चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ थाप्राङकी सीता चेपाङले कोलभञ्ज्याङ प्राविबाट गत वर्ष पाँच कक्षा पास गरिन् । त्यसपछि उनको पढ्ने इच्छा अधूरै भयो । निमावि र मावि कक्षाका लागि टाढाको स्कुल जान नसक्ने भएपछि उनको पढाइ बीचैमा रोकिएको हो ।
थाप्राङबाट मावि तहको पढाइको लागि हात्तीबाङ पुग्नुपर्ने बाध्यता छ । हात्तीबाङ जानको लागि थाप्राङबाट कम्तीमा चारघण्टा पैदल हिँडनुपर्छ ।
स्कुल टाढा भएकोले पढाउन समस्या परेको बुबा ललिमन चेपाङ बताउँछन् ।
नौ जना छोराछोरीमध्ये ठूलो छोरालाई भने एउटा संस्थाले हेटौँडा लगेर पढाएको छ । ‘अरू केटाकेटी सानै छन्,’ उनी भन्छन्, “सीताले पनि राम्रोसँग पढ्ने मन गरेकी छन् । तर, कसरी पढाउने ? डेरा राखेर पढाउने हामीसँग पैसा छैन ।”
घरमा अन्नपात नहुँदा कैयौँपटक भोकभोकै स्कुल गएको सम्झना छ सीतालाई । उनले दुखेसो पोखिन्, “टाढाको स्कुल जान पनि सम्भव छैन । पढ्न मन लागेर के गर्नु ?”
थाप्राङकै सम्झना चेपाङले पनि सीतासँगै पाँच कक्षा पास गरेकी हुन् । उनको पनि हविगत उही हो । स्कुल टाढा भएकाले पढाइ छुट्यो । अहिले दुवैजना फुर्सदमा छन् ।
उनीहरू दुईजना गाउँको अत्यन्तै मिल्ने साथी हुन् । अहिले दुवैजना १५ वर्षका भए ।
गाउँका धेरै साथीहरू कलिलै उमेरमा बिहे गरेर गइसके । तर, सीता र सम्झनालाई भने पढ्ने धोको कायमै छ । सम्झना भन्छिन्, “कम्तीमा एसइईसम्म पढ्ने रहर छ । हामीजस्ता गरिबलाई कसले पढाउँछ र ?”
सीता र सम्झना विकट बस्तीका प्रतिनिधि पात्र हुन् । नजिकमा विद्यालय नहुँदा अधिकांश चेपाङ बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेका छन् ।
अभिभावकलाई साँझ–बिहानको जोहो टार्न ज्याला मजदूरी गर्नुपर्ने बाध्यता रहेकोले नजिकै स्कुल भए पनि नियमित स्कुल पठाउने वातावरण चेपाङ समुदायमा छैन ।