site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिम्मतवाली रेखा
Sarbottam CementSarbottam Cement

– विजेता चौधरी 


नेपाली सिने क्षेत्रमा ‘हिरोइजम’ छवि बनाएकी अभिनेत्री हुन् रेखा थापा । उनी फगत अभिनेत्री मात्रै होइनन्, फिल्म निर्मात्री पनि हुन् । अभिनयभन्दा पनि फिल्ममा उठाएको समसामयिक र गहन महिलाकेन्द्रित विषयवस्तुले रेखालाई अन्य अभिनेत्रीभन्दा फरक धारमा उभ्याएको छ ।

रेखाका केही फिल्मले नेपाली देश र समाजको कथा भन्छन् । नारीको कथाव्यथामा उनिएका फिल्ममा उनी मुख्य भूमिकामा हुन्छिन् । यही लिड रोलले उनलाई सिनेजगतमा सशक्त रूपमा स्थापित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको फिल्म ‘हिम्मतवाली’ होस् वा टेम्पु महिला चालकको कथामाथि आधारित ‘रामप्यारी’— वा एसिडपीडितको कथामा बनेको ‘रुद्रप्रिया’— उनले महिलाका समस्या उठान गर्छिन् र न्यायका लागि वकालत गर्छिन् ।

रेखाले दर्जनौं फिल्ममा, दर्जनौं कथामा अभिनय गरिसकिन् । केही वर्षयता भने उनी महिलाकेन्द्रित विषयमा गढेकी छन् ।

Global Ime bank

‘रिल लाइफ’मा विद्रोही देखिने रेखा ‘रियल लाइफ’मा पनि उत्तिकै विद्रोही छन् । घरबाट १४ वर्षको कलिलै उमेरमा विद्रोह गरेर हिँडेकी केटी रेखा आज आफ्नै बलबुताले सक्षम र ‘आइडल’ बनेकी छन् । उनी आफ्नो कथा सुनाउँछिन्, “म घरकी कान्छी छोरी । आमा–बुवाको इच्छा मलाई डक्टर बनाउने थियो । तर, मेरो सपना र उद्देश्य फरक थियो । मेरो विद्रोह त्यहीँबाट शुरु भयो– म छोरी हुँ तर ममाथि आफ्नो इच्छा लागू गर्न हुँदैन । त्यो कुरा आजका आमाबुवाहरूले पनि थाहा पाएका छैनन् जस्तो लाग्छ । फरक जीवन बिताउने मेरो आफ्नो शैली हुनुपर्छ भन्ने मलाई त्यसबेला पनि लाग्थ्यो । र, मैले पहिलो विद्रोह गर्दै आफ्नो विद्यार्थी जीवनलाई थाँती राखेर करिअर र चुनौती रोजें ।”

रेखा सानैदेखि फरक सोच राख्थिन् । आफूले स्कुलमा पढ्ने विषयवस्तु नै उनलाई फरक लाग्थे । “म पढेको स्कुलमा दुई प्रकारको पढाइ हुन्थ्यो । केटा र केटीको पढाइमा अलिकति विभेद मैले सबैभन्दा पहिले त्यहाँ महसुस गरें,” उनी भन्छिन् ।

करिअरको शुरुआतमा घरको संस्कार र परिवारको इज्जतसमेत ख्याल गर्दै उनले ‘ब्युटी कन्टेस्ट’मा भाग लिने निर्णय गरिन् । उनी सुनाउँछिन्, “त्यो मेरो पहिलो निर्णय थियो । त्यसबेला समाज र परिवारले मप्रति देखाएको भावनालाई मैले नकारात्मक लिइनँ । किनभने, परिवारको सोच छोरी पढेर राम्रो कुलघरानामा विवाह गरी जाओस् भन्ने थियो । त्यसबेला मैले सबैलाई सम्झाएँ र एउटा खुड्किलो पार गरेँ ।” 

यति भन्दै गर्दा रेखाको आँखामा चमक आउँछ । त्यो चमक, जसले जीवनको सम्पूर्ण संघर्षलाई अनुहारको रेखामा कैद गर्छ ।

रेखा कलाकारमात्रै होइनन् । उनी अधिकार पैरवीकर्ता पनि हुन् । उनलाई यो विशेषण दिइनुका पछाडि लामो कथा जोडिएको छ ।

उनको अर्को खुड्किलो थियो– सिने क्षेत्रमा प्रवेश । उनी चलचित्र उद्योगमा आउँदा चुनौतीमाथि चुनौती थपिँदै गएका थिए । त्यहाँ पनि कथा उस्तै थिए । मुहार नयाँ हुन्थे तर चरित्र उस्तै । महिला पात्र जहिले पनि शृंगारिक हुन्थे । पुरुष पात्रको वरिपरि नाच्नेमात्रै थिए । त्यसपछि रेखालाई लाग्यो– मैले पनि तिनै विषयवस्तु र चरित्र निभाएँ भने म जस्ता लाखौं युवतीहरूमाथि अन्याय हुन्छ ।

