काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई शनिबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए ।
अमेरिका तथा युरोपेली मुलुक हुँदै पछिल्ला दिनहरूमा विश्वका विभिन्न देशमा मंकीपक्स संक्रमण फैलँदो क्रममा छ । नेपालमा भने अहिलेसम्म यो संक्रमण पुष्टि भएको छैन ।
नेपालमा यसअघि सन् १७९० देखि देखिएको बिफरले महामारीको रूप लिँदै सन् १९७५ मा मात्र उन्मूलन भएको इतिहासका जानकारहरू बताउँछन् । बिफरकै एउटा प्रजातिका रूपमा विश्वमा मंकीपक्स देखापरेको छ ।
कति घातक ?
मानिसमा मंकीपक्स नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो, मंकीपक्स । डब्ल्यूएचओले यसलाई स्मलपक्स बिफरकै एउटा प्रजाति भएको जनाएको छ ।
मंकीपक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि पाँचदेखि २१ दिनसम्म रहने डब्ल्यूएचओले जनाएको छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका लक्षण दुई चरणमा देखिन्छन् । सुरुवाती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् । दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।
मंकीपक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छ र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ ।
तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनियाजस्ता जटिलता पनि निम्त्याउन सक्ने डा. पुन बताउँछन् । यद्यपि, मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने डब्ल्यूएचओले जनाएको छ । मंकीपक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुन सक्ने डब्ल्यूएचआले जनाएको छ ।
सुरुवात
विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण सोही वर्ष १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो ।
सन् २०१७ मा नाइजेरियमा फैलिएको मंकीपक्सबाट १७२ जना संक्रमित भएका थिए । तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्मका युवा थिए ।
कसरी सर्छ ?
मध्य तथा पश्चिम अफ्रिकी मुलुकका ग्रामीण भेगमा मंकीपक्स आम रोगका रूपमा देखापर्दै आएको छ । उष्ण प्रदेशतिरका बस्तीमा यो संक्रमण धेरै देखिने गरेको डब्ल्यूएचओको अध्ययनले देखाएको छ ।
यूके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार संक्रमित व्यक्तिको नजिकमा रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, र्याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ । मंकीपक्स संक्रमण यौनसम्पर्कबाट सरेको अहिलेसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ ।
संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । हालसम्म मंकीपक्सविरुद्धको खोप बनेको छैन । तर, स्मलपक्सविरुद्ध बनेको पछिल्लो खोप यसमा पनि प्रभावकारी हुने डब्ल्यूएचओले जनाएको छ ।