकार छ । संसदीय दलको उपनेता सुवास नेम्वाङले नै अनशन तोडाउनुभएको छ । संसारलाई साक्षी राखेर गरेका छौँ । तलमाथी पर्ला भन्ने आशंका छैन । हामीले संसद्लाई हस्तक्षेप गर्न खोजेको होइन ।
आफैँमाथि वार्ता भाँड्ने आरोप
वार्ता भाँड्न लागेको भन्ने भ्रम एकदिन पनि टिकेन । सत्तारुढ दलका नेता राजन भट्टराईले लेख्नुभयो । त्यही कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पनि केही मिडियामा जानकारी गराउनुभयो । एउटै कुरा उहाँहरुले सर्कुलर गर्नुभयो । त्यो अफवाह मात्रै हो । मेरा लागि अहिले पार्टीभन्दा हजार गुणामाथि डा. केसी हुनुहुन्छ । त्यही पार्टीमा म रहनुपर्छ भन्नेछैन । नागरिकका लागि सकेको मद्दत गर्ने हो । डा. केसीको अघि मेरो केही लाग्दैन । भाँड्ने भन्ने कुरा आउँदै आउँदैन । सत्याग्रहको भावनाभन्दा बाहिर जानै मिल्दैन । डा. केसीले त्यति कुरा पनि राख्न सक्नुभएन ? भनेर पनि हामीसँग प्रश्न गर्नुहुन्थ्यो । हामीले भाँडेको होइन, गहन बनाएका हौं । जे भ्रम फिँजाइएको थियो एकदिन पनि टिकेन । उहाँहरुले अब के भन्नुहोला ?
अब डा. केसीको भूमिका
अहिले उहाँ उपचारमै हुनुहुन्छ । डा. केसी एउटा यस्तो विम्ब हो जसलाई हेरेर निष्ठाको बाटोमा हिँड्नुपर्छ । उहाँ बलेको दियो हो । हामी तेल थप्दै जानुपर्छ । सकारात्मक सोचका लागि कोही अघि सर्नैपर्छ । अन्यथा नलिनुहोला उहाँ अब राज्यको पाँचौँ अंग हो । नागरिक समाज उहाँको वरिपरी छ । उहाँ प्राण पनि त्याग्न तयार भएको व्यक्ति हो । डा. गोविन्द केसीजस्ता मान्छे हरेक गाउँमा जन्मियो भने यो देशमा कुनै माफियाले केही गर्न सक्तैन । सत्यको पक्षमा जोखिम मोल्नुपर्छ । सत्याग्रहको बाटो गौतम बुद्धले २५ सय वर्ष पहिले पुष्टि गरेका हुन् । महात्मा गान्धी, मार्टिन लुथर किङले पनि यही कुरा पुष्टि गरेका हुन् ।
(कुराकानीमा आधारित)