उनले त्यहाँ पनि विद्रोह गरिन् र पुरुषको वरिपरिमात्रै नाच्ने प्रवृत्तिलाई पूर्ण अस्वीकार गरिन् । तर, सबैले त्यसलाई पचाएनन् । उनीमाथि विभेद शुरु भयो । टीकाटिप्पणी र आरोप–प्रत्यारोपको शृंखला शुरु भयो । कहिले पहिरनउपर कटाक्ष, त कहिले चलचित्रका विषयवस्तुमाथि ।

“तर ती सबैका विरुद्ध फाइट गर्ने हिरोइजम क्यारेक्टर म आफैंले स्थापित गरें, अनस्क्रिन वा अफस्क्रिन होस्– मैले धेरै कुरालाई स्थापित गर्दै गएँ । सबैमा छाप बस्यो– यो रेखा थापा छुच्ची छे, विद्रोही छे र फरक छे,” रेखा भन्छिन्, “चलचित्र उद्योगभित्र नराम्रो संस्कार बसेको थियो । छोरी पात्र वा महिलाले पर गएर सुन्नु पर्ने, सुटिङको बेला पुरुष कलाकार समयमा नआउने तर महिला कलाकार बिहान ६ बजे नै जाँदा पनि ‘किन ढिला ?’ भन्ने प्रश्न सोधिने प्रवृत्ति अहिले केही मात्रामा कम भएको छ ।”

चलचित्र उद्योगभित्रका कुरीतिमा उनले धावा बोलिन् । पोस्टरमा पनि प्रभाव देखियो । फिल्मको पोस्टरमा सधैंजसो हिरोको ठूलो फोटो हुन्थ्यो । हिरोइनलाई खुम्च्याइन्थ्यो । रेखाले त्यहाँ पनि विद्रोह गरिन् । हिरोइनको पनि बराबर फोटो हुनुपर्ने जिकिर गरिरहिन् । “हिजो फिल्ममा को हिरो भनेर सोधिन्थ्यो, आज को हिरोइन भनेर सोधिन्छ । त्यो एउटा परिवर्तन सानो चित्रबाट भएको हो,” उनी भन्छिन् ।

रेखाले लगाउने लुगाको खुबै चर्चा हुन्थ्यो । विवाद पनि उत्तिकै । ‘सीताराम’ लेखिएको गेरुवस्त्र लगाउँदा उनले अनेक खप्की सहनुप¥यो । त्यसपछि उनलाई लिएर व्यंग्य गर्न थालियो, “कि रेखाको चल्छ, कि देखाको चल्छ ।”

उनले स्कर्ट लगाएर फाइट गर्दा सबैले त्यसको आलोचना गरे । ‘ओहो ! कस्तो छोटो लुगा !’ भनेर होच्याए । “तर, त्यो लुगा रेखा थापाले लगाएकी थिइनन्, समाजको प्रतिनिधित्व गर्ने पात्रले लगाएकी थिई,” रेखा सुनाउँछिन्, “शिरदेखि पाउसम्म ढाकेका सिनियर दिदीहरूको विवशता थियो होला । वास्तवमा त्यतिबेला फिल्ममा उहाँहरू आउनु नै ठूलो चुनौती थियो । त्यतिबेला समाजले हेर्ने दृष्टिकोण अर्कै थियो । अहिले समय त्यो छैन । अनुशासित भएर काम गर्नुपर्छ । अनुशासनभित्र बसे बजारले के भन्छ भन्दा पनि मैले के गरेँ भन्ने ठूलो कुरा हो ।”

रेखाका हरेक पक्ष चर्चामा हुन्छन् । ती चर्चा धेरैजसो विवाहमा गएर ठोकिन्छन् । सानै उमेरमा छवि ओझासँग विवाह गरेर सम्बन्धबिच्छेदसम्म गरिसकेकी रेखालाई त्यो इतिहासले लखेटिरहन्छ । जीवनबारे बुझ्दै गएपछि उनले त्यहाँ पनि विद्रोह गरिन् ।

“मलाई लाग्छ त्यो मेरो बालविवाह थियो । म जहिले पनि मेरो नाम र पहिचानले बाँच्न खोजेँ । एउटी महिलाले मात्रै किन विवाहपश्चात् अर्काको नाम र पहिचान लिएर बाँच्ने ?” छवि ओझासँगको विवाह प्रसंग उठाउँदै रेखा कडा प्रतिवाद गर्छिन्, “एउटा केटामान्छे व्रतबन्धपछि काजकिरियादेखि अनेक कुरा गर्न सर्टिफाइड हुन्छ । लोग्ने मान्छेले विवाहपश्चात् केही परिवर्तन गर्नै पर्दैन । बुवा, पिता पुर्खाको एउटै मैदानमा बसेर आजीवन खेलिरहन्छ । हो, त्यो जीवन मैले स्वीकार नगर्दा मेरो आलोचना भयो तर त्यसको मलाई वास्ता छैन ।”

रेखाको एउटै मूलमन्त्र छ– सपना देख्नुपर्छ, डराएर बाँच्नु हुँदैन र कहिल्यै मौन बस्नु हुँदैन ।

उनले सपना देखिन् । कलाकारिताबाट समाज परिवर्तन गर्ने सपनामा बाँचिन् । 

उनी कहिल्यै कसैसँग डराइनन् पनि । निडर भएर सबै चुनौती सामना गरिन् । अन्याय र बेथितिविरुद्ध एक्लै औंलो उठाइन् ।

अनि उनी कहिल्यै मौन बसिनन् । बोलिरहिन् । कहिले परिवारको इच्छाविरुद्ध बोलिन्, कहिले समाजविरुद्ध । कहिले फिल्म क्षेत्रका मठाधीशविरुद्ध बोलिन् । कहिले महिलालाई थिच्ने पुरुषवादी सोचविरुद्ध बोलिन् ।

“म मानिस हुँ । मेरा पनि आफ्ना इच्छा र आकांक्षा छन् । यो सृष्टिबाट पाउनुपर्ने सबै कुरा मैले वा एउटी महिलाले पनि पाउनुपर्छ,” रेखा भन्छिन्, “हामीलाई आरक्षणको नाममा झनै पछाडि पारिएको छ । हामी महिलालाई अब किस्तीमा दिइएको जिन्दगी र सुखसुविधा चाहिँदैन, लडेर लिन सक्षम छौं । हामीभन्दा अघिका महिलाले नै त्यो बाटो कोरिदिनुपथ्र्यो । तर, त्यतिबेलाको अवस्था त्यस्तै थियो तर अहिले छैन । अहिले महिलाहरू सक्षम छन् । हामी लड्नुपर्छ ।”

राजनीतिमै पनि महिलाको प्रतिनिधित्व त भयो तर त्यसले समग्र महिलालाई सशक्त बनायो कि बनाएन ? महिला राष्ट्रपति भएको मुलुकमा महिलाकै अवस्था किन यस्तो ? रेखालाई धेरैजसो यही प्रश्नले चिमोट्छ । भन्छिन्, “राष्ट्रपति महिला हुँदैमा केही हुँदो रहेनछ । समग्र महिलाहरूले त्यस्तो विघ्न अनुभूति गर्न पाएकै छैनन् । म यसकै विरुद्धमा छु । नेपालमा यति धेरै सक्षम र सबल नारीहरू छन् र पनि किन देश निर्माण र विकासमा पुरुषको दबदबा छ ? कारण एउटै हो– महिलाहरू ग्राउन्डबाट माथि आएकै छैनन् । वा भनौं– आउन दिइएकै छैन ।”

यसो हुनुमा उनले कारण पनि देखेकी छन्, “म धेरै ठाउँ घुम्न गएँ, त्यहाँ भेटिएका दिदी–बहिनीहरूका आँखामा धेरै सपना छन् । तर, त्योभन्दा पनि ठूलो डर छ— सामाजिक डर, पारिवारिक डर र राज्यको डर । त्यही डरले चुपचाप बस्न बाध्य छन् । उनीहरूलाई आँखामा पट्टी र हात–खुट्टामा हत्कडी लगाइएको छ ।”

यही सामाजिक बेथिति चिर्न रेखाले फिल्मलाई माध्यम बनाएकी छन् । फिल्मले समाज परिवर्तन गर्न सक्छ भन्ने सोचेरै उनी यो अभियानमा लागेकी हुन् । “म चाहन्छु— महिलाहरू शक्तिशाली र सशक्त हुनुपर्छ । र, सधैं आफ्नो अस्तित्व र पहिचानले बाँच्नुपर्छ । मैले त्यही कुरा फिल्मबाट भन्छु,” आफ्नै कर्मक्षेत्रतर्फ फर्किएर रेखा भन्छिन्, “अहिले ‘लालमस्तिष्क’ फिल्म बनाइरहेकी छु । देश र समाजका लागि केही गर्न खोज्ने महिलालाई राज्यले गर्ने तिरस्कार वरिपरि कथा बुनिएको छ ।”

(तस्बिरः महेश प्रधान, ‘साप्ताहिक’)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement